December 25, 1984
Created by nepalarchives

निर्णय नं. २१९९ – कर्तव्य ज्यान

 निर्णय नं. २१९९  ने.का.प. २०४१           अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको डि.फौ.पु.नं....

 निर्णय नं. २१९९  ने.का.प. २०४१           अङ्क १२

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३९ सालको डि.फौ.पु.नं. ३६४

मुद्दा : कर्तव्य ज्यान

पुनरावेदक/वादी : नरबहादुरको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : झापा तोपगाछी गा.पं. वार्ड नं. ४ बस्ने श्री चामलिङ राई समेत

फैसला भएको मिति :   २०४१।९।११।३ मा

§  मार्ने मनसाय र नियत नभए पनि चुप्पी जस्तो धारिलो जोखिम हतियार झिकी चलाउँदा भिडमा कसैलाई लागी मर्न सक्छ भन्ने जानी जानी होस नपुराई हेलचेक्राई गरी भीड भएको वारदात स्थलमा चुप्पी फन्काई घुमाउँदा लाग्न गई सो चुप्पीको चोटबाट मृत्यु भएको भन्ने देखिँदा ज्यानसम्बन्धीको १३(१) नं. को अपराध गरेको भन्न मिलेन ।

(प्रकरण नं. ३४)

पुनरावेदक/वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार

विपक्षी प्रतिवादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : ०३६।१२।३० गते बिहान १०,११ बजेतिर तोपगाछी गा.पं. वार्ड नं. ५ बस्ने पहलमान गुरूङको घरमा उपमणि खनाल, एकराज गिरी, गोपाल कृष्णप्रसाद, धिरेन्द्र फेजुङ, रत्नइङ नाम, श्री चामलिङ राई समेत र अरू नाम नजानेका २५।३० जना भेला भई के कस्तो मिटिङ गरेछन् । सोही दिन १ बजेतिर छोरा चन्द्रबहादुर औलम्पाकी मगर निर्दलको प्रचार प्रसार गर्न बजारतिर गएको र म पनि गएको थिएँ । घर फर्कन लाग्दा विपक्षी चामलिङले भिरी राखेको चुप्पीले हानी छोरा नन्दबहादुर मगरलाई मारी लडाए छोराको मद्दतमा जाने कृष्ण भण्डारीलाई चामलिङले चुप्पी हानी मरणान्त अवस्थामा पारेर अरू छुट्याउने मानिसलाई समेत चुप्पी प्रहार गर्न लाग्दा प्रहरीले चुप्पी समेत पक्राउ गरेको छ । कारवाही गरिपाउँ भन्ने समेत नरबहादुरको जाहेरी दर्खास्त ।

          २.  ०३६ साल चैत्र ३० गते १२ बजेको समयमा म छिमेकी जितबहादुरको घरमा गएको थिएँ, घर आउँदा तोपगाछी गा.पं. वार्ड नं. ५ बस्ने उपमणि, एकराज गिरी र स्कूलमा पढ्ने विद्यार्थी ४ जना केटी र ८१० जना केटा मेरो घर तला माथि कुरा गरी रहेका थिएँ । मिटिङमा भेला भएकाहरूलाई घेरा हाली केर्खा बजार लगेका थिएँ भन्ने समेत पहलमान गुरूङको कागज ।

          ३.  ०३६।१२।३० गते म विर्तामोड गएको थिएँ, बलबहादुर थापा र निजसँग आएको केटा केटीसँग भेट हुँदा पहलमान गुरूङको घरमा बहुदलको मिटिङ छ तपाईं हिंड्नुहोस् भन्दा पहलमानको घरमा पुग्दा यहाँ नबस्नुहोस् भनिएबाट हामी बजार तिर गयौं चामलिङले चन्द्रबहादुर मगरलाई चुप्पी प्रहार गरी मारेका चाहिं थाहा छैन भन्ने समेत प्र.कुसुम ओलीले प्रहरीमा गरेको कागज ।

