May 10, 1985
Created by nepalarchives

निर्णय नं. २२२४ – लिखत बदर

निर्णय नं. २२२४    ने.का.प. २०४२      अङ्क १   फुल बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री...

निर्णय नं. २२२४    ने.का.प. २०४२      अङ्क १

 

फुल बेञ्च

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४० सालको दे.फु.नं. ६०, ८७

मुद्दा : लिखत बदर

 

निवेदक/प्रतिवादी:जि.काठमाडौं का.न.पं.वार्ड नं.२० मरुटोल बस्ने देवीदासको मु.स.गर्ने कुमारदास मानन्धर

ऐ.ऐ वार्ड नं.१३ कालिमाटी बस्ने श्याम माया स्थापित

विरूद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.वार्ड नं. २० मरूटोल बस्ने गणेशप्रसाद मानन्धर

ऐ.ऐ बस्ने बद्री नारायण मानन्धर

ऐ.ऐ बस्ने पूर्ण दाश मानन्धर

ऐ.ऐ बस्ने बुद्ध कुमार मानन्धर

फैसला भएको मिति: २०४२।१।२८।६ मा

आफूले आर्जेको अचल सम्पत्ति बेचबिखन गर्दा संगै बस्नेको मञ्जूरी लिनु नपर्ने ।         

(प्रकरण नं. ११)

फैसला

न्या.बब्बर प्रसाद सिंहः    सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकहरूको श्री ५ महाराजाधिराजका जुनाफमा बेग्लाबेग्लै बिन्तिपत्र पर्दा डिभिजन बेञ्चबाट निर्णय भएको मिसिल झिकी फुल बेञ्चबाट हेरी कानुन बमोजिम निर्णय गरिदिनु भन्ने मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    बाबा गणेशदासको ५ छोरा भएकोमा हामीहरू समेतको अंश हक लाग्ने कालीमाटी गा.पं. वार्ड नं. ५ कि.नं. ३१ को जग्गा रोपनी १३ मध्ये ०३ देवीदासले श्याममायालाई रु. २०,०००। मा ०३२।४।७ गते राजीनामा पास गरिदिएको हुँदा हामीहरू ४ जनाको हक मेटी बिक्री गरेको हुँदा ५ भागमा ४ भाग लिखत बदर गरिपाउँ भन्ने समेत गणेशप्रसाद समेतको ०३३।२।३ को फिरादपत्र रहेछ ।

३.    देवीदासले विष्णुभक्त श्रेष्ठलाई भोगबन्धकी पास गरिदिएको विष्णुभक्त श्रेष्ठबाट बहालमा लिई भोग गरिआएकोमा कालीमाटी सडक चौडाई गर्दा परेको बाँकी जग्गाको देवीदासलाई कुत बुझाउने गरी म समेतले मोटर ग्यारेज कारखाना घर बनाई भोगचलन गरिआएको छु । देवीदासको आर्जनबाट जोडेको जग्गा ०३ रु. २०,०००। मा राजीनामा पास गरिलिएको हुँदा म उपर विपक्षको दावी लाग्न नसक्ने हुँदा वादी दावी खारेज गरिपाउँ भन्ने समेत श्याममाया स्थापितको प्रतिउत्तरपत्र रहेछ ।

४.    मैले आफ्नो आर्जन कमाईबाट तीर्थदाससँग छोडपत्र गराई किनि लिएको घर जग्गा मध्ये कालीमाटी सडकमा परी बाँकी रहेको जग्गा कुत लिने गरी मोहियानीमा कमाउन दिएको मेरो हकको जग्गा भू.प्र. का. मार्फत जग्गा ०३ रु. २०,०००। मा श्याममायालाई राजीनामा पास गरिदिएको छु । मुआब्जा विषयमा विपक्षी समेतको उजूरी परी हक बेहक गराउन अदालतमा जानु भनी सुनाएकोमा विपक्षहरूले उजूर गर्न नसकेको हुँदा मेरो एकलौटी हकको हुँदा बिक्री गरेको सदर गरिपाउँ भन्ने समेत देवीदास मानन्धरको प्रतिउत्तरपत्र रहेछ ।

