निर्णय नं. २३२५ – कर्तव्य ज्यान
निर्णय नं. २३२५ ने.का.प. २०४२ अङ्क ४ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री...
निर्णय नं. २३२५ ने.का.प. २०४२ अङ्क ४
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् ०४१ सालको फौ.फु.नं. १६, १७, १८, १९
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी: रोल्पा जिल्ला अरुबा गा.पं. वडा नं. ७ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा दाङमा थुनामा रहेको वीर बहादुर पुन मगर ।
ऐ.ऐ वार्ड नं. ८ मितावाङ घृ भै हाल ऐ.ऐ मा थुनामा रहेको लाल बहादुर घर्ति मगर ।
ऐ.ऐ वार्ड नं. ७ घर भै हाल ऐ.ऐ मा थुनामा रहेको हरि प्रसाद पुन मगर ।
ऐ.ऐ घर भै हाल जिल्ला कार्यालय केन्द्रिय कारागार शाखा काठमाडौंमा थुनामा रहेको कमान सिंह पुन मगर ।
विरूद्ध
विपक्षी/वादी:बाँसे घर्ती मगरको जाहेरीले श्री ५ को सरकार
र
पुनरावेदक/वादी:बाँसे घर्ती मगरको जाहेरीले श्री ५ को सरकार ।
विरूद्ध
विपक्षी/प्रतिवादी: जिल्ला रोल्पा आरुवा गा.पं.वार्ड नं. ७ बस्ने हरि प्रसाद पुनः मगर समेत ।
फैसला भएको मिति:२०४२।३।७।६ मा
जाहेरवाला तथा मृतकका स्वास्नीहरू समेतले भन्न नसकेको कुरा भनेको देखिँदा निजको भनाईमा भर गर्न मिल्ने देखिएन ।
(प्रकरण नं.२५)
पुनरावेदक प्रतिवादी तर्फबाट :विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल
विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्र राज पन्त
उल्लेखित मुद्दाःX
फैसला
न्या.धनेन्द्र बहादुर सिंहः डिभिजन बेञ्चका माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) अनुसार यस फुल बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :
२. हरि प्रसादले घर जग्गाको माल बुझ्नलाई डाकी पठाएको खबर लिई सार्के घर्ती घरमा आएको हुँदा मेरो छोरा सुकराम र माहिलो छोरा सर्पे घर्ती यही ०३२।२।२८ गते घरबाट गइसकेको घरमा बास बसेको थाहा भएको र ०३२।२।२९ गतेका दिन सार्केको घर देखि अन्दाजी १००० गज टाढा पर्ने रिसमजाको सल्लेरी वनमा दुई भाइको लाश परेको देखिन आएबाट निज हरि प्रसादले नै मेरा छोराहरू डाँक्न पठाई कमानसिं समेत ८ जना भई खुन गरे गराएकोले कानुनी कारवाही गरिपाउँ भन्ने समेत बाँसे घर्ती मगरको जि.प्र.थाना रोल्पाबाट प्रमाणित भएको जाहेरीको प्रतिलिपि ।
३. ०३२ साल ज्येष्ठ २८ गते पुल बनाउने काममा गएको थिएँ । २९ गते मंसूर घर्तीबाट मानिस मरेको खबर पाई मेरो बाबु सार्के घर्ती मगर समेत भई हेर्न गयौं । सर्पे र सुकरामलाई कमानसिंह समेत ८ जनाले मारे मराएको होइन । निजहरूलाई कसैले मारे होलान् भन्न सक्दैन । रक्सी खाएको हुँदा लोटी मरे होलान् जस्तो लाग्छ भन्ने समेत प्र.लाल बहादुर घर्ती मगरको प्रहरीमा बयान ।
४. गुमान वलीले वन काटे भनी दिएको उजूरी उपर ज्येष्ठ २८ गते ४ बजे सरजमीन शुरू गरी साँझ १०।११ बजे सरजमीन सिध्याई म जि.स.स.कमान सिंह उक्त काम तामेलीमा बसेको हुँ । म र सार्के घर्ती समेत भई सर्पे र सुकरामलाई मारे मराएको होइन भन्ने समेत प्र.कमानसिं पुनले प्रहरीमा गरेको बयान ।