          ४.  ०३६ साल चैत्र ३० गते केर्खामा प्रचार प्रसार गर्ने गरी केर्खा जान भनी अं. १२ बजे आइपुगेपछि केर्खा बजारको दक्षिण पट्टि पहलमान गुरूङको घरमा मिटिङ गर्न भनी गोपालकृष्ण प्रसाई, बलबहादुर समेत र अरू नाम नजानेका १५।२० जना भेला भएको थिएँ । सभापति हेमराज राजवंशी आई नपुगी ढिला भएको थियो । यो निर्दलको घरमा बहुदल किन भन्दै कर्णबहादुर लिम्बू समेत ३०।३५ जना नेता यही हो भनी गोपालकृष्णलाई लाठीले घोच्न लागे, हामी बजारतिर लाग्दा अपरिचित व्यक्तिले मेरो टाउकोमा मारपीट शुरू गर्न थाले मैले पनि मेरो साथमा रहेको चुप्पी हल्लाउँदै भाग्दा कस कसलाई चुप्पीले लाग्यो थाहै भएन म वृक्षारोपणको पाइखाना भित्र पस्न लाग्दा १ जना प्रहरीले चुप्पी छोड भन्दा छोडी दिएको हुँ भनी चामलिङले प्रहरीमा गरी दिएको कागज ।

          ५.  प्रतिवादी देवीप्रसाद बली समेत २ जनालाई कागज गराउँदा ०३६ साल चैत्र ३० गते पहलमान गुरूङको घरमा गोपालकृष्ण प्रसाई समेत भेला भई जनमतसंग्रहको कुराकानी भएको हो । चन्द्रबहादुर मगरलाई मारेको देखेनौं भन्ने समेत प्र.देवीप्रसाद वलीले प्रहरीमा गरेको कागज ।

          ६.  केर्खा बजारमा बहुदलको आमसभा हुँदैछ एकछिन जाउन भनेको हुँदा पहलमान गुरूङको घरमा पुग्दा गोपालकृष्ण प्रसाई समेत र नचिनेका २५।२६ जना थिए त्यसपछि नचिनेका मानिस आई यहाँबाट भाग भनेकोले म डरले दमक गएँ कसलाई मारे मराए देखिन भन्ने समेत राजेन्द्र वलीको प्रहरीमा गरेको कागज ।

          ७.  ०३६।१२।३० गते म केर्खा आएको बेला रगत पक्ष भएको एकजना मानिसलाई एक्कामा चढाई विराटनगर तिर लगेको र सुविदारको घर अगाडि मानिस मारिरहेको छ भनेको सुनेका थिएँ । कसले मारे देखिन भन्ने समेत धनकुमारी लिम्बूको प्रहरीमा गरेको कागज ।

          ८.  ०३६।१२।३० गते म घरमा थिएँ । जारबाट फिर्ने मानिसहरूले आज केर्खामा बहुदल र निर्दलको ठूलो झगडा भयो मानिस मरे २, ३ जना घायल भए भनेका सुनेँ श्री चामलिङले चुप्पी प्रहार गरी चन्द्रबहादुर मगरलाई मारे भन्ने सुनें भनी नरेन्द्रप्रसाद सिटौलाले प्रहरीमा गरेको कागज ।

          ९.  ०३६।१२।३० गते घरमा थियौं । बजारबाट घर फर्कंने मानिसहरूले आज केर्खा बजारमा बहुदल र निर्दलको झगडा भयो । मानिस मर्‍यो भन्ने सुने कसले मार्‍यो हामीलाई थाहा छैन भन्नेसमेत ज्ञानेन्द्र सिटौला, हरिप्रसाद सिटौला, लक्ष्मीप्रसाद सिटौलासमेतले प्रहरीमा गरेको कागज ।

          १०.  उल्लिखित घटना घटेको अवस्थामा म सम्मिलित छैन भन्ने समेत रत्न गिरीले प्रहरीमा गरेको कागज ।

