निर्णय नं. २२२३ – लिखत बदर
निर्णय नं. २२२३ ने.का.प. २०४२ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री...
निर्णय नं. २२२३ ने.का.प. २०४२ अङ्क १
फुल बेञ्च
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
सम्वत् २०४० सालको दे.फु.नं. ५८, ८९
मुद्दा : लिखत बदर
निवेदक/प्रतिवादी:जिल्ला काठमाडौं का.न.पं.वा.नं. २० मरूटोल बस्ने देवीदासको मु.स.गर्ने कुमारदास मानन्धर
ऐ.ऐ वडा नं. १३ कालिमाटी बस्ने प्रेम कृष्ण वानिया
विरूद्ध
विपक्षी/वादी: ऐ.ऐ. वडा नं. २० मरूटोल बस्ने गणेशप्रसाद मानन्धर
ऐ.ऐ बस्ने बद्री नारायण मानन्धर
ऐ.ऐ बुद्ध बस्ने कुमार मानन्धर
फैसला भएको मिति: २०४२।१।२८।६ मा
आफूले आर्जेको सम्पत्ति आफूखुश गर्न पाउने ।
(प्रकरण नं. १४)
निवेदक प्रतिवादी तर्फबाट: विद्वान व.अधिवक्ता श्री कृष्ण प्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी वादी तर्फवाट: विद्वान अधिवक्ताहरु श्री रामगोपाल श्रेष्ठ, श्री नुतन थपलिया र श्री अनुपराज शर्मा
उल्लेखित मुद्दाःX
फैसला
न्या.बब्बर प्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकहरूको श्री ५ महाराजाधिराजका जुनाफमा छुट्टा–छुट्टै बिन्तिपत्र पर्दा डिभिजन बेञ्चबाट निर्णय भएको मिसिल झिकी फुल बेञ्चबाट हेरी कानुन बमोजिम निर्णय गरिदिनु भन्ने समेत मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. बाबा गणेशदासको छोरा विपक्ष देवीदास जेठा, नन्दकुमार, माहिला, गणेशप्रसाद साहिला, बद्री नारायण काहिला, पूर्णदाश कान्छा भएको बाबा ०५ सालमा नन्दकुमार २०२१ सालमा परलोक भएको वहाँको छोरा बुद्धकुमार समेत ५ अंशियार छौँ हामीहरूको समेत अंश हक लाग्ने कलीमाटी गा.पं. वार्ड नं. ५ कित्ता नं. ३१ क्षेत्रफल १–०–३ जग्गा मध्ये ०–१–२–१ विपक्षी प्रतिवादी प्रेमकृष्णलाई रु. ३०,०००। मा ०३२।४।६ मा घरसारमा ऐ. ७ गते पास गरी राजीनामा लिखत गरिदिएकोले हामी ४ अंशियारको ४ भाग लिखत बदर गरिपाउँ भन्ने समेत वादी गणेशप्रसाद समेतको ०३३।२।३ को फिरादपत्र रहेछ ।
३. तिर्थदास मानन्धरबाट आफ्नो आर्जन कमाईले ०३२।४।६ मा छोडपत्र पास गरी लिई का मरू ७०९।६४३ नं. पोता दर्ता जग्गा रोपनी १ र त्यसमा बनेको घर समेत कालीमाटी सडकमा परी सट्टा भर्ना स्वरूप प्राप्त गरेको कि.नं. ३१।१८ भित्रको सडक छेउको ०२५।८। देखि प्रेमकृष्णलाई कमाउन दिई ०३२।४।७ मा पास गरिदिएको हो विपक्षीहरूको हक लाग्ने होइन मेरो आर्जनको एकलौटी हकको जग्गा बिक्री गरेको सदर गरिपाउँ भन्ने समेत ०३३।४।३१ को देवीदासको प्रतिउत्तरपत्र रहेछ ।
४. कि.नं. ३१ को जग्गा देवीदासले विष्णुभक्तलाई भोगबन्धकी दिएको निजबाट म समेतले बहालमा लिई भोगचलन गरिआएको घर र ग्यारेज सडक निर्माणमा परी बाँकी जग्गा कुत बुझाउने गरी देवीदासबाट मैले कमाई मोटर ग्यारेज कारखाना घर बनाई भोगचलन गरिआएको मैले खरिद गरेको जग्गा देवीदासको आर्जन र एकलौटी हक दर्ताको जग्गा हुँदा लिखत बदर हुने होइन भन्ने समेत प्र.प्रेमकृष्ण बानियाको ०३३।४।३१ को प्रतिउत्तरपत्र रहेछ ।
५. प्रतिवादी देवीदासले प्रेमकृष्ण बानियालाई बेचेको सदरै हुने हुँदा राजीनामा बदर गरिपाउँ भन्ने प्रतिवादीहरू उपर झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत का.जि.अ.को ०३५।८।२८ को फैसला ।
