निर्णय नं. २२२६ – भ्रष्टाचार
निर्णय नं. २२२६ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा सम्वत् २०४० सालको...
निर्णय नं. २२२६ ने.का.प. २०४२ अङ्क १
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
सम्वत् २०४० सालको डि.फौ.पु.नं. ४५४
मुद्दा : भ्रष्टाचार
पुनरावेदक/प्रतिवादी:जि.मोरङ विराटनगर न.पं. वार्ड नं. १६ मानवाली बस्ने धनकुटा नगर योजना कार्यान्वयन कार्यालय धनकुटाको इन्जीनियर हरिहर कोइराला
विरूद्ध
विपक्षी/वादी: श्री ५ को सरकार
फैसला भएको मिति: २०४२।१।४।३ मा
गैरकानुनी तरिकाबाट पुनरावेदकलाई नि.से.नि. २०२१ को नियम १०.६(५) को आरोपमा नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको निर्णय पर्चा प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १४)
पुनरावेदकतर्फबाट: विद्वान व.अ.हरु श्री शम्भु प्रसाद ज्ञवाली र श्री कुञ्जबिहारीप्रसाद सिंह तथा विद्वान अ.श्री यादव प्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट
उल्लेखित मुद्दाःX
फैसला
न्या.धनेन्द्र बहादुर सिंहः भ्र.नि.ऐन, २०१७ को दफा २१ को उपदफा (२) बमोजिम कानुनी तथ्यमा श्री ५ को सरकारको मिति ०४०।८।२ को निर्णय उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत आवास भवन तथा भौतिक परियोजना विभागका इन्जिनियर हरिहर कोइरालाले धनकुटामा निर्मित मालपोत कार्यालय भवन, सामुदायिक भवन निर्माण गर्दा ठेकेदारसँग मिली लगत इष्टीमेट बमोजिम सामान प्रयोग नगरी कच्ची भवन बनाई श्री ५ को सरकारलाई गैरकानुनी हानी आफू समेतलाई फाइदा लिई भ्रष्टाचारपूर्ण कार्य गरी भ्रष्टाचार गरेमा भ्रष्टाचार निवारण ऐन, ०१७ को परिच्छेद २ को कसूर गरेकाले निजामती सेवा नियमावली, २०२१ अनुसार आरोप समेत प्रस्तुत गरी पुनरावेदनसँग स्पष्टीकरण लिई दिएको स्पष्टीकरण सन्तोष नभएकोले नि.से.नि. १०.१(६) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि सामान्यतया अयोग्य ठहरिने गरी नोकरीबाट हटाउने भनी वि.प्र.विभागबाट राय ठहर साथ श्री ५ को सरकारमा पेश भएको रहेछ ।
३. विशेष प्रहरी विभागबाट माग भए बमोजिम सजायँ गर्न निजले लिनु खानु गरेकोमा सावित नभएकोमा र लिनु खानु गरेको प्रत्यक्ष नदेखिई अप्रत्यक्ष रूपबाट निज हरिहर कोइराला आरोपित कसूरमा संलग्न भएको पाउँदा विशेष प्रहरी विभागको राय बमोजिम गर्न न्यायोचित नहुने हुँदा इ. हरिहर कोइराला उपर उल्लिखित कसूरमा नि.से.नि. २०२१ को १०.६(७) १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउन लोकसेवा आयोगसँग परामर्श लिन निर्माण तथा यातायात मन्त्रालयमा पठाएकोमा निर्माण तथा यातायात मन्त्रालयबाट मिति ०४०।२।१८ मा लोकसेवा आयोगमा परामर्शको लागि माग भई गएकोमा इन्जिनियर हरिहर कोइरालाले आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेकोले नि.से.नि. परिच्छेद १० को १०.६(५) अनुरूपको अभियोगमा माग बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने भन्ने मिति ०४०।३।९ को परामर्श पत्र प्राप्त भएकोले उपरोक्त आधारमा आवास भवन तथा भौतिक परियोजना विभाग अन्तर्गत धनकुटा नगर विकास योजनामा कार्यरत भई आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगर्ने इन्जिनियर श्री हरिहर कोइरालालाई नि.से.नि. १०२१ को १०.६(५) अनुसारको अभियोगमा नि.से.नि. १०.१(५) बमोजिम निर्णय भएका मिति देखि लागू हुने गरी भविष्यमा सरकारी नोकरीमा अयोग्य नठहरिने गरी हटाइएको भन्ने श्री ५ को सरकारको मिति ०४०।८।२ को निर्णय रहेछ ।
