March 18, 1985
Created by nepalarchives

निर्णय नं. २२३६ – आदेश बदर

निर्णय नं. २२३६     ने.का.प. २०४२      अङ्क १   डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको...

निर्णय नं. २२३६     ने.का.प. २०४२      अङ्क १

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको दे.पु.नं. ५३०

मुद्दा : आदेश बदर

 

पुनरावेदक/वादी: रौतहट जि.टेग्राहा गा.पं.वडा नं. ८ बस्ने यमुना मिश्र

ऐ.ऐ बस्ने जनार्दन मिश्र

विरूद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने कौशल्यादेवी मिश्र  

फैसला भएको मिति: ०४१।१२।५।२ मा

आदेश बदर गरिपाउँ भन्ने मुद्दामा अंशबण्डा गरिपाउँ भन्ने दावी बिनाको अंशियार सगोलमा छन् को को छुटिएको छन् भनी ठहर गर्न पनि मिल्ने देखिएन ।

(प्रकरण नं.१२)

पुनरावेदक वादी तर्फबाटःX

विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंह:. मध्यमान्चल क्षेत्रीय अदालतको २०४०।५।१ को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी वादी पक्षको निवेदन परेकोमा यस अदालतबाट २०४०।१०।१९ मा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

२.    राम प्रसाद मिश्रको २ पत्नीमध्ये जेठी पट्टिबाट हामीहरू र कान्छी प्रतिवादीको तर्फबाट उपेन्द्र मिश्र १, त्रिविक्रम मिश्र १, अच्यूतानन्द मिश्र १ समेत ३ जना भएको निज राम प्रसाद २०३८।४।७ मा आफ्ना कालगतिले परलोक भएका छन् । निज राम प्रसादको सम्पत्तिमा प्रतिवादी लगायत हामीहरूको अंश हक भोगको जग्गा रहेको छ । प्रतिवादी र हाम्रो बाबु राम प्रसाद मिलोमतो गरी हाम्रो अंश हकको जग्गाबाट हाम्रो हक हरण गर्ने मनसायले प्रतिवादी आफू वादी भई बाबु राम प्रसादलाई प्रतिवादी बनाई बाबु राम प्रसादले प्रतिवाद नगरी एकतर्फी पारिदिए तापनि बाबु राम प्रसाद मरेको जानकारी प्रतिवादीले मिसिलमा दिनु भएको आधारमा वादी बाहेक अरू हकदार अंशियार कोही नभएको आधारमा प्रस्तुत अंश मुद्दा तामेलीमा राखिदिने गरी ०३८।५।१७ मा आदेश भएको हामीलाई थाहा थिएन । बाबु राम प्रसाद मिश्र परलोक भएपछि प्रतिवादीले हाम्रो बाबु राम प्रसादका नाउँको जग्गालाई आफ्ना नाममा नामसारी गराउन मालपोत कार्यालयमा दर्खास्त दिनु भएको बुझी राम प्रसादको जग्गामा हाम्रो पनि हक भएकोले हामीहरूका नाममा पनि नामसारी गरिपाउँ भनी हामीहरूले मालपोत कार्यालयमा निवेदन दिए तापनि अपुतालीको २ नं. ले श्रीमती नजिकको हकदार हुँदा कौशल्यादेवीका नाममा नामसारी हुने ठहर्छ भनी ०३८।११।३ मा मालपोत कार्यालयबाट निर्णय दिएको मैले नक्कल लिँदा माथि लेखिए बमोजिम अंश मुद्दाको निर्णय नक्कल प्रतिवादीबाट पेश भएको थाहा पाएकोले हामीहरूका हकमा आघात पर्ने हुँदा माथि लेखिएको अंश मुद्दामा राम प्रसादको सम्पत्तिमा प्र.कौशल्यादेवीको मात्र एकलौटी हक हुने भन्ने रौतहट जिल्ला अदालतको ०३८।५।१७।४ को तामेली आदेश बदर गरिपाउँ भन्ने समेत वादी दावी ।

३.    वादीहरू पनि मेरो परिवारको अंशियार हुनुहन्छ भन्ने मैले दिएको अंश मुद्दामा मैले स्वीकार गरेकै छु । यदि वादीहरूको अंशहकको सम्पत्ति स्व.लोग्ने राम प्रसाद मिश्रको नाममा थियो भने सोसम्पत्तिको स्पष्ट उल्लेख गरी राम प्रसादको नामको जग्गा हक  मध्ये केकति जग्गामा वादीहरूको हक पुग्ने कुरा रहेकोछ त्यसको फाँटवारी खुलाई वादीले आदेशबदरको नालेश दर्ता गराउन सक्नुपर्नेमा गोलमाल नालेश दर्ता गराउनु भएको गैरकानुनी हो, आदेश बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.    अंश मुद्दाबाट वादीहरूको हक जाने स्थिति भएको भए यति हाम्रो हकको हाम्रो हक कायम गरिपाउँ भनी आफ्नो सबूत समेत खुलाई आफ्नो हक कायमतर्फ कोर्टफी समेत राखी उजूर गर्नुपर्ने त्यसतर्फ कुनै उल्लेख गरेको नदेखिएको समेतबाट निर्णय बदर गर्ने अवस्था नभएकोले आदेश बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेतको रौतहट जिल्ला अदालतको ०३९।३।१७ को फैसला ।