५. ०३२ साल ज्येष्ठ २५ गतेका दिन देखि २९ गतेसम्म डोर समेत सँगै छांै सर्पे र सुकराम आफैं लोटी मरेछन् भन्ने शंका लाग्छ भन्ने समेत प्रतिवादी हरि प्रसाद पुन मगरले प्रहरीमा गरेको बयान ।
६. ०३२।२।२८ का दिन हरि प्रसादले भने बमोजिम सर्पे र सुकरामलाई बोलाएर ल्याएको र मेरो घरमा यी दुई बास बसेका हुन् । सोही दिन राति ८।९ बजेको समयमा कमानसिं र वीर बहादुर पुन मगर समेत आई निज दुईलाई खुकुरी लाताले मारेका हुन् र मेरो घरको ६००।७०० गज फरकमा रेशमजाको वनमा लगी फाली दिएका हौं भन्ने समेत सार्के घर्तीको प्रहरीमा भएको बयान ।
७. म र कमानसिं समेत भई सर्पे र सुकरामलाई मारे मराएको होइन । रक्सी खाई रेशमजाको वनमा भिडबाट लोटी मरेका हुन् भन्ने सुनेको हुँ भन्ने समेत प्र.सर्पे घर्तीले प्रहरीमा गरेको बयान ।
८. ०३२।५।२४ को सरजमीन मुचुल्का । हरि प्रसादको वचनले कमानसिं र म समेत ७ जना भई कर्तव्य गरेका हौं भनी सार्केले साविती बयान गरेको, बुझिएको सरजमीन मध्ये ३१ जना सरजमीनका मानिसहरूले जग्गाको पैसा र पुरानो कुटपीट मुद्दाको रिसइवी भएको कारणबाट समेत हरि प्रसाद र कमान सिंह भई कर्तव्य गरी मारेका हुन् भनी किटानी साथ बकी लेखिदिएको, लाश जाँच मुचुल्काबाट कर्तव्य गरेकै देखिने र बाँसे घर्तीले किटानी जाहेरी दर्खास्त समेत दिएकोले कमान सिंह समेत ८ जना उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) नं. को सजायँको माग गरी मिति ०३२।५।२९।१ मा प्रहरी प्रतिवेदन दायर भएको रहेछ ।
९. मैले प्रहरीमा गरेको बयान खुशीराजीले गरेको छु म समेत भई सुकराम र सर्पेलाई मारे मराएको होइन । मेरो बाबु सार्के घर्तीले ०३२।५।२ गते गरेको बयान भनी सुनाइएको झुठ्ठा हो ल्याप्चे सही छाप बाबुको होइन । वारदातको दिन म नौले भीरे भन्ने जग्गामा थिएँ । मृतकहरू रक्सी खाई भीरबाट खसी मरेको हुनुपर्छ, म निर्दोष छु भन्नेसमेत व्यहोराको ०३४।३।२०।२ मा प्र.लाल बहादुरको अदालतमा बयान ।
१०. वारदातको दिन म घर्ती गा.पं.झिनवाको मेरो पसलमा थिएँ मृतकहरू जाँड रक्सी खाएर भीरबाट लोटी मरे भन्ने सुनेको हुँ, म निर्दोष छु भन्ने समेत प्र.पर्से घर्ती मगरको मिति ०३२।५।३०।२ मा अदालतमा बयान ।
११. प्रहरीमा राजीखुशीबाट कागज गरेको हुँ । ०३२।५।२ गतेको सार्केको भाकाबाट लेखिएको बयान प्रहरीहरूले जालसाजीबाट बनाएका हुन् । ०३२।२।५ देखि २९ गतेसम्म वन जाँचको डोर मेरो घरमा आई बसेको हुँदा म र छोरा कमानसिं समेत घरैमा थियौं मर्ने सुकराम सर्पे भीरबाट लोटी मरेका हुन सक्छ भन्ने समेत प्र.हरि प्रसाद पुनको मिति ०३२।५।३१।३ को अदालतमा बयान ।
१२. मर्ने सर्पे र सुकराम रक्सी खाई भीरबाट लोटी मरेकोमा म समेतले मारेको भनी रिसइवी परेको गंगाप्रसादले उजूरी गरेका हुन् । मैले निज उपर लुटपीट मुद्दा दिएको थिएँ । म ०३२ साल ज्येष्ठ २८, २९ गते रेन्जरको साथ मेरै घरमा छु । म निर्दोष छु भन्ने समेत व्यहोराको प्र.कमानसिंको मिति ०३२।५।३१ मा अदालतमा गरेको बयान ।
