निर्णय नं. २२७० – दर्ता बदर नामसारी
निर्णय नं. २२७० ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल...
निर्णय नं. २२७० ने.का.प. २०४२ अङ्क २
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको दे.फु.नं. ८२, १०६, १०७
मुद्दा : दर्ता बदर नामसारी ।
पुनरावेदक/प्रतिवादी:जि.रूपन्देही, आनन्दवन गा.पं.वा.नं.२ प्रेम नगर बस्ने सुमित्रादेवी क्षेत्रीनी
ऐ.ऐ बस्ने जय बहादुर घर्ती
ऐ.ऐ बस्ने भिउसिंन लामिछाने
टेकमान पुनको मु.स.गर्ने ऐ.ऐ बस्ने गोपाल पुन
ऐ.ऐ बस्ने मान बहादुर गुरुङ
ऐ.ऐ बस्ने लक्ष्मी कुमारी क्षेत्री
विरूद्ध
विपक्षी/वादी: ऐ.ऐ. बस्ने दामोदर भण्डारी
फैसला भएको मिति:२०४२।२।१८।६ मा
वादीको हक कायमतर्फ अदालतमा मुद्दा परेकोले त्यस्तो मुद्दा पर्दा पर्दैको अवस्थामा त्यस्तो विवादका जग्गाहरूलाई प्रतिवादीले आफ्नो नाउँमा नापी दर्ता गराएको नाताबाट त्यस्तो दर्तालाई सदर मान्ने स्थिति नै हुँदैन ।
(प्रकरण नं.१६)
अदालतमा जग्गाको हक बेहकतर्फ उजूर परेकोमा त्यस्तो उजूरीको निर्णय अन्तिम रूपले भई नसक्दै त्यस्तोमा जग्गाधनी प्रमाणपूर्जा पाउँ भनी वादी आउन पर्छ भन्नु न त न्यायसंगत हुन्छ न त जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) को स्प्रीटसँग मिलेको छ भन्न सकिन्छ ।
(प्रकरण नं.१७)
ऐनका हदम्याद भित्रै प्रमाण पूर्जा पाउँ भनी वादीको उजुरी परेकोले जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) को हदम्याद नाघेको भन्न मिलेन ।
(प्रकरण नं.१७)
पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री जुक्तिजंग लामिछाने
विपक्षी/वादी तर्फवाट: विद्वान अधिवक्ता श्री शम्भु थापा
उल्लेखित मुद्दाःX
फैसला
न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. विपक्षी प्रेम बहादुर समेतलाई रु.२४००। बुझाई आनन्दवन गा.पं.वा.नं. २ प्रेमनगरको १६ आना जिमिदारी कित्ता नं. ३ को ज.बि. ३–१५–० मिति ०१९।३।३ मा रणबहादुर, चिनियाबहादुर साक्षी बसी माल अड्डाबाट राजीनामा पारित गरी लिई उक्त जग्गाको बाली समेत उठाई तिरो भरो समेत गरिआएको थिएँ कि.नं. ३ को ३–१५–० विपक्षीले आफ्ना नाउँमा नापी दर्ता गराउन थालेको मौकामा म्यादभित्र सर्भेक्षण नापी गोश्वारामा उजूरी छानविन हुँदा हक नपुग्नेले नालिश दिनु भनेकोले रणबहादुर उपर मैले फिराद दर्ता गरी लुम्बिनी अञ्चल अदालतबाट जग्गातर्फ हक ठहरी अन्तिम भइरहेको उक्त फैसला बमोजिम साविक कित्ता नं. र न.नं. हाल सर्भेको कि.नं. खुलाई विपक्षीहरूको नाम खारेज गरी मेरो नाउँमा दर्ता गरिपाउँ भनी जि.भू.प्र.का.मा ०३१।६।३१ मा निवेदन दिएकोमा विपक्षीहरूको विरोध परेको र फिल्डबुक उतार झिकाई हेर्दा कि.नं. ६७ चिनियाबहादुर, कि.नं. ६८ खाली कि.नं. ६९ टेकमान पुनः कि.नं. ७० रणबहादुर कि.नं. ७१ मन बहादुरका नाउँमा दर्ता भएको देखिएकोले सम्बन्धित अदालतबाट हक बेहक गरी सर्भे नापीका कित्ता खुलाई ल्याएका बखत दाखेल दर्ता कारवाई हुने भनि जि.भु.प्र.का रुपन्देहिबाट ०३२।९।