April 22, 1985
Created by nepalarchives

निर्णय नं. २२४२ – अंश

निर्णय नं. २२४२    ने.का.प. २०४२      अङ्क १   डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको...

निर्णय नं. २२४२    ने.का.प. २०४२      अङ्क १

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४० सालको दे.पु.नं. ५५५, ५५४

मुद्दा : अंश ।

 

पुनरावेदक/वादी:चितवन नारायणगढ गा.पं.वडा नं. ३ बस्ने राम कुमार जीवन मित्र

विरूद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने चिज कुमार श्रेष्ठ

ऐ.ऐ बस्ने विष्णु कुमारी श्रेष्ठ

ऐ.ऐ बस्ने विनोद कुमार श्रेष्ठ

पुनरावेदक/प्रतिवादी:नारायणगढ गा.पं.को हाल परिवर्तित भरतपुर न.पं. वडा नं. २ बस्ने चिज कुमार श्रेष्ठ

ऐ.ऐ बस्ने विनोदे कुमार श्रेष्ठ

विरूद्ध

विपक्षी/प्रतिवादी:ऐ.ऐ. बस्ने राम कुमार जीवन मित्र

फैसला भएको मिति:२०४२।१।१०।२ मा

     विवादित अंशियार सगोल कै ठहराई सकेपछि बिना सबूत प्रमाण बेगर सगोलको अंशियार विष्णु कुमारीको नाउँमा रहेको घर जग्गा बाहेक गर्ने गरी शुरूले गरेको इन्साफ सदर गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन ।

(प्रकरण नं.११)

पुनरावेदकहरूको तर्फबाट:विद्वान व.अ.श्री कृष्ण प्रसाद पन्त र विद्वान अधिवक्ताहरु श्री प्रकाश वस्ती र श्री यादव प्रसाद खरेल

विपक्षी वादीहरूको तर्फबाट: विद्वान अधिवक्ता श्री अनुपराज शर्मा र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंहःप्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ :-

२.    श्री पिताजी चामु नारायणका जम्मा २ जना छोरा भएकोमा १ जना म र प्रतिवादी चिज कुमार समेत २ जना मात्र अंशियार भएको । बाबु बाजेका पालाको र बढे बढाएको, सगोलमा आर्जेको र सगोलकै सम्पत्तिबाट विपक्षी भाउजू चिज कुमारकी श्रीमती विष्णु कुमारी र भतिजा विनोद कुमार श्रेष्ठ समेतका नाउँमा जमीन राखी खरिद गरेको र सगोलकै सम्पत्तिबाट पर गोठ बनाई सगोलमै भोगचलन भई आएकोमा दाजुले मेरो मञ्जूरी बेगर नारायणगढ गा.पं. वडा नं. २ को घर जग्गा विष्णुलाल प्रधानलाई राजीनामा गरिदिएको कुरा नक्कल लिँदा यकीन भएको र मेरो अंश भाग माग्दा नदिनु भएकोले, बण्डा गर्नुपर्ने जम्मा सम्पत्ति के कति छ सो मलाई सबै जानकारी नभएकोले यो फिराद परेका अघिल्ला दिन तकको चल अचल गैह्र श्रीसम्पत्तिको विपक्षीहरूबाट तायदाती लिई त्यसबाट २ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने समेत व्यहोराको राम कुमार जीवन मित्र श्रेष्ठको फिरादपत्र ।

      ३.    वादीलाई अंश दिन बाँकी छैन । ०१३ साल चैत्र महिनामा मानु छुट्टिइ घरसारमै पैत्रिक सम्पत्ति चल अचल जग्गा जमीन अंश भाग लगाई सकेको छौं । हामी प्र.मध्येको विष्णु कुमारी र विनोद कुमारको नाममा रहेको सम्पत्ति स्वआर्जनको हो भन्ने समेत प्र.चिज कुमारको प्रतिउत्तर ।

