निर्णय नं. २२४० – उत्प्रेषण
निर्णय नं. २२४० ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.नं....
निर्णय नं. २२४० ने.का.प. २०४२ अङ्क १
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको रि.नं. २३००
विषय : उत्प्रेषण ।
निवेदक :का.जि.का.न.पं.वा.नं. १ नक्साल चारढुंगे बस्ने रत्नभक्त मानन्धर
विरूद्ध
विपक्षी : भूमि सुधार कार्यालय, भक्तपुर
भ.पु.जि.चितपोल गा.पं.वा.नं.५ सागाद गा.पं. गाउँ बस्ने ललित बहादुर राना मगर
आदेश भएको मिति:२०४१।१२।३०।६ मा
मोहीले जग्गा धनीलाई कुत बुझाएको अथवा धरौट राखेको छु भनी प्रमाण पुर्याउनु पर्ने ।
(प्रकरण नं.९)
निवेदक तर्फबाटःX
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दाःX
आदेश
न्या.सुरेन्द्र प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएका प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ ।
२. मेरो नाउँमा मालपोत कार्यालय भक्तपुरको श्रेस्तामा जग्गाधनी दर्ता भएको जिल्ला भक्तपुर चितपोल गा.पं.वा.नं. ५क. कि. नं. २७ को पाकोको रोपनी ७–१०–२–० जग्गाको जग्गाधनी म र विपक्षी जोताहा मोही भएको कुरामा विवाद छैन । मोहीले ०३९ सालको बाली नबुझाएकोले भूमिसम्बन्धी ऐन बमोजिम कुत दिलाई मोहीबाट समेत निष्कासन गरिपाउँ भन्ने मेरो विपक्षी कार्यालयमा निवेदन पर्दा वादीको विश्वासिलै मानिस विश्वराम भक्तले कुत बुझेको भन्ने समेत प्रतिवादी भएकोमा ०३९ सालको कुत बाली विपक्षले वादीलाई दिनुपर्ने र प्रतिवादी पक्षलाई सुध्रन मौका दिई मोहीबाट निष्कासन नहुने भन्ने निर्णय गर्नुभयो जुन निर्णय निम्न लेखिएको जिकिरहरूबाट गैरकानुनी भएको प्रष्ट छ भनी उल्लेख गरेको छु ।
३. जिकिर:-विपक्षले मलाई भूमिसम्बन्धी ऐन नियम बमोजिम पौष मसान्त सम्ममा कुत बुझाउनु भएको छैन । यो म्यादभित्र कुत बुझाउन ल्याउँदा मैले नलिएको भए पञ्चायतमा धरौटी राख्न पर्ने सो समेत छैन विपक्षीले मेरो विश्वासिलो मानिस विश्वरामलाई कुत बुझाएको छु भन्ने जिकिर लिए तापनि सो मलाई थाहा छैन मेरो अनुस्पथितिमा र अनभिज्ञतामा निजलाई कूतै बुझाएको भए पनि मेरो तर्फमा केही असर पर्ने होईन निजलाई कुत बुझ्ने अधिकारै छैन । अ.बं. १३९ नं. बमोजिम पेटबोलीका मानिसलाई बुझ्ने समेत व्यवस्था भएकोमा बुझिएको छैन र पेश गरेको रसिद अ.बं. ७८ नं. बमोजिम सुनाउनु पर्ने समेत सुनाएको छैन सो बाहेक कुत नबुझाएकोमा विपक्षी कार्यालय सहमत भइसकेपछि भू.सं. ऐन, ०२१ को दफा २९(१) बमोजिम मोही निष्कासन गर्नुपर्ने थियो । न्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो तजविजी अधिकारको प्रयोग गर्दा न्यायिक तरिकाले गर्नुपर्ने सो नगरेबाट सर्वोच्च अदालतबाट कायम भएको कतिपय नजीरको समेत विपरीत भएको प्रष्टै रहेको छ अतः विपक्षी कार्यालयले अनावश्यक तर्क खडा गरी कानुनको उल्लेख नै नगरी हचुवा गरी गरेको निर्णयले निवेदकको संवैधानिक हक हितमा, असर परेको र अन्य उपचारको व्यवस्था समेत नभएकोले संविधानको धारा १९।७१ बमोजिम उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी उक्त विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन ।
४. यसमा विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत यस अदालत सिङ्गल बेञ्चको आदेश ।
