निर्णय नं. २३५४ – ज्यान
निर्णय नं. २३५४ ने.का.प. २०४२ अङ्क ५ फुल बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश...
निर्णय नं. २३५४ ने.का.प. २०४२ अङ्क ५
फुल बेञ्च
सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४१ सालको फौ.फु.नं.१०
मुद्दा : ज्यान ।
पुनरावेदक/वादी:चक्र बहादुर बुढा मगरको जाहेरीले श्री ५ को सरकार ।
विरूद्ध
विपक्षी/प्रतिवादी:जि.कैलाली पण्डोलगा.पं.वडा नं.२ पाल्सा घर भै हाल निगाली गा.पं.सल्ले खोला बस्ने झल्ली भन्ने तुल्सी मगर्नी ।
ऐ.ऐ बस्ने कमारा भन्ने कर्ण बहादुर थापा मगर।
ऐ. पण्डोल गा.पं. वडा नं.२ पाल्सा बस्ने जगदेव रोका ।
ऐ.ऐ बस्ने च्याण्टी भन्ने असमाली थामी मगर्नी ।
ऐ. निगाली गा.पं. वडा नं. ९ बस्ने जीत बहादुर थापा मगर ।
फैसला भएको मिति:२०४२।५।४।३ मा
कसूरदार आफैं सावित भई अन्य अभियुक्तहरूलाई पोलेको देखिएको समेतबाट यस्तो अवस्थामा ज्यानसम्बन्धीको २० नं. बमोजिम जहिले पनि मुद्दा चल्न सक्ने नै देखिँदा दुई वर्षभित्र उजूरी नपरेको भनी मुद्दा खारेज गर्न मिल्ने देखिँदैन ।
(प्रकरण नं.३९)
फैसला
का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः डिभिजन बेञ्चसमक्ष पेश हुँदा मा.न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुनआएको प्रस्तुतमुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. ०३० साल बैशाख महिना हो गतेको याद भएन भूत लागी मेरो माहिली आमाको हिजो राति मृत्यु भयो भनी कमारा थापा मगरले म र गाउँको मानिसलाई भनेकोले घटनास्थलमा गई लाशलाई जलाई घरमा आएको, ०३४ साल फाल्गुण १२ गते म र पण्डोल गा.पं.को पं.स. सहवीर घर्ती मगर भएको ठाउँमा आई जगदेउ रोक्का मगरले तिलसरी मगर्नीलाई जीत बहादुर थापा मगरले मार्ने भन्ने आदेश दिई झल्ली मगर्नी समेतले कर्तव्य गरी मारेको हुन् भनी मसँग भनेको हुँदा जाहेर गरेको छु, निज जगदेउ रोक्का मगर समेतलाई पक्री कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने चक्रबहादुर बुढा मगरको जाहेरी ।
३. जीत बहादुरका आर्डर बमोजिम झल्ली मगर्नी समेतका ५ जनाको कर्तव्यबाट तिलसरी मगर्नीको मृत्यु हुन गएको भन्ने बुझिएकोले निजहरू माथि उचित कारवाही गरिपाउँ भन्ने पण्डोल गा.पं.को पत्र ।
४. तिलसरी मगर्नीलाई जीत बहादुरका अर्डर बमोजिम झल्ली मगर्नी समेतले कर्तव्य गरी मारेको हो भन्ने जाहेरवाला चक्रबहादुरले प्रहरीमा गरेको कागज ।
