April 18, 1985
Created by nepalarchives

निर्णय नं. २२२८ – निखनाई पाउँ

निर्णय नं. २२२८     ने.का.प. २०४२      अङ्क १   डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको दे.पु.नं....

निर्णय नं. २२२८     ने.का.प. २०४२      अङ्क १

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४० सालको दे.पु.नं. ६४०

मुद्दा : निखनाई पाउँ

 

पुनरावेदक/प्रतिवादी:पर्सा जिल्ला वीरगन्ज न.पं.वडा नं. ५ वीरगंज विर्तावजार बस्ने राम बहादुर प्रधान

विरूद्ध

विपक्षी/वादी: पर्सा जिल्ला वगही गा.पं. वडा नं. २ बस्ने केदार सातेली

फैसला भएको मिति: २०४२।१।६।५ मा

 

     ०३०।४।११ मा थाहा पाएको भन्दै ०३०।५।१२ मा थैली धरौट राखेकोलाई हदम्याद नाघी धरौट राखेको भन्न मिल्दैन ।

(प्रकरण नं. १५)

पुनरावेदक प्रतिवादीः विद्वान अधिवक्ता श्री चूडामणी राज सिंह मल्ल

विपक्षी वादी तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त

फैसला

न्या.धनेन्द्र बहादुर सिंहःमध्यमान्चल क्षेत्रीय अदालतको निर्णयमा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०४०।१२।१ मा आदेश भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    दाजु रामकान्त सातेलीले जि.पर्सा गा.पं.वगही वडा नं. १ कि.नं. १४७ को ज.वि. ४० रु. ५६२५। मा विपक्षीको श्रीमती कमलादेवीलाई सुक्री बिक्री लिखत भू.प्र.का. बाट ०२९।१०।१३ गते रजिष्ट्रेशन पास भएको व्यहोरा ०३०।४।११ गते थाहा पाएकोले ऐ. भाद्र १२ गते भू.प्र.का.मा निखन्न धरौट राखेको भू.प्र.का.बाट प्रमाण बुझी इन्साफ गर्नुपर्ने भएकोले अदालतमा नालेश गर्न जानु भनी ०३२।९।२९ मा निर्णय गरे उपर जि.का.मा पुनरावेदन र जि.अ.मा नालेश परेकोमा जि.का.मा पुनरावेदन परेको  देखिएकोले नालेश खारेज गर्ने भनी फैसला भएको सदर गरी ०३३।९।१२ मा ना.अं.अ. बाट फैसला भएको र जि.का.बाट निखन्न नपाउने गरी ०३४।१०।९ गते फैसला भएको मध्यमान्चल क्षेत्रीय अदालतबाट सो निर्णय बदर गरी भू.प्र.का. को निर्णय सदर गरी ०३५।९।४ मा अन्तिम फैसला भएको मितिले ३५ दिनभित्र नालेश गर्न आएको छु कमलादेवी स्वर्गवास भएकोले लिखत बमोजिमको जग्गा निखनाई पाउँ भन्ने समेत केदार सातेलीको फिराद ।

३.    थैली बुझाउन ल्याएको थिएन । बुझी लिनु पर्ने पनि होइन । जग्गा बिक्री गर्दा बाबु जगन्नाथ शाह रोहवरमा थिए । भिन्न भएको कुराको लिखत सबूत पेश गर्न सकेको छैन । सगोल सरह रहेनेलाई ३५ दिनभित्र उजूर गर्नुपर्ने लेनदेन व्यवहारको ११ नं. ले प्रष्ट छ । वादी लेखाइबाट ६ महिना नाघेको ३५ दिनमा म्याद नघाई थैली धरौट राखेको छ । फिराद दावाको विषयमा १ पटक मुद्दा दायर गरीसकेपछि उही मुद्दामा अर्को दोहरो दावा गर्न नपाउने बन्देज अ.बं. ८५ नं. ले गरेको छ । सक्षम अदालतमा मुद्दा दायर गरी सो अदालतबाट खारेज गरिएको भन्ने देखिएपछि यो दोस्रो नालेश भन्ने प्रष्ट हुनआएको छ । मध्यमान्चल क्षेत्रीय अदालतबाट निर्णय दिइँदा नालेश दिन जानुभनी सुनाएकोछैन । अदालत बाट भ्रम पार्ने व्यहोराबाट फेरि यो दावा म्याद नाघी परेको हुनाले खारेज गरिपाउँ भन्ने समेत राम बहादुर प्रधानको प्रतिउत्तरपत्र ।

