निर्णय नं. २२६७ – जबरजस्ती करणी
निर्णय नं. २२६७ ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम...
निर्णय नं. २२६७ ने.का.प. २०४२ अङ्क २
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
सम्वत् २०४१ सालको फु.बे.नं. ११
मुद्दा : जबरजस्ती करणी ।
पुनरावेदक/प्रतिवादी:जिल्ला महोत्तरी सिसवा कटैया गा.पं.वार्ड.नं.९ बस्ने वीरेन्द्र कुमार तिवारी ।
विरूद्ध
विपक्षी/वादी: हरिहर महतो कोइरीको जोहरीले श्री ५ को सरकार ।
फैसला भएको मिति:०४२।१।११।३ मा
अर्को व्यक्तिसँग भएको चुनावको रिसइवी साँध्नका लागि आफ्नो छोरीको सतित्व तथा इज्जत लुट्यो भनी झुठ्ठा घटनाको सिर्जना गर्यो भन्ने कुरा अविश्वासनीय देखिने ।
(प्रकरण नं.२२)
पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री महादेव प्रसाद यादव
विपक्षी/वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
न्या.धनेन्द्र बहादुर सिंहः डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको बीचमा मतैक्य हुन नसकी यस फुल बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. २०३६।१०।१२ गते बिहान ९।१० बजेको समयमा खेतमा खेसरीको साग ल्याउन गएकी मेरी छोरी सीतासुन्दरीलाई वीरेन्द्र कुमार तिवारीले जबरजस्ती करणी गरेको गुलजारी महतोले देखी मैले समेत थाहा पाएको हुँदा जाहेर गर्न आएको छु । कानुन बमोजिम गरिपाउँ भन्ने हरिहर महतोको जाहेरी ।
३. खेतमा खेसरीको साग उखेल्दाको बखत वीरेन्द्र कुमार तिवारी त्यहाँ पुगी ६–७ वर्षकी मेरी साथी कौसील्यालाई छुरी देखाई भगाएर मलाई खेसरीको लहराले हात खुट्टा बाँधी भूँइमा लडाई जबरजस्ती करणी गरे । म बेहोस भएँ । गुलजारी र जयनारायणलाई देखी निज वीरेन्द्र भागेछन् । पछि निजहरूले घरमा पुर्याई दिएको कुरा होसमा आएपछि थाहा पाएँ भन्ने सितासुन्दरीको प्रहरीमा कागज ।
४. लेखिए बमोजिम जबरजस्ती करणी गरेको थाहा पाई पक्रन जाँदा निज वीरेन्द्र कुमार भागी गएको, फेला नपरेको भन्ने समेत सरजमीन मुचुल्का ।
५. अभियुक्त पक्राउ नपरे पनि चस्मदिदले सरजमीनमा लेखाई दिएको र अन्य सरजमीनले पनि घटना भएको कुरा लेखाई दिएकोले निज वीरेन्द्र कुमार तिवारीलाई जवबरजस्ती करणीको १ नं. अन्तर्गतको अपराधमा ऐ. को ३ नं. बमोजिम सजायँ हुनुपर्ने भन्ने प्रहरी प्रतिवेदन दावी ।
६. ०३६।१०।१० गते नै म प्रयाग कुर्मीसँग रू.२२५। लिनु पर्ने हुँदा जि.स.हरपूर्वा भूताहा वार्ड नं. ७ मा गएको विरामी भएकोले भोलिपल्ट प्रयागले आयुर्वेद औषधालयमा उपचार गराएकोेले ऐ. १४ गते मात्र घर फर्केको हुँ । जाहेरवालाको मसँग बुबाको चुनाव सम्बन्धी इवी भएकोले सितासुन्दरीलाई गोरूले हानेकोलाई जबरजस्ती करणी गर्यो भनी मेरो उपर उजूर गरेको हुन् । म निर्दोष भएकोले सफाई पाउँ भन्ने समेत वीरेन्द्र कुमार तिवारीको अदालतमा भएको बयान ।