४. श्री ५ को सरकारको मिति २०४०।८।२ को निर्णयानुसार तपाईलाई आवास भवन तथा भौतिक परियोजना विभागको राजपत्रांकित तृतीय श्रेणी प्राविधिक इन्जिनियर पदबाट नि.से.नि. २०२१ को परिच्छेद १० को नियम ६(५) अनुसार आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेकोले सोही परिच्छेदको नियम १(५) बमोजिम मिति ०४०।८।२ देखि लागू हुने गरी भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको छ भन्ने ई. श्री हरिहर कोइरालालाई लेखेको श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालयको मिति ०४०।८।१८ को पत्र रहेछ ।
५. विशेष प्रहरी विभागले भ्रष्टाचार गरेको भन्ने आरोप लगाई सरकारी नोकरीको निमित्त भविष्यमा अयोग्य ठहरिने गरी किन बर्खास्त नगर्ने भनी मसँग स्पष्टीकरण मागेकोमा मैले व्यहोरा खुलाई स्पष्टीकरण दिएकोमा दिएको स्पष्टीकरण सन्तोषजनक नभएको विभागीय सजायँको लागि विशेष प्रहरी विभागले श्री ५ को सरकारमा जाहेर गरेको प्रस्तुत विवाद हो । मलाई भ्रष्टाचारको आरोपमा नोकरीबाट बर्खास्त गर्ने भनी विशेष प्रहरीबाट पेश भएको राय बमोजिम कसूर भए गरेको नठहराई आफ्नो पदको जिम्मेवारी अनुसारको आचरण नगर्ने भन्ने भिन्दै आरोप लगाई भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी मलाई नोकरीबाट हटाउने गरेको पर्चा मिलेको छैन । पर्चामा मैले कुन–कुन कुरामा पदको जिम्मेवारी अनुसार आचरण नगरेको भन्ने सम्बन्धमा मसँग स्पष्टीकरणको माग समेत नगरिएको हुँदा नोकरीबाट पदको जिम्मेवारी अनुसार आचरण नगरेको भनी हटाएको श्री ५ को सरकारको पर्चा प्राकृतिक न्यायको सिद्धान्त विपरीत र निजामती सेवा नियमावली, ०२१ को नियम १०.१(५) र ऐ. नियम १०.६(५), १०.६(७) को प्रतिकूल हुँदा उक्त पर्चा बदर गरी मैले कुनै कसूर नगरको हुँदा मलाई दिएको विभागीय सजायँबाट सफाई पाई साविक पदमा काम गर्न पाउने गरी निर्णय गरिपाउँ भन्ने समेत प्र.इ. हरिहर कोइरालाको यस अदालतमा पुनरावेदन ।
६. एक आरोपमा स्पष्टीकरण पुनरावेदक प्रतिवादी हरिहर कोइरालाबाट लिई आरोप नभएको पदको जिम्मेवारी अनुसार आचरण नगरेको भनी नि.से.नि. १०.६(५) लगाई पर्चा खडा गरी नोकरीबाट हटाएको मिलेको नदेखिँदा छलफलमा उपस्थित हुन आउनु भनी महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने यस अदालत डिभिजन बेञ्चको मिति ०४१।८।१५ को आदेश ।
७. पुनरावेदक प्रतिवादी तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान व.अ.श्री शुम्भुप्रसाद ज्ञवाली विद्वान व.अ. श्री कुञ्जबिहारीप्रसाद सिंह र विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल समेतले पुनरावेदकलाई विशेष प्रहरी विभागले भ्र.नि. ऐन, ०१७ को परिच्छेद २ अन्तर्गतको कसूर गरेको भनी नि.से.नि. १०.६(७) को आरोपमा नि.से.नि. १०.१(६) बमोजिम सरकारी नोकरीको निमित्त भविष्यमा अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त किन नगर्ने भनी स्पष्टीकरण माग गरी स्पष्टीकरण दिएपछि सन्तोषजनक नभएको भन्दै नि.