४.    ०२९।१०।१३ गते रजिष्ट्रेशन पारित भएको कि.नं. १४७ को ज.वि. ४० वादी दावी अनुसार निखनाई पाउने ठहर्छ भन्ने समेत पर्सा जिल्ला अदालतको फैसला ।

५.    संविधान ऐन कानुन विपरीत कुनै कुराको विचार नभई शुरूबाट भएको इन्साफमा चित्त बुझेन इन्साफ उल्टाई पाउँ भन्ने समेत प्रतिवादी राम बहादुरको पुनरावेदन ।

६.    शुरू दर्खास्त दिँदा लागू रहेको लेनदेन व्यवहारको ११ नं. बमोजिम वादी दावीको जग्गा निखनाई लिन पाउने गरी शुरू जिल्ला अदालतले गरेको फैसला मिलेकोले पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने ०३८।३।२२ को नारायणी अञ्चल अदालतको फैसला ।

७.    सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई प्रतिवादीको पुनरावेदन परेको रहेछ ।

८.    वादीले निखन्न पाउने ठहराएको शुरू जिल्ला अदालतको इन्साफ सदर गरेको नारायणी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको ०३९।३।३१ को फैसला ।

९.    सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा अ.बं. ८५ नं. को त्रुटि भएको भन्ने आधारमा पुनरावेदनको अनुमति दिने भन्ने सर्वोच्च अदालत डि.बेञ्चको ०४०।१२।१ को आदेश ।

१०.    पुनरावेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्लले हक बेहकमा नालेश दिन जानु भनी सुनाएपछि त्यस उपर पुनरावेदन र अदालतमा फिराद परेको सो फिराद खारेज भयो । त्यसमा पुनरावेदन पर्दा सोही सदर भई नारायणी अं.अ.  बाट अन्तिम रहृयो । हक बेहकमा सुनाए उपरको पुनरावेदनमा आखिर मध्यमान्चल क्षेत्रीय अदालतबाट हक बेहकमा सुनाएको निर्णय सदर भएको उपर प्रतिवादीको प्रस्तुत मुद्दाको फिराद परेको अ.बं. ८५ नं.को प्रतिकूल हुँदा खारेज हुनुपर्छ वादी ६ महिना नाघेपछि थाहा पाएको कुरा निजको साक्षीको बकाईबाट देखिँदा हदम्याद नाघी धरौट रहेको हुँदा निखन्न दिनुपर्ने होइन भन्ने समेत विपक्ष वादी तर्फवाट रहनुभएका विद्वान व.अ. श्री कृष्ण प्रसाद पन्तले वादीको फिराद दोहरा परेको होइन । हक बेहकमा जानु भनी सुनाएको मुद्दाको पुनरावेदन किनारा लागेपछि ठहरे बमोजिम हुने नै हुँदा सो पुनरावेदन किनारा नहुँदै अदालतमा हक बेहकमा नालेश गर्न नमिल्ने भनी फिराद खारेज भएको छ । हक बेहकमा सुनाए उपर परेको पुनरावेदन अन्तिम निर्णय भएपछि परेको फिरादलाई दोहरो फिराद भन्न मिल्दैन । म्याद नाघेपछि धरौट राखेको भन्ने तर्फ कुनै सबूत प्रमाण प्रतिवादीले दिन सकेको छैन । निखन्न पाउने निर्णय गरेको सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

१३.   प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१२.   यसमा निर्णयतर्फ हेर्दा अ.बं. ८५ नं.को त्रुटि देखिएको भन्दै पुनरावेदनको अनुमति दिने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०४०।१२।१ मा आदेश भएको देखिन्छ ।