४.    मेरा पति चिज कुमार र देवर राम कुमारको बीचमा ०१३ सालमा मानु छुट्टिएको हो । सो पश्चात विपक्षले आफ्नी श्रीमती शुष्मादेवीका नाममा का.न.पं. वडा नं. ३२ को जग्गा बिक्री गरी काठमाडौं भु.प्र.का.बाट पारित गराउनु भएको छ । हाम्रो स्वआर्जित सम्पत्ति माथिको वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको विष्णु कुमारीको प्रतिउत्तरपत्र ।

५.    विपक्षी वादीका काका राम कुमार र म नत अंशियार हो न सगोलमै रहेको छु । मेरो स्वआर्जित सम्पत्तिको आशाले म उपर यो झुठ्ठा फिराद दिएको हो भन्ने समेत व्यहोरा विनोद कुमार श्रेष्ठको प्रतिउत्तर ।

६.    यसमा विष्णु कुमारीको नामको जग्गा घर बाहेक अरु पेश भएको तायदातीहरू र ०३६।११।२४ मा  खुलाएको कागजमा सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग वादीले अंश छुट्याई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको चितवन जिल्ला अदालतको ०३८।३।१५ को फैसला ।

७.    सो फैसलामा चित्त बुझेन भन्ने वादी प्रतिवादी दुवै थरीले मध्यमान्चल क्षेत्रीय अदालतमा दिएको पुनरावेदन ।

८.    यसमा शुरूको इन्साफ मनासिव ठहर्छ । पुनरावेदक दुवैथरको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालतको ०३९।९।२१।४ को फैसला ।

९.    सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी राम कुमारले दिएको निवेदनमा, यसमा विष्णु कुमारीको नाउँमा ०१४ सालमा खरिद भएको जग्गाको ०१४ सालको लिखत र रजिष्ट्रेशन पास भएको भनी दर्खास्तमा उल्लेख गर्न नसकेको र सो लिखत अहिले पेश गर्न पनि नसकेकोमा विष्णु कुमारीका नाउँमा रहेको घर जग्गाहरूमा वादीले बण्डा नपाउने गरी गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा अंशबण्डाको १८ नं. को त्रुटि भएको देखिंदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको डिभिजन बेञ्चको ०४०।२।४ को आदेश।

१०.    उपरोक्त उल्लिखित मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्र.चिज कुमार र विनोद कुमारले दिएको निवेदनमा यसमा राप्ती दून विकास समितिबाट प्रतिवादी चिज कुमार र विनोद कुमारले किस्ताबन्दीमा खरिद गरी पाएको जग्गा समेतलाई बण्डा गर्ने गरेको शुरू जिल्ला अदालतको इन्साफलाई सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा अंशबण्डाको १८ नं. समेतको त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको डिभिजन बेञ्चको ०४०।२।४ को आदेश ।