५. ०३० साल बैशाख महिना हो गते बारको थाहा छैन पाल्सा गाउँको दक्षिणतर्फ गहुँ झार्ने खरियानमा मर्ने तिलसरी मगर्नी, म र जयबहादुर रोका समेतका गहुँ झार्न खरियानमा सुतेका अवस्था ऐया भनी कराएको आवाज सुन्दा टाउको उठाई हेर्दा सौतेनी आमा तुल्सी मगर्नी तिलसरीको छातीमा चढी रहेकी, च्यान्टीले हात समातेकी, जयबहादुरले घाँटी दवाई रहेको थियो । तिलसरी मरेपछि यो कुरा कसैसँग नभन्नु भूत लागि मरेको भन्नु भनी यौटा कुखुरालाई काटी त्यसको रगतमा सबैले औंला डुबाई भूतले खायो भनी प्रचार गरेका हुन् । त्यसबखत जीत बहादुर घरमा थिएन भन्ने कमारा मगरले प्रहरीमा गरेको कागज ।
६. झल्ली भन्ने तुल्सी मगर्नी, च्याण्टी मगर्नी र कमारा भन्ने कर्ण बहादुर समेत ३ जना भई तिलसरीलाई घाँटी दबाई मारेका हौं मार्ने बेला जगदेउ त्यहाँ थिएन । कुखुराको रगतमा सबैले औंला चोपी भूत लागि मृत्यु भएको भनी गाउँमा हल्ला गरेको हो वास्तविक कुरा कसैसँग भनेनौं तिलसरी मर्ने बेला जीत बहादुर घरमा थिएन भन्ने च्याण्टी मगर्नीले प्रहरीमा गरेको कागज ।
७. झल्ली भन्ने तुल्सी मगर्नी, कमारा भन्ने कर्ण बहादुर, च्याण्टी मगर्नी समेत ३ जना भई तिलसरीलाई मारी कुखुरा छोप्न मेरो घरमा आउँदा कुखुरा कराएको आवाजले म ब्यूँझी के हो भनी निजहरूलाई सोद्धा हामीले तिलसरीलाई मारेका छौं । यो कुरा कसैलाई नभन्नु भूत लागी मरेकी भन्ने कुराको प्रभाव पार्न कुखुरा काटी सो रगतमा सबैले औंला डुबाएका हौं । भोलिपल्ट सबै गाउँलेसँग भूत लागी तिलसरीको मृत्यु भयो भन्दा गाउँले आई लाश जलाएका हुन् । मर्ने बेला म त्यहाँ थिएन भन्ने समेत जगदेव रोकाको कागज ।
८. घटनाघटेको दोश्रो दिन जीत बहादुरको स्वास्नी मरिन् भन्ने थाहा पाएका हौं । के कसरी मरिन सो कुरा थाहा छैन । तिलसरी कर्तव्यबाट मरेकी भन्ने कुरा हाल थाहा पायौं । कर्तव्य गरी मार्नेमा झल्ली, च्याण्टी र जगदेव समेत भई मारेमा विश्वास लाग्छ तिलसरी मर्ने अवस्थामा जीत बहादुर घरमा थिएन भन्ने सरजमीन मुचुल्का ।
९. लोग्ने जीत बहादुर डोटी जान लाग्दा कर्ण बहादुर, च्याण्टी, जगदेव, म समेतसँग तिलसरीलाई मार्नु भनी सल्लाह दिई निज डोटी गइसकेपछि हामीहरूले तिलसरीलाई मार्ने मौका खोजी गहुँ चुट्ने खलामा सुतेको मौका पारी रातको १२।१ बजे सुतेकी तिलसरीको जगदेवले एक हातले घाँटी अर्को हातले मुख च्यापी कर्ण बहादुरले देब्रे हात च्यापी च्याण्टीले दाहिले हात च्यापी मैले दुवै खुट्टा च्यापेपछि तिलसरी कराएको थिई । कराउन दिएनौं च्यापी राखेको १०।१५ मिनेट पछि मृत्यु भएको हो । कुखुरा काटी त्यसको रगतमा सबैले औंला चोपी यो कुरा कसैसँग नभन्नु भनी कसम खाएका हौं भन्ने समेत झल्ली मगर्नीले प्रहरीमा गरेको कागज ।
१०. ०३० साल हो गते बारको सम्झना छैन । तिलसरीलाई भूतले खायो भनी गाउँमा हल्ला हुँदा सुने । कालगतीले मरी भनेकाले मलाम गएको हुँ । जगदेव समेतको कर्तव्यबाट मरेको भन्ने कुरा चक्रबहादुरको जाहेरीबाट थाहा पाएको हुँ भन्ने घमन्डे बुढाको कागज ।
