July 12, 1985
Created by nepalarchives

निर्णय नं. २३२७ – लिखत बदर हक कायम ।

निर्णय नं. २३२७    ने.का.प. २०४२      अङ्क ४   फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री...

निर्णय नं. २३२७    ने.का.प. २०४२      अङ्क ४

 

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् ०४१ सालको दे.फु.नं. ८१

मुद्दा : लिखत बदर हक कायम ।

 

पुनरावेदक/प्रतिवादी:का.जि.का.न.पं.वडा नं. ३१ बस्ने सावित्री देवी उपाध्याय ।

विरूद्ध

विपक्षी/वादी:का.जि.इन्द्रचोक तरन चोक बस्ने कृष्ण बहादुर अमात्य ।

फैसला भएको मिति:२०४२।३।२८।६ मा

     मोहियानी हक खरिद बिक्री गर्न वा दान दातव्यको रूपमा वा अरु किसिमले हक छोडाई लिन पाइने छैन भन्ने भूमि  सम्बन्धी ऐन, २०२१ को दफा २६(क) मा व्यवस्था भई उक्त दफाको प्रतिबन्धात्मक वाक्यांशमा परापूर्व देखि बनाएको पक्की घर रहेछ भने सो घरबारीको जग्गा बिक्री गर्न वा अन्य कुनै प्रकारले हक छाडी दिन सक्ने व्यवस्था भएको देखिन्छ ।

(प्रकरण नं.१९)

निवेदिका तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त

विपक्षी तर्फबाट      :विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली

उल्लेखित मुद्दा:X

फैसला

न्या.धनेन्द्र बहादुर सिंहः डिभिजन बेञ्चसमक्ष पेश हुँदा मा.न्या.हरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    पिता चन्द्र बहादुरको नाममा दर्ता भएको का.जि.कमलपोखरी धोबीधाराको चोग्लेबु खेत रोपनी २।। मा बनाएको लम्बाई फुट २५।९ इन्च, चौडाई फुट ९।६ इन्चको घर बनाएको घरमा बसी कमाई कुत लिने गरी विपक्षी चक्रबहादुरलाई र पछि हरिरामलाई सालको धान मुरी ५।५ मा कमाउन दिएकोमा धनी हरिराम ऋणी चक्रबहादुर भई २००१।१२।२२ मा रजिष्ट्रेशन पास भएको राजीनामा र धनी सावित्रीदेवी ऋणी हरिराम भई रु. ७,९९५। को ०२१।१०।२६।२ मा राजीनामा पास भएको रहेछ । उक्त घर मेरो हकको हो, लिनु दिनु गरेको जति राजीनामा बदर गरिपाउँ भन्ने समेत कृष्ण बहादुरको फिरादपत्र ।

३.    वादीले ऐनको आधार र आफ्नो हक भएको कुरा खोल्न सकेको छैन । मेरो दाता हरिरामले चक्रबहादुरसँग लिएको थाहा पाएपछि त्यसलाई बदर गराउन सक्नु पर्दथ्यो । घरबारी जग्गा मोहीले बिक्री गर्दा घर समेत बिक्री गर्न पाउने हुँदा मैले खरिद गरेको हुँ । वादीको हक नहुँदा अ.बं. ८२ नं. र १८० नं. ले फिराद खारेज हुनु पर्दछ । लिखत बदर भए गरेका मितिले २ वर्षभित्र फिराद गर्नु पर्नेमा २००१ सालको लिखतलाई २०२७ सालमा उजूर गरेको र चक्रबहादुरले आफैं बनाई भोगी आएको घर हरिरामलाई र हरिरामले मलाई बिक्री गरेको हुँदा हक सदर गरिपाउँ भन्ने समेत सावित्री देवीको प्रतिउत्तर ।

४.    प्र.चक्रबहादुर र हरिरामले ०२७।९।२ मा तामेलभएको इतलायनामाको म्याद गुजारी प्रतिवाद नगरी बसेको ।

५.    लेनदेन व्यवहारको ४० नं. बमोजिम २ वर्ष भित्र फिराद गर्नु पर्नेमा सो नगरी २००१।१२।२२ र ०२१।१०।२६ को लिखत बदर गर्न सो म्याद नघाई फिराद गरेको देखिँदा खारेज हुने ठहर्छ भन्ने समेत का.जि.अ.को ०२८।३।६ को फैसला ।

      ६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी कृष्ण बहादुरको पुनरावेदन परेकोमा खारेज गरेको शुरू इन्साफ मनासिव छ भन्ने समेत बा.अं.अ.को ०२९।२।२२ को फैसला ।