७. गुलजारीको खेतमा खेसरी उखेली रहेको अवस्थामा वीरेन्द्र कुमार तिवारीलाई मेरो हात खुट्टा बाँधी मुखमा साग ठुसी करणी गरेपछि खोली दिए । करणी गरिरहेको अवस्थामा गुलजारीले २ लग्गा फरकबाट देखी वीरेन्द्र कुमारलाई लखेटी मकहाँ आई मलाई घर लगेछन् भन्ने समेत सीतासुन्दरीको अदालतमा भएको बकपत्र ।
८. म आफ्नो घरमा भएको अवस्थामा गुलजारीले मलाई बोलाई सीतासुन्दरीलाई राखेको ठाउँमा लगी वीरेन्द्र कुमारले जबरजस्ती गरेको भनी भनेको हो छोरीले लगाएको लुगामा यत्रतत्र रगत थियो । छोरीलाई जनकपुर अं.अस्पतालमा लगी उपचार गराएको हुँ भन्नेसमेत जाहेरवाला हरिहर महतोको अदालतमा भएको बकपत्र ।
९. वारदातको दिन आफ्नो खेत हेर्न जाँदा खेतनिर पश्चिम पट्टि आवाज आएकोले सुनी के हो भनी सोद्धा वीरेन्द्र भागेको देखि पक्रन नसकी फर्की वारदात भएको खेतमा आउँदा सितासुन्दरी खेतमा सुतेको मुखमा खेसरीको साग राखेको र करणी गर्दा खुन बगेको समेत देखेकी हुँ । नारायणलाई देखि बोलाई निजको घर पुर्याई दिएको हुँ भन्नेसमेत चस्मदिद गवाह गुलजारी महतोको अदालतमा भएको वकपत्र ।
१०. वीरेन्द्र कुमार ०३६।१०।१० गते मेरो घर पुगेको र १४ गतेसम्म त्यहाँ बसी ऐ. १५ गते फर्की आएको हो । ऐ. ११ गते बिरामी भई उपचार गराई मेरो घरमा बसेको हो भन्ने समेत प्रतिवादीको साक्षी प्रयाग कुर्मीले गरेको बकपत्र र सोही व्यहोराको प्रतिवादी वीरेन्द्र कुमारको साक्षी नासिर मियाँले गरेको बकपत्र ।
११. वारदातको दिन वीरेन्द्र कुमार गाउँघरमा नभई हरपूर्वामा भएकोले निजले जबरजस्ती करणी गरेको कुरा झुठ्ठा हो भन्ने समेत प्रतिवादीको साक्षी रामएकवालले गरेको बकपत्र ।
१२. मेरो घर र प्रतिवादीको घर ५।६ लग्गा फरकमा छ । वीरेन्द्र कुमार ०३६।१०।१० गते हरपूर्वा गई ऐ. १६ गते फर्केको देखेको हुँ । सीतासुन्दरीको काका र वीरेन्द्र कुमारको बाबुको चुनाव सम्बन्धी कुरामा झगडा भएको इवी सधाउन झुठ्ठा उजूर गरेका हुन् भन्ने समेत प्रतिवादी साक्षी सत्य नारायणले अदालतमा गरेको वकपत्र ।
१३. प्र.को भनाईलाई साक्षीको बकाईबाट पुष्टी हुन आएको छैन । जाहेरी दर्खास्त र अदालतको बकपत्र पनि एकै मिलानको नभएको । डाक्टरको जाँचमा पनि जबरजस्तीकरणी भएको भन्ने तथ्य साथको किटानी छैन पिडीत पक्षको पनि मौकाको र अदालतको बयानमा भिन्नता पाइन्छ । चस्मदिद गवाह मानिएकाहरूको पनि भनाई परस्परमा बाझिएको, जबरजस्तीकरणी भएकोभए योनीमा शुक्रकीट हुनुपर्ने सोपनि डाक्टरी जाँचमा नबोलिएको र अभियुक्तको इन्कारी बयानलाई निजका साक्षीहरूले समेत पुष्टी गरेकोले र जिल्ला प्रमुख आयुर्वेद औषधालय हरपूर्वाको ०३६।१०।१० देखि ०३६।१०।१४ गतेसम्म यस स्वास्थ्य शाखामा इलाज गरेको भनी इन्चार्ज कविराजले प्रमाणित गरिदिएको सर्टिफिकेट समेत पेश भएको देखिने समेतबाट प्रहरी प्रतिवेदन दावी अनुसार वीरेन्द्र कुमार तिवारीले सितासुन्दरीलाई जबरजस्ती करणी गरेको ठहर्दैन, निजले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरू महोत्तरी जिल्ला अदालतको मिति ०३७।५।१७।१ को फैसला ।