२० मा सुनाएको, मेरो फैसलाले हक भएको जग्गा मुद्दा चल्दाचल्दै बीचमा लिनु दिनु गरी आ–आफ्नो नाउँमा दर्ता गराई प्रमाण खडा गरी साविक कि.नं. ३ मध्ये न.नं. १९ को हाल सर्भे नापीमा आनन्दवन गा.पं.वा.नं. २(ग) को कि.नं. ६७ को ०–१८–० मध्ये जनिई जयबहादुरलाई बिक्री गरी कि.नं. ९३ मा जयबहादुर र कि.नं. ९४ मा चिनियाबहादुरको बाँकी देखिएका कित्ताफोढ गराएको ऐ. न.नं. १८ को हाल सर्भे नापीमा कि.नं. ६८ को १–७–० चन्द्रजंग घर्ती त्यसपछि भिउसिन लामिछानेको नाउँमा दा.खा. भएको ऐ. ऐ. मध्ये न.नं. १८ को हाल कि.नं. ६९ को ज.बि. ०–९–३ टेकमान पुनका नाउँमा दर्ता देखिएको, ऐ. ऐ. मध्ये न.नं. १८ को हाल कि.नं. ६९ को ज.वि. ०–९–३ टेकमान पुनका नाउँमा दर्ता देखिएको, ऐ. ऐ. मध्ये न.नं. १६ को हाल सर्भेमा कि.नं. ७० को ज.वि. ०–१७–० रणबहादुर त्यसपछि चिनियाबहादुरका नाउँमा दा.खा.भई गएको, ऐ. ऐ. मध्ये न.नं. १५ को हाल सर्भे नापीमा कि.नं. ७१ को ज.बि. ०–९–१५ मन बहादुर गुरूङका नाउँमा दर्ता गराइएको लेख विपक्षीहरूको नाउँमा हुन गएको दर्ता बदर गरी मेरा नाउँमा सारी दर्ता गरी बढ जग्गाको हक कायम गरी फैसला बमोजिम चलन समेत चलाई पाउँ भन्ने दामोदर भण्डारीको फिराद ।
३. वादीले दावी गरेको जग्गा मौकामा हाजिर भई फिल्डबुकमा लेखाउन नसकेको तथा झगडा जनाउन नसकेको कि.नं. ६७ को जग्गा चिनियाबहादुरका नाममा र कि.नं. ६९ टेकमान पुन ७० नं. रणबहादुर, ७१ नं. मन बहादुरका नाउँमा २०२६ सालमा भएको सर्भे नापीमा दर्ता भई प्रमाण पूर्जा समेत पाई आएको उक्त जग्गा दर्ताको आधारमा चिनियाबहादुरले जयबहादुरलाई बिक्री गरेको जग्गा मिच्नेको १८ नं. २ वर्ष हदम्याद नाघिसकेको वादी दावी पुग्न नसक्ने अघि भएको फैसलाबाट हाल विपक्षीले तपसीलमा खोली दावी गरेको जग्गा समेत कुन जग्गा चलन चलाई दिने फैसला भएको नदेखिएकोले फैसला बमोजिम चलन चलाई पाउँ भन्ने वादी नपुग्ने भन्ने समेत टेकमान पुन, मन बहादुर गुरूङ, जयबहादुर घर्ती, हरीकला क्षेत्रीनी, सुमित्रादेवी समेत जना ५ को संयुक्त प्रतिउत्तर ।
४. वादीको फिराद अ.बं. ७२ नं. विपरीत भएको मेरो कि.नं. ६८ को जग्गा साविक कि.नं. ३ को नभई कि.नं. २ को हो र त्यस कित्तामा वादीको अघि नै दावा परेको थिएन । वादी फिरादको प्रकरण ६ को लेखाईबाट कासीराम कामी, चन्द्रजंग घर्तिलाई दिएको जग्गा चिनियाबहादुरको कि.नं. २ को भन्ने देखिएको छ । कित्ता नं. ३ बाहेक कित्ता नं. २ को जग्गामा वादी कहिले पनि हक नभएको कित्ता नं. ३ को जग्गा वादीले घरबास गरी भोगी आएको, कासिर सुनार र चन्द्रजंग घर्तीले बेग्लाबेग्लै राजीनामाद्वारा चिनियाबहादुरले दिएको र अदालतको फैसला बमोजिम २०२३।४।१२।४ मा रजिष्ट्रेशन पास भएको नाउँसारी दर्ता गरी जिमिदारी दामोदर भण्डारीले नै २ नं. रसिद दिएको, कासिराम सुनारबाट ०२६।१।३१ मा चन्द्रजंग घर्ती क्षेत्रीले राजीनामा पारित गरिलिएको र यी नै दामोदरले नामसारी गरी ०२८ सालसम्म रसिद दिएको र सोही जग्गा ०३०।२।२५ मा मात्र चन्द्रजंगबाट रजिष्ट्रेशन पारित गरी लिई सर्भेमा आनन्दवन गा.पं.वा.नं. २(ग) कि.नं. ६८ कायम हुन आएको हो हाल मेरो जग्गाको उत्तरमा रहेको चिनियाबहादुरको उत्तरमा वादीको कि.नं. ३ को जग्गा वादीको घरबास र भोगचलन छ । एक ठाउँको आफ्नो जग्गा छँदाछँदै अर्को ठाउँमा जग्गा पक्री दावी गर्न पाउने होइन भन्ने समेत व्यहोराको भिउसिन लामिछानेका प्रतिउत्तरपत्र ।