१३.   अ.बं.८५ नं.मा अड्डामा मुद्दा परी फैसला भएपछि सो फैसलाउपर पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाका नाउँका फिरादपत्र लिई सुन्नहुँदैन लिएको भए पनि खारेज गरिदिनु पर्छ भन्ने लेखिएकोछ ।

१४.   प्रस्तुत मुद्दामा निखनाई पाउँ भनी धरौट राखेकोमा प्रमाण बुझी इन्साफ गर्नुपर्ने देखिएकोले नालेश गर्न जानु भनी ०३२।९।२९ मा भू.प.का.बाट निर्णय भएपछि त्यस उपर जिल्ला कार्यालयमा पुनरावेदन र जि.अ.मा निखनाई पाउँ भनी फिराद परेको देखिन्छ । जि.अ.मा परेको फिरादको सम्बन्धमा जिल्ला कार्यालयमा परेको पुनरावेदनको किनारा लागेपछि कानुनले ठहरेबमोजिम हुने नै हुँदा सो पुनरावेदन किनारा नहुँदै अदालतमा हकबेहकमा नालेश गर्न नमिल्ने भन्दै फिराद खारेज गर्ने गरी ना.अं.अ.बाट ०३३।९।२२ मा फैसला भएको प्रमाण मिसिलबाट देखिन्छ । यसबाट तथ्यमा प्रवेश गरी सबूत प्रमाण हेरी हक बेहकको निर्णय गरेको देखिँदैन । जि.का.मा परेको पुनरावेदनको मुद्दामा अन्तिम जे निर्णय हुन्छ सोहीबमोजिम गर्नुपर्ने अवस्था देखाई फिरादपत्र खारेजगरेको पाइन्छ । जिल्लाकार्यालयमा भू.प्र.का.उपर परेको पुनरावेदन तहको मुद्दामा हक बेहकमा अदालतमा नालेश गर्न जानु भनी सुनाएको भू.प्र.का.को निर्णय सदर भई मध्यमान्चल क्षेत्रीय अदालतबाट ०३५।९।४ मा अन्तिम फैसला भएको   देखिन्छ । सो अन्तिम फैसला बमोजिम निखनाई पाउँ भनी प्रस्तुत मुद्दाको फिराद ०३५।१०।३ मा दायर भएको पाइन्छ । त्यसरी कानुन अनुसार दायर भएको फिरादपत्रलाई दोहोरो फिरादको संज्ञा दिन र अ.बं. ८५ नं. ले दायर रहन नसक्ने भन्न मिल्ने देखिँदैन ।

१५.   वादीले निखनाई पाउँ भनी राखेको धरौट म्याद नाघेको भन्ने तर्फ हेर्दा ०२९।१०।१३ मा सुक्री बिक्री गरेको कुरा ०३०।४।११ मा थाहा पाएको भन्दै ०३०।५।१२ मा थैली धरौट राखेको देखिन्छ । रमाकान्तले जग्गा बिक्री गरेको कुरा वादीले मौकैमा थाहा पाएको भन्ने पुनरावेदन जिकिर  पाइन्छ । तर वादी र प्रतिवादीका दाता रमाकान्त २०२० सालमा अंशवण्डा भई भिन्न रहेको भन्ने देखिन्छ । यसबाट मुख्यले थाहा पाएको मितिमा वादीलाई थाहा भएको भन्न मिल्ने देखिँदैन । पुनरावेदक प्रतिवादीका जिकिर अनुसार अघि नै थाहा पाएको भन्ने कुराको तथ्ययुक्त सबूत प्रमाण प्रतिवादीले पुर्‍याउन सकेको छैन । तसर्थ वादीले ०३०।४।११ मा थाहा पाएको भन्दै ०३०।५।१२ मा थैली धरौट राखेकोलाई हदम्याद नाघी धरौट राखेको भन्न मिल्दैन । तसर्थ वादीले निखन्न पाउने ठहराएको पर्सा जिल्ला अदालत र ना.अं.अ.को इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

 

इतिसम्वत् २०४२ साल बैशाख ६ गते रोज ५ शुभम् ।