से.नि. १०.१(६) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि सामान्यतया अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने विभागीय सजायँको लागि श्री ५ को सरकारमा राय ठहर साथ सजायँ प्रस्तावित गरी पठाएकोमा प्रस्तावित सजायँ नगरी स्पष्टीकरण लिएको भन्दा भिन्दै आरोप “पदको जिम्मेवारी अनुसार आचरण नगरेको” भन्ने नि.से.नि. १०.६(५) को आरोप लगाई उक्त आरोपमा पुनरावेदकलाई स्पष्टीकरण समेत दिने मौकाबाट वञ्चित गरी नि.से.नि. ०२१ को नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट पुनरावेदकलाई हटाउने गरेको श्री ५ को सरकारको मिति ०४०।८।२ को पर्चा निर्णय प्राकृतिक न्याको सिद्धान्त विपरीत तथा प्रत्यक्षः गम्भीर कानुनी त्रुटि गरी गरेको हुँदा उक्त निर्णय बदर हुनुपर्छ भन्ने र विपक्षी श्री ५ को सरकारतर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री प्रेम बहादुर विष्टले राजपत्रांकित कर्मचारीको हकमा विभागीय प्रमुख श्री ५ को सरकार हो श्री ५ को सरकारलाई नोकरीबाट हटाउने अधिकार प्राप्त भएकै हुँदा लोकसेवा आयोग समेतसँग परामर्श लिई पुनरावेदकलाई भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको मिति ०४०।८।२ को पर्चा कानुन अनुरूप मिलेकै हुँदा सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
८. प्रस्तुत मुद्दामा श्री ५ को सरकारको मिति ०४०।८।२ को निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा म पुनरावेदकलाई नि.से.नि. १०.६(७) को आरोप लगाई सो मा स्पष्टीकरण लिई नि.से.नि. नियम १०.१(६) बमोजिम सजायँ प्रस्तावित गरी पुनः स्पष्टीकरण लिई विशेष प्रहरी विभागबाट स्पष्टीकरण र प्रस्तावित गरेको सजायँ भन्दा भिन्दै नि.से.नि. २०२१ को नियम १०.६(५) को आरोपमा १०.१(५) बमोजिम सजायँ गरी नोकरीबाट बर्खास्त गर्ने गरेको श्री ५ को सरकारको मिति ०४०।८।२ को निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत गैरकानुनी भई त्रुटिपूर्ण हुँदा उक्त निर्णय बदर गरिपाउँ भन्ने समेत मुख्य पुनरावेदक जिकिर देखिन्छ ।
१०. पुनरावेदक हरिहर कोइरालालाई धनकुटामा निर्मित मालपोत कार्यालय भवन तथा सामुदायिक भवन निर्माणमा भ्रष्टाचारपूर्ण कार्य गरेको भनी विशेष प्रहरी विभागबाट भ्र.नि.ऐन, ०१७ को परिच्छेद २ अन्तर्गतको कसूरमा नि.से.नि. ०२१ को नियम १०.६(७) को आरोप लगाई सो आरोपमा स्पष्टीकरण लिई नि.से.नि. २०२१ को नियम १०.१(६) बमोजिमको सजायँ प्रस्तावित गरी पुनः अर्को स्पष्टीकरण समेत लिई विभागीय सजायँका निमित्त राय ठहर साथ श्री ५ को सरकारमा पठाएकोमा आफ्नो पदको जिम्मेदारी अनुसार आचरण नगर्ने इन्जिनियर श्री हरिहर कोइरालालाई नि.से.नि. ०२१ को १०.६(५) को अभियोगमा नि.से.नि. १०.६(५) को अभियोगमा नि.से.नि. १०.१(५) बमोजिम निर्णय भएको मिति देखि लागू हुने गरी भविष्यमा सरकारी नोकरीका निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको छ भनी श्री ५ को सरकारले मिति ०४०।८।२ मा निर्णय पर्चा गरेको पाइन्छ ।
