April 5, 1985
Created by nepalarchives

निर्णय नं. २२६५ – ज्यान ।

निर्णय नं. २२६५    ने.का.प. २०४२      अङ्क २   फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री...

निर्णय नं. २२६५    ने.का.प. २०४२      अङ्क २

 

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४१ सालको फौ.फु.नं. १३

मुद्दा : ज्यान ।

 

निवेदक/प्रतिवादी: जिल्ला रौतहट प्रगन्ना परोश फरहदवा गा.पं. वडा नं.५ घर भै रौतहट कारागारमा थुनामा रहेको शेख तफाजुल मियाँ ।

विरूद्ध

विपक्षी/वादी:शेष अबुलेस समेतका जाहेरीले श्री ५ को सरकार  ।

फैसला भएको मिति:२०४१।१२।२३।६ मा

     अतः शंका र अनुमानको आधारमा प्रतिवादीकै कर्तव्यबाट मृत्यु भएको भन्न नमिल्ने शंकाको सुविधा प्रतिवादीले पाउने ।

(प्रकरण नं.१८)

निवेदक प्रतिवादी तर्फबाटःX

विपक्षी/वादी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

उल्लेखित मुद्दाःX

फैसला

न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७२(ख) बमोजिम श्री ५ महाराजधारिाजबाट डिभिजन बेञ्चले मिति ०४०।८।९।६ मा गरेको फैसला दोहर्‍याई हेरिदिनु भन्ने हु.प्र.बक्स भई आए बमोजिम यस फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

      २.    शेष अबुलेसको छोरी अन्दाजी वर्ष १० की हरिरा सेखिन नाकमा सुनको नथुनी र घाँटीमा चाँदीको तोख गहना लगाई यही ०३५।५।८ का दिन बिहान ७ बजेको टायममा घाँस काट्न गएकी थिई, उखू बारीमा घाँस काट्न जाउँ भनी शेष तफाजुले फकाई उखूभित्र घाँस काट्न गएकोमा नाक र कानको गहना खोसी हरिराले हल्ला गर्न लाग्दा हँसियाले हरिराको घाँटीमा तथा हातमा जत्रतत्र हिर्काई अब मरी भन्ने डरले भागी जान लागेको पक्राउ गरी शेष तफाजुलाई दाखिल गरेको छु । हरिरा मर्ने बाँच्ने दोसाँधमा हुँदा मरेमा ज्यान सम्बन्धीको ऐन बमोजिम र नमरे ज्यान मार्ने उद्योगमा सजायँ गरिपाउँ भन्ने शेष अबुलेसको जाहेरी दर्खास्त ।

३.    ०३५।५।८ गतेका दिन बिहानै उखु खेतमा घाँस काट्न गएको थिएँ हरिरा पनि गएकी थिई निजका नाकमा सुनको नथुनी भएकाले त्यसै खोस्दा हल्ला गर्ली भन्ने डरले मारी दिएमा पक्राउ पर्दिन भनी खुर्पाले घाँटीमा तथा जत्रतत्र हानी सिथिल भएपछि नथुनी खोसी लिएको हुँ भन्ने समेत व्यहोराको शेष तफाजुलले प्रहरीमा गरेको साविती कागज ।

४.    मैले हरिरालाई चिन्दिन सो ०३५।५।८ मा उखू बारीमा घाँस काट्न गएको होइन हरिरालाई मैले मार्ने नियतले हिर्काएको होइन प्रहरीमा मलाई जबरजस्ती बयानमा सही गराएका हुन् भन्ने समेत व्यहोराको शेष तफाजुलले अदालतमा गरेको बयान ।

५.    ०३५।५।८ गते बिहान शेष तफाजुलले हरिरा सेखिनलाई उखू खेतमा खुर्पाले काटी भागेकोमा हरिरा उखु बारीबाट बाहिर निस्की इसारा गरे अनुसार निज शेष तफाजुलले नै खुर्पाले काटी ज्यान मार्ने नियत लिएको हुनुपर्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

६.    मेरो रोहवरमा उपस्थित गराइएको शेष तफाजुलले नै मलाई काटेको हो भनी मर्ने हरिरा सेखिनको होश छँदै इशाराबाट व्यक्त गरेको कुराको ०३५।५।२६ को कागज ।

७.    यसमा बुझिएका सरजमीन केश फाराम आदेश सबूत प्रमाण समेतबाट शेष तफाजुलले खुर्पाले काटी हरिरा सेखिनलाई मार्ने नियत लिएको र ज्यान नमरी जीवित रहेकोले ज्यान मार्ने उद्योग गरेको सिद्ध हुन आएकोले ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँको माग भई परेको प्रहरी प्रतिवेदन दर्ता भएकोमा पछि हरिरा देवीको भारत पटना अस्पतालमा सोही चोटपिरबाट मृत्यु भएकोले निज प्र.शेष तफाजुललाई ज्यानसम्बन्धीको महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको माग गरिएको प्रहरी प्रतिवेदन ।