          ११.  ०३६।१२।३० गते म निर्दल पक्षको सभामा केर्खा बजार आएको थिएँ, पहलमान गुरूङको घरबाट श्री चामलिङ उपमणि खनाल, समेत ३०।३५ जना एक्कासी हुल भई आई त्यसमध्येका चामलिङले आफैंले बोकेको चुप्पी झिकी चन्द्रबहादुरलाई प्रहार गरी घाइते बनाए, मलाई पनि प्रहार गर्दा दाहिने हातमा लागी सानो चोट लागेको छ भनी गवाड कर्णबहादुर गुरूङले प्रहरीमा गरेको कागज ।

          १२.  ०३६।१२।३० गते निर्दल पक्षको प्रचार प्रसार गर्ने काम सकी अरू कता गए म बजार डुल्न भनी आउँदै गर्दा दक्षिण तर्फबाट कति मानिस आएका थिए, चामलिङ राई मेरो अगाडि आई मेरो छातीमा चुप्पी प्रहार गरे म बेहोस भएँ । विराटनगर अस्पताल लगेको रहेछ भन्ने समेत सरजमीन डोरमा कृष्णप्रसाद भण्डारीले गरेको कागज ।

          १३.  ०३६।१२।३० गते चामलिङ राइले चुप्पी प्रहार गरी चन्द्रबहादुर मगरलाई घटनास्थलमा मारेको हो । चामलिङको साथमा हुल भई आउनेहरूमा कृष्णगोपाल प्रसाद, तारवली, देवीप्रसाद वली, र अरू नचिनेका ३०।३५ जना थिएँ । चन्द्रबहादुर मगरलाई प्रहार गरेको चुप्पी सहित चामलिङलाई पक्राउ गरेको हो भन्ने समेत व्यहोराको अधिकांश सरजमीनका मानिसहरूले गरी दिएको सरजमीन मुचुल्का ।

          १४. प्रतिवादी प्रकरणमा लेखिएका रत्न गिरी, धनकुमारी सिंह, लक्ष्मीप्रसाद सिटौला, नरेन्द्रप्रसाद सिटौला, हरिप्रसाद सिटौला, राजेन्द्रप्रसाद सिटौला समेत ६ जनाका हकमा जाहेरी किटान नभएको अन्य प्रमाणको अभाव हुँदा कारवाही गर्न सबूत नपुगेकाले खोजी भएका बखत हाजिर गराउने गरी जमानीमा छोडेको, चन्द्रबहादुर मगरलाई दारासि सिंह भन्ने कुलप्रसाद गुरूङले घुरी राति मारे भनी भक्तबहादुर राईले सरजमीनमा लेखाए पनि सबूत प्रमाणको अभावमा निज कुलप्रसाद गुरूङले मारे मराएको नदेखिएकोले निज उपर कारवाही चलाउन नपर्ने प्रतिवादी मध्येका गोपालकृष्णप्रसाद, एकराज गिरी, उपमणि खनाल,प्रसाद न्यौपाने, बलबहादुर थापा, धिरेन्द्र फेजुङ, रत्न इङ्गनाम समेतले चन्द्रबहादुरलाई मार्नमा सहमत भएको, निजहरूले अपराध स्वीकार गरी फरार रहेको देखिन्छ । अन्यथा उपस्थित भई सफाई लिन पर्ने प्र.चामलिङले प्रहार गरेको चुप्पीको चोटले चन्द्रबहादुरको मृत्यु भएको र कृष्णबहादुर भण्डारीलाई गम्भीर चोट पुगेको सिद्ध हुन आएकाले चामलिङ उपर ज्यानसम्बन्धीको १३(१) बमोजिम सजाय हुन र पहलमानको घरमा मिटिङ गर्ने सहभागीहरू मध्येका नाम खुल्न आएका ताराराज ओली देवीप्रसाद वली समेत १५ जनालाई ज्यान मार्ने षड्यन्त्रमा पसेको हुँदा ज्यानसम्बन्धीको १६ नं. बमोजिम सजाय हुन र नाम खुल्न नआएकोले खुलेको बखत कानुन बमोजिम हुने गरी प्रस्तुत गरेको भन्ने समेत प्रहरी प्रतिवेदन ।