५.    देवीदासले प्र. श्याममायालाई बेचेको सदरै हुने हुँदा लिखत बदर गरिपाउँ भन्ने वादीहरूले झुठ्ठै उजूर गरेको ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको ०३५।८।२८।४ को फैसला।

६.    सो फैसला उपर चित्त बुझेन भन्ने समेत वादी गणेशप्रसाद समेतको पुनरावेदन जिकिर ।

७.    लेनदेनव्यवहारको १० नं.अनुसार सबै अंशियारको मञ्जूरी लिनु पर्ने वादीहरूको मञ्जूरी लिएको नदेखिँदा वादीहरूको ४ भाग लिखतबदर हुनेठहर्छ भन्नेसमेत मध्यमान्चल क्षेत्रीय अदालतको ०३८।५।१२।६ को फैसला रहेछ ।

८.    सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा देवीदास र वादीहरू एकाघरसँग बसेको भन्ने वादीहरूले खुलाउन नसकेको देवीदासले तीर्थदासबाट छोडपत्र गराई लिएको सम्पत्तिमा वादीहरूको मञ्जूरी लिन पर्ने देखिँदैन वादीहरूको भाग  बदर गर्ने गरी लेनदेन व्यवहारको १० नं. को त्रुटि गरी फैसला गरेको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।७।५।४ र ०३८।९।२२।४ को पृथकपृथक आदेश रहेछ ।

९.    निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा कुमारदासका बाबु देवीदासले २००२।९।७ गते तीर्थदास मानन्धरबाट छोडपत्र गराई लिएको लिखतमा मेरा नाउँमा फार्छे गराई लिए तापनि सो रुपैयाँ तपाई देवीदाशको रुपैयाँ भएको भन्ने बोली परेको देखिन्छ । त्यस बोलीबाट सो परेको थैली देवीदासले यो यस किसिमबाट आर्जन गरेको भन्ने देखिँदैन सो रुपैयाँ निजी आर्जन गरेको भन्ने लिखत प्रमाण देखाउन सकेको पनि छैन । देवीदासले यही वादी गणेशप्रसाद उपर घर छुट्याई पाउँ भनी दिएको मुद्दामा २००६।२।१७ मा पास भएको बण्डाबाट यिनीहरूको बाबु काकाको बीचमा अंश गरेको देखियो भाइ भाइको बीचमा नीतिपूर्वक बण्डा भई नसकेको बण्डा छुट्याई दिन नमिल्ने भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट २०२९।११।२९ मा निर्णय भई अन्तिम भइराखेको देखिन्छ । त्यसबाट वादीहरू र प्र. कुमारदासको बाबु देवीदासको बीच अंशबण्डा भई छुट्टिएको भन्ने देखिन आएको छैन । वादीहरू र प्र. कुमारदासका बाबु देवीदास समेत मानो छुट्टि भिन्न भएको भन्ने कुराको कानुन बमोजिम रजिष्ट्रेशन पारित भएको लिखतप्रमाण पेश हुन आएको पाइँदैन । यस अवस्थामा देवीदाशले पुनरावेदक श्याममाया स्थापितलाई बिक्री गरेको जग्गा देवीदासको निजीआर्जनको सम्पत्तिरहेछ भन्न सबूतप्रमाणको अभावमा मिल्ने नदेखिएको हुँदा पुनरावेदनजिकिर पुग्नसक्दैन । अरू क्षे.अ.को फैसलामा लेखिएको बुँदा प्रमाण बाटसमेत वादी दावीबमोजिम ०३२।४।७ को लिखतमा लेखिएको जग्गाको ५ भागको ४ भाग लिखत बदर हुने ठहराई गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने डि.बे.को ०३९।९।१८ को फैसला ।

