April 23, 1985
Created by nepalarchives

निर्णय नं. २२३१ – उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. २२३१     ने.का.प. २०४२            अङ्क १   डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् ०४१ सालको...

निर्णय नं. २२३१     ने.का.प. २०४२            अङ्क १

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

सम्वत् ०४१ सालको रिट नं.२१५३

विषय : उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ ।

 

निवेदक      :जि.मोरङ्ग कटहरी गा.पं.वार्ड नं. ५ बस्ने रामचन्द्र सिंह चौधरी

विरूद्ध

विपक्षी :भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय मोरङ

जि.मोरङ कटहरी गा.पं.वा.नं.५ बस्ने शीव चरण राजवंशी,

आदेश भएको मिति: २०४२।१।११।३ मा

 

विलम्ब गरी पर्न आएको रिट निवेदनबाट निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन।

(प्रकरण नं.११)

निवेदक तर्फबाटःविद्वान अधिवक्ता श्री जयकान्त लाल दास

विपक्षी तर्फबाटःविद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट

उल्लेखित मुद्दाःX

आदेश

न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय मोरङ्गको मिति ०३९।१२।६ को तामेली आदेश बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    म रामचन्द्र सिंहले बृजलाल राजवंशीबाट निजका नाउँमा दर्ताको जि.मोरङ कटहरी गा.पं. वार्ड नं. ५ (ख) कि.नं. ३७३ मध्ये ३१५ खरिद गरेको हाल कित्ताकाट भई कि.नं. ३९३/३९५/ ३९६ कायम भएको जग्गा म स्वयं जोती आएको छु । उल्लिखित कि.नं. ३७३ जग्गामा प्रतिरक्षी शिवचरण राजवंशी भू.सं. ऐनको दफा २५(१) अन्तर्गतको मोही हुनुहुन्थ्यो साविक जग्गाधनीको स्वामित्व कायम रहेको अवस्थामा नै मिति ०२७।४।८ का दिन जग्गा जोत्न नसक्ने असमर्थता देखाई कटहरी गा.पं. मा निवेदन दिनु भयो र २०२७ सालको बाली देखि जग्गा मोहीको हैसियतले छोड्नु भएको थियो । पछि मैले कि.नं. ३९३/३९५/३९६ का जग्गाहरू खरिद गरी लिएपछि पनि पुनः प्रतिरक्षीले मिति ०३०।११।१४ का दिन गा.पं.का. कटहरीमा मोही जग्गाधनीलाई सपुर्द गराई पाउँ भनी निवेदन दिनुभयो, त्यसपछि मोही लगत कट्टा गरिपाउँ भनी म र प्रतिरक्षी समेतको भू.सु.का. मोरड्डमा संयुक्त रुपमा मिति ०३०।९।१६ मा निवेदन परेकोमा हामीलाई तारेखमा राखिएन र कुनै कारवाही नै नगरी मिति ०३९।१२।६ का दिन निवेदन तामेली राख्ने भन्ने भूमि सुधार कार्यालयबाट टिप्पणी सदर गरी तामेली राख्ने आदेश गरियो ।