          १५. पहलमानको घरमा बहुदलको मिटिङ गर्ने गोपालकृष्णप्रसाद, बलबहादुर थापा, एकराज गिरी समेत र उपमणि खनाल, देवी ओली, ताराराज वली, कुसुम वली, राजेन्द्र वली नाम नजानेका थिए । ५ जना बहिनी थिए, पहलमानको घरमा थियो मैले नचिनेका एक डेड सय मानिस उक्त घरमा आए, ,४ जना माथि चढे दारासिं भन्ने कर्णबहादुरलाई चिने । निजहरूका हातमा डण्डा र खुकुरी थियो । यो बहुदलको मिटिङ गर्ने ठाउँ होइन भनी उपमणिलाई फाइटरले चुप्पीले घोच्यो, हामी सबैले सम्झाई बजार तिर आयौं बहुदल नेतालाई ल्यायो भन्ने भिडमा आवाज आयो । गोपालकृष्णलाई डण्डाले दारासिंले हान्यो उपमणिलाई पनि हान्यो एकजनाले मेरो टाउकोमा हान्यो, फाइटर भन्ने व्यक्तिले चुप्पीले हो वा खुकुरीले पछाडि कुइनोमा हान्दा म बेहोस भएँ अस्पतालमा ल्याएपछि म होसमा आएँ, मेरो चुप्पीको प्रहारले मर्‍यो भन्ने पछि सुनें मर्ने चन्द्रबहादुरलाई दारासिं भन्ने लिम्बूले चुप्पीले हानेको सम्म देखेको हुँ कसको चोटले मर्‍यो भन्ने निवेदन प्रहरीमा भएको कागज मैले भने बमोजिम लेखेको होइन भन्ने समेत श्री चामलिङले अदालतमा गरेको बयान ।

          १६.  पहलमान गुरूङ्गको घरमा बहुदल प्रचार गर्ने सल्लाहा गरी बसेका थियौं, लाठी खुकरी बोकेका अं.२०० मानिस आई प्रचार गर्न पाउँदैनौ भनी हामीलाई घोच्न थाले हामी उठी बजार हिड्यौं । होटलमा लाठी खुकुरी लिएका मानिसहरूले हामीलाई घेरा दिन थाले दारासिंको मार्ने आदेश पाएका छौं नमारी छाड्दैनौ भनेपछि साथीहरू भागे १०।१५ मिनेट पछि मानिस मर्‍यो भन्ने आवाज आयो । दारासिं लगायत ८।१० जनाले म र देवीप्रसादलाई बसबाट उतारी कुट्दै बजारतिर लागे म बेहोस भएँ अरू थाहा भएन । चन्द्रबहादुरलाई कर्णेले नै चुप्पी हानी मारे जस्तो लाग्छ । मेरो उपरको झुठ्ठा अभियोगबाट फुर्सद पाउँ भन्ने समेत ताराराज वलीको अदालतमा बयान ।

          १७. काका ताराराज वली पहलमान गुरूङ्गको घरमा लागे त्यतिबेला ५०।६० जना मानिस, आई त्यता को हो, भनी गोपालकृष्ण प्रसाईलाई समाई बजारतिर लगे म धेरै मानिस देखि डरले दमकतर्फ गएँ । ०३७।१।६ गते प्रहरीले पक्राउ गरी ल्याएका हुन् । मृतकलाई चिनेको छैन कसले मारे थाहा छैन भन्ने समेत राजेन्द्र वलीको अदालतमा बयान ।

