निर्णय नं. २२३५ – डाँका
निर्णय नं. २२३५ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् ०४१ सालको...
निर्णय नं. २२३५ ने.का.प. २०४२ अङ्क १
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
सम्वत् ०४१ सालको फौ.पु.नं. ५९७
मुद्दा : डाँका
पुनरावेदक/वादी: नर बहादुर बुढाथोकीको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी: दाङ नारायणपुर गा.पं.वा.नं. ५ बस्ने दुर्गालाल चौधरी समेत ।
फैसला भएको मिति: ०४१।१२।५।२ मा
राजनैतिक उद्देश्यले भएको नाराबाजी तोडफोड र लुटपीट समेतका कृयालाई लिएर राजकाज सजायँ ऐन अन्तर्गत मुद्दा चल्न नसकेपछि डाँका मुद्दा चलाएको देखिएकोमा प्रतिवादीहरूले डाँका गर्ने उद्देश्य लिएर लुटपीट गरेको भन्ने यकीन अवस्था विद्यमान नभएको।
(प्रकरण नं.७१)
पुनरावेदक वादी तर्फबाटःX
विपक्षी प्रतिवादीको तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको फैसलामा चित नबुझी पुनरावेदनको अनुमति पाउँ भनी श्री ५ को सरकारतर्फबाट निवेदन पर्न आउँदा पुनरावेदनको अनुमति प्राप्त गर्न निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ :
२. ०३६।१२।३ गतेको राति १२ बजेको समयमा घरमा सुती रहेको अवस्थामा दाङ नारायणपुर गा.पं.वा.नं. ५ बस्ने रामे भन्ने राम बहादुर चौधरी समेतका चिनेका र अन्य १०० जना जति नचिनेका व्यक्तिहरू आई हत्यारा विरे मुर्दावाद माउत्सेतुङ विचारधारा जिन्दावाद शोषक फटाहा मार्छौं काट्छौं भन्ने जस्ता अन्तर्राष्ट्रिय नारा लगाई श्री ५ महाराजाधिराज र श्री ५ वडामहारानी सरकारको फोटोसमेत तोडफोड गरी डर धम्की देखाई राजीनामाका तमसुक र बैङ्कको पासबुक समेत च्यातचुत पारी टुटु सहितको बन्दुक र नगद रु. ४७,७१५। समेत डकैती गरी लगे भन्ने समेत नर बहादुर बुढाथोकीको जाहेरी ।
३. मोहन घर्ती जस्ता व्यक्तिहरू हाम्रो घरमा पटक–पटक आई आफ्नो पूर्खाले आर्जन गरेको सम्पत्तिमा अहिले तिमीहरू नोकर भएका छौं आयोग आएर पनि तिमीहरू केही गरिदिएनन् त्यसैले एकजुट भई धनी र जग्गावालालाई लुटपीट गरी आतंक मच्याई दिएमा तिनीहरू भाग्छन् अनि जग्गा तिमीहरूकै हुन्छ भनी भनेकोले र ०३६।१२।३ गते राति राम बहादुरले ५०।६० जना म समेतका भेला गराई नर बहादुरको घरमा लुट्नु पर्दछ राजाको विरूद्धमा नारा लगाउनु पर्दछ भन्ने निर्देशन दिएकोले म समेत अन्य ५०।६० जना भई नर बहादुरको घरमा डाँका गरेका हौं भन्ने समेत ०३७।१२।१२ गते दुर्गालाल चौधरीले प्रहरीमा गरेको कागज ।
४. थारू दिन दिनै गरीव हुँदै गए र शोषकहरू दिन दिनै धनी हुँदै गए त्यस्तो व्यवस्थाबाट संरक्षण भएकोले हो यो व्यवस्था र सरकार पल्टाउन पाए यस्तो नहुने र साहुहरूको सम्पत्ति लुटपीट गरी हात हतियार संकलन गरी राजसत्ता समाप्त पार्न जाहेरवालाको घरमा गई टेक बहादुर राम बहादुर समेत भई फोटो च्यातचुत पारी उग्रवादी नारा लगाई डाँका गरेका हौं । सम्पत्ति बण्डा नगर्ने योजना भएकोले बण्डा गरेनौं भन्ने ०३६।१२।१२ मा दामोदर चौधरीले प्रहरीमा गरेको कागज ।