५. ०३१ सालमा रणबहादुरले मालमा दाखिल गरेको अठसठाबाट कि.नं. १ सन्तकुमारी र चिनियाबहादुर भन्ने देखिन्छ । सो कि.नं. २ को जग्गा बिगहा ५–१२–१० भन्ने विपक्षीको लेखाईबाट समर्थित छ । सो जग्गा कि.नं. ६८ मा पर्ने बाँझो जग्गा हो र अरू कित्ता मेरो साविकको कि.नं. ३ को जग्गा हो भनी दावी गर्न मिल्ने देखिएन । दावीको जग्गा मध्ये सो एककुमारीको तमसुक बमोजिम मैले खान पाउने अंश बमोजिम कि.नं. ६७, ७०, ७३, ४१ को जग्गा मेरो हक भोगको भएकोमा निजले आफ्नो भनी दावी गरेको फैसलाले आफ्नो भनी निर्दिष्ट नगर्दा चलन चलाई पाउँ भनेको र बढ जग्गामा निजको कुनै स्वामित्व नभएको हुँदा मेरो समेत प्रमाण बुझी इन्साफ पाउँ भन्ने समेत व्यहोराको लक्ष्मीकुमारीको प्रतिउत्तर ।
६. वादीदावीको कि.नं. ३ को ज.बि.३–१५–० यो यस ठाउँमा छ भनी प्र.ले देखाउन नसकेकोले वादीदावीको कि. नं.७१, ७०, ६९, ६८, ६७ नं. को जग्गा क्रमशः न.नं. १५, १६, १७, १८ र १९ को देखिई वादी दावी बमोजिम उक्त जग्गा वादीका नाउँमा दर्ता हुने देखिन आएकोले प्रतिवादीहरूको दर्ता लगत कट्टा गरी वादीका नाउँमा दर्ता गर्नुपर्ने र बढ जग्गासमेत वादीको हकको ठहर्छ भन्नेसमेत रूपन्देही जिल्ला अदालतको फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी समेत जना ६ को लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन ।
८. वादीले अघि यसै अदालतबाट जिती पाएको फैसला र चलन चलाई पाउँ भन्ने तर्फ शुरूमा कोर्टफी राखेको नदेखिनाले कानुनको विपरीत पर्न आएको फिराद खारेज गर्नुपर्नेमा सो को विपरीत शुरूको हक बेहकको इन्साफ गल्ती हुँदा उल्टी भई खारेज हुने ठहर्छ भन्ने समेत लुम्बिनी अञ्चल अदालतको फैसला ।
९. उक्त फैसलामा चित्त बुझेन भन्ने दामोदर भण्डारीको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने पश्चिमान्चल क्षेत्रीय अदालतको आदेश ।
१०. कि.नं. ६७, ६८, ६९, ७० र ७१ को जग्गा दे.पु.नं. ५९४ को जग्गा बाली मुद्दाबाट वादीले जिती पाएको क्रमश न.नं. १९,१८,१७,१६ र १५ को जग्गा रहेछ भन्ने देखिन आएकोले वादी दावी बमोजिम कि.नं. ६७, ६८, ६९, ७० र ७१ को जग्गामा प्रत्यर्थीको दर्ता बदर भई बढ जग्गा समेत वादी दामोदर भण्डारीको नाममा दर्ता हुने ठहराएको शुरू इन्साफ मनासिव ठहर्छ । वादी दावी खारेज गरेको लुम्बिनी अं.अ.को इन्साफ बदर हुन्छ भन्ने समेत पश्चिमान्चल क्षेत्रीय अदालतको ०३७।१०।३।६ को फैसला ।