          १८.  दारासिं भन्नेले एकजनालाई मारे मराएको भन्ने सुनेको हुँ । हामीले चन्द्रबहादुरलाई मारे मराएको होइन भन्ने समेत प्र.कुसुमकुमार वलीको अदालतमा गरेको बयान ।

          १९.  उपमणि खनाल, एकराज गिरी, समेत अरू नाम नजानेका ४ केटी कोही खाटमा कोही भुँइमा बसेका रहेछन् । १२।१ बजे घरमा आउँदा तोपगाछीमा मिटिङ्ग गर्न निर्दलले दिएनन् भन्ने सुने गोपालकृष्णले कुटाई खाए दारासिं फाइटर समेतका २।३ सय आँगनमा रहेछन्, सबैको हातमा लौरा थियो म विरामी हुँदा घरमा सुते एक घण्टा पछाडि प्रहरी र फाइटर बोलाउन आउँदा म गएँ, मर्ने मान्छे चन्द्रबहादुर रहेछ कसले मार्‍यो मलाई थाहा छैन, आँखाले नदेखेको हुँदा म भन्न सक्दिन भन्ने समेत पहलमान गुरूङ्गको अदालतमा बयान ।

          २०. ०३६।१२।३० गते दिउँसो बहुदल प्रचारमा हिंडेका विद्यार्थी, युवक समेत नचिनेका मानिसको भेला भई कुरा हुँदै थियो । निर्दल पक्षका मानिस आई यहाँ नबस भने गोपालकृष्णलाई समाई लगे, म र ताराराज वली प्रहरीलाई खबर गर्न बस चढ्न लाग्दा दारासिंहले बसबाट निकाली कुटपीट गर्‍यो चन्द्रबहादुरलाई दारासिंहले चुप्पीले मारेको भन्ने सुनेको हुँ । मेरो कुनै हात छैन भन्ने समेत देवीप्रसादले अदालतमा गरेको बयान ।

          २१.  चुनावको प्रचार गर्न तारावली कुमवली समेतका ३०,३५ जना पहलमानको घरमा पुग्दा लाठी खुकुरी बोकेका एक दुई सय मानिस आई हामीलाई निकाले, बजारमा आउँदा हुल दंगा भएछ, म ट्रकमा चढी आएँ कर्णबहादुरको हातमा चुप्पी थियो । उसका चुप्पीको चोटबाट चन्द्रबहादुर मरेको हो । मृतकलाई मार्न मिटिङ गरेको होइन मेरा उपरको झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने समेत बलबहादुर थापाको अदालतमा भएको बयान ।

          २२. बहुदलको प्रचार गर्न पहलमानको घरमा भेला हुँदा एक दुईसय जति मानिस आई हामीलाई निकाले वारदात अगावै घरमा गयौं । दारासिंह भन्नेले चन्द्रबहादुरलाई मारेको हो भन्ने सुनेको हुँ । मृतक चन्द्रबहादुरलाई मार्न मराउन मेरो कुनै सहमति छैन भन्ने समेत श्यामप्रसादको अदालतमा भएको बयान ।

          २३. ०३७ साल चैत्र ३० गते श्री चामलिङ्ग समेतका ४० जना जति पहलमानको घरमा थियौं, २५० जनाजति मानिस आई हामीलाई निकाले, हामी बजार तिर लाग्यौं दारासिंहले श्री चामलिङ्गलाई हाने जस्तो लाग्यो त्यसपछि अर्को व्यक्तिलाई प्रहार गरेको देखेपछि बुझ्दा दारासिंहको चोटबाट चन्द्रबहादुर मरेको रहेछ । चन्द्रबहादुरलाई मार्न मराउनमा मेरो कुनै सहमति छैन भन्ने समेत गोपालकृष्ण प्रसाईको अदालतमा भएको बयान ।