७.    बक्स भई आएको हु.प्र.बमोजिम इन्साफ जाँच हुँदा खारेज गरेको मिलेन । अञ्चल अदालतबाट कानुन बमोजिम कारवाही गरी फैसला गर्नु भनी मिसिल पठाई दिने भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

८.    मध्यमान्चल क्षेत्रीय अदालतको आदेश बमोजिम इन्साफ गरिपाउँ भन्ने र घर कम्पाउण्डको जग्गामा मोहियानी हक नलाग्नेमा चक्रबहादुर, हरिराम र सावित्रीदेवीको बीचमा पटकपटक खडा भएका सम्पूर्ण लिखत जालसाजी  हुन् । फिराद दावी बमोजिम गरिपाउँ भन्ने समेत वादीको वा.धर्मरत्न सुवालको बयान ।

९.    वादीको बयान फिराद झुठ्ठा हुनाले परस्पर बाझिएको छ । घर जग्गा खरिद बिक्री गर्न पाउने हुँदा मैले खरिद गरी मर्मत गरी बनाई बसी भोगचलन गरिआएको हुँदा कुनै उजूर वाजूर छैन । सो घर वादीको हो भनी चक्रबहादुरले कबुलियत गरेको छैन । हरिरामलाई बिक्री गर्दासम्म कुनै दावी उजूर छैन । चक्रबहादुरको कबुलियत छोडपत्र समेत देख्न सुन्न पाएमा अ.बं. ७८ नं. बमोजिम बयान गर्नेछु । यसै घर जग्गालाई रु. ३५,०००। मोल राखी हाल मात्र यी वादीले हक कायम मुद्दा का.जि.अ.मा दर्ता गरेका छन् । अ.बं. ८९ नं. ले दोहोरो दावी नलाग्ने हुँदा आज गरेको बयानको मान्यता हुँदैन भन्ने समेत ०३५।८।३० मा र २००२।१।१९।३ मा चक्रबहादुरले चन्द्र बहादुरलाई गरिदिएको राजीनामा र हरिरामले चन्द्र बहादुरलाई २००२।१।१९ मा गरिदिएको कबुलियत कागजहरू सद्दे कीर्ते जालसाजी छुट्याउन म्याद पाउँ भन्ने समेत ०३५।९।१८ मा प्रतिवादीको वा.हरिनाथ उपाध्यायले गरेको बयान ।

१०.    भू.सं.ऐन, ०२१ बमोजिम शहरी क्षेत्रको घर कम्पाउण्ड भित्र मोहियानी हक नलाग्ने हुँदा सावित्रीदेवीले हरिरामसँग गराई लिएको लिखत कानुनी अस्तित्वहिन देखिन आउँछ । वादीको जग्गा रहेको घरमा वादीको हक कायम हुने ठहर्छ । पटकपटक खडा भएका लिखत सम्पूर्ण जालसाज हुन् भन्ने वादी दावीको हकमा सावित्रीदेवीले हरिरामसँग गराई लिएको लिखत नै कानुनी अस्तित्वहिन ठहर भएकोले जालसाजी तर्फको दावी अ.बं. १८० नं. ले खारेज हुने ठहर्छ भन्ने समेत ०३५।९।१८ को बा.अं.अ.को फैसला ।

११.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीको मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन पर्दा बा.अं.अ.को फैसला मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको आदेश ।

१२.   मोहियानी हक बेच बिखन गर्न कानुनले नहुने हुँदा प्रतिवादीले हरिरामसँग लिएको राजीनामाले कानुनी मान्यता नपाउने हुँदा बा.अं.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

१३.   उक्त निर्णय उपर इन्साफ जाँचको लागि वादीको बिन्तिपत्र परेकोमा इन्साफ जाँच गरिदिनु भन्ने समेत बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम डिभिजन बेञ्च समक्ष पेश हुँदा २००१ सालमा र २०२१ सालमा रजिष्ट्रेशन पारित भएको राजीनामालाई बदर गरिपाउँ भनी ०२७।५।२४ मा परेको फिरादपत्रबाट सो लिखत बदर गर्ने ठहराएको फैसलामा सहमत हुन नसकिएकोले अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाउनु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।