५. ०३६।१२।३ गतेको रातमा जाहेरवालाको घरमा राम बहादुर चौधरी काशिराम चौधरी अरू नाम थाहा नभएको मानिसहरू समेत ढोका फोडी भित्र पसी सामान तोडफोड गरी राजाको फोटो समेत तोडफोड गरी माओत्सेतुङ विचारधारा जिन्दाबाद जिन्दाबाद भन्ने नारा लगाई वारदात गरेको हो भन्ने समेत पुरूषोत्तमको प्रहरीमा भएको कागज ।
६. ०३६।१२।३ गते राति नर बहादुरको घरमा ५०।६० जना गई डकैती गरी टुटु समेत लुटेको सामान राम प्रसाद चौधरी समेतको जिम्मामा छ । घरबाट सामान निकाली सकेपछि पञ्चायती व्यवस्था नास होस् खेत कसको जोत्नेको जस्ता नारा लगाई पञ्चायती व्यवस्था उल्टाई कम्युनिष्ट शासन व्यवस्था ल्याउने उद्देश्य लिएर लुटपीटसमेत गरेका हौं भन्ने समेत काशीराम चौधरीको प्रहरीमा भएको कागज ।
७. राम बहादुर काशिराम चौधरी समेतका १००।१५० जना भई शोषक सामन्तीलाई खत्तम गरी बराबर बनाउने भन्ने बाट प्रभावित भई शोषकहरूलाई लुटपीट गरी हतियार खरिद गर्न र शासन व्यवस्था पल्टाई कम्युनिष्ट शासन व्यवस्था ल्याउनका लागि नारा समेत लगाएका हौं भन्ने समेत बासुदेव चौधरीको प्रहरीमा भएको कागज ।
८. जिमिदारलाई लुटपीट गर्नु पर्दछ भन्ने सल्लाह भए मुताविक १००।१५० जनाले रातको अन्दाजी १२ बजे नर बहादुरको घरमा गई लुटपीट गरी टुटु समेत लुटी उग्रवादी नारा समेत लगाएको हो भन्ने समेत व्यहोराको गुरूप्रसादको प्रहरीमा भएको कागज ।
९. जिमिदारहरूले शोषण गर्ने हुँदा निजहरूलाई लुट्नु पर्दछ भन्ने उद्देश्य मुताविक ०३६।१२।३ गते राति अन्दाजी १२ बजेको समयमा नर बहादुरको घरमा गई राजा रानीको फोटो समेत च्यातचुत गरी सामन्ती व्यवस्थालाई खत्तम गरी कम्युनिष्ट व्यवस्था ल्याउन यो लुटपीट गरेको हो भन्ने समेत लाल बहादुर चौधरीले प्रहरीमा गरेको कागज ।
१०. यस्तो लुटपीट डकैतीमा संलग्न छैन । जिल्लामा विभिन्न आतंक फिजाउने विचारधाराको व्यक्तिहरूले चलाएको अभियान, जसको मूल उद्देश्य सामन्ती वर्तमान राजसत्तालाई पल्टाउनु हो । जिल्लामा लुटपीट तथा श्री ५ विरूद्ध नारा लगाएको सुनेको छु भन्ने समेत अशोककुमार चौधरीको प्रहरीमा भएको कागज ।
११. जाहेरीमा खुलाएको व्यहोरा यकीन होला जस्तो लाग्दछ निजैको घर लुट्ने राम प्रसाद, दामोदर, काशिराम समेत होलान अन्य केही भन्न सक्दिन भन्ने प्र.अम्बरराजको प्रहरीमा भएको ठाडो कागज ।
१२. नर बहादुरको घरमा लुटपीट गर्न सम्मिलित भएको छैन भन्ने विश्वनाथको प्रहरीमा भएको कागज ।
१३. गुरूप्रसाद समेत आई नर बहादुरको घर लुट्न जाउँ भनी मार्छु काटछु र घरमा समेत आगो लगाई दिन्छु भनी डर त्रास देखाएकोले ४०।५० जना नर बहादुरको घरमा पसेर म बाहिर खेतमा बसेको थिएँ भन्ने समेत तुल्सिरामको प्रहरीमा भएको कागज ।