          २४. पहलमानको घरमा जनमत संग्रह सम्बन्धी सरसल्लाह गर्न भेला हुँदा दारासिंह भन्ने कर्णबहादुर समेतका खुकुरी चुप्पी बोकेका व्यक्तिहरू आई यहाँ आमसभा नगर भने पछि हामी केर्खा बजार आयौं, दारासिंह भन्ने कर्णबहादुरले चन्द्रबहादुरलाई चुप्पी प्रहार गरी मारेको हो मृतकलाई मार्न मेरो सहमति छैन भन्ने समेत उपमणि खनालको अदालतमा भएको बयान ।

          २५. पहलमानको घरमा जनमत संग्रह र प्रचार प्रसारको लागि भेला भएका थियौं । कर्णबहादुर गुरूङ समेत एक दुईसय व्यक्ति आई हामीलाई बजार तर्फ भगाए, दारासिंहले बोकेको चुप्पीले श्री चामलिङ्गलाई प्रहार गर्न लाग्दा नचिनेको केटोलाई लागेको देखेँ, पछि बुझ्दा चन्द्रबहादुर रहेछन्, कर्णबहादुरको चोटबाट चन्द्रबहादुर मर्न गएको हो । मेरो कुनै सहमत छैन भन्ने समेत एकराज गिरीले अदालतमा गरेको बयान ।

          २६. बहुदलको प्रचार गर्न पहलमानको घरमा भेला भएका थियौं, दारासिंह समेतका दुईसय जति मानिस आई हामीलाई निकाले, हामी बजार आई बस्यौं । चन्द्रबहादुरलाई मैले चिनेको छैन, चन्द्रबहादुरलाई दारासिंले मारेको भन्ने सुनेको हुँ, मृतकलाई मार्न मेरो कुनै षड्यन्त्र छैन भन्ने समेत सिलादेवीले अदालतमा गरेको बयान ।

          २७. चन्द्रबहादुरलाई चिनेको छैन । ०३६।१२।३० गते पहलमानको घरमा भाग लिन म गएको छैन । दारासिंहसँग मनमुटाव भएकोले यस्तो आरोप लगाएको हो । चन्द्रबहादुरलाई कसले मार्‍यो थाहा छैन भन्ने समेत रत्नकुमार इङ्गनामले अदालतमा गरेको बयान ।

          २८. प्रतिवादी मध्ये धिरेन्द्र फेजगप्रसाद न्यौपाने देवी खवासका हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी राखी अन्य प्रतिवादी मध्ये ताराराज वली, देवीप्रसाद वली, कुसुमकुमार वली, पहलमान गुरूङ्ग, उपमणि खनाल, एकराज गिरी, बलबहादुर थापा, गोपालकृष्ण प्रसाई, श्याम प्रसाई, सिलादेवी राई, राजेन्द्र वली, र रत्नकुमार इङ्गनामले वादी दावी बमोजिम ज्यान मार्नमा षड्यन्त्र गरेको ठहर्दैन, निजहरूलाई लगाइएको अभियोगबाट सफाई पाउने ठहर्छ । मुख्य अभियुक्त बनाइएको श्री चामलिङ्ग राईको दावी बमोजिम ज्यानसम्बन्धीको १३(१) को अपराध भन्न मिलेन, निजको अपराध ज्यानसम्बन्धीको ७(१) नं. अनुसार ज्यानमाराको वात नलाग्ने अवस्था देखिन आएकोले श्री चामलिङ्गले सफाई पाउने ठहर्छ भन्ने समेत शुरू झापा जि.अ.को ०३८।४।२२ को फैसला ।

          २९. शुरू निर्णय बदर गरी प्र.हरूलाई प्रतिवेदन माग दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकार तर्फको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

          ३०. अभियुक्त श्री राम चामलिङ्गले हेलचक्र्याँई गरी चन्द्रबहादुर उपर चुप्पी प्रहार गरी ज्यान मारेको देखिँदा ज्यानसम्बन्धीको ४ नं. को अपराध गरेको ठहरी ज्यानसम्बन्धीको ६ नं. देहाय २ अन्तर्गत २ वर्ष कैद हुन्छ । अन्य प्रतिवादीहरूलाई षड्यन्त्रको आरोपबाट सफाई दिएको शुरू झापा जि.अ.को इन्साफ मिलेकै छ । झापा जि.अ.को इन्साफमा केही उल्टी हुन्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३९।८।८ को फैसला ।