११. तिलसरीलाई भूत लागी मृत्यु भयो भन्ने हल्ला सुनेको हुँ जगदेव, कर्ण बहादुर, च्याण्टी र तुल्सी समेतले कर्तव्य गरी मारेको भन्ने कुरा हाल मात्र थाहा पाएको हुँ भन्ने वीर बहादुर घर्ती मगरको कागज ।
१२. तुल्सी मगर्नी, जगदेव, कर्ण बहादुर र च्याण्टी समेत भई तिलसरीलाई कर्तव्य गरी मारी दवाएको भन्ने कुरा हाल मात्र थाहा पाएको हुँ । उस बखत कर्तव्यबाट मरेकी भन्ने कुरा थाहा नभएकोले म पनि मलामी गएको हुँ भन्ने चन्नु बुढाको कागज ।
१३. तिलसरी मगर्नी मरेको भोलिपल्ट कमारा मगरले मेरी माहिली आमाको मृत्यु भएको छ । लाश फाली दिनु पर्यो भन्दा म पनि लाश फाल्न गएको हुँ तिलसरी कर्तव्यबाट मरेकी भन्ने कुरा हाल मात्र जाहेरवालाको मुखबाट सुनेको हुँ भन्ने ओखराम पुन मगरको कागज।
१४. तिलसरी भूतलागी मरेकी छ मलामी जाउँ भनी जगदेवले डाकेकोले म पनि मलामी गएको हुँ, तुल्सी, कर्ण बहादुर, च्याण्टी र जगदेवसमेतले मारेको भन्नेकुरा हालमात्र थाहापाएको हुँ भन्ने चन्द्र घर्तीमगरको कागज ।
१५. तिलसरी मरी मलामी जानुपर्छ भनी गाउँमा हल्ला सुन्दा गएको हुँ भूत लागी मृत्यु भयो भनेकीले म पनि मलामी गएको हुँ तिलसरी, कमारा समेतको कर्तव्यबाट मरेकी भन्ने कुरा हाल जगदेव समेत पक्राउ परेकोबाट थाहा पाएको हुँ भन्ने समेत खिउरे थापाको कागज ।
१६. म निगाली गा.पं.को बाँझी गाउँमा भएको अवस्था जगदेव पाल्साबाट आई तिम्रो भाउजू तिलसरीलाई भूतले भेट्टाई मृत्यु भयो भनेकोले पाल्सामा लाश रहेको ठाउँमा जाँदा मृत्यु भएको देखें । तिलसरीलाई च्याण्टी मगर्नी समेतले कर्तव्य गरी मारेको कुरा हाल थाहा पाएको हुँ भन्ने दिलबहादुरको कागज ।
१७. माहिली आमा तिलसरीको राति भूतले खाई मृत्यु भएकोले सतगत गर्न जम्मा भई दिनु पर्यो भनी कर्ण बहादुरले भनेकोले मलामी गएको हुँ जगदेव समेतले कर्तव्य गरी मारेको भन्ने कुरा हाल मात्रै थाहा पाएको हुँ भन्ने बलीराम बुढा मगरको कागज ।
१८. तिलसरीलाई भूत लागी मृत्यु भयो भनी लाश जलाउन सबै गाउँले गएकाले म पनि गएको हुँ तिलसरी, झल्ली भन्ने तुल्सी मगर्नी समेतको कर्तव्यबाट मरेको भन्ने कुरा हाल मात्र जाहेरवालाको मुखबाट सुनेको हुँ भन्ने पुनराम घर्तीको कागज ।
