May 24, 1985
Created by nepalarchives

निर्णय नं. २२६९ – ज्यान मार्ने उद्योग

निर्णय नं. २२६९     ने.का.प. २०४२      अङ्क २   फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री...

निर्णय नं. २२६९     ने.का.प. २०४२      अङ्क २

 

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४० सालको फौ.फु.नं. १८

मुद्दा : ज्यान मार्ने उद्योग ।

 

निवेदक/प्रतिवादी:जनकपुर अंचल रामेछाप, निगालपानी गा.पं.वडा नं.८ बस्ने अन्तरे भन्ने ओम बहादुर लामा

विरूद्ध

विपक्षी/वादी: श्री ५ को सरकार

फैसला भएको मिति: ०४२।२।११।६ मा

     दुइ भिन्दा भिन्दै अवस्थाको विवाद बिन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन ।

(प्रकरण नं.२९)

निवेदक/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे

विपक्षी/वादी तर्फवाट: विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्साल

उल्लेखित मुद्दाःX

फैसला

न्या.धनेन्द्र बहादुर सिंहः निवेदकको निवेदनमा सम्माननीय प्रधान न्यायाधीशज्यूबाट रूलिङ बाझियो भन्ने आदेश भई सर्वोच्च अदालत नियमावलीको नियम ३३(ख) अनुसार यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.    सिम्ले खेतमा धान झार्न लगाई धान पठाई पछाडि घरतर्फ जाँदा अंतेको खेत छेउमा आइपुगे पछि कान्लाले छली बसेका विपक्षीहरूमध्ये मान बहादुरले भोटे कुराबाट खाजी पुङ्गोआयो हान भन्ने वचन दिएपछि पूर्णबहादुरले बाटो छेकी अंतरे तामाङले बोकेको धारिलो खुकुरीले मेरी आमाको टाउको पछाडि दाहिने भागमा मच्चाई काटेको र ठाइलो तामाङले घंगारूको लठ्ठीले टाउको र जिउमा एकैसाथ हिर्काएको चोटले आमा मुर्छा परेको कुरा खड्ग बहादुर तुलदासले देखि मलाई खेतमा खबर गरी घटनास्थल आउँदा मुर्छित आमा दुर्गामायालाई पानी छ्यापी धेरै समयपछि होसमा आएपछि घर लगी म्यादभित्र आमालाई सहित बोकाई जाहेर गर्न आएको छु । विपक्षीहरूले हाम्रो जग्गामा बस्तु चराउने गर्थे र त्यसो नगरिदिनोस् भन्दा एकै चोटमा सिध्याई दिउँला धेरै बक् बक् नगर भनी भनेका थिए । सोही रिसइवीबाट ज्यान मार्ने उद्देश्यले मेरो आमालाई एकान्त पारी विपक्षीहरूले ज्यान मार्ने उद्योग गरेकोले विपक्षीहरूलाई पक्री आमाको घाखत जाँच गराई विपक्षीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धीका महलको १५ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने जंगबहादुरको जाहेरी दर्खास्त पत्र । ०३५ साल मार्ग ५ गते धान झार्न छोराहरू खेतमा गएकाले खाजा पुर्‍याउन जाँदा दर्खास्तमा उल्लेख भएका मानिसहरूको वस्तु मेरो बारीमा पसेका देखी बालीमा बस्तु किन छाडेको भन्दा भनाभन भएको थियो, खेतमा खाजा पुर्‍याई फर्की चमारे खोलामा आई पुग्नासाथ मान बहादुर पूर्णबहादुर बचन दिने भई ठाइलो तामाङले घंगारूको लठ्ठीले र अन्तरे तामाङले खुकुरीले मेरो टाउकोमा हिर्काएपछि म वेहोस भएपछि ककसले के के गरे थाहा भएन, छोराहरूले रामेछाप अस्पताल ल्याई औषधी गरेको ३ दिन पछि मात्र होस् आयो, ज्यादै दुखिरहेको छ, ज्यान मार्ने उद्योग गरी हानेको चोटको औषधी उपचार राम्रो भएमा बाँचुला जस्तो लाग्छ, मलाई ज्यान मार्ने उद्योग गरी बचन दिनेमा मान बहादुर, पूर्णबहादुर र बचन मानी लाठ्ठी खुकुरीले हान्नेमा ठाइला तामाङ्ग र अन्तरे तामाङ्ग हुन् र अरु सहमति कोही छैनन् भन्ने समेत व्यहोराको दुर्गामायाको ०३५।८।२१।३ को प्रहरीमा कागज ।