          ३१.  पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला अ.बं. ११५ को प्रत्यक्ष कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी दावी अनुसार प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्ने समेत श्री ५ को सरकार तर्फबाट यस अदालतमा पर्न आएको मिति ०३९।११।१३ को पुनरावेदन ।

          ३२. पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले शुद्ध मनसायले प्रचार प्रसार गर्दा घातक हतियार लिई हिंड्नु पर्ने अवस्था आउँदैन । प्र.चामलिङ्गले साथमा लिएको घातक हतियार चुप्पीको प्रयोगबाट चन्द्रबहादुरको मृत्यु भएको स्पष्ट छ । मार्ने मनसाय नभएको भए त्यस्तो घातक हतियार मर्ने चन्द्रबहादुर उपर प्रहार गर्ने अवस्था थिएन । यस स्थितिमा पूर्वाञ्चल क्षेत्रीय अदालतले प्रतिवादी चामलिङ्गलाई ज्यानसम्बन्धी ६(२) अनुसार सजाय गरेको मिलेको नहुँदा बदर भई प्र.चामलिङ्गको हकमा र अरू ताराराज समेतका मार्ने षड्यन्त्रमा पसेका प्रतिवादीहरूलाई दावी बमोजिम सजाय हुनुपर्ने भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          ३३. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मिले नमिलेको के छ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

