April 21, 1985
Created by nepalarchives

निर्णय नं. २२२९ – अंश

निर्णय नं. २२२९     ने.का.प. २०४२      अङ्क १   डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको...

निर्णय नं. २२२९     ने.का.प. २०४२      अङ्क १

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव

सम्वत् २०४१ सालको दे.पु.नं. ६९८

मुद्दा : अंश

 

पुनरावेदक/प्रतिवादी: बाँके कञ्चनपुर गा.पं. वार्ड नं. ८ बस्ने खड्ग बहादुर बली क्षेत्री समेत

ऐ.ऐ बस्ने जङ्ग बहादुर वली क्षेत्री

विरूद्ध

विपक्षी/वादी: ऐ.ऐ. बस्ने कुल बहादुर बली क्षेत्री

आदेश भएको मिति: २०४२।१।९।१ मा

वादी प्रतिवादीहरू बीच अंश भइसकेको भन्ने देखिन आएको हुनाले समेत प्रतिवादीहरूबाट अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ।

(प्रकरण नं. १४)

पुनरावेदकतर्फबाट: विद्वान व.अ. श्री मुकुन्द रेग्मी

विपक्षी तर्फबाट      : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारी प्रसाद सिंह

उल्लेखित मुद्दाःX

 

फैसला

न्या.धनेन्द्र बहादुर सिंहः मध्य  पश्चिमान्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चका आदेशानुसार र पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    मूल पुर्खा जयरामको ६ छोरा स्व.कालु १, साविर १, डिल्लीराम १, पदम १, म वादी कूलबहादुर १, टेक बहादुर १ समेत ६ भाइ हो । कालु, साविर, पदम, टेक बहादुर अघि नै बाबुको पालामा छुट्टी भिन्न भएको डिल्लीराम र म वादी सगोलमा बसी आएको हाम्रो अंशबण्डा भएको छैन । सगोलमा सम्पूर्ण सम्पत्ति डिल्लीरामको छोरा प्र.खड्ग बहादुर र जङ्गबहादुरको नाउँमा दर्ता छ । दुवै प्र.हरू मिली सगोल सम्पत्ति बिक्री गर्न आँटेकोले अंश छुट्याई दिनुस् भन्दा नदिई केही जग्गा बिक्री गरेकोले २ भागको १ भाग अंश दिलाई चलन चलाई पाउँ भन्ने समेत कूलबहादुरको फिराद ।

३.    वादी झुठ्ठा हो । बाजेकै पालादेखि यी वादी समेत ६ भाइहरू हामी प्र.का बाबु डिल्लीराम समेतले अंश लिई छुट्टिई भिन्न बसेको हुन् अंश दिनुपर्ने होइन । हामी प्र.हरूले बाबु डिल्लीरामसँग अंश लिई छुट्टी भिन्न भएका छौं । बाबुको अंश भाग सत्यान कुलाकांडाकोट गा.पं. वार्ड नं. ८ पोखराको घर जग्गा कान्छी आमा र भाइ खुमराजले खाई सोही ठाउँमा बसेका छन् भन्ने समेत खड्ग बहादुर बली समेतको प्रतिउत्तर ।

४.    डिल्लीराम र म सगोलमा बसी आएको केही जग्गा बिक्री गरी पहाड घरबाट कञ्चनपुरमा आई सगोल बाट जग्गा खरिद गरी आधी आधी जग्गा भोगचलन गरिआएका छौं भन्ने कुल बहादुर वलीको कागज ।

५.    बाबु डिल्लीराम जीवित छँदै वादी कुल बहादुरको बाबु जयरामकै पालामा छुट्टी भिन्न भएको म नाबालक छँदा बाबु बाजेले कुन शर्तमा अंशबण्डा गरे मलाई थाहा छैन, लिखत खडा गरी अंशबण्डा गरेको छैन, अंशबण्डाको कुनै प्रमाण छैन, ०३० सालमा विनौनामा आई अलगअलग जग्गा खरिद गरेका हौं वादीले आफ्नो जग्गा रजिष्ट्रेशन पास गराउन नसकी कपालीमा दावा गरेका छन्, अंश दिनुपर्ने होइन भन्ने समेत खड्ग बहादुर वलीको कागज ।