१९. जीत बहादुरको कान्छी स्वास्नी तुल्सी मगर्नीको भनाई अनुसार जगदेवले तिलसरीलाई मार्न सहयोग गरेको र जगदेवले तिलसरीलाई मार्दा म घटनास्थलमा थिएन मारी सकेपछि थाहा पाई कुखुरा काटी मैले समेत रगतमा औंला डुबाएको हुँ भन्ने बयान गरेको जगदेव थिएन पछि थाहा पाएको हो भन्ने च्याण्टी भन्ने अस्माली मगर्नीको भनाई तथा म सुती रहेको थिएँ । तुल्सी, च्याण्टी र जगदेव भई मारेको देखेको हुँ भन्ने कर्ण बहादुरको भनाई छ । तापनि निजहरू चारजनाले ज्यान मार्नमा सहयोग गरेको र जीत बहादुरले ज्यान मार्न वचन दिएको र मारेको कुरा कसैलाई प्रचार नगर्नु भनेबाट जीत बहादुरको पनि सहमति देखिएको हुँदा निज ५ जनाले अपराध गरेको सिद्ध हुन आएको हुँदा जगदेव मगर समेतका ४ जनालाई ज्यानसम्बन्धी महलको १३ नं. को देहाय (४) दफा बमोजिम र अभियुक्त कर्ण बहादुरको उमेर १२ वर्षको देखिएकोले निजलाई मुलुकी ऐन दण्ड सजायँको १ नं. बमोजिम आधा सजायँको माग दावी भएको प्रहरी प्रतिवेदन ।
२०. ०३० साल बैशाख महिना हो तिलसरी मगर्नीलाई कमारा भन्ने कर्ण बहादुर, तुल्सी र म समेत भई मारेका हौं मृतकलाई मार्ने बेला मैले खुट्टा समाएकी, कमाराले दुवै हात समातेको, तुल्सीले घाँटी दवाई मेरै खलामा मारेका हौं तुल्सी मगर्नीले ज्यान मार्न गएनौं भन्ने तिमीलाई पनि मारी दिन्छु भनी मलाई डर देखाएकीले डरले गर्दा ज्यान मार्नमा सहमत भएकी हुँ । तिलसरी मर्ने बखत जीत बहादुर डोटी गएको थियो भन्ने च्याण्टी भन्ने अस्माली मगर्नीले अदालतमा गरेको बयान ।
२१. तिलसरीलाई म समेत भई मारेको होइन अस्माली, कमारा भन्ने कर्ण बहादुर र तुल्सी मगर्नीले तिलसरीलाई मारेको कुरा उनीहरूकै मुखबाट सुनेको हुँ, कमाराको बाबु जीत बहादुरसँग मेरो इवी हुँदा निजले मलाई झुठ्ठा पोल गरेको । मेरै खलामा मरेकी हो भन्ने जीत बहादुरले मलाई कसैसँग नभन्नु, भने मारी दिन्छु भनी डर देखाएकोले कसैसँग भनेको थिएन । तिलसरीलाई मार्ने बखत जीत बहादुर घरमा थिएन भन्ने जगदेव रोका मगरले अदालतमा गरेको बयान ।
२२. मृतक तिलसरीलाई मैले खुट्टा घाँटी च्यापी मारेको होइन, तिलसरी जगदेवको खलामा मरेपछि जगदेवले भनेबाट थाहा पाएकी हुँ के कसरी मरेकी हो मलाई थाहा छैन जगदेवलाई नै थाहा होला जाहेरवालाले म माथि गरेको पोल उजूर झुठ्ठा हो भन्ने समेत झल्ली भन्ने तुल्सी मगर्नीले अदालतमा गरेको बयान ।
२३. मैले तिलसरीलाई मार्नमा कुनै सहयोग गरेको छैन र के कसरी मरी सो कुरा समेत मलाई थाहा छैन मृतकको क्रिया मैले नै गरेको हुँ जाहेरवालाको र बुबाको इवी हुँदा जाहेरवालाले म माथि झुठ्ठा पोल गरेको हो मृतकलाई मार्नमा जगदेवको हात छ छैन सो कुरा मलाई थाहा छैन भन्ने समेत कमारा भन्ने कर्ण बहादुर मगरले गरेको बयान ।
२४. तिलसरी मेरी माहिली स्वास्नी हो निज मर्ने बखत म घरमा थिएन फर्केपछि तिलसरी कालगतिले मरी भन्ने सबै गाउँलेबाट सुनेको हुँ । तिलसरीलाई मार्न मैले बचन कसैलाई पनि दिएको थिएन । बचन दिई मारेको भन्ने कुरा झुठ्ठा हो जाहेरवालासँग रिसइवी हुँदा झुठ्ठा उजूर गरेको र प्रहरीले मसँग पैसा मागेको मैले नदिएको रिसबाट मलाई प्रतिवादी बनाएका हुन् मैले कुनै कसूर गरेको छैन भन्ने जीत बहादुर थापा मगरले अदालतमा गरेको बयान ।