१४.   निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा २००१।१२।२२ को लिखत र ०२१।१०।२६ को लिखत समेत बदर गरिपाउँ भनी वादीको फिराद २०२७।५।२४ मा परेको देखिन्छ । भूमिसम्बन्धी ऐनले मोहियानी हक खरिद गर्न नहुने भनी निषेध गरेको भए पनि तत्काल २००१ सालमा मोहियानी खरिद बिक्री नहुने गरी कानुनले निषेध गरेको देखिन्छ । चक्रबहादुरले मोहियानी हक छोडपत्र गरी कृष्ण बहादुरलाई दिएको भए पनि त्यसको कुनै कानुनी मान्यता हुने देखिँदैन । २००१।१२।२२ मा चक्रबहादुरले हरिरामलाई मोहियानी हकको जग्गामा बनेको कच्ची घर समेतको मोहियानी हकको जग्गा बिक्री गर्न कानुनी बन्देज समेत नभएकोले मोहियानी जग्गामा बनेको घर वादीको भए त्यस्तो राजीनामामा उल्लेख भएको घरसम्मको लिखत बदर गराउन ऐनका म्यादभित्र वादी आउनु पर्ने थियो । तर २००१।१२।२२ को राजीनामा लिखतमा उल्लेख भएको घर बदर हुन सकेको छैन । त्यस्तो लिखतको घर २५ वर्ष पछि बदर हुने स्थिति रहेन  भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) को प्रतिबन्धात्मक वाक्यांशमा रहेको पक्की घरले विवादको कच्ची घर पनि पक्रन्छ भन्न मिलेन । कच्ची घरको नाताले दफा २६(क) को प्रतिबन्धात्मक वाक्यांशमा आकर्षित हुन सक्ने देखिएन । २००१।१२।२२ मा चक्रबहादुरले हरिरामलाई मोहियानी हक समेतको जग्गामा बनेको घर समेतको मोहियानी हक बिक्री गर्दा सो विवादको घर आफ्नो भन्ने उल्लेख गरी बिक्री गरेको र राजीनामाबाट प्राप्त हुन आएको विवादको मोहियानी हकको घर समेत हरिरामले सावित्रीदेवीलाई ०२१।१०।२६ मा बिक्री गरेको र २००१।१२।२२ को लिखत बदर नभई कायम रहेकोले सो घर मेरो भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय ।

१५.   मिति २००१।१२।२२ मा चक्रबहादुरले हरिरामलाई मोहियानी हकको जग्गामा बनेको कच्ची र मोहियानी हकको जग्गामा बनेको कच्ची घर र मोहियानी हकको जग्गा समेत बिक्री गरेको भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) ले मोहियानी हक खरिद बिक्री गर्न नपाउने बन्देज रहेकोले प्र.सावित्रीदेवीले बिक्री गर्ने हक नभएको हरिरामबाट मिति ०२१।१०।२६ मा गराई लिएको राजीनामा लिखतको कानुनी मान्यता नपाउने देखिएन । चक्रबहादुरले हरिरामलाई ००१।१२।२२ मा मोहियानी हक र सो जग्गामा बनेको घर बिक्री गरेको र त्यसपछि हरिरामले प्र.सावित्रीदेवीलाई मोहियानी हक र घर समेत ०२१।१०।२६ मा बिक्री गरेको भूमिसम्बन्धी ऐन प्रतिकूल हुँदा सो लिखतलाई मान्यता दिन नमिल्दा विवादित घरमा वादीको हक पुग्ने देखिनाले बा.अं.अ.को फैसला सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव देखिन्छ भन्ने समेत माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय भई ०४०।१२।२० मा भएको फैसला।

१६.    निवेदिका तर्फबाट उपस्थित विद्वान विरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त तथा विपक्षी तर्फबाट उपस्थित विद्वान विरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवालीको बहस समेत सुनियो।

१७.   आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा पिता चन्द्र बहादुरका नाउँमा दर्ता भएको का.जि.कमलपोखरी धोबिधाराको चोलेबु खेत रोपनी २।। मा उत्तर दक्षिण लम्बा २५ फिट फिट ९ इन्च पूर्व पश्चिम चौडा फूट ९ फिट ६ इन्चको दुई नाले दुई तले कच्ची घर १ मा बसी जग्गा कमाई सालको धान मुरी ५।५ कुत लिने गरी चक्रबहादुरलाई कमाउन पिता चन्द्र बहादुरले दिनु भएकोमा चक्रबहादुरले छाडेकोले हरिरामले कबुलियत कागज लेखी कमाएकोमा धनी हरिराम ऋणी चक्रबहादुर भई रु. १४०१।को २००१।१२।२२।४ मा रजिष्टे«शन पास भएको र धनी सावित्रीदेवी ऋणी हरिराम भण्डारी भई रु. ७९९५।को २०२१।१०।२६ मा राजीनामा गरेको ०२५।५।२५ मा थाहा भयो उक्त राजीनामामा घर लिनु दिनु गरेको जति बदर गरिपाउँ भन्ने समेत वादी कृष्ण बहादुर अमात्यको फिराद दावी देखिन्छ । चक्रबहादुरबाट खरिद गरी मेरो दाता हरिरामले आफ्नो हक गराई राखेको जग्गा बिक्री गरेको र वादीको फिराद हदम्याद नाघी परेको हुँदा खारेज हुनुपर्छ भन्ने समेत प्रतिवादीको जिकिर देखिन्छ।