१३. ०३२ साल ज्येष्ठ २८ गते देखि २९ गते बेलुका तक म भारत सिमला खरापत्थर भन्ने ठाउँमा आलुखेती गरी बसेको थिएँ । यही ०३२ फाल्गुणमा मात्र फर्केको हुँ मृतकहरू के भई मरेका हुन् मलाई थाहा छैन मृतकहरूसित मेरो कुनै झगडा थिएन, म निर्दोष छु भन्ने समेत व्यहोराको ०३२।१२।२२ को काले बुढा मगरले अदालतमा गरेको बयान ।
१४. ०३२।२।२८ देखि २९ गते बेलुका सम्म वन मुद्दाको डोरमा थिएँ मृतकहरूसित मेरो कुनै रिसइवी थिएन । सार्केको बयान कीर्ते हुँदा पोल वनावटी मात्र हो रक्सी खाई लोटी मरेका हुन् भन्ने सुनेका हौं, झुठ्ठा आरोपबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको मिति ०३२।१२।२२ को प्र.वीर बहादुरको अदालतमा बयान ।
१५. जिल्ला डोरबाट भई आएको ०३३।५।२३ को घटनास्थलको नक्सा विवरण सहितको नाप जाँच मुचुल्का ।
१६. मर्ने सर्पे र सुकराम ५ बजेतिर आई ८, ९ बजे जायाबाट कमानसिं, वीर बहादुर आएपछि म मेरो छोरा लाल बहादुर, मानसिं, वीर बहादुर समेत भई यो वारदात गरेका हौं भन्ने सार्केको कागज र निजको कागजबाट हरि प्रसाद पनि वारदातमा आएको नदेखिने र निजले मारी दिनु भनी अह्राएको पनि खुल्न नआएको र यस किसिमको अपराधमा बाबु छोरा नै सम्मिलित हुन पनि गाह्रो हुने हुँदा र अघि लुटपीट मुद्दाको फिरादबाट पनि मृतकहरूको जग्गा खाने कमानसिं नै देखिएको हुनाले प्रत्यक्ष प्रमाणको अभावमा हरि प्रसाद वारदातमा सम्मिलित थियो भन्न नमिल्ने र अन्य प्रतिवादी काले घर्ती, पर्से घर्ती, वीरसिं घर्ती समेतको हकमा किटानी जाहेरी बाहेक अरु कुनै सबूद प्रमाण गुज्रन नआएकोले फरार रहेको पुनरामको हकमा मुलतवी रहने भई सो बाहेक कमानसिं, सार्के घर्ती, लाल बहादुर घर्ती र वीर बहादुर समेतको कर्तव्यबाट सर्पे र सुकरामको मृत्यु भएको ठहर्छ भन्ने समेत व्यहोराको शुरू रोल्पा जिल्ला अदालतको मिति ०३४।५।२६।६ को फैसला ।
१७. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको र प्र.कमानसिंह पुनमगर, लाल बहादुर घर्ती, प्र.वीर बहादुर पुनको मध्य पश्चिमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।
१८. अभियुक्त प्र.मध्येका सार्के घर्तीले प्रहरीमा गरेको साविती बयान र अन्य सबूद प्रमाणबाट समर्थित हुन आएको स्थितिमा प्रहरीमा भएको कागज झुठ्ठा कीर्ते हो भनी स्वयं कारणी प्र.सार्केले अदालतमा आई आफू निर्दोष भएको सबूद पेश गर्नु पर्नेमा सो नगरी प्रहरी हिरासतबाट भागी गएको र सो सम्बन्धमा कैदी भगायो भन्ने मुद्दा चली सजायँ समेत भइसकेको देखिएको र निजको पोललाई विचार नगर्दा पनि प्र.मध्ये कमानसिंको जाया भन्ने ठाउँमा थिएँ भन्ने जिकिरका सम्बन्धमा जायाबाट वारदातस्थल भित्तावांग आउन जान सक्ने बाटो भएकोले वारदात समयमा यी प्रतिवादी नरहेको भन्ने कुराको ठोस सबूद नदेखिएकोले समेत यी प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न नसकी शुरूको इन्साफ मनासिव छ । अन्य प्र.हरूको हकमा किटानी जाहेरी बाहेक अन्य सबूद गुज्रन आएको नदेखिएकोले सफाई दिएको र फरार रहेका प्रतिवादीका हकमा मुलतवी राखेको मनासिव छ । प्र.