१४. सो फैसलामा चित्त नबुझेकोले प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरिपाउँ भन्ने श्री ५ को सरकारतर्फबाट पुनरावेदन परेको ।
१५. अ.बं. २०२ नं. बमोजिम झगडिया झिकाउने भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको आदेश ।
१६. डाक्टरी जाँचको प्रतिवेदन समेतबाट १४ वर्ष मुनीको सितासुन्दरी कोइरीनीलाई अभियुक्त वीरेन्द्र कुमार तिवारीले जबरजस्ती गरेको ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०३८।१२।२४ को फैसला ।
१७. मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन परेकोमा पिडीत सितासुन्दरीको बयानको मात्र आधारमा गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख), अ.बं. १८४, १८४(क) समेतको विपरीत देखिन आएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत यस अदालतको मिति २०३९।११।१८ गतेको आदेश ।
१८. पिडित पक्ष सितासुन्दरीले लगाई राखेको लुगामा रगत लागेको देखिन आएको, डाक्टरको प्रतिवेदनबाट निजको उमेर १४ वर्ष मुनीको हुनुको साथै योनीको Vegine wall सुन्निएको, रगत बगेको र करणी भएको राय व्यक्त गरेको र चस्मदिद गवाह गुलजारी महतोले अदालत समक्ष उपस्थित भई प्रतिवादीले करणी गरेको कुरा किटानीसाथ बकपत्र गरेबाट प्रतिवादी वीरेन्द्र कुमार तिवारीले १४ वर्ष मुनीको सितासुन्दरीलाई जबरजस्ती करणी गरेको प्रमाणित हुनआएकोले प्रतिवादी वीरेन्द्र कुमार तिवारीलाई जबरजस्ती करणी गरेको ठहराई निजलाई जबरजस्ती करणीको ३ नं. बमोजिम सजायँ गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी वीरेन्द्र कुमार तिवारीलाई सफाई दिने गरेको सहयोगी माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानज्यूको रायसँग मेरो सहमति हुन नसकेकोले सर्वोच्च अदालत नियमावलीको नियम ३३(क) बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय ।
१९. डाक्टरको प्रतिवेदनमा करणी भएको संभाव्यता व्यक्त गरिएको छ तर योनीमा शुक्रकीट नभएको कुरा उल्लेख भएको छ । जबरजस्ती करणीको घटना घटेको कुरामा नै शंका देखिन आउँछ भने अर्कोतर्फ करणीको वारदात भएकै भए पनि यिनै प्रतिवादीले सो अपराध गरेको पुष्ट्याई हुने खालको कुनै सबूत प्रमाण वादी पक्षबाट पेश दाखिल हुन सकेको छैन । यस्तो शंकास्पद स्थितिमा प्रतिवादीले आरोपित कसूर गरेको ठहराई निजलाई सजायँ गर्नु न्यायोचित नहुने हुँदा पर्याप्त सबूत प्रमाणका अभावमा प्रतिवादी वीरेन्द्र कुमार तिवारीले सफाई पाउने ठहर्छ । निजलाई सजायँ गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुन्छ । क्षेत्रीय अदालतको फैसला मनासिव ठहराएको सहयोगी माननीय न्यायाधीशज्यूको रायसँग सहमति हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री हरिगोविन्द सिंह प्रधानबाट राय भई निर्णय भएको रहेछ ।