११. पश्चिमान्चल क्षेत्रीय अदालतको उक्त इन्साफ उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.सुमित्रादेवी, जयबहादुर, भिउसेन लामिछाने गोपाल पुन, मन बहादुर गुरूङको निवेदनमा जग्गा मिच्नेको तत्कालीन १८ नं. को म्याद दुई वर्ष नाघी फिराद परेको भन्ने आधारमा पुनरावेदनको अनुमति दिने गरेको सर्वोच्च अदालतको ०३८।८।२४ को आदेश ।
१२. प्र. लक्ष्मीकुमारीको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ जाँची दिनु भन्ने हु.प्र.बक्स भई डिभिजन बेञ्चसमक्ष पेश हुँदा अ.बं. २०२ नं. बमोजिम झगडिया झिकाउने आदेश ।
१३. निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा विवादको जग्गामा ०२६।३।६ देखि नापी कार्य शुरू भई ०२६।३।१५ मा समाप्त भएको भन्ने मिसिल संलग्न नक्साबाट देखिएको छ । उक्त जग्गाहरूको जग्गाधनी प्रमाण पूर्जा पनि प्रतिवादीहरूले २०२६ सालमै प्राप्त गरिसकेको देखिएको छ। विवादको जग्गामा मुद्दा पर्दा पर्दैको स्थितिमा नापी दर्ता लिनु दिनु गरे भन्ने जिकिर लिने वादीले नापी मौकामा विवादको जग्गामा झगडा छ भनी विवाद उठाउन सक्नुपथ्र्याे, सो केही गरेको देखिएन लाला बुद्धिमान श्रेष्ठ विरूद्ध पूर्णकला उपाध्याय भएको दर्ता बदर हक कायम मुद्दामा सर्भे नाप जाँचको परिणाम स्वरूप एकाको हकको जग्गा अर्कोको नाममा नापी दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नुपर्ने कारणको सिर्जना भएको मान्नुपर्ने भन्ने समेत सर्वोच्च अदालत फुल बेञ्चबाट ०४०।८।९।६ मा निर्णय भएको पाइन्छ । त्यस्तो एकाको हकको जग्गा अर्कोले नापी दर्ता गराएकोमा फिराद गर्ने हदम्याद तत्कालीन जग्गा मिच्नेको १८ नं. ले दुई वर्ष हुने स्पष्ट छ । विवादको जग्गा २०२६ सालमै नापी भई दर्ता श्रेस्ताको काम समाप्त भई जग्गाधनी प्रमाण पूर्जा समेत वितरण भइसेकेको स्थितिमा अ.बं. ३६ नं. र दण्ड सजायँको ४३ नं. अनुसार भू.प्र.का.को निर्णय सुनी पाएको मितिले ३५ दिनभित्र फिराद गर्न आएको छु भनी ०३२।१०।२५ मा मात्र परेको वादीको फिराद कानुन अनुरूपको भन्न नमिल्दा वादी दावी खारेज हुने ठहर्छ भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको राय ।
१४. वादी दामोदर भण्डारीले प्रेम बहादुरबाट रु. २४००। मा कि.नं. ३ को ज.बि. ३–१५–० राजीनामा गरी २०१९।३।३ मा लिएकोमा विवाद देखिएन । सोही कि.नं. ३ को जग्गा २०२६ सालको नापीमा रणबहादुर क्षेत्री, चिनीयाबहादुर क्षेत्री, मान बहादुर गुरूङ, लाल बहादुर क्षेत्री, समेतले आफ्नो नाउँमा नापी गराउन खोजेको विषयमा नापी गोश्वाराले नालिश गर्न जान भनी २०२६।४।१४ मा सुनाएका मितिले म्यादभित्र यी वादी दामोदर भण्डारीको फिराद परेको र उक्त मुद्दामा न.नं. १५, १६, १७, १८, १९ को जग्गा प्रतिवादीहरूले खिचोला गरेको ठहरी रूपन्देही जिल्ला अदालतबाट ०२९।५।३१ मा र लुम्बिनी अञ्चल अदालतबाट ०३१।६।१३ मा फैसला भई अन्तिम भइरहेको पनि देखिन्छ । वादीले जिती पाएको न.नं. १५, १६, १७, १८ र १९ को जग्गा नै कि.नं. ६७, ६८, ६९, ७०, ७१ को जग्गा रहेछ भन्ने देखिएको छ । अदालतको फैसलाद्वारा हक स्वामित्व कायम भइसकेको जग्गा प्रतिवादीहरूले मुद्दा पर्दा पर्दैको स्थितिमा आफ्नो नाउँमा नापी दर्ता नामसारी इत्यादि गरी नयाँ प्रमाण खडा गर्दैमा सो जग्गामा प्रतिवादीको कायम गर्न मिल्ने देखिँदैन । भू.