१४. वर्तमान सरकार पल्टाई कम्युनिष्ट शासन ल्याउनु मेरो सरसल्लाहमा सहमति भई अन्दाजी २००।२५० जना जमात भई जाहेरवालाको घरमा डाँका गरी उग्रवादी नारा समेत लगाएका हौं भन्ने समेत व्यहोराका सगुनलालको ठाडो कागज ।
१५. ०३६।१२।२ को सल्लाह अनुसार ऐ. ३ गते नर बहादुरको घरमा ४०।५० जना गई लुटपीट गरी राजा रानीको फोटो समेत फोडी राम बहादुरले टुटु बन्दुक लिएर आएपछि भागबण्डा लगाउँदा मेरो भागमा थाल ३ परेको थियो भन्ने रामनारायण शाहको कागज ।
१६. जनवादी व्यवस्था कायम गर्ने लक्ष्य अनुसार जाहेरवालाको घरमा भएको डकैतीमा म सामेल भएको हुँ भन्ने समेत व्यहोराको छतिलालको प्रहरीमा भएको कागज ।
१७. नर बहादुरले गाउँमा अत्याचार गरेकोले १००।१५० जति मानिस भई डाँका गरेका हौं भन्ने समेत कालिराम चौधरीको प्रहरीमा भएको कागज ।
१८. नारायण चौधरीको डर त्रासमा परी म समेत १००।१५० जना समेत भई जाहेरवालाको घरभित्र पसी धान निकाली ६।७ पाथी धान राम बहादुरको घरमा पुर्याएको र नारा समेत लगाएका हौं भन्ने समेत बुद्धिरामको प्रहरीमा भएको कागज ।
१९. मैले जान्न भनी भन्दा भन्दै पनि गेहेन्द्रले जोर जुलुम गरेकोले नर बहादुरको घरमा डाँका गर्न गई बाहिर बसेको हुँ । निजहरूले के विचारले डाँका गरे थाहा छैन भन्ने समेत मनकु चौधरीले प्रहरीमा गरेको कागज ।
२०. वारदात भएको अवस्थामा म बनारसमा परीक्षा दिन लागेको थिएँ । मैले डाँका गरेको होइन भन्ने समेत टेक बहादुर चौधरीको प्रहरीमा भएको कागज ।
२१. नर बहादुरको घरमा लुटपीट तोडफोड गरी सकेपछि नारा समेत लगाएका हौं भन्ने समेत टेक बहादुरको प्रहरीमा भएको ठाडो कागज ।
२२. १००।१५० जना जमातको मानिस गई सोही नर बहादुरको घरभित्र पसी लुटपीट गरी र मालसामान लिई निस्केका हुन र मैले केही ल्याइन भन्ने समेत कालुराम चौधरीको प्रहरीमा भएको कागज ।
२३. प्र.मध्येको भालु कप्तान मोहन वैद्य नेत्रलाल अमाविर नारायण चौधरीले म्याद गुजारी बसेको ०३६।१२।३ गतेको रात जाहेरवालाको घरमा १००।१५० जनाको जमात भई कम्युनिष्ट ल्याउने उद्देश्यले डकैत लुटपीट गरेका हुन् भन्ने बुद्धिराम खड्का समेतले गरिदिएको सरजमीन मुचुल्का ।
२४. प्रहरीबाट हाजिर जमानीमा छोड्दा दुर्गाबहादुर दमारूको घर खोज तलास हुँदा पुस्तक पर्चा र झण्डा समेत निस्केको भनी कृष्ण प्रसाद भूसाल समेतले गरिदिएको खानतलासी मुचुल्का ।
२५. सगुनलाल चौधरीको घर खानतलासी हुँदा वाल्टी बरामद भएको भन्ने समेत बच्चुराम चौधरी समेतले गरिदिएको बरामदी मुचुल्का ।
२६. श्री ५ महाराजाधिराज सरकारबाट ०३७ साल बैशाख १ गते नववर्षको शुभकामना सन्देशमा यस अघि राजकाज अपराधमा लागेको व्यक्तिलाई आम माफी बक्सेको हुँदा सो भन्दा पहिलेको मितिको वारदातलाई कारवाही चलाउन मनासिव नपर्ने भन्ने राप्ती अञ्चलाधीश कार्यालयबाट जि.पं.का. घोराहीमा पठाएका फिर्ता पत्र ।