३.    त्यसरी तामेली राख्ने आदेश गर्दा निवेदकको सनाखत नभएकोले सनाखत बिना कारवाही गर्न नमिल्ने भनी टिप्पणी उठेकोलाई सदर गरिएको छ । अड्डा अदालतमा स्वयं उपस्थित भई परेको निवेदनमा सनाखत गराउनुपर्ने कानुनी व्यवस्था भएको पाइँदैन । निवेदनमा सनाखत गराउनु पर्ने भए म्याद काटी झिकाई सनाखत गराई निर्णयनिरोपण गर्नुपर्नेमा तामेली राख्ने गरेको त्रुटिपूर्ण छ । मैले यसै लगतको मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने मुद्दामा प्रतिवाद गर्दा यस निवेदन पत्रलाई समेत प्रमाणमा लगाई पाउँ भनी मूल जिकिर लिएको थिएँ, सो समयमा  सनाखत गराइएन सनाखत गराइपाउँ भन्ने निवेदन दिएको पनि लिइएन । प्रतिरक्षी मोहीले ०२७ सालदेखि जग्गा जोत्नछाड्नु भएको कुरा सहमति जनाई कागज गर्नुभएको छ । यस्तोमा मोही लगत कट्टा गर्नुपर्ने विवादमा मोही लगत कट्टा नगरी मोही हकको प्रमाणपत्र प्रदान गरिएको पूर्णतया अ.बं. १८४/१८५/१८९ को त्रुटि भएको छ । सनाखत नगरेमा तामेलीमा राख्ने कुनै ऐन छैन कानुनी व्यवस्थाको अभावमा स्वेच्छिक तवरले तामेलीमा राख्नेगरेको भू.सु.का.को टिप्पणीसदरबाट मेरो मौलिकहक हनन् भएकोले निवेदन गर्न आएकोछु उत्प्रेषण लगायत जोचाहिने आज्ञा,आदेशद्वारा उक्त भू.सु.अ.को तामेलीमा राख्ने आदेशलाई बदर गरी पुनः निर्णय गर्नु भनी परमादेशको आदेश जारी गरिपाउँ भन्नेसमेत रामचन्द्र सिंहको मिति ०४१।१।८ को निवेदन ।

४.    विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालत सिङ्गल बेञ्चको मिति ०४१।२।७ को आदेश ।

५.    विपक्षी निवेदक रामचन्द्र सिंह तथा निजको भाइ रामस्वरूप सिंहका नाउँको संयुक्त दर्ता रहेको मोरङ कटहरी गा.पं. वार्ड नं. ५(ख) कि.नं. ३९३ ज.वि. ११५० कि.नं. ३९५ को जग्गा ०० रामचन्द्र सिंह कोइरी नाम दर्ताको मोरङ कटहरी गा.पं.वार्ड नं. ५(ख) कि.नं. ३९६ को ज.वि. ३१५ कि.नं. ४०५ को ०१५१० जग्गा समेत म शिवचरण राजवंशी हक प्राप्त मोही हुँ । साविक जग्गा धनीको पालादेखि जग्गा कमाउन छाडेको छैन यदि जग्गा जोत्न छाडेको भए रीतपूर्वक सम्बन्धित निकायबाट लगत कट्टा गराउन सक्नु पथ्र्यो । सबै कुरा जाँचबुझ गरी भू.सु.का. मोरङबाट ०४०।१२।१ मा मोहियानीको प्रमाणपत्र पाएको हुँ । अतः म मोहीको हक संरक्षण गरी भूमि सुधार कार्यालयकै निर्णयलाई सदर राखी पाउँ भन्ने समेत शिवचरण राजवंशीको मिति ०४१।४।३० को लिखित जवाफ ।

६.    रिट निवेदनको दावी अनुसार प्रतिवादीले जग्गा जोत्न छाडी सकेको भनी निवेदन दिएको र सो निवेदनका आधारमा जग्गा छाडीसकेको भन्ने दावी लिनु भएको छ तर मोही सम्बन्धी यावत लगत श्रेस्ताहरूमा कायमै रहेको देखिन आएको छ । जग्गाधनीतर्फबाट समेत निर्देशित भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ को उपदफा (१)(ग) बमोजिम प्रकृया पूरा भए गरेको रेकर्डबाट नदेखिँदा मोही हकसमाप्त भएको भन्न नमिल्ने र प्रकाशित २ नं. अनुसूची समेत भएको हुँदा ३ नं. स्थायी प्रमाण पत्र दिइएको हो भन्ने समेत भूमि सुधार कार्यालय मोरङको मिति ०४१।५।५ को लिखित जवाफ ।