२५. मृतक तिलसरीको कसरी मृत्यु भयो मलाई थाहा छैन । गाउँमा हल्ला हुँदा कालगतिले नै मरेकी भन्ने सुनेको हुँ हाल जाहेरीबाट जगदेव रोका मगर समेत ४ जनाको कर्तव्यबाट मृत्यु भयो भन्ने सुनिन्छ । सत्य असत्य के हो थाहा छैन । राम्रो चाल चलनको मानिस भएकोले निज समेतले कर्तव्य गरेमा शंकासम्म छैन भन्ने प्र.जगदेवको साक्षी ललिज रोका मगर समेतका जवान ४ को बकपत्र ।
२६. तिलसरीको मृत्यु भएका रात झल्ली भन्ने तुल्सी मगर्नी आफ्नै घरमा थिई सो रात हामी पनि निजको घरमा बास बसेका थियौं । दोश्रो दिन बिहान जगदेवले तिलसरी मरी भनी झल्ली भन्ने तुल्सीलाई बोलाएको सुनेका हौं । तिलसरी कसरी मरी थाहा छैन । झल्ली समेत भई मारेको भन्ने आरोप झुठ्ठा हो भन्ने तुल्सी मगर्नीको साक्षी रत्न बहादुर मगर समेत जवान ३ र तिलसरी कसरी मरे थाहा छैन । तिलसरी मर्ने बखत कमारा भन्ने कर्ण बहादुर १०/१२ वर्षको हुँदा निज समेतले कर्तव्य गरी मारेमा शंका छैन भन्ने कर्ण बहादुरको साक्षी भक्तबहादुर पुनमगर समेतका जवान ३ र तिलसरीको मृत्यु भएको बखत प्र.जीत बहादुर डोटी सिलगढी गएको २०/२२ दिनपछि घरमा फर्केका आफ्नु स्वास्नीलाई मार्नु भनी बचन दिएको र मारेको भन्ने प्र.बयान झुठ्ठा हो तिलसरी कालगतिले मरेको हो भन्ने जीत बहादुरका साक्षी हस्तराम बुढा मगर समेत जवान ३ समेतको बकपत्र ।
२७. तिलसरीलाई कर्तव्य गरी मारेमा मेरो कसैप्रति शंका छैन । जगदेव रोकाले भने अनुसार जाहेर गरेको हुँ आफ्नो आँखाले नदेखेकोले यथार्थ भन्न सक्दैन भन्ने जाहेरवाला चक्रबहादुर बुढा मगरको बकपत्र ।
२८. तिलसरीलाई मारेको कुरा कसैलाई नभन्नु भनी जगदेवले भनेको हो भनी मैले सरजमीनमा लेखाएको होइन मृतक कालगतिले मरेकी भन्ने सुनेको हुँ अरु थाहा छैन भन्ने सरजमीनको सहवीर घर्ती मगर, मनवीर रोका मगरले गरेको बयान ।
२९. जगदेव समेतले तिलसरीलाई कर्तव्य गरी मारेको भनी निजले बयान गरेको भन्ने सुनेको हुँ कर्तव्यबाट मरेको भन्ने कुरा नदेखेको हुँदा भन्न सक्दिन भन्ने सरजमीनको मान बहादुरले गरेको बयान ।
३०. ०३० साल बैशाखमा कर्तव्य गरी तिलसरी मरेको ०३४।११।१२ गते अभियुक्त जगदेवले जाहेरवालासँग भनेको भनी ०३४।१२।२४ मा दर्खास्त दिई कारवाही भई ०३५।१।११ गतेमा प्र.हरू उपर मुद्दा चलेको देखिन्छ । मानिस कर्तव्य परी मरेको मितिले २ वर्षभित्र मुद्दा चलेको नभई म्याद नाघी चलेकोले प्रतिवादीहरू उपर मुद्दा चल्न नसक्ने हुँदा खारेज हुने ठहर्छ । जन्मकैदको माग दावी हुँदा साधक निकासाको लागि सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाउने भन्ने कैलाली जिल्ला अदालतको ०३५।९।२६ गतेको फैसला ।