२७. निजै निवेदक दुर्गालाल चौधरी समेत उपर चोरीको ६ नं. बमोजिम डाँका अपराध गरेको सिद्ध हुन आएको हुँदा ऐको १४(४) बमोजिम सजायँ हुन र ऐको १०(३) बमोजिम विगो भराई दिने गरी रा.अञ्चलाधीश कार्यालयको मिसिल समेत संलग्न राखी ०३७।१।६ मा पर्न आएका प्रहरी प्रतिवेदन ।
२८. वादीपक्षका गवारू नर बहादुर बुढाथोकीले राम बहादुर चौधरीसमेतका चिनेको ६ जना र नचिनेको १००। १२५ जना भई रातको १२ बजेको समयमा हामी सुतिरहेको बेलामा आई छानामा ढुङ्गाले हानी झ्याल ढोका फोडी घरभित्र पसी फोटोहरू च्यातचुत पारी गर्धनमा खुकुरी देखाई टुटु बन्दुक समेत डाँका गरी लगे देखाएको कसौडी र बटुकाहरू हाम्रा हुन् भन्नेसमेत दाङदेउखुरी जि.अ.मा गरिदिएको बकपत्र ।
२९. ०३६ चैत्र ३ गते राति आफ्नै घरमा छु प्रतिवादीहरूसँग कसैसँग भेटघाट भएको छैन । चैत्र ४ गतेका दिन हिजो नर बहादुरको घरमा डाँका भयो भन्ने सुनेको हुँ मैले डाँका गरेको होइन भन्ने समेत दुर्गालाल चौधरीले अदालतमा गरेको बयान ।
३०. जाहेरवालासँग कुलोपानीको विषयलाई लिएर झगडा भएको हुँदा त्यही रिस साध्न मलाई पोलेका हुन प्रतिवादीहरूसँग गरी भेटघाट भएको छैन सो दिन म आफ्नै घरमा छु जाहेरवालाको घरमा डाँका गरेको छैन भन्ने समेत व्यहोराको दामोदर चौधरीको अदालतमा भएको बयान ।
३१. मैले जाहेरवालाको घरमा डाँका गरेको र निर्देशन समेत दिएको होइन भन्ने समेत व्यहोराको पुरूषोत्तमको अदालतमा भएको बयान ।
३२. वारदात भएको मितिमा म आफ्नै घरमा छु मैले जाहेरवालाको घरमा डाँका लुटपीट गरेको होइन भन्ने समेत काशिराम चौधरीको अदालतमा गरेको बयान ।
३३. जाहेरवालाको घरमा मैले डाँका गरेको घोराही बजार आएको बेला एक अपरिचित व्यक्तिले डाँका घटना घट्यो भन्ने सुनेको हुँ भन्ने समेत बासुदेव चौधरीको अदालतमा भएको बयान ।
३४. वारदातको रात म आफ्नै घरमा छु जाहेरवालाको घरमा डाँका गर्न गएको होइन भन्ने समेत गुरूप्रसादले अदालतमा गरेको बयान ।
३५. वारदात घटेको रातमा म आफ्नै ससुराली आसाराम चौधरीको घरमा छु अरू कहाँ थिएँ थाहा छैन म डाँकामा सम्मिलित भएको छैन भन्ने लाल बहादुर चौधरीले अदालतमा गरेको बयान ।
३६. जाहेरवालाको घरमा भएको लुटपीटमा म संलग्न छैन साथै कुनै पार्टीमा समेत रहेको छैन भन्ने असोककुमार चौधरीले अदालतमा गरेको बयान ।
३७. जाहेरवालाको घरमा लुटपीट गरेको होइन र सो दिन कसैसँग भेटघाट समेत भएको छैन भन्ने समेत अम्बरराजले अदालतमा गरेको बयान ।
३८. नर बहादुरका घरमा लुटपीट गर्ने काममा म सम्मिलित छैन सो रात म आफ्नै घरमा छु भन्ने समेत विश्वनाथले अदालतमा गरेको बयान ।
३९. वारदातको मितिमा म आफ्नो घरमा नभई घोराही बजारमा भएकोले मैले डाँका गरेको छैन भन्ने समेत श्रीलाल चौधरीले अदालतमा गरेको बयान ।