३.    ०३५ साल मार्ग ५ गते बाबुको समेत वस्तु भेला गरी दोभान खेतमा चराउन लगी गोठतर्फ लिई गएँ, ६।। बजेको समयमा मेरो मीतआमा नाता पर्ने निगाल पानी गा.पं. वार्ड नं. ९ बस्ने दुर्गामाया श्रेष्ठलाई मेरो भाइ अन्तरे समेतले मार्‍यो भनी खुकोट नेवारले भन्दा थाहा पाएँ, भाइले मात्र काट्न नसक्ने हो, साथमा को थिए थाहा छैन, रात परेकोले गइन, भोलिपल्ट रामेछाप अस्पताल लैजाँदा मरेको रहेनछ भन्ने थाहा पाएँ । अन्तरे कहाँं छ थाहा छैन, बाबुले मार्ने वचन दिए नदिएको थाहा छैन भन्ने समेत अभियुक्त प्र.पूर्णबहादुर लामाले प्रहरीमा गरेको बयान कागज।

४.    ०३५।८।५ गते धान काट्न गएका खेतालाहरूलाई खाजा पुर्‍याई १ भारी घाँस काटी गोठमा आई गोठमै बसेको थिएँ । अन्दाजी ७ बजेतिर भाइ अन्तरे र अरू को को भई दुर्गामायालाई काट्नु कुट्नु गरे मलाई थाहा छैन, मैले कुटे काटेको होइन, भाइ अन्तरेले कुट्ने काट्ने गरेको भन्ने सुनेको सम्म हुँ भन्ने समेत अभियुक्त प्र.बल बहादुर लामाले प्रहरीमा गरेको कागज बयान ।

५.    ०३५।८।५ गते खेतमा धान काटी मकै लठ्ठे पिंधी घर जान आइतवारे खोल्सामा गई मकै लठ्ठे पिंधी जाहेरवालाको घरको बाटो हुँदै आउँदा, जाहेरवालाको घरमा मानिस देखि सोद्धा तेरो दाजु अन्तरेले आज चमारे खोलामा खुकुरीले काटेछन् भनी सारकेकी आमाले भनेकी हुन्, दुर्गामायालाई दलानमा राखेको रहेछ, टाउकोमा ठूलो चोट घाउ रहेछ । दुर्गामायालाई ज्यान मार्ने उद्योग गरी काट्ने हिर्काउनेमा मेरो दाजु अन्तरे हुन्, म वारदातमा नभएको मानिसलाई समावेश छ भनी जाहेर दिनुपर्ने कारण जाहेरवाला जानुन् भन्ने समेत अभियुक्त प्र.कान्छा लामाले प्रहरीमा गरेको बयान कागज ।

६.    बचन दिने मान बहादुर, पूर्णबहादुर काट्ने कुट्ने काम अन्तरे, कान्छा तामाङ ठाइला तामाङ हुन् । निजहरूले ज्यान मार्ने उद्योग गरी हिर्काएका हुन् भन्ने समेत व्यहोराको अधिकांश सरजमीनका मानिसहरूले बकी लेखाई दिएको ०३५।८।२४।७ को सरजमीन मुचुल्का ।