६.    कुल बहादुरले मबाट ०३४ सालमा जग्गा खरिद गरी घरसारमा भएको राजीनामा पास गराउन नसकी कपाली भएको प्र.खड्ग बहादुरले मबाट ०३४ सालमा छुट्टै जग्गा खरिद गरी राजीनामा पारित गराई लिएको जग्गा प्र.को भोगचलनमा छ वादी प्रतिवादी सगोलमा नभई भिन्न भिन्न बसेका छन् भन्ने समेत गोविन्द थारूको बयान ।

७.    वादी प्रतिवादीले आआफ्नो व्यवहार आआफूले अलगअलग गरिआएको देखिएको सबूत प्रमाणको अभावमा वादीले अंश पाउनु पर्छ भन्न सकिने स्थिति नहुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत बाँके जिल्ला अदालतको २०३९।५।१६ को फैसला ।

८.    शुरूको फैसला बदर गरी दावी बमोजिम हक इन्साफ गरिपाउँ भन्ने वादी कुल बहादुरको पुनरावेदन ।

९.    अंशबण्डा भइसकेको प्रमाण प्रतिवादीले गुजार्न सकेको देखिँदैन । यस्तोमा वादी दावी पुग्न सक्दैन भन्ने शुरूको फैसला मिलेको नदेखिँदा विपक्षीलाई झिकाई पेश गर्नु भन्ने समेत ०३९।१०।११ को आदेश मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको ।

१०.    वादी अंशियार हुन भन्ने कुरा प्रतिवादीले स्वीकार गरेको देखिन्छ । अंशबण्डा भइसकेको लिखत प्रमाण पेश हुन सकेको मिसिलबाट देखिँदैन । सबूत प्रमाण बिना वादीले अंश पाइसकेको भन्न नमिल्ने हुँदा वादीले अंश नपाउने ठहराएको जिल्ला अदालतलको इन्साफ गल्ती भई बदर हुने ठहर्छ । दुवैबाट फाँटवारी लिई दुई खण्डको एक खण्ड वादीलाई पर्ने गरी कानुन बमोजिम बण्डा गर्नु भनी मिसिल बाँके जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको २०३९।१२।१८ को फैसला ।

११.    सो फैसलामा कानुनीत्रुटि हुँदा पुनरावेदनको अनुमतिपाउँ भन्ने निवेदनमा अंशबण्डाको ३० नं. र अ.बं. १३९ नं.को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएकोछ भन्नेसमेत सर्वोच्च अदालतडि.बे.को ०४०।१२।२२ को आदेश ।

१२.   पुनरावेदकतर्फबाट रहनुभएका विद्वान व.अ. श्री मुकुन्द रेग्मीले वादी र प्रतिवादीका बाबुहरू निजहरूको बाबुकै पालामा अंश लिई छुट्टी बसेको जग्गाहरू छुट्टाछुट्टै दर्ता भोग छ । प्रतिवादीले अंश दिनुपर्ने होइन । अंशको फाँट नलिई अंश दिलाउने गरेको पनि त्रुटि छ । अतः वादी दावी झुठ्ठा ठहराएको शुरूको इन्साफ सदर हुनुपर्छ भन्ने समेत र विपक्षी वादी तर्फवाट रहनुभएका विद्वान व.अ. श्री कुञ्जविहारीप्रसाद सिंहले अंश भएको सबूत प्रमाण कुनै दिन सकेको छैन । सबूत प्रमाणको अभावमा अंश दिलाउने गरेको क्षेत्रीय अदालतको इन्साफ सदर हुनु पर्छ भन्ने समेत बहस गर्नुभयो ।