८.    ०३५।५।८ गते प्रतिवादी घाँस काट्न गएको होइन र निजले हरिरा सेखिनलाई खुर्पाले हिर्काएको समेत होइन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी शेषकुमार समेत ३ जनाको बकपत्र ।

९.    ०३५।५।८ गतेका दिन बिहान मर्ने हरिराको घाँटी र दुवै हातको नाडी समेत काटिएको हुँदा पूरा जीउ रक्ताम्य भएको घटनास्थलमै देखेको हो । त्यहीँ सबै जना मिली रूमालले काटेको ठाउँमा बाँधी दिएपछि निज हरिराले इशाराले शेष तफाजुलले मारेको हो भनी भनेपछि फेरि बेहोस भई लडेको हो र निजलाई विभिन्न स्थानमा लगी उपचार गराउँदा निको नभई सोही चोट पिरबाट भारत पटना अस्पतालमा मरेकी हो भन्ने समेत व्यहोराको सरजमीनका शेष जाहिर समेतको अदालतमा बकपत्र भएको ।

१०.    किटानी जाहेरी दर्खास्त भएको, सरजमीनका मानिसहरूले पोल गरेका प्रतिवादी शेष तफाजुल प्रहरी समक्ष साविति भएका र निजको साविति अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन आएको प्रतिवादी शेष तफाजुलको कमीज र लुंगीमा रगत लागेको भन्ने कुरा चस्मदिद गवाहले भनेका यस्तो अवस्थामा १।। बिगहा जग्गाको फरकको मानिसलाई मैले चिन्दिन भनी अप्रतित लायक कुरा गरी अदालतमा प्रत्यवादी ईन्कारी रहेपनि निजले अपराध गरेको सिद्ध हुन आएकोले ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरू रौतहट जिल्ला अदालतको फैसला ।

११.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको शेष तफाजुलले मध्यमान्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदन ।

१२.   प्रतिवादी शेष तफाजुललाई ज्यानसम्बन्धीको १३(३) अन्तर्गत सजायँ हुने ठहराएको शुरूको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालतको ०३७।९।१५ को फैसला ।

१३.   उक्त फैसलामा चित्त बुझेन शुरू आरोप पत्रमा ज्यानसम्बन्धीको १५ नं. को दावी भएकोमा पनि मेरो इन्कारी छ र पछि कात्र्तिक ११ गते मरेको भनी एउटा खेश्रा कागजका आधारमा कात्र्तिक १८ गते एउटा दर्खास्त दिएको भयो दसी आदी भनेको लुंगीको राम्रो परीक्षण नै भएको छैन त्यस्तो अवस्थामा ज्यानसम्बन्धीको १३(३) अनुसार मलाई गरेको सजायँ मिलेको छैन सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी शेष तफाजुलले यस अदालतमा ०३८।१०।६ मा दिएको पुनरावेदन ।

१४.   शुरू रौतहट जि.अ.ले ज्यानसम्बन्धीको १३(३) अन्तर्गत सजायँ गर्ने गरी गरेको इन्साफ मनासिव ठहराई मध्यमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव ठहर्छ भन्ने मिति २०४०।८।९।६ को यसअदालत डिभिजन बेञ्चको फैसला ।

१५.   डिभिजन बेञ्चबाट भएको उपरोक्त फैसला नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने हुकुम प्रमाङ्गी बक्स भई आए बमोजिम आज निर्णयार्थ यस बेञ्चमा पेश भएको प्रस्तुत मुद्दामा विपक्षी वादी श्री ५ को सरकार तर्फबाट खटी उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहस समेत सुनियो ।

१६.    आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी शेष तफाजुल मियाँलाई सर्वस्वसहित जन्मकैदको सजायँ गर्ने गरेको इन्साफ मनासिव छ छैन हेर्नु परेको छ । यसतर्फ हेर्दा प्रस्तुत मुद्दा हरिरा सेखिनले लगाएकी गहनाहरू खोसेर निजको घाँटीमा दुवै हातमा जत्रतत्र फलामे धारवाला खूर्पाले काटी मर्नु बाँच्नु दोसाँधमा पारेकोले शेष तफाजुललाई निज हरिरा मरेमा ज्यानसम्बन्धी नम्बर बमोजिम र नमरेमा ज्यान मार्ने उद्योगमा कारवाही चलाई पाउँ भनी प्रधानपञ्च शेष जहिरले दिएको जाहेरीबाट कारवाही चलेकोमा पछि सोही घाउ चोटबाट नै इस्वि सन् २८।१०।१९७८ मा पटना अस्पतालमा मृत्यु भएकोले निज प्रतिवादी शेष तफाजुल उपर ज्यानसम्बन्धीको १३ को देहाय ३ नं. बमोजिम कारवाही भई सजायँ होस् भनी माग दावी भई कारवाही  चलेको देखिन्छ ।