प्र.का.ले सुनाएको ३५ दिनभित्रै वादीको फिराद परेको देखिएकोले म्याद नाघी फिराद परेको भन्न मिल्ने देखिएन । कि.नं. ६७, ६८, ६९, ७० र ७१ को जग्गा वादीको ठहराई प्रतिवादीहरूले गराएको दर्ता बदर भई वादीका नाउँमा दर्ता हुने समेत ठहराएको पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ भन्ने माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय भई डिभिजन बेञ्चबाट ०४१।१।५ मा निर्णय भएको रहेछ ।
१५. निवेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान व.अ. श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री जुक्तिजंग लामिछानेले विवादको जग्गामा २०२६।३।६ मा सर्भे कार्य शुरू भई ०२६।३।१५ मा समाप्त भएको छ र ०२६।८।१४, र ०२६।८।१५ मा मेरो पक्षले लालपूर्जा समेत लिएको छ तर जग्गाधनी प्रमाण पूर्जा पाउँ भन्ने वादीको उजूर ०३१।६।२१ मा मात्र जग्गा नाप जाँच ऐन, २०१९ को हदम्याद १२० दिन नघाएर परेको छ । वादीले राजीनामाद्वारा पाएको जग्गा कि.नं. ३ को हो र मेरो पक्षको जग्गा कि.नं. २ को हो । कि.नं. २ को जग्गाको रसिद वादी स्वयंले दिएको छ । मेरो पक्षले ल एक राजीनामा बदर गरिपाउँ भन्ने वादीको दावी छैन नापीमा वादीले झगडा जनाउन सकेको छैन, कानुन बमोजिमको उजूर बेगर भू.प्र.का.ले सुनाउँदैमा हदम्याद पाउने हैन तसर्थ वादी दावी खारेज गर्ने गरेको सम्माननीय प्रधान न्यायाधीशज्यूको राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । विपक्षी वादी दामोदर भण्डारीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले ०२६ सालमा नापीकै बखत मेरो पक्षले मेरो जग्गा विपक्षहरूले नापी गर्न लागे भनी सर्भे गोश्वारामा उजूर गरेको छ । सर्भे गोश्वाराले हक कायम गरी ल्याउनु भनी ०२६।४।१४ मा सुनाएपछि मेरो पक्षले ०२६।५।३० मा फिराद गरी रूपन्देही जिल्ला अदालत र लुम्बिनी अञ्चल अदालतको फैसला समेतबाट न.नं. १५, १६, १७, १८, १९ को जग्गा मेरो पक्ष दामोदर भण्डारीको ठहरी फैसला भई अन्तिम रूपमा रहेको छ र पुनः दर्ता प्रमाण पूर्जा पाउँ भनी भू.प्र.का. मा निवेदन गर्दा विपक्षीहरूले विरोध गरेबाट सुनाएका मितिले ३५ दिनभित्र यो फिराद परेको हुँदा खारेज गरेको मिलेन, विपक्षीहरूले गराएको दर्ता बदर गरी मेरो पक्षको हक कायम हुने ठहराएको माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१६. यसमा वादी दामोदर भण्डारीले प्रेम बहादुरबाट ०१९।३।३ मा साविक कि.नं. ३ को ३–१५–० जग्गा राजीनामा पारित गरिलिएमा विवाद देखिएन । विवादको जग्गामा ०२६।३।६ देखि नापी कार्य शुरू भई ०२६।३।१५।१ मा समाप्त भएको मिसिल संलग्न नापी नक्सा ट्रेस उतारबाट देखिन्छ । नापीकै अवस्थामा सु.रणबहादुर समेतले कि.