७.    जाहेरी, घाइते दुर्गामायाको बयान र सम्पूर्ण सरजमीनका भनाई अनुसार ज्यान मार्ने उद्योगमा मुख्य भई बचन दिने मान बहादुर लामा र पूर्णबहादुर लामा तथा खुकुरी प्रहार गरी सख्त घाउ पार्ने अन्तरे लामा देखिन आएकोले फेला नपरेको मान बहादुर लामा, ठाइला लामा समेत जना २ र फेला परेका पूर्णबहादुर लामा, ठाइला लामा समेत ४ का उपर मुलुकी ऐन ज्यानसम्बन्धीको महलको दफा १५ अनुसारको कसूर गरेमा सजायँ र पक्राउ परेको कान्छा तामाङको हकमा घाइते दुर्गामायाले केही उल्लेख नगरे तापनि जाहेरी र सरजमीन समेतबाट वारदातमा सरीक रहेको स्पष्ट देखिन आएकोले निज कान्छा तामाङ उपर सोही ऐनको दफा १७(३) अनुसारको कसूरमा सजायको दावी भएको प्रहरी प्रतिवेदन ।

८.    ०३८।८।५ का दिन म गोठमा थिएँ । दाजु अन्तरे र बाबु मान बहादुर कहाँ हुनुहुन्छ यो थाहा छैन । दुर्गामायालाई काटे कुटाएको पनि थाहा छैन, धान लिई आउँदा प्रहरीले पक्रदा मात्र दुर्गामायालाई काट्नु कुट्नु गरेको रहेछ भन्ने थाहा पाएँ, मैले दुर्गामायालाई काट्नु कुटेको ज्यान मार्ने उद्योग समेत गरेको छैन, अरुले काटे कुटेको पनि थाहा छैन भन्ने समेत अदालतमा भएको कान्छा लामाको इन्कारी बयान ।

९.    जाहरेवालासँग कुलोपानीमा झगडा भएको रिसइवीबाट मलाई उजुर दिएको र सरजमीनलाई सिकाई म उपर शंका गरेका हन्, मैले काट्नु कुट्नु गरेको हुँदा सफाई पाउँ भन्ने समेत प्र.बल बहादुर लामाको अदालतमा बयान ।

१०.    वारदातको समयमा म मेरै गोठमा छु, जाहेरवाला र सरजमीनका मानिस उपर जंगल काटे भनी मैले उजूर गरेको डोरमा वन कार्यालयमा मुद्दा चल्दै रहेको हुँदा त्यही वन मुद्दा लगाएको रिसइवीबाट म उपर वचन दिएको, मैले कुटेको, ज्यान मार्ने उद्योग गरेको भनी पोल उजूर गरेका हुन् मैले कुटपीट गरेको र ज्यान मार्ने उद्योग गरेको हैन सफाई पाउँ भन्ने समेत प्र.पूर्णबहादुर लामाले अदालतमा गरेको बयान ।

११.    वारदातको दिन घरमै बसी भैंसी चराएको, छोरा अन्तरे घरमै थंगु लेखी बसेको छोरा कान्छा, बल बहादुर, पूर्णबहादुर समेत आआफ्नो खेतमा काम गर्न गएको थिए । दुर्गामायाको बस्तु मेरो गोठको बाटो गरी हिँडाउन नदिएको रिसइवीबाट झुठ्ठा उजूर गरेको हुन् वारदात भएको ठाउँ मेरो घरबाट १ कोष फरकमा पर्छ । दुर्गामायालाई ज्यान मार्ने उद्योग गरी मैले वचन दिएको र छोरा अन्तरेले काटे कुटाएको समेत होइन भन्ने समेत प्र.मान बहादुर लामाले अदालतमा गरेको बयान ।

१२.   वारदात भएको दिन म घरमै थंगु लेखी बसेको छु, वारदात भएको ठाउँ मेरो घरबाट १ कोष टाढा पर्छ सो दिन बाबु भैंसी चराउन कान्छा, बल बहादुर, पूर्णबहादुर समेत खेतबारीमा गोठमा घाँस काट्न, खेती गर्न समेत गएका थिए । दुर्गामायाको बस्तु मेरो गोठको बाटो गरी ल्याउने बाली खुवाउने गरी दुर्गामाया र जाहेरवालासँग कल झगडा भएकोले सोको रिसइवीबाट झुठ्ठा पोल उजूर गरेको हो । मैले दुर्गामायालाई काटे कुटेको समेत होइन, झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने समेत प्र.अन्तरे भन्ने ओमबहादुरले अदालतमा गरेको बयान ।