११. निजामती कर्मचारी उपरको विभागीय सजायँ सम्बन्धमा नि.से.नि. ले गरेको व्यवस्थालाई हेर्दा नि.से.नि. ०२१ को नियम १०.९ मा सजायँ दिन पाउने अधिकारीले कुनै निजामती कर्मचारीलाई सजायँ दिने आदेश दिनु भन्दा अघि कारवाही गर्न लागिएको कारणको उल्लेख गरी सो कर्मचारीलाई सूचना दिई निजलाई आफ्नो सफाईको मौका दिनुपर्छ र सो लगाइएको आरोप स्पष्ट किटिएको हुनुपर्छ” भन्ने व्यवस्था गरेको र सोही नियमावलीको नियम १०.१० मा “जाँचबुझका काम समाप्त भएपछि सजायँको आदेश दिनु भन्दा पहिले सजायँ दिने अधिकारीले निजामती कर्मचारीलाई जाँचबुझको नतिजा तथा निजलाई दिन लागिएको सजायँको सूचना दिने छ र उक्त प्रस्तावित सजायँ निजलाई किन नदिनु त्यसबारे उचित म्याद दिई स्पष्टीकरण मागिने छ” भन्ने कानुनी व्यवस्था गरेको पाइन्छ ।
१२. यसबाट कुनै निजामती कर्मचारीलाई विभागीय सजायँ गर्दा नि.से.नि. १०.९ अनुसार निजलाई जुन कसूर आरोप लगाइएको छ सो कसूर आरोपमा स्पष्टीकरण लिई सकेपछि सजायँ गर्नु भन्दा अघि नि.से.नि. १०.१० बमोजिम सजायँ प्रस्तावित गरी पुनः अर्को स्पष्टीकरण लिई जुन कसूर आरोप लगाइएको छ सोही आरोपमा सजायँ प्रस्तावित गरी सजायँ गर्नुपर्ने हुन्छ। तर प्रस्तुत मुद्दामा पुनरावेदकबाट विशेष प्रहरी विभागले भ्र.नि.ऐन, ०१७ को परिच्छेद २ अन्तर्गतको कसूर गरेको भनी नि.से.नि. २०२१ को नियम १०.६(७) को आरोप लगाई सो आरोपमा स्पष्टीकरण लिई पुनः सोही ओरापमा नि.से.नि. को नियम १०.१(६) बमोजिमको सजायँ प्रस्तावित गरी स्पष्टीकरण समेत लिई भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने राय ठहरसाथ विभागीय सजायँको लागि श्री ५ को सरकारमा पठाएकोमा श्री ५ को सरकारबाट पुनरावेदकलाई विषेश प्रहरी विभागबाट लगाइएको आरोप र प्रस्तावित सजायँ भन्दा भिन्दै “आफ्नो पद अनुसारको आचरण नगरेको भन्ने नि.से.नि.नियम १०.१(५) को आरोप लगाई नि.से.नि. नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाएको देखिन्छ । यसबाट जुन आरोपमा स्पष्टीकरण मागियो र सजायँ प्रस्तावित गरियो सो आरोपमा सजायँ नगरी भिन्दै आरोपमा सजायँ गरेको देखिन आयो ।
१३. पुनरावेदकलाई श्री ५ को सरकारबाट जुन नि.से.नि. २०२१ को नियम १०.६(५) को आरोप लगाई ऐ. नियम १०.१(५) बमोजिम सजायँ गरिएको छ । सो आरोप लगाउँदा र सजायँ गर्दा नि.से.नि. २०२१ को नियम १०.९ र १०.१० बमोजिम पुनरावेदकसँग स्पष्टीकरण लिएको देखिँदैन ।
१४. त्यसरी पुनरावेदकलाई पहिले जुन आरोपमा स्पष्टीकरण मागी सजायँ प्रस्तावित गरिएको थियो त्यो भन्दा भिन्दै आरोप लगाई सो आरोपसम्बन्धमा स्पष्टीकरण नै नलिई आफ्नोकुरा भन्ने र सफाई पेशगर्ने मौका बाटसमेत वञ्चित गरी प्राकृतिक न्यायको सिद्धान्त विपरीत तथा गैरकानुनी तरिकाबाट पुनरावेदकलाई नि.से.नि. २०२१ को नियम १०.६(५) को आरोपमा नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको मिति ०४०।८।२ को निर्णय पर्चा प्रत्यक्षः कानुनी त्रुटिपूर्ण देखिन आएको हुँदा पुनरावेदक हरिहर कोइरालाको हकमा सम्म निजलाई नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको मिति ०४०।८।२ को त्रुटिपूर्ण निर्णय पर्चा बदर हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.त्रिलोक प्रताप राणा
इतिसम्वत् २०४२ साल बैशाख ४ गते रोज ३ शुभम् ।