नं. ६७, ६८, ६९, ७०, ७१ मा घुसाई नापी नक्सा गर्न खोजे भनी वादीले ६ नं. नापी गोश्वारा मार्फत उजूर दिएकोमा विपक्षीहरूले आ–आफ्नो जग्गा नापी गराएका हौं भनी इन्कारी बयान दिएकोले तपाईका नाउँमा कायम गर्न नमिल्ने हुँदा चित्त नुबझे ऐनका म्यादभित्र सम्बन्धित अदालतमा नालिश गर्न जानु भनी ६ नं. नापी गोश्वाराले वादीलाई ०२६।४।१४ मा सुनाएको वादी दामोदर भण्डारी विरुद्ध रणबहादुर क्षेत्री समेत भएको जग्गा बाली मुद्दाको मिसिल संलग्न फा.नं. ७ को कागजबाट देखिन्छ । त्यसरी सुनाएपछि वादीको म्यादभित्र ०२६।५।३० मा रूपन्देही जिल्ला अदालतमा फिराद परी रूपन्देही जिल्ला अदालतबाट ०२९।२।३० मा विवादित जग्गाको नक्सा समेत गरी उक्त नक्साको न.नं. १५, १६, १७, १८ र १९ को जग्गा वादीको ठहरी फैसला भएकोमा प्रतिवादीहरूले चित्त बुझाएको सोही इन्साफ सदर भई ०३१।६।१३ मा लुम्बिनी अं.अ.बाट निर्णय भएको र लुम्बिनी अञ्चल अदालतमा उक्त निर्णय अन्तिम भइरहेको देखिन्छ । ६ नं. नापी गोश्वाराले हक बेहकमा नालेश गर्नजानु भनी वादीलाई ०२६।४।१४ मा सुनाएकोले अदालतमा मुद्दा परिरहेकै अवस्थामा दर्ता बदरतर्फ वादी आउने स्थिति नै भएन यिनै विपक्षीहरूसंग वादीको हक कायम तर्फ अदालतमा मुद्दा परेकोले त्यस्तो मुद्दा पर्दा पर्दैको अवस्थामा त्यस्तो विवादका जग्गाहरूलाई प्रतिवादीले आफ्नो नाउँमा नापी दर्ता गराएको नाताबाट त्यस्तो दर्तालाई सदर मान्ने स्थिति नै हुँदैन ।
१७. विवादको जग्गामा सर्भे नापी भएपछि ०२६ सालमै प्रतिवादीले जग्गाधनी प्रमाण पूर्जा पाएकोले जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) बमोजिम १२० दिनभित्र वादीको उजूरी परेको छैन । वादीले अ.बं. ३६ नं. अंगाली आएको मिलेको छैन भन्ने समेत प्रतिवादीतर्फका विद्वान व.अ.को भनाई बहस भएकोमा वादीको प्रतिवादीहरूका दाता चिनीयाबहादुर मिश्र र निजको बाबु रणबहादुर उपर समेत हक बेहकमा मुद्दा पर्दा पर्दैको अवस्थामा जग्गा प्रतिवादीहरूले आफ्नो नाउँमा नपाई जग्गाधनी प्रमाणपूर्जा समेत लिएको पाइन्छ । विवादको जग्गा सम्बन्धमा अदालतमा मुद्दा परिरहेकै अवस्थामा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम वादीले उजूर गर्न सक्ने अवस्थै पर्दैन । हुन पनि अदालतमा जग्गाको हक बेहकतर्फ उजूर परेकोमा त्यस्तो उजूरीको निर्णय अन्तिम रूपले भई नसक्दै त्यस्तोमा जग्गाधनी प्रमाण पूर्जा पाउँ भनी वादी आउन पर्छ भन्नु न त न्यायसंगत हुन्छ न त जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) को स्प्रीटसँग मिलेको छ भन्न सकिन्छ । जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम उजूरी गर्ने व्यवस्था जग्गाको स्वामित्व निर्विवाद रूपमा कायम भएकोमा त्यस्तो उजूर गर्न मिल्ने कुरा हो । प्रस्तुत मुद्दामा नापीकै बखत उजूर परी अदालतबाट हक बेहक गराई ल्याउन भनी ०२६।४।१४ मा सुनाएपछि वादीको फिराद परिरहेको र उक्त मुद्दाको टुङ्गो लागी हक स्थापित नभएसम्म दफा ८(१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम उजूर गर्नुलाई अ.बं. ८२ नं. बमोजिम हकदैया नै प्राप्त हुन नसकेको स्थिति रहन्छ नापीकै अवस्थामा हक बेहकको प्रश्न उठी मुद्दा चलेको र वादीको हक कायम हुने अन्तिम फैसला भएपछि ऐनका हदम्याद भित्रै प्रमाण पूर्जा पाउँ भनी वादीको उजूर परेकोले जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) को हदम्याद नाघेको भन्न मिलेन ।