१८.   सर्वप्रथम वादीको फिराद हदम्यादभित्र परेको छैन भन्ने प्रतिउत्तर जिकिरतर्फ हेर्दा वादीको फिराद हदम्याद नाघेको कारणले खारेज हुने ठहर्‍याई शुरू का.जि.अ.बाट ०२८।३।६।१ मा फैसला गरेको र सोही इन्साफ ०२९।२।१२।२ मा बा.अं.अ.बाट सदर हुने ठहरेकोमा खारेज गरेको मिलेन अञ्चल अदालतबाटै कारवाई तथा निर्णय गर्नु भनी मध्यमान्चल क्षेत्रीय अदालतबाट ०३३।२।५।३ मा निर्णय भएको र उक्त निर्णय अन्तिम भइरहेको पनि देखिन्छ । मध्यमान्चल क्षेत्रीय अदालतबाट हदम्यादको आधारमा खारेज गरेको मिलेन भनी भएको निर्णय  अन्तिम भइरहेकोबाट अब वादीको फिराद हदम्याद नाघी परेको छ भन्ने प्रतिवादीको जिकिर तर्फ पुनः विचार गरिरहनु पर्ने अवस्था रहेन ।

१९.    २००१।१२।२२ मा चक्रबहादुरले हरिरामलाई गरिदिएको राजीनामामा चन्द्र बहादुरलाई र हरिरामले सावित्री देवीलाई ०२१।१०।२६ मा गरिदिएको राजीनामामा वादी कृष्ण बहादुर अमात्यलाई साल एकको धान मुरी ५।५ तिर्नु पर्ने भन्ने उल्लेख भएको देखिन्छ । सावित्रीदेवीले दिएको जग्गा खिचोलाको मुद्दाको फिरादपत्रको पहिलो प्रकरणमा पनि विवादित जग्गा कृष्ण बहादुर अमात्यको नाउँमा दर्ता रहेको भन्ने उल्लेख गरेको देखिन्छ । यसबाट विवादको जग्गामा वादीको भूस्वामित्व कायम रहेकोमा विवाददेखिएन । २००१ सालको राजीनामामा विवादको घरलाई पराले घरभनिएको छ त्यस्तै गरी २०२१ सालको राजीनामामा उक्त घरलाई कच्ची घरभनिएको देखिन्छ । वादीबाट मोहियामा कमाउन लिने व्यक्तिहरू चक्रबहादुर तथा हरिरामले विवादको घर जग्गा राजीनामा गरिदिन मिल्छ वा मिल्दैन भन्ने तर्फ हेर्दा मोहियानी हक खरिद बिक्री गर्न वा दान दातव्यको रूपमा वा अरु किसिमले हक छोडाई लिन पाउने छैन भन्ने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(ख) मा व्यवस्था भई उक्त दफाको प्रतिबन्धात्मक वाक्यांशमा परापूर्वदेखि बनाएको पक्की घर रहेछ भने सो घरबारीको जग्गा बिक्री गर्न वा अन्य कुनै प्रकारले हक छाडी दिन सक्ने व्यवस्था भएको देखिन्छ । दफा २६(क) प्रतिबन्धात्मक वाक्यांशमा रहेको पक्की घरभन्ने शब्दले विवादको कच्ची घरपनि समेट्छ भन्न मिल्ने देखिएन । मोहियानीमा कमाउने चक्रबहादुरबाट हरिरामलाई र हरिरामबाट सावित्रीदेवीलाई बिक्री गरेको क्रमशः २००१।१२।२२ र २०२१।१०।२६ का राजीनामाहरूको कानुनी मान्यता हुन सक्ने देखिएन ।

२०.   अतः उपर्युक्त कारणबाट उक्त लिखत बदर भई विवादित घरमा वादीको हक पुग्ने ठहराएको बा.अं.अ. र मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.पृथ्वी बहादुर सिंह

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४२ साल आषाढ २४ गते रोज ६ शुभम् ।