५.    सो फैसलामा चित्त बुझेन भनी वादी जनार्दन मिश्र समेतको मध्यमान्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

६.    अ.बं. ८६ नं. को व्यवस्थाले आफ्नो हकमा असर पर्नेले नालेश गर्न पाउने देखिनाले राम प्रसाद मिश्र भूमिहारको सम्पत्तिमा वादी दावी नपुग्ने गरेको रौतहट जिल्ला अदालतको फैसला मिलेको नदेखिएकोले छलफल निमित्त विपक्षी झिकाउनु भन्ने मध्यमान्चल क्षेत्रीय अदालत सिङ्गल बेञ्चको ०३९।१२।२० को आदेश ।

७.    अंशबण्डातर्फ वादीको दावी छैन । यो यती खण्ड हाम्रो हक कायम गरिपाउँ भन्ने दावी पनि छैन । मर्ने राम प्रसादको हकदार छँदाछँदै हकदारै नभएको भनेको रौतहट जि.अ.को आदेश बदर गरिपाउँ भन्ने समेत सम्मको दावी लिएको प्रस्तुत नालेशमा अंशतर्फको निर्णय नगरी हाल त्यसतर्फ निर्णय गर्न मिलेन अतः प्रस्तुत नालेश खारेज गरिदिएको छ । पछि अंशतर्फ दावी परेको बखत ठहरे बमोजिम हुने भनी प्रस्तुत नालेश खारेज गरिदिनु पर्नेमा इन्साफ गरेको शुरू रौतहट जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्छ भन्ने समेतको २०४०।५।१ को मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

८.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेतको वादी पक्षको यस अदालतमा परेको निवेदन पत्र ।

९.    निवेदक वादी यमुना मिश्र समेतको नालेश अ.बं. ८६ नं. अन्तर्गत परेको र अपुतालीको २ नं. ले बाबु राम प्रसादको मृत्युपछि निजले छोडेको सम्पत्तिमा निवेदक वादीहरूको हक लाग्नेमा त्यसतर्फ तहकिकात निर्णय नगरी खारेज गरेको त्रुटिपूर्ण देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेतको २०४०।१०।१९ को यस अदालतको आदेश ।

१०.    नियम बमोजिम पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा विपक्ष प्रतिवादी कौशल्यादेवी मिश्रको तर्फबाट रहनुभएका विद्वान व.अ. श्री शम्भु प्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।

११.    प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतले गरेको फैसला मिलेको छ छैन सो को निर्णय दिनुपर्ने देखिन्छ ।

१२.   निर्णयतर्फ विचार गर्दा यसमा अंश मुद्दामा राम प्रसादको सम्पत्तिमा प्र.कौशल्यादेवीको माग एकलौटी हक हुने भन्ने रौतहट जिल्ला अदालतको ०३८।५।१७ को तामेली आदेश बदर गरिपाउँ भन्ने समेत मुख्य वादी दावी भएको देखिन्छ । प्रतिवादीहरूसँग हाम्रो अंशबण्डा नभएकोले सगोलका अंशियार हौं भन्ने वादीहरूको  भनाई छ तर त्यसतर्फ अंशबण्डा गरिपाउँ भन्ने वादीहरूको फिराद परेको पाइँदैन । अ.बं. को ८६ नं. अन्तर्गत फिराद दिइएको भन्ने फिरादपत्रबाट देखिएकोले आफ्नो हक सम्म कायम गर्न वादी आएको हो कि भन्न पनि यो यति खण्ड हाम्रो हक कायम गरिपाउँ भन्ने प्रष्ट दावी खोली हक तर्फको मोल बिगो खुलाई कोर्टफी राखी आउनुपर्ने सो बमोजिम भए गरेको पनि देखिएन । आदेश बदर गरिपाउँ भन्ने प्रस्तुत मुद्दामा अंशबण्डा गरिपाउँ भन्ने दावी बिनाको अंशियार सगोलमा छन् को को छुट्टिएको छन् भनी ठहर गर्न पनि मिल्ने देखिएन । तसर्थ यस्तो अवस्थामा मध्यमान्चल क्षेत्रीय अदालतले राम प्रसादको हकदार छँदाछँदै हकदारै नभएको भनेको रौतहट जिल्ला अदालतको आदेश बदर गरिपाउँ भन्ने समेत सम्मको दावी लिएको प्रस्तुत नालेशमा अंशतर्फको निर्णय नगरी हाल त्यसतर्फको निर्णय गर्न मिलेन अतः एवं प्रस्तुत नालेश खारेज गरिदिएको छ पछि अंशतर्फ दावी परेको बखत ठहरे बमोजिम हुने भनी प्रस्तुत नालेश खारेज गरिदिनुपर्नेमा इन्साफ गरेको शुरू रौतहट जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्छ भनी गरेको फैसलामा कुनै त्रुटि नदेखिँदा सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन कोर्टफी लागी पुनरावेदन पत्र दायर भएको हुँदा केही गर्नुपरेन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव

 

 

इतिसम्वत् २०४१ साल चैत्र ५ गते रोज २ शुभम् ।