१३.   दुर्गामाया श्रेष्ठलाई प्रतिवादीहरूले ज्यान मार्ने उद्योग गर्न बचन दिएको र काटे कुटको समेत होइन भन्ने समेत निजहरूका साक्षीहरू मान बहादुर तामाङ, दुर्गामान लामा, राम बहादुर लामा, पासाङ लामा, सुकमान लामा समेत जवान ५ को बकपत्र ।

१४.   प्रतिवादीहरूले मेरो बालीमा बस्तु छाडी नोक्सान गर्ने हुँदा त्यसो नगर भनी हामीले भन्दा सोही रिसइवीबाट आमालाई ज्यान मार्ने उद्देश्यबाट काट्ने कुट्ने गरेको हुन्, अन्य इवी केही थएन ज्यान मार्ने उद्योग गरेकोमा प्रतिवादीहरूलाई सजायँ गरिपाउँ भन्ने समेत जाहेरवाला जङ्गबहादुर श्रेष्ठले अदालतमा गरेको बकपत्र ।

१५.   ०३५।८।५ गतेका दिन अन्दाजी ५ बजे दुर्गामायालाई प्र. मान बहादुर लामाले हान काट भनेपछि अन्तरे तामाङले खुकुरीले काट्ने, ढुङ्गाले हिर्काउने कान्छा, ठाइला लठ्ठीले हिर्काउने गरी दुर्गामायालाई ज्यान मार्ने उद्योग गरी हाने काटेका हुन् भन्ने समेत भक्तबहादुर श्रेष्ठ, हिराकाजी श्रेष्ठ समेत जना १० सरजमीनका मानिसको अदालतमा बकपत्र ।

१६.    ०३५ साल मार्ग ५ गतेका दिन चमारे खोल्सा अंतेको खेतनिर कुलोमा आफ्नो खेतमा आई पुगेपछि मान बहादुर, पूर्णबहादुर, अन्तरे तामाङ, ठाइलो तामाङ, कान्छा तामाङ समेत ५ जना मध्ये मान बहादुर पूर्णबहादुरले खोजी पुङ्गोभनेपछि अन्तरेले खुकुरीले मेरो टाउकोमा, ठाइलाले मेरो बायाँ पाखुरामा लठ्ठीले हिर्कायो, कान्छाले मेरो पछाडि पिठ्यूँ, ढाडमा हिर्काए पछि बेहोस भई लडें र मान बहादुर, पूर्णबहादुरले मारी हान भनी बचन दिएकाले विपक्षीहरूले काट्ने गरेका हुन् भन्ने समेत दुर्गामाया श्रेष्ठले अदालतमा गरेको बयान ।

१७.   घाइते दुर्गामायालाई ज्यान मार्ने उद्योगमा बचन दिइएको नठहर्नाले प्र.पूर्णबहादुर लामा र मान बहादुरले घाइतेको आङ जिउमा खुकुरी तथा धार भएको हतियारको प्रहार बाहेक अन्य घाखत नदेखिएको कसूरमा पूर्ण इन्कार रहेको र प्र.का साक्षीहरूले त्यसको समर्थन गरेकोले यस परिवन्दबाट दुर्गामायाको ज्यान मार्ने उद्योग मतलबमा पसेको भन्ने कुनै ठोस प्रमाण पुग्न नआएकोले कान्छा लामाले समेत अभियोगबाट सफाई पाउने ठहर्छ । खुकुरी जस्तो हतियारको प्रयोग गरी टाउको जस्तो मर्मस्थान बे्रेन गिदीमा समेत दखल पुग्ने गरी मर्ने बाँच्ने दोसाँध पारी दुर्गामाया श्रेष्ठलाई प्र.अन्तरे भन्ने ओमबहादुर लामाले काटेकाले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योग गरेको ठहर्छ भन्ने समेत शुरू रामेछाप जिल्ला अदालतको ०३६।५।२९।६ को फैसला ।

१८.   शुरू जिल्ला अदालतको निर्णयमा न्याय परेको छैन अन्याय भएको छ तसर्थ उक्त फैसला बदर गरी सफाई पाउँ भन्ने समेत प्र.ओमबहादुरको मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको रहेछ ।