११.    पुनरावेदक वादी राम कुमारका तर्फबाट उपस्थित हुनुभएका विद्वान व.अ. श्री कृष्ण प्रसाद पन्तले र विद्वान अधिवक्ता श्री प्रकाश वस्ति तथा विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेलले र विपक्षी पुनरावेदक प्रतिवादी चिज कुमार तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री अनुपराज शर्माले र विद्वान व.अ. श्री शम्भु प्रसाद ज्ञवालीले गर्नु भएको बहस समेत सुनियो मुख्यतः मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ । मूल बाबु चामु नारायणका २ छोरा यिनै वादी प्रतिवादी भएकोमा र कानुनी मान्यतायुक्त बण्डापत्रको लिखत नभएकोमा कुनै विवाद देखिन्न । वादीले प्रतिवादीहरूबाट सगोलमा रहेको चल अचल श्रीसम्पत्तिको फिराद परेको अघिल्ला दिन सम्मको सम्पूर्ण तायदाती लिई २ भागको १ भाग अंश दिलाई पाउँ भनी दावी लिएको पाइन्छ । यी वादी प्रतिवादीहरूको मधेश चितवन र पहाड दुवैतर्फ घर खेती भएको र वादीले पहाडतर्फको हेरविचार गर्ने र प्रतिवादीले मधेश चितवन तर्फको घर खेतीमा हेरविचार र व्यवहार समेत गरेको र सोही सिलसिलामा वादी प्रतिवादीले आफू आफ्ना नाममा रहेका जग्गा जमीन बिक्री र खरिद समेत गरेको देखिन्छ । तर वादी प्रतिवादीको बीचमा कुनै खरिद बिक्री भएको र मेरो अंश भागको भनी कुनै लिखतमा कुनै पक्षले लेखी लिनु दिनु गर्नुका साथै कुनै पैत्रिक सम्पत्ति अंश भागको भनी दा.खा.नामसारी गरेका प्रमाण लिखित नपाइनुको साथै प्रतिवादीले गरिदिएको रजिष्ट्रेशन पारित लिखतमा एकाघरको भाइ राम  कुमार भनि यी वादी साक्षी रहे बसेको समेत देखिएका आधार प्रमाणहरूबाट यी वादी प्रतिवादीका बीच अंश भएको भन्न नमिल्ने ठहराई प्र.विष्णु कुमारीका नाउँको घर जग्गा बाहेक प्रतिवादीबाट प्राप्त तायदाती तथा पछि ०३६।११।२४ मा खुलाएका कागजमा लेखिएको सम्पूर्ण सम्पत्तिमा २ भागको १ भाग अंश वादीले पाउने ठहराई शुरूले गरेको इन्साफ सदर गरी मध्यमान्चल क्षेत्रीय अदालतले फैसला गरेको देखिन्छ त्यस्तो विवादित अंशियार सगोलकै ठहराई सकेपछि बिना सबूत प्रमाण बेगर सगोलकै अंशियार विष्णु कुमारीका नाउँमा रहेको घर जग्गा बाहेक गर्ने गरी शुरूले गरेको इन्साफ सदर गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । त्यसकारण सगोलको विष्णु कुमारीका नाउँमा रहेको घर जग्गा समेतमा वादीले वादी दावीलाई तथा पुनरावेदन जिकिर अनुसार दाखिल भएका तायदाती र खुलाएका कागजमा उल्लिखित विष्णु कुमारीको नाउँको घर जग्गामा २ भागको १ भाग अंश पाउने ठहर्छ । अरू शुरू र मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । प्रतिवादी चिज कुमार, विनोद कुमार श्रेष्ठको पुनरावेदन जिकिर पुग्न सक्दैन । तपसीलमा लेखिएका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

वादी राम कुमार जीवन मित्र के माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.विष्णु कुमारीका नाउँमा रहे भएका घर जग्गामा समेत वादी दावी बमोजिम २ भागको १ भाग अंश पाउने ठहरेकाले सो घर जग्गाको दावी विषयमा राखेको शुरू कोर्टफी रु. १८२१ र मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. २७३।१५ र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. २७३।१५ समेत जम्मा कोर्टफी रु. २३६७।३० (दुई हजार तीनसय सतसट्टी रुपैयाँ तिस पैसा ) भराई पाउँ भनी प्रतिवादीहरूको यसै सरहदको जेथा देखाई म्यादमा दर्खास्त पर्न आए प्रतिवादी जिवकुमार श्रेष्ठ १, विनोद कुमार श्रेष्ठ १ समेत जम्मा २ बाट कानुनको रीत पुर्‍याई दस्तूर केही नलिई वादी राम कुमारलाई भराई दिनु भनी चितवन जि.अ.तमा लेखी पठाउनु भनी का.जि.अ.मा लगत दिनु..१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम दाखिल भएका तायदाती तथा ०३६।११।२४ मा खुलाएका कागजमा उल्लिखित प्र.विष्णु कुमारीका नाउँमा रहेका सम्पूर्ण घर जग्गाको २ भागको १ भाग अंश दिलाई छुट्टाई पाउँ भनी वादी राम कुमारको म्यादमा दर्खास्त परे कानुन बमोजिम दस्तूर दिई अंश छुट्याई दिनु भनी चितवन जि.अ.तमा लेखी पठाउनु भनी का.जि.अ.मा लगत दिनु…२

मिसिल नियमानुसार गरी बुझाई दिनु……………………..३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४२ साल बैशाख १० गते रोज २ शुभम् ।