६. सो फैसला उपर चित्त बुझेन भन्ने वादी गणेशप्रसाद समेतको पुनरावेदन जिकिर ।
७. लेनदेन व्यवहारको १० नं.अनुसार सबै अंशियारको मञ्जूरी लिनु पर्नेमा वादीहरूको मञ्जूरी लिइएको नदेखिँदा वादीहरूको भाग बदर हुने हुँदा वादी दावी बमोजिम ०३४।३।८ को लिखतको ५ भागको ४ भाग बदर हुनेठहर्छ शुरूको इन्साफ उल्टी हुनेठहर्छ भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको ०३८।५।१२।६ को फैसला रहेछ ।
८. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा देवीदास र वादीहरू एकाघरसँग बसेको भन्ने खुलाउन नसकेको देवीदासले छोडपत्र गराई लिएको सम्पत्तिमा वादीहरूको मञ्जूरी लिन पर्ने देखिँदैन यस्तोमा लेनदेन व्यवहारको १० नं.को त्रुटि गरी निर्णय गरेको देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।७।५।४ र ०३८।९।२२।४ को भएको आदेश रहेछ ।
९. निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा कुमारदासका बाबु देवीदासले २००२।९।७ गते तिर्थदास मानन्धरबाट छोडपत्र गराई लिएको लिखतमा मेरो नाउँमा फार्छे गराई लिए तापनि सो रुपैयाँ तपाई देवीदासको रुपैयाँ भएको भन्ने बोली परेको देखिन्छ । त्यस बोलीबाट सो परेको थैली देवीदासले यो यस किसिमबाट निजी आर्जन गरेको भन्ने देखिँदैन । सो रुपैयाँ निजी आर्जन गरेको भन्ने लिखत प्रमाण देखाउन सकेको पनि छैन । देवीदासले यही वादी गणेशप्रसाद समेत उपर घर छुट्याई पाउँ भनी दिएको मुद्दामा २००६।२।१७ मा पास भएको बण्डापत्रबाट यिनीहरूको बाबु काकाको बीचमा अंश गरेको देखियो । भाइभाइको बीचमा नीतिपूर्वक बण्डा भई नसकेको बण्डा छुट्याई दिन नमिल्ने भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट २०२९।११।२९ मा अन्तिम भई निर्णय भई राखेको देखिन्छ । त्यसबाट वादीहरू र प्रतिवादी कुमारदासको बाबु देवीदासको बीच अंशबण्डा भई छुट्टिएको भन्ने देखिन आएको छैन । वादीहरू र प्रतिवादी कुमारदासका बाबु देवीदास समेत मानो छुट्टिई भिन्न भएको भन्ने कुराको कानुनबमोजिम रजिष्ट्रेशन पारित भएको लिखतप्रमाण पेश हुनआएको पाइँदैन । यस अवस्थामा देवीदासले पुनरावेदक प्रेमकृष्ण बानियालाई बिक्री गरेको जग्गा देवीदासको निजी आर्जनको सम्पत्ति रहेछ भन्ने सबूत प्रमाणको अभावमा मिल्ने नदेखिएको हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू क्षेत्रीय अदालतको फैसलामा लेखिएको बुँदा प्रमाणबाट समेत वादी दावी बमोजिम ०३२।४।७।४ को लिखतमा लेखिएको जग्गाको ५ भागको ४ भाग लिखत बदर हुने ठहराई गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने डिभिजन बेञ्चको ०३९।९।१८।१ को फैसला ।
१०. निवेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान व.अ.हरू श्री कृष्ण प्रसाद पन्त र श्री मुकुन्द रेग्मीले विवादको जग्गा पैत्रिक सम्पत्ति होइन देवीदासले आर्जन गरेको हो निजको आर्जनको हैन भन्ने वादीको भनाई पनि छैन । कालिमाटी सडक चौडा गर्ने सिलसिलामा वादीले केही जग्गा सट्टा पट्टा पाएको र बागमती अञ्चलाधीशको संयुक्त दर्ता गर्ने निर्णय सर्वोच्च अदालतबाट बदर भएको छ, र जग्गा देवीदासले दर्ता गराएको छ देवीदासलाई घर बनाउन दिएकोमा विपक्षीको उजूर छैन आफूले आर्जेको सम्पत्ति बेचेको हुँदा