४०. जाहेरवालाको घरमा डाँका गर्ने मिटिङ बसेको र डाँका लुटपीट गरी धनपात ल्याएको समेत होइन भन्ने तुलसी शर्माको अदालतमा भएको बयान ।
४१. वारदात भएको समयमा म आफ्नै घरमा छु कसैसँग मेरो भेट भएको छैन र लुटपीट समेत गरेको छैन भन्ने समेत सगुनलालको अदालतमा भएको बयान ।
४२. वारदातको दिन म घोराहीमा बसेको हुँदा डाँकामा सम्मिलित छैन भन्ने समेत छविलालको अदालतमा भएको बयान ।
४३. मुखिया पदमा नियुक्ति पाएकोले श्रेस्ता अडिट गराउने काममा ऐनको १७ गते सम्म तिलकरामको घरमा भएकोले मैले डाँका गरेको होइन भन्ने समेत राम चौधरीको अदालतमा भएको बयान ।
४४. वारदातको समयमा म घरमा नभएको हुँदा डाँका गर्नेमा संलग्न छैन भन्ने समेत बुद्धिरामको अदालतको बयान ।
४५. मलाई साह्रै रोगले सताएको हुँदा श्रावण महिनादेखि हिंडडुल गर्न सक्दिन तसर्थ उक्त वारदातमा संलग्न छैन भन्ने समेत व्यहोराको ननउ चौधरीको अदालतको बयान ।
४६. वारदात भएको समय भन्दा अगाडि देखि नै म आफ्नो घरमा नभई कृषिराम चौधरीको घरमा गएको हुँदा जाहेरवालाको घरमा डाँका गरेको होइन भन्ने लोकराज चौधरीको अदालतमा भएको बयान ।
४७. जाहेरवालासँग अघि मेरो सन्धि सर्पन विषयमा झगडा परेकोले मलाई पोल गरेको हो म वारदातमा संलग्न छैन भन्ने समेत श्यामकृष्ण शाहको अदालतको बयान ।
४८. वारदातको समयमा म आफ्नो घरमा नभएकोले डाँका गरेको र धनमाल लिएको होइन भन्ने समेत राम प्रसाद चौधरीको बयान ।
४९. वारदातको मितिमा म आफ्नो घरमा नभई तुलीखोलाको घरमा भएकोले डाँकामा संलग्न छैन भन्ने समेत शेरबहादुरको बयान ।
५०. वारदातको मितिको रातमा म आफ्नो घरमा नभई तुद्रीखोलाको सेरमान चौधरीको घरमा भएकोले डाँकामा संलग्न छैन भन्ने समेत व्यहोराको गेहेन्द्रराज चौधरीको बयान ।
५१. जाहेरवालाको घरमा भएको डकैतीमा म संलग्न छैन भन्ने समेत मंगल चौधरीको बयान ।
५२. वारदातका समयमा बर्दिया गुलरियामा सानीआमाको घरमा रहेका हुँदा जाहेरवालाको घरमा डाँका गरेको होइन भन्ने समेत बल बहादुर चौधरीको बयान ।
५३. वारदातको दिनमा म घरमा भए पनि प्रतिवादीहरूसँग मेरो भेटघाट नभएको हुँदा जाहेरवालाको घरमा डाँका गरेको होइन भन्ने समेत बीरबहादुरको बयान ।
५४. जाहेरवालाको घरमा डाँका गर्न गएको होइन भन्ने समेत नन्दलालको बयान ।
५५. वारदातको दिनभन्दा अगाडि नै म दाङ हस्नापूरको घरमा भएकोले जाहेरवालाको घरमा डाँका गरेको होइन भन्ने समेत ब्रशौमा रामको बयान ।
५६. वारदात मितिमा म घरमा नभई बनारसमा गएकोले मैले जाहेरवालाको घरमा डाँका गरेको होइन भन्ने समेत टेक बहादुरको बयान ।
५७. वारदातको मितिमा म देउखुरीमा भएकोले डाँका गरेको होइन भन्ने समेत टेक बहादुरको बयान ।
५८. वारदातको मितिमा म छात्रावासमा रहे भएकोले जाहेरवालाको घरमा लुटपीट गरेको होइन भन्ने समेत कालुराम चौधरीको बयान ।