३१. खारेज गर्ने गरेको सो फैसलामा चित्त बुझेन इन्साफ हुनु पर्दछ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट परेको पुनरावेदन पत्र ।
३२. ज्यानसम्बन्धीको २० नं. अनुसार खारेज गर्ने गरेको शुरूको इन्साफ मनासिव ठहर्छ भन्ने समेत सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको ०३८।९।१५ को फैसला ।
३३. उक्त फैसलामा चित्त बुझेन । ज्यानसम्बन्धीको २० नं. को गलत व्याख्या गरी खारेज गरेको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उल्टाई इन्साफ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
३४. प्रतिवादीहरू आरोपित कसूरमा सावित हुँदा ज्यानसम्बन्धी महलको २० नं.को गलत व्याख्या गरी खारेज गर्ने गरेको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय नमिलेकोले छलफलको निमित्त विपक्षी प्रतिवादीहरूलाई झिकाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालतको २०४०।८।१९ को आदेश ।
३५. निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा २०३० साल बैशाखमा भएको वारदातलाई लिएर मिति ०३४।१२।२४ मा जाहेरी परी ०३५।१।११ मा प्रहरी प्रतिवेदन दर्ता भई प्रतिवादीहरू उपर मुद्दा चलेको देखिन्छ । प्रस्तुत मुद्दामा २०३० साल बैशाखमा वारदात भएकोमा ०३४ सालमा मात्र जाहेरी दर्खास्त परेकोले वारदात भएको मितिले २ वर्षसम्म उजूर नपरेको देखिँदा त्यसपछि चल्न सक्ने देखिएन । २० वर्षको हदम्याद लाग्ने हो कि ? भनी हेर्दा सो हदम्याद लाग्नलाई कर्तव्यको उजूर चाहिँ मौकैमा परी राखेको हुनुपर्छ तर प्रस्तुत मुद्दामा कर्तव्यको उजूर नै ४ वर्षपछि मात्र परेकोले २० वर्षको हदम्याद पनि लाग्न सक्ने देखिँदैन । उक्त ऐन बमोजिम कसूरदार आफैं सावित भई पोलिएकोमा भने जहिलेसुकै मुद्दा चल्न सक्ने देखिन्छ । सो बमोजिम मुद्दा चल्नको लागि उजूर नपरेको अवस्थामा कसूरदार आफैं सावित भई पोलको हुनुपर्छ, उजूर परेपछि सावित हुँदैमा सो सुविधा पाउने होइन । तर प्रस्तुत मुद्दामा मिति ०३४।१२।२४ मा चक्रबहादुर बुढा मगरको जाहेरी परी सकेपछि कारवाहीको सिलसिलामा बयान गराउँदा प्रतिवादी सावित भई पोलेको देखिन्छ । यस्तो अवस्थामा जहिलेसुकै मुद्दा चल्न सक्ने होइन । तसर्थ प्रस्तुत मुद्दामा ज्यानसम्बन्धीको २० नं. अनुसार खारेज गर्ने गरेको कैलाली जिल्ला अदालतको इन्साफ सदर गरेको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय मनासिव ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय ।