५. निवेदकका विपक्षीको जग्गाको म मोही भएको कुरामा विवाद छैन । विपक्षीकहाँ कहिले पनि म बाली बुझाउन गएको छैन निजकै मोही नाइके विश्वराम भक्त श्रेष्ठले जहिले पनि वाली लिई भर्पाई गरिदिने गर्दथे । यो ०३९ सालको बालीमा म उपर दावी फिराद परी निज विश्वरामलाई भन्न जाँदा ०३९ सालको बाली पौष १७ गतेको मितिबाट बाली बुझी लिई निज जग्गाधनीलाई दिई सकेको छु फिक्री नगर्नु होस् भनी भन्नु भएकोमा आफ्नो भएको व्यहोराको प्रतिवाद सहित भर्पाई भू.सु.का. भक्तपुरमा पेश गरेको थिएँ । भु.सु.का. बाट निवेदक र मलाई रोहवरमा राखी सम्झाई ०३९ र ०४० सालको बाली भू.सु.का. मा राखी मिलापत्र गर्ने भन्नु भएकोमा २ सालको बाली धरौट राखेको समेत हुँदा सोही मुताविक मोही निष्कासन नगर्ने बाली मात्र मबाट जग्गाधनीलाई बुझाउने गरी भू.सु.का. बाट निर्णय भएको हो । अतः मैले बुझाई सकेको बालीमा दोहोराई धरौटी राखेको कुरालाई समेत छिपाएर सम्मानीत अदालतमा रिट निवेदन दिन आएको हुँदा समेत प्रस्तुत निवेदन खारेज गरिपाउँ भन्ने समेत ललित बहादुर राना मगरको लिखित जवाफ ।
६. वादी रत्न बहादुर भक्त मानन्धरले बाली भराई मोही निष्कासन गरिपाउँ भनी कारवाही चली आएको कुरामा यस कार्यालयबाट मिति ०४०।१२।१५ मा वादीले प्रतिवादीबाट बाली पाउने ठहर्छ मोही निष्कासन नहुने भनी गरेको फैसला भू.सु.ऐन, ०३१ का परिधिमा रही निर्णय भएका हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का. भक्तपुरको लिखित जवाफ ।
७. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदक या पक्ष विपक्षहरूको वारेसको रोहवरमा विपक्षी भू.सु.का. भक्तपुरतर्फबाट खटिई आउनुभएका विद्वान सरकारी अधिवक्ता भैरवप्रसाद लम्सालले गर्नुभएको बहस जिकिर समेत सुनियो मुख्यतया भू.सु.का. भक्तपुरले मिति ०४०।१२।१५।४ मा गरेको निर्णय मिले नमिलेको के रहेछ सोको निर्णय दिनुपर्ने हुन आयो ।
८. निर्णयतर्फ विचार गर्दा यसमा भ.जि.चितापोल गा.पं.वा.नं. ५ क. कि.नं.२७ को रोपनी ७–१०–२–० को ०३९ सालको कुत नबुझाएको हुँदा कुतदिलाई मोहीसमेत निष्कासन गरिपाउँ भन्ने मुख्य दावी लिएकोमा विपक्षी भू.सु.का भक्तपुरबाट कुत दिलाई मोहियानीबाट हटाउन नमिल्ने भन्ने निर्णय गरेको पाइन्छ ।
९. भूमि सम्बन्धि ऐन, ०२१ मा व्यवस्था गरेअनुसार कुतको हद तोकेको र भूमिसम्बन्धी नियम ४६ मा कुत बुझाउनु पर्ने प्रष्ट रूपमा व्यवस्था गरेको पाइन्छ । प्रस्तुत विवादमा मोहीले जग्गाधनीलाई कुत बुझाएको नभए पनि निजको विश्वासिलो मानिस विश्वरामलाई कुत बुझाएको छु भन्ने प्रतिवाद गरे तापनि जग्गाधनीले सो कुरालाई इन्कार गरेको पाइन्छ । सो बाहेक मोहीले जग्गाधनीलाई कुत बुझाई भर्पाई लिएको अथवा जग्गाधनीले कुत नबुझेका हुँदा फलानो ठाउँमा कुत धरौटी राखेको छु भन्न समेत सकेको पाइँदैन । तजविजी अधिकार प्रयोग गर्दा पनि सो प्रयोग गर्ने अधिकारीले सबूत प्रमाणको आधार देखाइनु न्यायिक तरिकाले गर्नुपर्ने हुन आउँदछ । प्रस्तुत विवादमा जग्गाधनीले मोहीबाट कुत लिन पाउने प्रष्ट हक भएको र मोहीले जग्गाधनीलाई कुत बुझाएको अथवा धरौट राखेको छु भनी प्रमाण पुर्याउनु पर्नेमा सो भए गरेको पाइँदैन यस्तो स्थितिमा भू.सु.का. भक्तपुरले कुत सम्म भराई दिने र मोहीबाट निष्कासन नगर्ने भन्ने गरेको निर्णय न्यायसंगत नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब जो बुझ्नुपर्ने बुझी कानुन बमोजिम निर्णय गर्नु भनी भूमि सुधार कार्यालय भक्तपुरको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ विपक्षी कार्यालयको जानकारीको लागि आदेशको एकप्रति महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् ०४१ साल चैत्र ३० गते रोज ६ शुभम् ।