५९. विभिन्न प्रतिवादीहरूले आफ्ना देखाएको साक्षी समेत अदालतमा आई बकपत्र गर्दा सम्पूर्ण साक्षीहरूले प्रतिवादीहरूलाई सफाई दिई गरेको बकपत्र ।
६०. चैत्र महिनाको ३ गते रातको १२, १ बजेको समयमा धाङधुङको आवाज सुनी के रहेछ भनी बाहिर निस्कँदा नर बहादुरको घरमा १००/१५० जवान मानिस लाइट लगाएको देखें कोही मानिस भित्र र कोही मानिस बाहिर मालसामान ओसारी रहेका थिए । लुटपीट गरिसकेपछि घर छाडी जाँदा विरेन्द्र मुर्दावाद, जिमिदारको टाउको काट्छौं, पुलिसको हतियार खोस्छौं भन्ने समेत नाराको आवाज तथा लाइटको प्रकाशबाटै गाउँको दामोदर, लोकराज, राम बहादुर, काशिराम, पुरूषोत्तम, विश्वनाथ, श्यामकृष्ण, रामनारायण, समेतलाई चिने भन्ने समेत सरजमीन झिकी बुझिएका जगतबहादुर बुढाथोकी समेत ९ जनाको बकपत्र ।
६१. रामनारायण शाहलाई ०३७।१।२।५ मा अस्पताल जाँच गर्न पठाउँदा दाहिने खुट्टाको नली खुट्टा सुनिएको देब्रे कान्छी औंला र दाहिने बुढी औंलामा पुरानो घाउ भएको भन्ने समेत महेन्द्र अस्पताल घोराहीको पत्र ।
६२. त्यसै विषयमा पहिले राजकाज विषयमा मुद्दा चली पहिलेको वारदात भई श्री ५ महाराजाधिराज सरकारबाट निगाहापूर्वक माफी बक्सेकोमा सोही तथ्यको आधारमा दर्ता भएको प्रस्तुत डाँका मुद्दा भएकोले एकै विषयमा पठाउँदा मुद्दा दर्ता गर्न नमिल्नुको अतिरिक्त एक ठाउँमा सफलीभूत नभएपछि सोही व्यक्ति उपर अन्य न्यायिक निकायमा श्री ५ को सरकारले दायर गरेको प्रस्तुत मुद्दा कानुनी अतिरिक्त श्री सर्वोच्च अदालतको प्रतिपादित सिद्धान्त समेतको विपरीत देखिने हुँदा ७० दिने म्यादै गुजारी बस्ने नारायण चौधरी, भालु कप्तान, नेत्रलाल, मोहन वैद्य, समेतको हकमा मुलतवी रहने र अन्यको हकमा सफाई दिने ठहर्छ भन्ने समेत दाङ देउखुरी जिल्ला अदालतको फैसला ।
६३. न्यायिक मनको अभावमा शुरूले गरेको फैसला कानुन विपरीत हुँदा शुरू प्रहरी प्रतिवेदन दावी बमोजिम प्रहरीहरूलाई सजायँ गरिपाउँ भन्ने समेत म.पश्चिमान्चल क्षेत्रीय अदालतमा श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।
६४. प्रहरीले राजनैतिक उद्देश्यबाट बाँडफाँड गरेको कुरामा प्रहरीमा साविती भए तापनि अदालतमा आई बयान गर्दा पूर्णरूपमा इन्कारी लिएको देखिनुको अतिरिक्त सोही वारदातलाई लिएर निज प्रहरी उपर राजकाज अपराधको सजायँको माग दावी गरी श्री ५ को सरकारको राप्ती अञ्चलाधीश कार्यालयमा लगिएकोमा श्री ५ महाराजाधिराज सरकारबाट ०३७।१।१ गते निगहापूर्वक माफी बक्सेको हुँदा पहिलेका वारदातलाई लिई प्रस्तुत मुद्दा बुझी कारवाही गर्न नमिल्ने भनी फिर्ता आएपछि डाँका मुद्दा दायर गरेको देखिन आएको र प्र.हरूले डाँका गर्ने उद्देश्य रहेको भन्ने कतैबाट प्रमाणित नभएको हुँदा मुखले सफाई दिई गरेको फैसला न्यायोचित नै देखिएकोले मनासिव ठहर्छ भन्ने समेत म.पश्चिमान्चल क्षेत्रीय अदालतको मिति ०४०।३।२६ गतेको फैसला ।