३६. ज्यान सम्बन्धीको २० नं. मा भएको व्यवस्था अनुसार कसूरदार आफैं सावित भई पोलेकोमा जहिलेसुकै पनि मुद्दा चल्न सक्ने त्यस बाहेक कर्तव्यको उजूर परेकोमा २० वर्षसम्म र उजूर नपरेकोमा दुई वर्षसम्म मुद्दा चल्नसक्ने व्यवस्था भएको पाइन्छ । त्यसपछि मुद्दा चल्न नसक्ने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी मध्ये जगदेव रोका जाहेरवाला समक्ष सावित भई अरुलाई पोलेकोबाट नै जाहेरी परी मुद्दाको कारवाई शुरू भएको छ । त्यसपछि अभियुक्त अदालत समक्ष समेत सावित भई बयान गरेकोले कसूरदार आफैं सावित भएको अवस्थामा मुद्दा जहिलेसुकै पनि चल्न सक्ने कुरामा ज्यानसम्बन्धीको २० नं. को शब्दावलीबाट स्पष्ट छ । तसर्थ दुई वर्षभित्र नपरेको भनी खारेज गर्ने गरेको शुरू इन्साफ सदर गरेको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तवको राय भई ०४१।२।२१ मा फैसला भएको रहेछ ।
३७. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री श्यामबहादुर प्रधानको बहस समेत सुनियो ।
३८. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा २०३० साल बैशाखमा भएको वारदातलाई लिएर २०३४।१२।२४ मा जाहेरी परी मुद्दा चलेकोमा ज्यानसम्बन्धीको २० नं. को विपरीत भएको भनी मुद्दा खारेज हुने ठहराई शुरू कैलाली जिल्ला अदालतले गरेको इन्साफ सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतबाट सदर भएको देखिन्छ । ज्यानसम्बन्धीको २० नं. मा “कर्तव्य परी ज्यान मरेको मुद्दामा कसूरदार आफैं सावित भई पोलेकोमा बाहेक कर्तव्यको उजूर परेकोमा तहकिकातबाट कर्तव्यवाला यही हो भन्ने पत्ता नलागेकोमा बीस वर्षपछि र कर्तव्यको उजूर नपरेकोमा वारदात भएका दुई वर्षपछि कसै उपर मुद्दा चल्न सक्तैन” भन्ने व्यवस्था भएको देखिन्छ । ज्यानसम्बन्धीको २० नं. को उक्त व्यवस्थाबाट कसूरदार आफैं सावित भएकोमा एक स्थिति, कर्तव्यको उजूर परेको र कर्तव्यवाला यही हो भनी पत्ता नलागकोमा एक स्थिति र कर्तव्यको उजूर नपरेकोमा एक स्थिति गरी ज्यानसम्बन्धी मुद्दामा तीन किसिमको हदम्यादको व्यवस्था विधायिकाले गरेको देखिन्छ । “कर्तव्य परी ज्यान मरेको मुद्दामा कसूरदार आफैं सावित भई पोलेकोमा बाहेक” भन्ने वाक्यांश उक्त २० नं. को शुरूमा रहेको छ । तसर्थ अन्य अंशहरूको अर्थ गर्दा यो अंशलाई ध्यानमा राख्नु पर्ने हुन्छ । “कर्तव्य परी ज्यान मरेको मुद्दामा कसूरदार आफैं सावित भई पोलेकोमा बाहेक” भन्ने व्यवस्थाबाट कसूरदार आफैं सावित भएमा जहिलेसुकै पनि मुद्दा चल्न सक्ने रहेछ भन्नु पर्ने हुन्छ । सो बाहेक कर्तव्यको उजूर परेकोमा तहकिकातबाट कर्तव्यवाला यही हो भन्ने पत्ता