१८. निवेदक लाला बुद्धिमान श्रेष्ठ विरूद्ध पूर्णकला उपाध्याय भएको जग्गा दर्ता बदर हक कायम मुद्दामा एकाको जग्गा अर्कोले नापी गराएकोमा त्यस्तोमा मुद्दा गर्नुपर्ने कारणको शुरूवात दर्ता श्रेस्ता खडा भएको मितिले हुन्छ भन्ने समेत फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित भएको हुँदा वादीको फिराद म्याद नाघी परेको छ भन्ने विद्वान व.अ.को जिकिरतर्फ हेर्दा प्रस्तुत मुद्दामा नापीकै समयमा विवाद परी सर्भे गोश्वारामा उजूर परी गोश्वाराबाट हक बेहकमा नालेश गर्न जानु भनी सुनाएपछि वादीको जिल्ला अदालतमा नालिश परी रूपन्देही जिल्ला अदालत र लुम्बिनी अञ्चल अदालतको फैसलाले हक कायम भएको र जग्गा दर्ता सम्बन्धमा वादीको भू.प्र.का. मा उजूर परी प्रतिवादीहरूले विरोध जनाएबाट ०३२।९।२० मा भू.प्र.का.ले नालेश गर्न जानु भनी सुनाएको मितिले ३५ दिनभित्र वादीको फिराद परेको र लाला बुद्धिमान श्रेष्ठको मुद्दामा यस्तो प्रश्न नै समावेश नभएकोले दुवै मुद्दाको स्थिति फरक–फरक देखिएको हुँदा उक्त मुद्दामा प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुने देखिएन ।
१९. वादीले जग्गा बाली मुद्दामा जितेको उक्त मुद्दाको मिसिल संलग्न ०२९।२।३० को न.नं. १५ १६, १७, १८, र १९ को जग्गाको पूर्व न.नं. ७ मा ३६ मौजाको कुलोदेखि यस मुद्दाको ०३५।१०।२७ को नक्साको न.नं. २७, २८, २९, ३०, ३१, ३२, ३३, ३४ को पूर्वमा न.नं. ४ मा उक्त कुलो देखिई दुबै जग्गाको आकार प्रकार मिले भिडेको र सो जग्गा सर्भे नापीको कि.नं. ६७, ६८, ६९, ७०, ७१ को जग्गासँग मिलेको भिडेको देखिन्छ । माथि उल्लिखित ६ नं. नापी गोश्वाराको ०२६।४।१४ को पत्रबाट पनि प्रतिवादीहरूले खिचोला गरेको ठहराएको न.नं. १५, १६, १७, १८, १९ को जग्गा सर्भे नापीको कि.नं. ६७, ६८, ६९, ७० र ७१ को रहेछ भन्ने देखिएको छ । तसर्थ विवादको कि.नं. ६७, ६८, ६९, ७० र ७१ को जग्गा वादीको साविक कि.नं. ३ को हैन भन्ने प्रतिवादीहरूको जिकिर पुग्ने देखिएन ।
२०. अतः उपर्युक्त कारणहरूबाट विवादको जि.रूपन्देही आनन्दवन गा.पं. वडा नं. २(ग) को कि.नं. ६७, ६८, ६९, ७० र ७१ को जग्गा वादीको ठहराई प्रतिवादीहरूले गराएको दर्ता बदर भई वादीका नाउँमा दर्ता हुने समेत ठहराएको पश्चिमान्चल क्षेत्रीय अदालतको ०३७।१०।३ को इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय मनासिव ठहर्छ प्र.लक्ष्मीकुमारीको हकमा इन्साफ जाँचको लागि आएको र अन्य प्रतिवादीहरूको हकमा कोर्टफी राखी दायर भएको हुँदा केही विचार गरिरहन परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.त्रिलोक प्रताप राणा
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल ज्येष्ठ १८ गते रोज ६ शुभम् ।