मध्ये सार्केका हकमा निज अदालतमा म्याद थपको लागि उपस्थित भएपछि प्रहरी प्रतिवेदन साथ उपस्थित नभई हिरासतबाटै भागेको अवस्थालाई अ.बं. १९० नं. अनुसार अदालतमा उपस्थित भएको मान्न नसकी त्यस्तो अदालतमा उपस्थितै नभएको व्यक्तिका हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी रहनु पर्नेमा नराखी ठहर गरेको शुरूको फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत मिति २०३९।१०।२।१ को मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।
१९. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकार प्रतिवादी कमानसिं पुनमगर समेतको सर्वोच्च अदालतमा पुनरावेदन परेको रहेछ ।
२०. केवल सरजमीनले गरेको शंका र यी जाहेरवाला र प्रतिवादी पुनरावेदकहरूका बीचमा झगडा भयो भनी अनुमानको आधारमा प्रतिवादी पुनरावेदकहरूले सुकराम र सर्पेलाई कर्तव्य गरी मारेको भन्न मिल्दैन निजहरूले सफाई पाउने ठहर्छ र म.पश्चिमान्चल क्षेत्रीय अदालतले प्र.हरि प्रसाद, कमानसिं, लाल बहादुर र वीर बहादुरलाई सर्वस्वसहित जन्म कैद गरेको मिलेन । प्र.काले बुढा र पर्से घर्ती समेतलाई सफाई दिएको म.पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मा.न्या.श्री त्रिलोक प्रताप राणाको राय ।
२१. फरार रहेका पुनराम बुढा मगर र प्रहरी हिरासतबाट भागेका सार्के घर्तीका हकमा म.पश्चिमान्चल क्षेत्रीय अदालतबाट मुलतवी राख्ने गरेको हुँदा विचार गर्न परेन । प्र.काले बुढा मगर र पर्से घर्ती मगरलाई सफाई दिने गरेको म.पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ सदर ठहर्छ । प्र.हरि प्रसाद पुनमगर, कमानसिं पुनमगर, वीर बहादुर पुनमगर र लाल बहादुर घर्ती मगरका हकमा ०३२।३।६ को लाश प्रकृति मुचुल्काबाट मृतकहरू सर्पे र सुकराम भीरबाट लडी मरेको भन्न सकिने स्थिति छैन । सार्के घर्तीले अपराधमा आफू सावित भई अरु प्रतिवादीहरूलाई पोल गरी प्रहरीमा कागज गरेको र आफू प्रहरी हिरासतबाट भागेको समेत हुँदा अदालतमा उपस्थित भई प्रहरीमा भएको सावितीलाई झुठ्ठा प्रमाणित नगरिएसम्म सो बयान अन्यथा भनी झुठ्ठा हो भन्न सकिने र त्यसलाई आधारहिन मान्न सकिने स्थिति रहँदैन । सरजमीनका व्यक्तिहरूले अदालतमा समेत आई गरेको किटानी बकपत्र समेत भएको र प्रतिवादीहरूले वन जाँच डोरमा रहेको जिकिर लिएकोमा सो वनजाँच सरजमीन मुद्दामा भ्रष्ट्राचार भएको ठहरी रा.अं.का. बाट निर्णय भइसकेका र प्रतिवादीहरू वारदात स्थलमा उपस्थित हुन नसक्ने तथ्ययुक्त आधार समेत पुनरावेदक प्रतिवादीहरूले शंकारहित रूपमा प्रमाणित गर्न नसकेको हुनाले प्र.हरि प्रसाद र अरु प्रतिवादी कमानसिं, वीर बहादुर र लाल बहादुरलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्म कैद गर्ने गरेको रोल्पा जिल्ला अदालतको इन्साफ सदर गरेको म.पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने मा.न्या. श्री गजेन्द्रकेशरी बास्तोलाको राय ।