विपक्षीको मन्जूरी लिन जरूरी छैन २०२९ सालको सर्वोच्च अदालतको फैसलाले मानो छुट्टिएको कुरालाई मानेको छ । तसर्थ वादी दावी नपुग्ने ठहराएको काठमाडौं जिल्ला अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । विपक्षी वादीहरूको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू सर्वश्री रामगोपाल श्रेष्ठ श्री नुतन थपलिया तथा श्री अनुपराज शर्माले वादीहरू र प्रतिवादी आजसम्म सगोलमा बसेको भन्ने २०२९ सालको सर्वोच्च अदालतको फैसलाबाट स्पष्ट भएको छ । विवादको जग्गा देवीदासको आर्जनको हो भन्ने प्रमाण आउन सकेको छैन, मानो छुट्टिएको लिखत पास हुनुपर्छ मानो छुट्टिएको कुरामा मुख नमिलेमा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति मान्ने हो सगोलको सम्पत्ति जुनसुकै व्यक्तिको नाममा रहन सक्छ निजी भन्नेले सो को प्रमाण दिनुपर्ने हो तसर्थ वादीको समेत हक लाग्ने सम्पत्ति बिक्री गरेको हुँदा लिखत बदर हुने ठहराएको डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
११. आज निर्णय सुनाउने तरिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादीले आफ्नो फिरादपत्रमा निजहरू र प्रतिवादी देवीदास र निजको मु.सु. गर्ने कुमारदास बीच बण्डा भई नसकेको भन्ने उल्लेख गर्दै निजहरूको समेत हक लाग्ने कालिमाटीको हाल सर्भे नापीमा कालिमाटी गा.पं. वडा नं. ५ कि.नं. ३१ को १–०–३ मध्येबाट ०–१–२–१ प्र. प्रेमकृष्णलाई रू.३०,०००। मा ०३२।४।७ मा राजीनामा पारित गरेको हुँदा लेनदेन व्यवहारको १० नं. बमोजिम पाँच खण्डको चार खण्ड लिखत बदर गरिपाउँ भन्ने दावी लिएको पाइन्छ । मैले तिर्थदास मानन्धरबाट आफ्नो आर्जन कमाइबाट २००२।९।७।६ मा मेरै हकको जग्गा भएकोले छोडपत्र गराई लिएको र मेरो एकलौटी हकको जग्गा पारित गरिदिएको हुँ भन्ने समेत प्रतिवादीको जिकिर देखिन्छ । हाम्रो समेत हक लाग्ने भन्ने वादी र आफ्नो आर्जनको एकलौटी भन्ने प्रतिवादी भएबाट लिखत बदर हुने वा नहुने के हो भन्ने सन्दर्भमा हेर्दा प्रतिवादीले २००२।९।७ मा तिर्थदास मानन्धरबाट गराई लिएको पारित छोडपत्रको व्यहोरा हेर्दा का.मरू ७०९।६४३ नं. का. पोता लगतमा दर्ता भएको कुत धान १। आउने पोता रु. ४८। लागेको अवल खेत रोपनी १ र सो मा बनेको घर समेत मेरा नाउँमा फार्छे गराई लिए तापनि सो रुपैयाँ तपाई देवीदास मानन्धरको रुपैयाँ भएको हुनाले मेरा नाउँमा राखी छाड्न पनि मनासिव नपर्ने हुनाले तपाईका नाउँमा लेखिदिएको छु” भन्ने व्यहोरा परेको देखिन्छ । उक्त लिखतबाट तिर्थदास मानन्धरले तुल्सीनारायण मानन्धरबाट विवादको जग्गा फार्छे गराई लिंदा देवीदासको रुपैयाँबाट लिएको भन्ने देखिन्छ ।
१२. तत्काल विद्यमान कानुनी व्यवस्थातर्फ हेर्दा साविक मुलुकी ऐन साहु असामीको ८ नं. मा अंश नभई एकाघर सगोलमा बसेकोले अचल गैह्र बेचबिखन गर्दा ऐनले आफू खुशी गर्न पाउने अरूको मञ्जूरी लिनु नपर्ने बाहेक अरूमा एकाघरसँग बसेको सबैको मञ्जूरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ लिखत नभए लिखत नहुनेले यसै सरहदमा भए ६ महिना र विदेश गएको भए एकवर्ष सम्ममा थाहापाएको ३५ दिनभित्र उजूर गर्यो र मञ्जूरी ठहरेन भने संगै बसेकोमा बेच बिखन गरे पनि जाँदैन उजूर गर्नेका हक जति फिर्ता गराई बेचबिखन गर्नेका नाउँमा कपाली तमसुक गराई वा जायजातबाट भराई दिनु, आफूले आर्जेको भए संग बस्नेको मञ्जूरी लिनु पर्दैन बेचबिखन समेत गैह्र गर्न हुन्छ भन्ने समेत उल्लेख भएको पाइन्छ । आफूले आर्जेको अचल सम्पत्ति बेचबिखन गर्दा संग बस्नेको मञ्जूरी लिनु पर्दैन भन्ने साहु असामीको उक्त ८ नं. मा भएको व्यवस्था प्रतिवादीले ०३२।