१७.   सर्वप्रथम प्रस्तुत मुद्दामा हरिरा सेखिनको मृत्यु भएको हो होइन भन्ने कुराको यकीन गर्नुपर्ने हुन आयो । पटना अस्पतालमा हुँदाहुँदैकै अस्पतालमा इ. सन् २८।१०।१९७८ मा मेरी छोरी हरिरा शेखिनको मृत्यु भएकोले सो अस्पतालबाट मृत्यु भएको डा.को सर्टिफिकेट सक्कल यसैसाथ पेश गरेको छु भनेर मिति ०३५।७।१८ मा निज हरिराको बाबु शेष अबलेशले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्खास्त दिएको देखिन्छ । शेष अबुलेशले हरिराको मृत्यु भएको हो भनी प्रमाण स्वरूप पेश गरेको सर्टिफिकेट हेर्दा त्यसमा प्रो.आर.जे. सिंहको युनिट र वाहरी रोगियो के लिए टिकट भनी लेखिएको, भर्ना मिति १३।९।१९७८ मृत्यु मिति २८।१०।१९७८, ३० पि.एम. र बिरामी २८१०१९७८ को ४३० पि.एम.मा मरेको प्रमाणित गरिन्छ भनेर अंग्रेजीमा लेखेको पाइन्छ । तर उक्त मृत्युको सर्टिफिकेट पटनाको कुन अस्पतालको कुन चाहिँ डाक्टरले गरेको सो उल्लेख गरिएको छैन । यसको साथै त्यसमा अस्पतालको छाप लागेको र के कति कारणबाट बिरामीको मृत्यु हुन गएको हो केही पनि लेखिएको पाइँदैन । मिति २०४०।१।२८।४ को यस अदालतको डिभिजन बेञ्चबाट भएको आदेश बमोजिम कहाँबाट उक्त सर्टिफिकेट दिइएको हो भनी बुझ्ने सिलसिलामा सिर्टिफिकेट पेश गर्ने शेष अबुलेशले बयान गर्दा म लेखपढ गर्न नसक्ने जो दिएको हो सो पेश गरेको भनी लेखिदिएकोले समेत उक्त सर्टिफिेकट उपर भर गर्ने स्थिति रहेन । अब हरिरा के कस्तो रोगबाट मरेकी रहेछ भनी हेर्दा जाहेरवालाले हरिरा मरेको भनी पेश गरेको कागजमा रोग खुलेको पाइँदैन । हरिराको लाशको परीक्षण (पोष्टमार्टम) गरिएको र निजको हकवालालाई लाश बुझाएको कुरा समेत मिसिलबाट देखिन्न । ज्यान सम्बन्धी महलको ८ नं. बमोजिम वारदात गरिएकै चोट पटकको पिरले थला परी मरेको हुनुपर्छ । तर घाँटीको नली काटिएको कारणबाटै थला परी हरिरा मरेकी भन्ने जाहेरवालाले पेश गरेको कागजबाट देखिन्न । यस्तो अवस्थामा हरिरा शेखिनको मृत्यु भएको कुरा नै शंकास्पद हुन आउने र केवल अनुमानको आधारमा निज हरिराको मृत्य हुनु गएको भन्ने ठहर गर्न मिलेन ।

१८.   अतः शंका र अनुमानको आधारमा प्रतिवादी शेष तफाजुलकै कर्तव्यबाट हरिराको मृत्यु भएको भन्न नमिल्ने शंकाको सुविधा प्रतिवादीले पाउने हुँदा ज्यानसम्बन्धीको महल ८ र १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजायँ गर्ने गरेको शुरू रौतहट जिल्ला अदालत मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहराएको यस अदालत डिभिजन बेञ्चको फैसला नमिलेकोले बदर हुने र निज प्रतिवादी शेष तफाजुल मियाँले सफाई पाउने ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा प्रतिवादी शेष तफाजुल मियाँलाई सफाई हुने ठहरेकोले शुरू रौतहट जि.अ.तबाट निजलाई सर्वस्वसहित जन्मकैदको सजायँ गर्ने गरेको लगत कट्टा गर्नु भनी लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु….१

मिसिल नियम बमोजिम गर्नु…………………………२

 

उक्त रायमा हाम्रो सहमति छ ।

 

न्या.त्रिलोक प्रताप राणा

न्या.हरगोविन्द सिंह प्रधान

 

 

इतिसम्वत् २०४१ साल चैत्र २३ गते रोज ६ शुभम् ।