२२. डिभिजन बेञ्चका माननीय न्यायाधीशरुको बीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी कमानसिं पुन मगर हरि प्रसाद पुन मगरका तर्फबाट विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल र विपक्षी वादीका तर्फबाट विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्तले गर्नु भएको बहस समेत सुनियो ।
२३. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा प्र.हरि प्रसाद, कमानसिंह, वीर बहादुर, लाल बहादुर, सार्के घर्ती मगर, पर्से घर्ती मगर, काले बुढा मगर, पुनराम बुढा मगर, समेत उपर ज्यानसम्बन्धीको १३(१) को दावी लिई प्रहरी प्रतिवेदन परेको देखिन्छ । सो मध्ये पुनराम बुढा मगरको हकमा शुरू जिल्ला अदालतले र सार्के घर्ती मगरको हकमा मध्य पश्चिमान्चल क्षेत्रीय अदालतबाट मुलतवी रहेको देखिन्छ । शुरू जिल्ला अदालतबाट प्र.काले बुढा मगर र पर्से घर्ती मगरलाई सफाई दिने गरेको इन्साफ मध्यमान्चल क्षेत्रीय अदालतबाट सदर भएकोमा सो उपर श्री ५ को सरकारको पुनरावेदन परेकोमा निज काले बुढा मगर र पर्से घर्ती मगरलाई सफाई दिने विषयमा डिभिजन बेञ्चका माननीय न्यायाधीशरु बीच राय मिलेको देखिन्छ ।
२४. अब.प्र.मध्येका हरि प्रसाद, कमानसिंह, लाल बहादुर तथा वीर बहादुरको हकमा हेर्दा जाहेरवाला बाँसे घर्ती मगरले राप्ती अञ्चलाधीश कार्यालयमा दिएको उजूरी निवेदनबाट प्रस्तुत मुद्दामा अनुसन्धान प्रारम्भ भएको देखिन्छ । बाँसे घर्ती मगरले दिएको जाहेरी मिसिल समेत रहेको देखिँदैन । मिसिल सामेल रहेको राप्ती अञ्चलाधीश कार्यालयबाट आएको सक्कल बमोजिम उतार ठीक छ भनेको कागजमा जाहेरवालाको सहिछाप भएको देखिँदैन । उक्त जाहेरीमा २०३२ साल आषाढसम्म अङ्कमा जनिएको देखिन्छ । मिति रोज खुलाइएको पाइएन । सबै प्रतिवादीहरू मृतक सर्पे तथा सुकरामलाई कर्तव्य गरी मारेमा इन्कार रही बयान गरेको पाइन्छ । प्र.मध्येका सार्के घर्तीले प्रहरीमा मिति ०३२।५।२ मा गरेको बयानमा सर्पे तथा सुकरामलाई कर्तव्य गरी मारेमा आफू सावित भई यी प्रतिवादीहरूलाई समेत पोलेको भन्ने समेत आधार प्रहरी प्रतिवेदनमा लिइएको देखिन्छ । प्र.सर्पे घर्ती मगर प्रहरीमा बयान गरिसकेपछि प्रहरी हिरासतबाट भागेको भन्ने समेत प्रहरी प्रतिवेदनमा उल्लेख भएको देखिन्छ । प्र.सार्के घर्ती मगरको छोरा लाल बहादुरले अदालतमा ०३२।५।३० मा बयान गर्दा बाबु सार्केको प्रहरीमा भएको बयानमा लागेको सहछिाप निजको होइन प्रहरीले कृत्रिम खडा गरेका हुन् भन्ने जिकिर लिएको पाइन्छ । प्र.सार्के घर्ती मगरको प्रहरीमा भएको ०३२।५।२ को बयानमा लागेको सहिछाप ०३२।३।६ को लाश प्रकृति मुचुल्कामा सार्के घर्ती मगरको नाउँमा लागेको ल्याप्चेसँग भिडाई विशेषज्ञ जाँच गर्न पठाउँदा उक्त ल्याप्चे छापहरू जाँच गरी हेर्दा फरक देखिएको भन्ने समेत श्री ५ को सरकार अपराध अनुसन्धान कार्यालयको ०३६।१०।४ को पत्रमा उल्लेख भएको देखिन्छ । तसर्थ सार्के घर्तीको प्रहरीमा भएको भनिएका कागज उपर भर गर्ने स्थिति रहेन ।