४।७ मा राजीनामा बिक्री गरेको अवस्थामा पनि मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा रहेको देखिन्छ । अर्थात आफूले आर्जेको अचल सम्पत्ति आफूखुशी बेचबिखन गर्न पाउने व्यवस्था देवीदासले विवादको जग्गा खरिद गरे देखि बिक्री गर्दा तक यथावत रूपमा रहेको देखिन्छ ।
१३. अब विवादको जग्गा देवीदासले आफूले आर्जेको हो होइन भन्ने सम्बन्धमा हेर्दा माथि उल्लेख गरेको २००२।९।७ को छोडपत्रको कागजबाट रुपैयाँ देवीदासको परेको देखिन्छ । यसको अलावा वादी प्रतिवादीका बाबु काकाहरू बीच भएको २००६।२।१७ को बण्डापत्रको कागज हेरेमा विवादको जग्गा बण्डा भएको देखिँदैन । यस्तै गरी कालिमाटी सडक चौडा गर्दा विवादको जग्गा मध्ये केही जग्गा परी त्यसको सट्टामा बागमती अञ्चलाधीश कार्यालयबाट प्रदान गरिएको कि.नं. १८–१९ को जग्गा वादी प्रतिवादीहरूको नाउँमा संयुक्त दर्ता गरिदिए उपर प्रतिवादी देवीदासको सर्वोच्च अदालतमा रिट परी सर्वोच्च अदालतबाट ०३४।११।९ मा फैसला हुँदा उक्त बागमती अञ्चलाधीशको ०३२।६।१४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरेको समेत पाइन्छ। यी सब कुराहरूबाट विवादको जग्गा देवीदासको स्वआर्जित सम्पत्ति हो भन्ने स्पष्ट हुन्छ ।
१४. अतः उपर्युक्त बुँदा प्रमाण समेतले प्रतिवादी आफूले आर्जेको सम्पत्ति आफूखुश गर्न पाउने नै हुँदा वादीहरू अंश नभई सगोलमा रहेको भन्ने आधारबाट ५ खण्डको ४ खण्ड लिखत बदर हुने ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३९।९।१८।१ को इन्साफ मिलेको देखिएन । वादी दावी नपुग्ने ठहराएको काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा वादी दावी नपुग्ने ठहरेकोले मध्यमान्चल क्षेत्रीय अदालतको ०३८।५।१२।६ को फैसला बमोजिमको ०३८।८।२९।२ को लगत र सर्वोच्च अदालतको ०३९।९।१८ को फैसला बमोजिमको ०४१।२।१५।२ को लगत कायम राख्नु पर्दैन, व्यहोरा जनाई लगत कट्टा गरिदिनु भनी का.जि.अ.त.मा लगत दिनु………………………………..१
प्र.कुमारदारले सर्वोच्च अदालतका आदेश बमोजिम का.जि.अ.त.मा धरौट राखेको कोर्टफी रु. ११।५० र प्र.प्रेमकृष्ण बानियाले ०३८।७।२६ मा धरौट राखेको कोर्टफी रु. ५।७५ निजहरूको दर्खास्त परे ऐनको रीत पुर्याई निजहरूलाई फिर्ता दिनु भनी ऐ. ऐ. मा लगत…………………..२
मुद्दा दोहर्याउँदा प्र.कुमारदासबाट दाखिल भई सदर स्याहा भएको कोर्टफी रु. १।५० र प्रेमकृष्ण बानियाबाट ०३८।१०।२ मा सदर स्याहा भए कोर्टफी रु. १।५० समेत पाउँ भनी प्रतिवादीहरूको दर्खास्त गरे वादीहरू गणेशप्रसाद १, बद्री नारायण १, पूर्णदास १, बुद्धकुमार १ समेत जना चारबाट ऐनको रीत पुर्याई प्रतिवादीहरूलाई दिलाई दिनु भनी ऐ. ऐ. मा लिखत दिनु……………….३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु…………………………………………..४
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् २०४२ साल बैशाख २८ गते शुभम् ।