१०.    आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादीले आफ्नो फिरादपत्रमा निजहरू र प्रतिवादी देवीदास र निजको मुद्दा सकार गर्ने कुमारदास बीच बण्डा भई नसकेको भन्ने उल्लेख गर्दै निजहरूको समेत हक लाग्ने कालिमाटीको हाल सर्भे नापीमा कालिमाटी गा.पं. वडा नं. ५ कि.नं. ३१ को १३ मध्येबाट ०३ प्र.श्याममायालाई २०,०००। मा ०३२।४।७ मा राजीनामा पारित गरेको हुँदा लेनदेन व्यवहारको १० नं.बमोजिम पाँचखण्डको चारखण्ड लिखतबदर गरिपाउँ भन्ने दावी लिएको पाइन्छ । मैले तिर्थदासबाट आफ्नो आर्जन कमाईबाट २००२।६।७।६ मा मेरै हकको जग्गा भएकोले छोडपत्र गराई लिएको र मेरो एकलौटी हकको जग्गा पारित गरिदिएको हुँ भन्ने समेत प्रतिवादीको जिकिर देखिन्छ । हाम्रो समेत हक लाग्ने भन्ने वादी र आफ्नो आर्जनको एकलौटी भन्ने प्रतिवादी भएबाट लिखत बदर हुने वा नहुने के हो भन्ने सन्दर्भमा हेर्दा प्रतिवादीले २००२।९।७ मा तिर्थदास मानन्धरबाट गराई दिएको पारित छोडपत्रको व्यहोरा हेर्दा का. मरू. ७०९।६४३ नं. का पोता लगतमा दर्ता भएको कुत धान १। आउने पोता रु. ।४८ लागेको अवल खेत रोपनी १ र सो मा बनेको घर समेत मेरो नाउँमा फार्छे गराई लिए तापनि सो रुपैयाँ तपाई देवीदास मानन्धरको रुपैयाँ भएको हुनाले मेरा नाउँमा राखी छाड्न पनि मनासिव नपर्ने हुनाले तपाईंका नाउँमा लेखिदिएको छुभन्ने व्यहोरा परेको देखिन्छ । उक्त लिखतबाट तिर्थदाश मानन्धरले तुल्सीनारायण मानन्धरबाट फार्छे गराई लिँदा देवीदासको  रुपैयाँबाट लिएको भन्ने देखिन्छ ।

११.    तत्काल विद्यमान कानुनी व्यवस्थातर्फ हेर्दा साविक मुलुकी ऐन साहु असामीको ८ नं. मा अंश नभई एकाघर सगोलमा बसेकाले अचल गैह्र बेचबिखन गर्दा ऐनले आफूखुशी गर्न पाउने अरूको मञ्जूरी लिनु नपर्ने बाहेक अरूमा एकाघर संग बसेका सबैको मञ्जूरीको लिखत गरिदिएको भएमात्र पक्का ठहर्छ । लिखत नभए लिखत नहुनेले यसै सरहदमा भए ६ महिना र विदेश गएको भए एकवर्ष सम्ममा थाहा पाएको ३५ दिनभित्र उजूर गर्‍यो र मञ्जूरी ठहरेन भने संगै बसेकोमा बेचबिखन गरेँ भनी जाँदैन उजूर गर्ने हक जति फिर्ता गराई बेचबिखन गर्नेको नाउँमा कपाली तमसुक गराई वा जायजातबाट भराई दिनु, आफूले आर्जेको भए संग बस्नेको मञ्जूरी लिनु पर्दैन, बेचबिखन समेत गैह्र गर्न हुन्छ भन्ने समेत उल्लेख भएको पाइन्छ । आफूले आर्जेको अचल सम्पत्ति बेचबिखन गर्दा संग बस्नेको मञ्जूरी लिनु पर्दैन भन्ने साहु असामीको उक्त ८ नं. मा भएको व्यवस्था प्रतिवादीले ०३२।४।७ मा राजीनामा बिक्री गरेको अवस्थामा पनि मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा रहेको देखिन्छ । अर्थात आफूले आर्जेको अचल सम्पत्ति आफूखुसी बेचबिखन गर्न पाउने व्यवस्था देवीदासले विवादको जग्गा खरिद गरेदेखि बिक्री गर्दा तक यथावत रूपमा रहेको देखिन्छ ।