नलागेकोमा बीस वर्षपछि मुद्दा चल्न सक्ने देखिँदैन र त्यस्तै गरी कर्तव्यको उजूर नपरेकोमा वारदात भएका दुई वर्षपछि कसै उपर मुद्दा चल्न सक्ने देखिँदैन । ज्यानसम्बन्धीको २० नं. मा रहेको “कर्तव्यको उजूर नपरेकोमा वारदात भएको दुई वर्षपछि कसै उपर मुद्दा चल्न सक्तैन” भन्ने अन्तिम वाक्यांशको अर्थ गर्दा कर्तव्यको उजूर दुई वर्षभित्र नपरेको स्थितिमा दुई वर्षभन्दा पछि उजूर परी कसूरदार आफैं सावित भएमा पनि मुद्दा चल्न सक्दैन भनी अर्थ गर्दा शुरूमा रहेको “कसूरदार आफैं सावित भई पोलेकामा बाहेक” भन्ने अंश निरर्थक हुन जान्छ । कसूरदार आफैं सावित भएमा जहिलेुकै पनि मुद्दा चल्न सक्छ । दुई वर्षभित्र उजूर पर्ने वा नपर्ने भन्ने कुराले तात्विक अर्थ राख्दैन । जहिलेसुकै मुद्दा चल्नको लागि कर्तव्यको उजूर नपर्दै सावित भएको हुनुपर्छ कर्तव्यको उजूर परेपछि सावित भएर हुँदैन भन्न ज्यानसम्बन्धीको उक्त २० नं. को बनावटबाट मिल्ने देखिँदैन ।
३९. प्रस्तुत मुद्दामा ०३० साल बैशाखमा वारदात घटेको भनी जाहेरवाला चक्र बहादुर बुढा मगरको ०३४।१२।२४ मा उजूर परेको भए पनि अभियुक्त च्याण्टी भन्ने असमाली मगर्नीले तिलसरी मगर्नीलाई कर्तव्य गरी मारेमा आफू सावित भई झल्ली भन्ने तुलसी मगर्नी, कमारा भन्ने कर्ण बहादुर थापा समेत उपर पोल गरेको देखिन्छ । त्यस्तै गरी वारदात भएको स्थानमा आफू पनि सुतेको भन्ने कुरामा सावित भई अन्य प्रतिवादीहरू उपर कमारा भन्ने कर्ण बहादुरले पोल गरेको देखिन्छ । अर्की झल्ली भन्ने तुल्सी मगर्नी पनि तिलसरीलाई आफू समेतले दुवै खुट्टा च्यापी मार्नमा संलग्न रहेकोमा सावित भई अन्य जगदेव रोका, कमारा भन्ने कर्ण बहादुर तथा च्याण्टी मगर्नी उपर पोल गरेको पाइन्छ । यसरी कसूरदार आफैं सावित भई अन्य अभियुक्तहरूलाई पोलेको देखिएको समेतबाट यस्तो अवस्थामा ज्यानसम्बन्धीको २० नं. बमोजिम अहिले पनि मुद्दा चल्न सक्ने नै देखिँदा दुई वर्षभित्र उजूर नपरेको भनी मुद्दा खारेज गर्न मिल्ने देखिँदैन ।
४०. यसर्थ ज्यानसम्बन्धीको २० नं. को गलत व्याख्या गरी दुई वर्षभित्र उजूरी नपरेको भनी मुद्दा खारेज गर्ने गरेको शुरू कैलाली जि.अ.को इन्साफ सदर गरेको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । उक्त इन्साफ उल्टी गर्ने गरेको माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तवको राय मनासिव ठहर्छ । जो बुझ्नुपर्ने बुझी पुनः कानुनबमोजिम इन्साफ गर्नु भनी मिसिल शुरू जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.सुरेन्द्र प्रसाद सिंह
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४२ साल भदौ ४ गते रोज ३ शुभम् ।