१३.   प्रस्तुत मुद्दामा मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१४.   यसमा निर्णयतर्फ हेर्दा अरू सबै अंशियारहरू बाबुकै पालामा छुट्टी भिन्न भएको कुरा वादी स्वयंले स्वीकार गरेको पाइन्छ । वादी र प्रतिवादीहरूका सगोलमा रहनु पर्ने कारण वादीले स्पष्ट रूपमा खुलाउन सकेको छैन । प्रतिवादीहरूले पेश गरेको नापी विभाग मेन्टेनेन्स नापी शाखा सल्यान पञ्चायत गाडाकोट वार्ड नं. ८ को क्षेत्रीय किताब उतारबाट कि.नं. ७१०/७११/७१२/७१३/ १०५२/१०५३/१०६६/११२४/११२५/११५०/११५१/१२०४/१२०९/१२११/१२१३ र १२९३ को जग्गाहरू मध्ये वादी प्रतिवादीहरू समेत विभिन्न व्यक्तिहरूका नाउँमा अलगअलग नापी दर्ता भई भोगचलन गरे भएको देखिन्छ । सो कुरा होइन भनी वादी तर्फबाट कुनै खण्डन गर्न सकेको छैन त्यसरी वादी प्रतिवादीहरूका नाउँमा जग्गा अलगअलग दर्ता गरी भोगचलन गरेको समेत प्रमाणबाट वादी प्रतिवादीहरू अंशबण्डा नभई सगोलमा रहे भएको भन्ने देखिँदैन । यस्तो स्थितिमा दर्ता भोगको प्रमाणबाट अंशबण्डाको ३० नं. अनुसार वादी प्रतिवादीहरू बीच अंश भइसकेको भन्ने देखिन आएको हुनाले समेत प्रतिवादीहरूबाट अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको बाँके जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । जिल्ला अदालतको इन्साफ बदर गरी अंश पाउने ठहर्‍याएको मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरू तपसील बमोजिम गर्नु ।

तपसील

देहायका पुनरावेदकहरूले यस अदालतमा पुनरावेदन  गर्दा राखेको कोर्टफी रु. २६।५० (छब्बीस रुपैयाँ पचास पैसा) वादीबाट भराई पाउँ भनी प्रतिवादीहरूको ऐनको म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई बराबरका दरले भराई दिनु भनी बाँके जि.अ.मा लेखी पठाउन काठमाडौ जि.अ.मा लगत दिनु…१ खड्ग बहादुर खत्री १, जङ्गबहादुर बली क्षेत्री १, मध्यपश्चिमाञ्चलक्षे.अ.का ०३९।१२।१८ का फैसलाले वादी प्रतिवादीहरू दुवैबाट फाँटवारी लिई दुई खण्डको एक खण्ड अंश वादीलाई बण्डा गर्ने । वादीबाट कोर्टफी लिने र वादीलाई प्रतिवादीबाट कोर्टफी भराउने गरेकोमा सो बमोजिम लगत कसेको नदेखिएको यस अदतलतबाट वादीले झुठ्ठै उजूर गरेको ठहरी फैसला भएकोले सो मध्यपश्चिमाञ्चलक्षे.अ.का फैसला बमोजिम गर्नु पर्दैन भनी मिसिल नियम बमोजिम बाँके जि.अ.मा बुझाई दिनु..२ बाँके जि.अ.का जि.न्या.श्री नारायणप्रसाद क्षेत्रीको उल्टीमा मध्यपश्चिमाञ्चलक्षे.अ.को मिति ०३९।१२।१८ का फैसलाले रेकर्ड राख्ने गरेको सो रेकर्ड राख्न पर्दैन भनी म.पश्चिमाञ्चलक्षे.अ. (प्रशासन शाखा) मा लेखी पठाई दिनु….३ इन्साफ उल्टीमा मध्यपश्चिमाञ्चलक्षे.अ.का तत्कालीन माननीय मुख्य न्यायाधीश श्री षडानन्दप्रसाद उपाध्याय र माननीय न्यायाधीश श्री केशवप्रसाद मुडभरीको रेकर्ड राख्न सर्वोच्च अदालत (प्रशासन शाखा) मा लेखी पठाई दिनु….४ मिसिल नियम बमोजिम गरी बुझाई दिनु…………………..५

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४२ साल बैशाख ९ गते रोज १ शुभम् ।