१९.    सफाई दिएको हकमा मनासिवै छ । दुर्गामायाको बकपत्रबाटै दुर्गामायाको प्रतिवादीसँग रिसइवी रहेछ भन्ने देखिएको टाउको जस्तो मूल ठाउँमा खुकुरी जस्तो जोखिम हतियारले ३ इन्च लम्बाई, २ इन्च चौडाई, १ इन्च गहिराइको घाखत भएको देखिएको र सरजमीनका व्यक्तिहरू गणेशबहादुर, हिराकाजी, थिरबहादुर, पञ्चवीर, रत्न बहादुर, मुकुन्द दुर्गालाल समेतले मार्छु काट्छु भनी  दुर्गामायालाई खुकुरी जस्तो जोखिमले प्रहार गरेको वारदात देखेको भनी बकपत्र गरिदिएको देखिएकोले र निजहरू झगडिया भन्ने कुरा प्रमाणित हुन नआएकोले समेत प्रतिवादीलाई ज्यानसम्बन्धीको १५ नं. अन्तर्गत १० वर्षको कैद गर्न ठहर्‍याएको इन्साफ मनासिव छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको ०३८।९।८।४ को फैसला रहेछ ।

२०.   मध्यमान्चल क्षेत्रीय अदालतबाट भएको उक्त फैसलामा प्रमाणको मूल्याङ्कन नगरी अ.बं. १८४(क) को त्रुटि गरेकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावदेन गर्ने अनुमति दिएको छ भन्ने समेत यस अदालतको डिभिजन बेञ्चको मिति ०३८।११।१।६ को आदेश।

२१.   वारदातमा सफाई पाएका अन्य प्रतिवादीहरू उपस्थित भए पनि घाजाँच फाराम अनुसार दुर्गामायाको टाउकोमा एउटा मात्र (खुकुरीको घाउ लम्बाई ३ इन्च चौडाई २ इन्च गहिराई १ इन्चको) घाउ भएको भन्ने देखिएबाट र वारदात भएको अवस्थामा प्रत्यक्ष देख्ने तुलादास श्रेष्ठ लगायत ७ जना सरजमीनका व्यक्तिहरूले पुनरावेदक प्र.अन्तरे भन्ने ओमबहादुर लामाले खुकुरीले टाउकोमा प्रहार गरेको देखेको हो भनी अदालतमा समेत आई बकपत्र गरिदिएको देखिन्छ । खुकुरीले काटी, हिर्काई बेहोस भएपछि मानिसहरू आउँदा प्रतिवादीहरू भागेका हुन्, पक्रन सकिएन भनी सरजमीनका मानिसहरूले लेखाई दिएकाले र ती व्यक्तिहरूसँग प्रतिवादीहरूका कुनै रिसइवी भएको भन्ने पनि नदेखिएकोबाट माथि भनिए अनुसार पुरानो रिसइवी साधन गर्ने प्रतिवादीहरूले दुर्गामाया श्रेष्ठ उपर आक्रमण गरी अन्तरे भन्ने ओमबहादुरले टाउको जस्तो मर्मस्थानमा खुकुरी जस्तो धारिलो जोखिम हतियारले प्रहार गरी सख्त घाइते गराएको कुरा घाजाँच प्रतिवेदनबाट समेत समर्थित हुन आएकोले सफाई पाउनुपर्छ भन्ने पुनरावेदन अन्तरे भन्ने ओमबहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन । ज्यान मार्ने उद्योग गरेको अभियोगमा ज्यानसम्बन्धीको १५ नं. अनुसार १० वर्ष कैदको सजायँ गर्ने गरेको शुरू रामेछाप जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि भएको नदेखिँदा उक्त फैसला मनासिव ठहर्छ सफाई पाउने यस मुद्दाको अपराधसँग सम्बन्धित अन्य प्रतिवादीहरूको हकमा श्री ५ को सरकारको पुनरावेदन परेको नहुँदा त्यसतर्फ विचार गरी रहन परेन भन्ने डिभिजन बेञ्चको फैसला ।