७.    रिट निवेदक तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री जयकान्तलाल दासले जग्गाधनी रिट निवेदक र मोहीको भूमि सुधार कार्यालयमा मोही लगत कट्टा गरिपाउँ भन्ने निवेदन परेपछि कुनै कारवाही नगरी सनाखत नभएकाले कारवाही गर्न नमिल्ने भनी निवेदन तामेलीमा राख्ने गरेको भू.सु. का. मोरङको ०३९।१२।६ को आदेश कानुनी त्रुटिपूर्णहुँदा उत्प्रेषणको आदेशद्वारा बदरगरी पुनः कानुन बमोजिम निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी हुनुपर्छ भन्ने र प्रत्यर्थीतर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान स.अधिवक्ता श्री प्रेम बहादुर विष्टले भूमि सुधार कार्यालयबाट तामेलीमा राख्ने गरेको आदेश कानुन अनुरूप नै छ तामेलीमा राख्ने गरेको मिति ०३९।१२।६ को आदेश उपर रिट निवेदकले ०४१।१।८ मा मात्र १ वर्षभन्दा बढी अनुचित विलम्ब गरी रिट निवेदन गर्न नआउनुभएको विलम्ब हुनाको उचित कारण समेत देखाउन सक्नु भएको छैन अतः विलम्बको सिद्धान्तको आधारमा   प्रस्तुत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

८.    प्रस्तुत विषयमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने वा नपर्ने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

९.    यसमा जि.मोरङ्ग कटहरी गा.पं. वार्ड नं. ५ख अन्तर्गतका साविक जग्गाधनी बृजलाल राजवंशीसँग मैले खरिद गरिलिएको कि.नं. ३९३।३९५।३९६ को जग्गाहरूमा प्रतिरक्षी शिवचरण राजवंशी मोही हुँदा निजले जग्गा जोत्न छाड्नु भएकोले निज प्रतिरक्षी मोही र म रिट निवेदक भई उल्लिखित कित्ताबाट मोही लगत कट्टा गरिपाउँ भनी भू.सु.का. मोरङ्गमा ०३०।९।१६ मा संयुक्त निवेदन गरेकोमा कुनै कारवाही नगरी भू.सु.का. मोरङले तामेली राखी दिएकोले उक्त तामेली राख्ने गरेको निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर देखिन्छ ।

१०.    प्रत्यर्थी भू.सु.का. मोरङबाट मोही लगत कट्टा गरिपाउँ भनी मिति ०३०।९।१६ मा दिएको निवेदन सम्बन्धमा सनाखत नभएको र कानुनी रीतपूर्वकको छोडपत्र निवेदन नदेखिँदा तामेलीमा राखी दिने भनी मिति ०३९।१२।६ मा टिप्पणी आदेश गरी निर्णय गरेको पाइन्छ ।

११.    सो भू.सु.का. मोरङबाट निवेदन तामेलीमा राखेको मिति ०३९।१२।६ को आदेश बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन ०४१।१।८ मा पर्न आएको देखिन्छ । त्यसरी भू.सु.का. मा आफूले निवेदन दिएपछि सो निवेदन सम्बन्धमा के कारवाही निर्णय भयो सो कुराको जानकारी स्वयं रिट निवेदकले राख्नुपर्ने हुन्छ । आफूसमेत भई ०३०।९।१६ मा भू.सु.का.मोरङमा दिएको निवेदन तामेलीमा राख्ने भनी ०३९।१२ ।६ मा गरेको भू.सु.का. मोरङको निर्णय उपर सो भएको मितिले करीव १ वर्ष भन्दा बढी समय व्यतित गरी पर्न आएको रिट निवेदनबाट निवेदकको माग अनुसारको आदेश जारी गरी गर्न मिलेन विलम्बको आधारमा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.पृथ्वी बहादुर सिंह

 

इतिसम्वत् २०४२ साल बैशाख ११ गते रोज ३ शुभम् ।