६५. उक्त म.पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला न्यायसंगत नहुँदा पुनरावेदनको अनुमति पाउँ भनी श्री ५ को सरकारबाट यस अदालतमा निवेदन पर्न आउँदा डाँका तर्र्फ कुनै तथ्यको मूल्याङ्कन नगरी गरेको निर्णयमा चोरीको १४(४) को त्रुटि गरेको देखिएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको आदेश ।
६६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएका प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकारतर्फबाट खटिई आउनुभएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्तले प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी समक्ष आफूले वारदात गरेको धन सम्पत्तिहरू लुटपीट गरिलिएको कुरामा साविती नै भएको अवस्थामा प्र.हरूले सफाई पाउने ठहर्छ भन्ने गरेको शुरू जि.अ.को फैसलालाई सदर गर्ने गरेको म.पश्चिमान्चल क्षेत्रीय अदालतको फैसलामा चोरीको महलको १४(४) समेत त्रुटि भएकोले प्र.हरूलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भनी र विपक्षी प्रतिवादीहरूबाट बहसमा उपस्थित हुनुभएका विद्वान व.अ. श्री कुसुम श्रेष्ठले अन्यथा प्रमाणित नभएसम्म प्रहरीमा भएको सावितीले कानुनी मान्यता प्राप्त नगर्न र प्रतिवादीहरू पूर्णरूपमा न्यायिक निकाय अदालतमा आई इन्कारी बयान गरेको स्थितिमा शुरूले सफाई दिएकोलाई म.पश्चिमान्चल क्षेत्रीय अदालतले सदर गरेको इन्साफ मनासिव हुँदा सफाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नुभयो । मुख्यतः म.पश्चिमान्चल क्षेत्रीय अदालतले प्रतिवादीहरूलाई सफाई दिएको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपर्ने हुन आयो ।
६७. निर्णयतर्फ विचार गर्दा यसमा जाहेरवालाको जाहेरी दर्खास्तलाई हेर्दा ०३६।१२।३ गतेको राति अन्दाजी १२ बजेको समयमा राति सुतिरहेको समयमा राम बहादुर चौधरी समेतका १०० जना जति मुलगरी हातमा लाठी खुकुरी बञ्चरो बन्दुक समेतका हातहतियार लिई मेरो घरको सामुन्ने आई ढोका झ्याल काटी फोडी भित्र पसे भित्र पस्दा म समेतका परिवारहरू निद्राबाट जागेको हो भनी सोद्धा कुनै किसिमको गुहारमा नै तिमीहरू सबैको ज्यान मारी दिने छौं भन्ने डरत्रास देखाए श्री ५ बडामहाराजाधिराज सरकारको र श्री ५ बडामहारानी सरकारको फोटो समेत फोडी च्याती अनैतिक किसिमको नारा समेत लगाई मेरो नगदी समेत विभिन्न सामान डाँका गरी लगेकोले समान दिलाई प्र.हरूलाई सजायँ समेत गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त परेकोमा सो जाहेरी दर्खास्तको विषयमा राजकाज अपराध भन्ने उल्लेख गरेको पाइन्छ ।