२२.   डिभिजन बेञ्चबाट भएको उपरोक्त निर्णय ०२५ सालको फौ.पु.नं. ४३६ पुनरावेदक वादी श्री ५ को सरकार विपक्षी प्रतिवादी कविराज सुनार भएको ज्यान मार्ने उद्योग मुद्दामा मिति ०२८।४।२४।२ मा भएको निर्णयसँग रूलिङ बाझिएको हुनाले फुल बेञ्चमा पेश गरिपाउँ भनी सम्माननीय प्रधान न्यायाधीशज्यू समक्ष ओमबहादुर लामाको हकमा निजको बाबु मान बहादुर लामाको मिति ०४०।५।९।५ को निवेदन पत्र ।

२३.   दुवै मुद्दामा टाउको जस्तो मर्मस्थानमा खुकुरी जस्तो धारिलो हतियार प्रयोग गरी चोट छोडेको देखिन्छ र दुवै मुद्दामा घटनामा पर्ने आफैंले वा अरू कसैले बचाउ गरेको समेत देखिँदैन । यस अवस्थामा ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँ गर्न मिल्दैन भनी पहिलो मुद्दामा भएको फैसलाको विपरीत प्रस्तुत मुद्दामा ज्यान मार्ने उद्योग ठहराई फैसला गरेको देखिँदा यी दुई मुद्दामा भिन्दा भिन्दै रुलिङ्ग हुन गई रूलिङ्ग बाँझिन गएकोले सर्वोच्च अदालत नियमावलीको नियम ३३(ख) अनुसार प्रस्तुत मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्ने मिति ०४०।९।२८।५ मा सम्माननीय प्रधान न्यायाधीशज्यूबाट आदेश ।

२४.   रूलिङ बाझियो भनी यस फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीका तर्फबाट विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे र विपक्षी वादी श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहस समेत सुनियो ।

२५.   आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा सर्वप्रथम रूलिङ बाझिएको छ छैन हेर्नुपर्ने हुन आयो । दुई डिभिजन बेञ्चबाट एउटै विवाद बिन्दुमा दुई प्रकारको भिन्दा भिन्दै सिद्धान्त प्रतिपादित हुने फैसला हुन जान्छ भने त्यस्तो अवस्थामा रूलिङ बाझिएको भन्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा रूलिङ बाझियो भनेको ०२५ सालको फौ.पु.नं. ४३६ पुनरावेदक वादी श्री ५ को सरकार विपक्षी प्रतिवादी कविराज सुनार भएको ज्यान मार्ने उद्योग मुद्दामा कविराज सुनारले खुकुरीले हानी सुतेका मनकुमार नरदेवीलाई चोट पुर्‍याएको छ । निचोट पर्नेहरूले आफ्नो बचाउ गरेको छैन र खुकुरीको चोट हलुका गराउने कुनै कुरा गरेको वा पर्न आएको वास्तविकता देखिँदैन जब अभियुक्तले हाने जतिकै मार हानेको अंगमा लागेको चोट पुगेको छ भने अभियुक्तले नै त्यस्तो पुर्‍याएको रहेछ भनी देखिएको हुँदा त्यसबाट मर्नेसम्मको काम गरी सकेको देखिएन । त्यसकारण उक्त ऐन बमोजिम सजायँ गर्न मिल्दैन ज्यानसम्बन्धीको १२ नं. बमोजिम मार्ने नियतले कुटेको हो कि भन्नलाई मार्ने अवसर छँदाछँदै उपरोक्त रक्षा वा विघ्न नपरेको हालतमा त्यस्तो चोट परेकोले मार्ने नियत पनि देखिएन । ज्यानसम्बन्धीको १२ नं. ले नियत नदेखिएमा कुटपीटको महल बमोजिम सजायँ गर्नुपर्छ अब यस मुद्दामा सरकारी मुद्दा सम्बन्धी ऐनको दफा ७(क) बमोजिम चोट पर्नेहरूलाई झिकाई निजहरूले मुद्दा चलाउन चाहेमा कुटपीटको ऐन बमोजिम तहकिकात सजायँ गर्नु भन्ने समेत ०२८।४।२४।२ मा निर्णय भएको पाइन्छ ।