२५. वारदातको रातमा सार्के घर्तीको गोठमा बास बसेको भनिएको व्यक्ति धनबहादुरले वारदातको रात १०।११ बजेको समयमा ८।९ जना जस्तो मानिस भत्राक भुत्रुक गर्दै सार्केको घरमा पसे निजहरू पस्नासाथ धाङ धाङ धुङ धुङ गरी कुटे हानेको आवाज आयो एकजना मानिसलाई घरको तलाबाट बारीमा Çयाँकियो त्यसपछि हरि प्रसाद, कमानसिंह समेतले मारे बचाउ बचाउ भनेको आवाज तथा चिच्याहाट सुनेँ मलाई पनि मार्लान् भन्ने लागी चाल नपाउने गरी हिडें भन्ने समेत बकपत्र अदालतमा आएर गरेको देखिन्छ । तर जाहेरवाला बाँसे घर्तीले वारदातको समयमा धनबहादुर, प्र.सार्के घर्तीको गोठमा थियो भनी लेखाउन सकेको पाइँदैन, त्यसरी कमानसिंह हरि प्रसाद समेतले मारे बचाउ बचाउ भन्ने आवाज सुन्ने व्यक्तिले सो कुराको जाहेरी गर्नु पर्ने हो । तर निजले सो कुरा कहीँ जाहेर गरेको देखिँदैन । जाहेर– वाला तथा मृतकका स्वास्नीहरू समेतले भन्न नसकेको कुरा धनबहादुरले भनेको देखिँदा निजको भनाईमा भर गर्न मिल्ने देखिएन ।
२६. लाश सडी गली गएको भन्ने लाश प्रकृति मुचुल्कामा उल्लेख भएको र लाश जाँच हुन नसकेकोबाट पनि के कस्तो प्रकृतिबाट मृतक सर्पे र सुकरामको मृत्यु हुन गएको रहेछ भनी यकीन हुन सक्ने स्थिति देखिएन । यी प्रतिवादीहरूले नै मृतक सर्पे र सुकरामलाई कर्तव्य गरी मारेका हुन् भन्न सकिने कुनै निश्चयात्मक सबूद प्रमाण वादी पक्षबाट आउन सकेको देखिँदैन । यकीन सबूद प्रमाणको अभावमा प्र.हरि प्रसाद, प्र.कमानसिंह, प्र.वीर बहादुर तथा प्र.लाल बहादुर समेत भई सर्पे र सुकरामलाई मारेका हुन् भन्न सकिने अवस्था देखिएन ।
२७. अतः उपयुक्त कारणहरूबाट प्र.हरि प्रसाद कमानसिंह, लाल बहादुर, वीर बहादुरले नै सर्पे र सुकरामलाई कर्तव्य गरी मारेका हुन् भनी शंकारहित तवरले प्रमाणित हुन सकेको नदेखिँदा निजहरूले वादी दावीबाट सफाई पाउने ठहर्याएको मा.न्या.श्री त्रिलोक प्रताप राणाको राय मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादीहरूले ज्यानसम्बन्धीको १३(१) को अभियोगबाट सफाई पाउने ठहरेको र निजहरूलाई यस मुद्दा बाहेक अन्य मुद्दामा थुनामा नरहेको भए थुनाबाट छाडी दिनु भनी आज छुट्टै आदेश समेत भई गएको हुँदा निजहरूको हकमा शुरू रोल्पा जि.अ.तको ०३४।५।२४ को फैसला तथा मध्यपश्चिमाञ्चलक्षे.अ.को ०३९।१०।२।१ को फैसला बमोजिमको लगत कायम राख्न पर्दैन, व्यहोरा जनाई लगत कट्टा गरिदिनु भनी शुरू रोल्पा जि.अ.तमा लेखी पठाउन काठमाडौं जि.अ.त त. मा लगत दिनु…१
कमानसिंह पुन मगर १
हरि प्रसाद पुन मगर १
लाल बहादुर घर्ती मगर १
वीर बहादुर घर्ती मगर १
प्र.कमानसिंह पुनमगर, प्र.हरि प्रसाद पुनमगर, प्र.लाल बहादुर घर्तीमगर, प्र.वीर बहादुर पुनमगरका अंश रोक्का रहेको अंश फुकुवा गरिदिनु भनी ऐ. ऐ. मा पठाउन ऐ. ऐ. मा लगत दिनु…..२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु….३
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.बब्बर प्रसाद सिंह
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल आषाढ ७ गते रोज ६ शुभम् ।