२०. यसरी डिभिजन बेञ्चका माननीय न्याधीशहरूको बीचमा मतैक्य हुन नसकी निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी वीरेन्द्र कुमार तिवारीको तर्फबाट विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले पिडीत व्यक्ति सीतासुन्दरीको प्रहरी र अदालतमा भएको बयानमा भिन्नता पाइन्छ । चस्मदिद साक्षी जयनारायणले अदालतमा आई बकपत्र गरेको छैन, डाक्टरको प्रतिवेदनमा बलात्कार भएकै हो भन्ने लेखिएको छैन । साधारणतया एउटा केटाले एउटी केटीलाई बलात्कार गर्न संभव छैन । तसर्थ मेरो पक्षले सफाई पाउने ठहराएको डिभिजन बेञ्चका मा.न्या श्री हरगोविन्द सिंह प्रधानको राय सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो । विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट खटी उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले प्रतिवादी वीरेन्द्र कुमारले मेरी छोरी सीतासुन्दरीलाई जबरजस्ती करणी गरेको भनी किटानीसाथ जाहेरवाला हरिहर महतोले जाहेरी दर्खास्त दिएको छ । पिडीत पक्ष सीतासुन्दरीले प्रहरी र अदालत दुवै ठाउँमा यी प्रतिवादी वीरेन्द्र कुमारले जबरजस्ती करणी गरेको भनी भनेको छ तसर्थ सीतासुन्दरीको भनाईमा विरोधाभास छैन। चस्मदिद गवाह गुलजारी महतोले किटानीसाथ वीरेन्द्रले सीतासुन्दरीलाई जबरजस्ती करणी गरेका भनेर बकपत्र गरेको र डाक्टरी प्रतिवेदनबाट पनि जबरजस्ती करणी भएकै देखिन्छ । तसर्थ माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहले प्रतिवादी वीरेन्द्र कुमार तिवारीले सीतासुन्दरीलाई जबरजस्ती करणी गरेको ठहराई सजायँ गर्ने गरेको निर्णय सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।
२१. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादी वीरेन्द्र कुमार तिवारीले सीता सुन्दरीलाई जबरजस्ती करणी गरेको हो होइन भन्ने कुरामा निर्णय गर्नुपरेको छ । यसतर्फ विचार गर्दा जाहेरवाला हरिहर महतोले मेरी वर्ष १० की नाबालक छोरी सीतासुन्दरीलाई वीरेन्द्र कुमार तिवारीले जवरजस्ती यौन सम्बन्ध स्थापित गरेको भनी जाहेरी दर्खास्तमा किटानीसाथ लेखेको पाइन्छ । पिडीत व्यक्ति सीतासुन्दरीले प्रहरी समक्ष गरेको ठाडो कागज र अदालतमा गरेको बकपत्र दुवैमा यी प्रतिवादी वीरेन्द्र कुमार तिवारीले गुलजारीको खेतमा खेसरीको साग टिपी राखेको बेला आई आफूलाई जबरजस्ती करणी गरेको हो भनी स्पष्ट किटानीसाथ लेखिदिएकी छिन् । सीतासुन्दरीले प्रहरी समक्ष एउटा व्यक्तिले र अदालतमा चाहीँ अर्कै व्यक्तिले निजलाई जबरजस्ती करणी गरेको छैन भनेर भनेको छैन । सीतासुन्दरी स्वयंले किटानीसाथ वीरेन्द्र कुमार तिवारीले नै आफूलाई जबरजस्ती करणी गरेको हो भनी लेखिदिएबाट निजको प्रहरी र अदालतमा गरेको बकपत्रमा विरोधाभास छ भन्ने प्रतिवादी पक्षका विद्वान अधिवक्ताले लिनु भएको जिकिरलाई मान्न सक्ने अवस्था देखिएन ।