२६.   प्रस्तुत मुद्दामा वारदात भएको अवस्थामा प्रत्यक्ष देख्ने तुलादास श्रेष्ठ लगायत ७ जना सरजमीनको व्यक्तिहरूले पुनरावेदक प्र.अन्तरे भन्ने ओमबहादुर लामाले खुकुरीले टाउकोमा प्रहार भएको देखेको हो भनी अदालतमा समेत आई बकपत्र गरेको देखिन्छ । खुकुरीले काटी हिर्काई बेहोस भएपछि मानिसहरू आउँदा प्रतिवादीहरू भागेका हुन् पक्री सकिएन भनी सरजमीनका मानिसहरूले लेखाई दिएकोले र उक्त व्यक्तिहरूसँग प्रतिवादीहरूको कुनै रिसइवी भएको भन्ने पनि नदेखिएबाट माथि भनिए अनुसार पुरानो रिसइवी साधन गर्न प्रतिवादीहरूले दुर्गामाया श्रेष्ठ उपर आक्रमण गरी अन्तरे भन्ने ओमबहादुरले टाउको जस्तो मर्मस्थानमा खुकुरीजस्तो धारिलो जोखिमी हतियारले प्रहार गरी सख्तघाइते गराएका कुरा घाजाँच प्रतिवेदन बाटसमेत समर्थित हुनआएकोले सफाईपाउन पर्दछ भन्ने पुनरावेदक अन्तरे भन्ने ओमबहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन । ज्यान मार्ने उद्योग गरेको शुरू रामेछाप जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा कुनै कानुनी त्रुटि भएको नदेखिँदा उक्त फैसला मनासिव ठहर्छ ।भनी मिति ०३९।११।९।२ मा डिभिजन बेञ्चबाट निर्णय भएको पाइन्छ ।

२७.   यसरी रूलिङ बाझियो भनेको पुनरावेदक श्री ५ को सरकार विपक्षी कविराज सुनार भएको माथि उल्लिखित ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी कविराज सुनारले मनकुमार र नरदेवीलाई खुकुरीले प्रहार गर्दा निज चोट पर्नेहरूले आफ्नो कुनै बचाउ गरेको छैन । सो अवस्थामा निज कविराज सुनारलाई कसैले विघ्न बाधा पुर्‍याएको देखिँदैन । यस्तो अवस्थामा निज चोट पर्नेहरू मनकुमार र नरदेवीलाई मार्न सक्ने अवसर हुँदाहुँदै पनि निजहरू मारिएको छैन।

२८.   तर प्रस्तुत मुद्दामा अन्तरे भन्ने ओमबहादुर लामाले दुर्गामायालाई टाउकोमा खुकुरीले काटी हिर्काई बेहोस भएपछि मानिसहरू आउँदा निज प्रतिवादी भागेर गएको देखिन्छ । यसरी ओम बहादुर लामाले दुर्गामायालाई खुकुरीले प्रहार गरीराखेको अवस्थामा अरु मानिसहरू आई उसको काममा विघ्न बाधा पुर्‍याएबाट उसको ज्यान मार्ने प्रयास (Attempt) असफल हुन गएको छ ।

२९.   अतः पहिलो श्री ५ को सरकार विरूद्ध कविराज सुनार भएको ज्यान मार्ने उद्योग मुद्दामा कविराज  सुनारले गरेको कार्यमा कसैले कुनै विघ्न बाधा वा रक्षा प्रदान गरेको छैन भने प्रस्तुत मुद्दामा अन्तरे भन्ने ओमबहादुर लामाले दुर्गामायालाई खुकुरीले प्रहार गरी रहेका अवस्थामा अरू व्यक्तिहरू आई बाधा पुर्‍याएबाट मार्ने कार्य पूरा नभएको देखिन्छ तसर्थ यसरी दुई भिन्दा भिन्दै अवस्थाको विवाद बिन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । रूलिङ बाझिएको नै नदेखिएको हुँदा प्रस्तुत मुद्दामा केही विचार गरी रहनुपरेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.हरगोविन्द सिंह प्रधान

न्या.महेशराम भक्त माथेमा

 

 

इतिसम्वत् २०४२ साल ज्येष्ठ ११ गते रोज ६ शुभम् ।