६८. अभियुक्त प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी समक्ष आफूहरू कम्युनिष्ट शासन प्रणाली ल्याउन पुँजिपतिहरू मास्नु पर्दछ भन्ने उद्देश्यले जाहेरवालाको घरमा गई विभिन्न नगदी समेतमा मालसामानहरू लुटेका कुरामा पूर्णरूपमा साविती भएको पाइन्छ । जाहेरीमा उल्लिखित भए बमोजिम राजकाज मुद्दा चलाउनका लागि राप्ती अञ्चलाधीश कार्यालयमा श्री ५ को सरकार तर्फबाट मुद्दा दायर हुँदा मिति ०३७ सालको नववर्षको पुनीत उपलक्ष्यमा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेको सन्देशमा निगाहापूर्वक माफी बक्सेको हुँदा पहिलेको वारदातबाट राजकाज मुद्दा चलाउन नमिल्ने हुँदा फिर्ता पठाइएको छ भन्ने मिसिल संलग्न मेची अञ्चलाधीश कार्यालयको पत्रबाट देखिन्छ । तत्पश्चात उही वारदात र त्यही प्रतिवादीहरू उपर डाँका मुद्दा दायर गरेको प्रहरी प्रतिवेदन अदालतमा पेश भएको पाइन्छ ।
६९. अदालतमा आई बयान गर्दा सम्पूर्ण प्रतिवादीहरू आफू वारदातमा सरिक भएको कुरालाई पूर्णरूपमा इन्कार रहेको पाइन्छ । प्रहरीमा भएको सावितीलाई पूर्णरूपमा इन्कार गर्दै प्रहरीमा कसैले आफूलाई कुटपीट गरेकोले र कसैले डरधाक देखाएकोले र कसैले सुनाउँदै नसुनाएको कागजमा सहिछाप लगाएको हो भनी बयान गरेको पाइन्छ । यसरी आरोपित कसूरमा इन्कार रही आफ्नो अभिकथनको पुष्ट्याइँको लागि प्रतिवादीहरूले राखेको साक्षीहरूले निजहरूको इन्कारी बयानलाई समर्थन गर्दै पुष्ट्याँई हुने गरी बकपत्र गरेको पाइन्छ ।
७०. जाहेरी दर्खास्त हेर्दा कुन–कुन प्रतिवादीहरूले कुन–कुन सामान लगेका छन् सो कुनै कुरा पनि उल्लेख हुन सकेको पाइँदैन । साथै बुझिएको सरजमीनको व्यक्तिहरूले पनि अदालतमा आई बकपत्र गर्दा जाहेरवालाको घरमा डाँका गरेकै हो भन्न नसकी केवल लुटपीट र तोडफोड गरेको सम्म भन्ने बकपत्र गरिदिएको पाइन्छ ।
७१. शुरू प्रहरी प्रतिवेदन माग दावीलाई हेरेमा पनि डाँकामा मुद्दा नचलाई राजकाज अपराधमा मुद्दा चलाएको र राजकाज मुद्दा चल्ने अवस्था नभएपछि सोही वारदातबारे प्र.हरू उपर डाँकाको अभियोग लगाई मुद्दा दायर गरेको देखिन्छ । प्रतिवादीहरूले प्रहरी समक्ष साविती बयान गर्दा पनि डाँका गरेकोमा स्वीकार नगरी राजनैतिक उद्देश्यले लुटपीट सम्म गरेको कुरालाई स्वीकार गरेको देखिन्छ । राजनैतिक उद्देश्यले भएको नाराबाजी तोडफोड र लुटपीट समेतका कृयालाई लिएर राजकाज सजायँ ऐन अन्तर्गत मुद्दा चल्न नसकेपछि डाँका मुद्दा चलाएको देखिएकोमा प्रतिवादीहरूले डाँका गर्ने उद्देश्य लिएर लुटपीट गरेको भन्न सकिने अवस्था विद्यमान नभएको हुँदा र म.पश्चिमान्चल क्षेत्रीय अदालतले फैसला गर्दा लिएको बुँदा प्रमाण समेतको आधारमा शुरू जिल्ला अदालतको अभियुक्तहरूलाई सफाई दिने गरी गरेको फैसलालाई नै सदर गरेको म.पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव नै हुँदा सदर हुने ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन देखिएको हुँदा केही गरिरहनु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्र प्रसाद सिंह
इतिसम्वत् ०४१ साल चैत्र ५ गते रोज २ शुभम् ।