२२. प्रतिवादी वीरेन्द्र कुमार तिवारीले अदालत समक्ष गरेको बयानको प्रकरण नं. ५ मा “जाहेरवालाको भाइ रामसृष्ट महतो र मेरो बुबा दुवै जना गत चुनावमा प्रधानपञ्चको निम्ति लडेको थियो त्यही दिन देखि जाहेरवालाको परिवार र हाम्रो परिवारको बीचमा मनोमालिन्य भइरहेको थियो । जाहेरवालाको छोरी सीतालाई गोरूले हानेकोलाई जबरजस्ती करणी गर्यो भन्ने झुठ्ठा जाहेर दिएका हुन्” भनी उल्लेख गरेको पाइन्छ । निज प्रतिवादी वीरेन्द्र कुमारको यस बयानतर्फ हेर्दा एउटा बाबुले आफ्नो भाइको अर्को व्यक्तिसँग भएको चुनावको रिसइवी साँध्नका लागि आफ्नो छोरीको सतीत्व तथा इज्जत लुट्यो भनी झुठ्ठा घटनाको सिर्जना गर्यो भन्ने कुरा अविश्वासनीय देखिन्छ । जहाँसम्म वीरेन्द्र कुमारले सीतासुन्दरी माथि जबरजस्ती करणी भएको हैन, गोरूले हानेको हो भन्ने भनाई छ त्यसतर्फ हेर्दा मिति ०३६।१०।२१ को पिडीत पक्ष सितासुन्दरीको जाँच भई मिसिलसाथ संलग्न डाक्टरको प्रतिवेदनमा सीतासुन्दरीलाई गोरूले हानेको र त्यस्तो घा–चोट लागेको भन्ने कुनै कुरा उल्लेख गरेको देखिँदैन । उक्त डाक्टरको प्रतिवेदनमा निज सीतासुन्दरीको उमेर १२ देखि १४ वर्ष बीचको हुनुको साथै योनीको Vegina Wall सुनिएको, रगत बगेको र करणी भएको भन्ने राय व्यक्त गरिएको पाइन्छ । यी प्रतिवादी वीरेन्द्र कुमार तिवारीले नै यी पिडीत पक्ष सीतासुन्दरीलाई जबरजस्ती करणी गरेको हो भनेर चस्मदिद गवाह गुलजारी महतोले अदालत समक्ष आई बकपत्र गरेको पाइन्छ ।
२३. माथि उल्लिखित प्रमाणबाट प्रतिवादी वीरेन्द्र कुमार तिवारीले १४ वर्ष मुनिकी सीतासुन्दरीलाई जबरजस्ती करणी गरेको देखिन आयो । तसर्थ निज प्रतिवादी वीरेन्द्र कुमार तिवारीलाई जबरजस्ती करणीको महलको ३ नं. बमोजिम ६ वर्ष कैदको सजायँ गर्ने ठहराएको डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय मनासिव ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदक प्रतिवादी वीरेन्द्र कुमार तिवारीको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहरेकोले निजलाई मध्यमान्चल क्षेत्रीय अदालतले गरेको कैद वर्ष ६ को सयकडा पाँचका दरले थप सजायँ हुने तीन महिना अठार दिन कैदको लगत कस्नु भनी शुरू महोत्तरी जि.अ.तमा लेखी पठाउनु भनी काठमाडौं जि.अ.तको तहसील फाँटमा लगत दिनु…१, मिसिल नियम बमोजिम गरी बुझाई दिनु………………………………………………..२
उक्त रायमा हामी सहमत छौं ।
न्या.गजेन्द्रकेशरी बास्तोला
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् २०४२ साल बैशाख ११ गते रोज ३ शुभम् ।