१२.   अब विवादको जग्गा देवीदासले आफूले आर्जेको हो हैन भन्ने सम्बन्धमा हेर्दा माथि उल्लेख गरेको २००२।९।७ को छोडपत्रको कागजबाट रुपैयाँ देवीदासको परेको देखिन्छ । यसको अलावा वादी प्रतिवादीका बाबु काकाहरू बीच भएको २००६।२।१७ को बण्डापत्रको कागज हेरेमा विवादको जग्गा बण्डा भएको देखिँदैन । त्यस्तै गरी कालमाटी सडक चौडा गर्दा विवादको जग्गा मध्ये केही जग्गा परी त्यसको सट्टामा बागमती अञ्चलाधीश कार्यालयबाट प्रदान गरिएको कि.नं. १८, १९ को जग्गा वादी प्रतिवादीहरूको नाउँमा संयुक्त दर्ता गरिदिए उपर प्रतिवादी देवीदासको सर्वोच्च अदालतमा रिट परी सर्वोच्च अदालतबाट ०३४।११।९ मा फैसला हुँदा उक्त बागमती अञ्चलाधीशको ०३२।६।१४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरेको समेत पाइन्छ। यी सब कुराहरूबाट विवादको जग्गा देवीदासको स्वआर्जित सम्पत्ति हो भन्ने स्पष्ट हुन्छ ।

१३.   अतः उपर्युक्त बुँदाप्रमाण समेतले प्रतिवादीले आफूले आर्जेको सम्पत्ति आफूखुस गर्न पाउने हुँदा वादीहरू अंश नभई सगोलमा रहेको भन्ने आधारबाट पाँच खण्डको ४ खण्ड लिखत बदर हुने ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३९।९।१८।१ को इन्साफ मिलेको देखिएन । वादी दावी नपुग्ने ठहराएको का.जि.अ.को इन्साफ मनासिव ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डामा वादी दावी नपुग्ने ठहरेकोले मध्यमान्चल क्षेत्रीय अदालतको ०३८।५।१२।६ को फैसला बमोजिमको ०३८।८।२९।२ को लगत र सर्वोच्च अदालतको ०३९।९।१८ को फैसला बमोजिमको ०४१।२।१५।२ को लगत कायम राख्नु पर्दैन, व्यहोरा जनाई लगत कट्टा गरिदिनु भनी का.जि.अ.त. मा लगत  दिनु………………………..१

प्र.कुमारदासले सर्वोच्च अदालतका आदेश बमोजिम का.जि.अ.त.मा ०३८।१०।२ मा धरौट राखेको कोर्टफी रु. ११।५० र प्र.श्याममाया स्थापितले ०३८।७।२६ मा धरौट राखेको कोर्टफी रु. ५।७५ निजहरूको दर्खास्त परे रीत पुर्‍याई निजहरूलाई फिर्ता दिनु भनी ऐ. ऐ. मा लगत दिनु………………………..२

मुद्दा दोहर्‍याउँदा प्र.कुमारदासबाट दाखिल भई ०३८।१०।२ मा सदर स्याहा भएकोमा कोर्टफी रु. १।५० र प्र.श्यमामाया स्थापितबाट सदर स्याहा भएको कोर्टफी रु. १।५० समेत पाउँ भनी प्रतिवादीहरूको दर्खास्त परे वादीहरू गणेशप्रसाद १, बद्री नारायण १, पूर्णदास १, बुद्धकुमार १, समेत जना चारबाट ऐनको रीत पुर्‍याई प्रतिवादीहरूलाई दिलाई दिनु भनी ऐ. ऐ. मा लगत दिनु………………………….३

मिसिल नियम बमोजिम गरी बुझाई दिनु……………………………………४

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव

 न्या.महेशराम भक्त माथेमा

 

 

इतिसम्वत् २०४२ साल बैशाख २८ गते रोज ६ शुभम् ।