          ३४. यसमा निर्णयतर्फ हेर्दा ०३६।१२।३० गते बिहान १०।११ बजेतिर तोपगाछी गा.पं. वार्ड नं. ५ बस्ने पहलमान गुरूङ्गका घरमा उपमणि खनाल, एकराज गिरी, गोपालकृष्ण प्रसाई, धिरेन्द्र फेजुङ्ग, रत्न इङ्गनाम र श्री चामलिङ्ग राई समेत अरू २५।३० जना भेला भई मिटिङ गरेछन् । निर्दल प्रचार प्रसार गर्न म मेरो छोरा चन्द्रबहादुर मगर गएका थियौं । घर फर्कंन लाग्दा केर्खा बजारमा विपक्षी चामलिङ्गले भिरी राखेको चुप्पीले छोरा चन्द्रबहादुर मगरलाई प्रहार गरी मारी लडाए, छोराको मद्दतमा जाने कृष्ण भण्डारीलाई घाइते बनाए, अरू छुट्याउने मानिसलाई समेत छुट्याउँदा चुप्पी प्रहार गर्न लाग्दा प्रहरीले पक्राउ गरेको चामलिङ्ग र निजलाई साथ दिने २।३ जना नाम नजानेका व्यक्तिलाई चोट लागी निजहरूलाई चामलिङ्गसँगै अस्पतालमा ल्याइएको छ । निजहरूबाट घटना सम्बन्धमा खुलाई कारवाही गरिपाउँ भनी नरबहादुर ओलम्पिक मगरको जाहेरी परी प्रस्तुत मुद्दाको कारवाई चलेको देखिन्छ । प्रतिवादी श्री चामलिङ्ग राईले प्रहरी समक्ष बयान गर्दा म समेत २५।३० जना बहुदल प्रचारको लागि गएको अवस्था केर्खा बजारमा निर्दल पक्षकाले घेराउमा पारी सोही अवस्था एकजना अपरिचित व्यक्तिले मेरो टाउकोमा लाठी प्रहार गर्‍यो । साथीहरूलाई पनि कुटपीट गर्दै थिए । मैले पनि साथमा भएको चुप्पी झिकी हल्लाउँदै चलाउँदै भाग्दा कस कसलाई चुप्पीले लाग्यो थाहा भएन, म पनि घाइते भएको थिएँ । दुई तर्फबाट भएको भिडन्त र संघर्षबाट चन्द्रबहादुरलाई चोट लाग्न गई सोही चोटबाट नै मृत्यु भएको हो भनी लेखाएको छ । अदालतमा समेत बयान गर्दा वारदात घटनास्थललाई स्वीकार गर्दै उक्त घटनामा आफूलाई टाउकोमा अपरिचित व्यक्तिले लठ्ठीले हानेको र फाइटर भन्ने व्यक्तिले खुकुरी वा चुप्पीले कुइनामा हान्दा बेहोस भई अस्पतालमा उपचारको लागि आफू समेतलाई ल्याएपछि म होसमा आएपछि मेरो चुप्पीको प्रहारले मरेका भन्ने सुनेको सम्म हुँ । जाहेरवाला र मर्ने चन्द्रबहादुरसँग रिसइवी थिएन भनी बयान गरेको देखिन्छ । अन्य देवीप्रसाद वली समेतका प्रतिवादीहरू दावी बमोजिम मृतक चन्द्रबहादुरलाई मार्ने षड्यन्त्र गरेको भन्ने कुरामा प्रहरी तथा अदालतमा समेत बयान गर्दा इन्कार रहेको पाइन्छ । केर्खा बजारमा बहुदल र निर्दल पक्षका बीच दोहरो झगडा भै भएको भिडन्तमा आफू उपर समेत चोट पर्न आई आफ्नो सुरक्षाको लागि चुप्पी झिकी प्रतिवादी चामलिङ्गले चलाउँदा मृतक चन्द्रबहादुरलाई लाग्न गई मर्न गएको भन्ने मिसिलबाट देखिन्छ । जाहेरी दर्खास्तमा जाहेरवालाले यो यो रिसइवी र यो कारणबाट प्र.श्री चामलिङ्ग राईले मर्ने चन्द्रबहादुर उपर चुप्पी प्रहार गरी मारेको भनी देखाउन सकेको पाइँदैन । बुझिएका सरजमीनका मानिसले पनि चन्द्रबहादुर र चामलिङ्ग बीच मार्नु पर्ने सम्मको रिसइवी थियो भन्न सकेका छैनन् । मार्नु पर्ने सम्मको रिसइवी कारण पनि कतैबाट देखिन्न । प्रतिवादी श्री चामलिङ्ग राईले मार्ने मनसाय र नियत नभए पनि चुप्पी जस्तो धारिलो जोखिम हतियार झिकी चलाउँदा भिडमा कसैलाई लागी मर्न सक्छ भन्ने जानी जानी होस् नपुर्‍याई हेलचेक्र्याँई गरी भीड भएको वारदात स्थलमा श्री चामलिङ्गले चुप्पी फन्काई घुमाउँदा मर्ने चन्द्रबहादुरलाई लाग्न गई सो चुप्पीको चोटबाट चन्द्रबहादुरको मृत्यु भएको भन्ने देखिँदा यस स्थितिको वारदातलाई प्रहरी प्रतिवेदन दावी बमोजिम ज्यानसम्बन्धीको १३(१) नं. को अपराध गरेको भन्न मिलेन । अरू ताराराज समेतका प्रतिवादीहरूको हकमा पनि निजहरू मृतक चन्द्रबहादुरलाई मार्न षड्यन्त्रमा पसेको र सहमति भएको भन्ने तथ्ययुक्त प्रमाण कतैबाट पनि देखिन नआएको हुनाले समेत प्रहरी प्रतिवेदन दावी बमोजिम प्र.हरूलाई सजाय गरी पाउँ भन्ने दावी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । ताराराज समेतलाई सफाई दिने ठहर्‍याई गरेको शुरू जि.अ.को इन्साफ सदर गरेको र प्रतिवादी श्री चामलिङ्ग राईलाई ज्यानसम्बन्धीको ६ नं. को देहाय २ बमोजिम २ वर्षको कैदको सजाय गर्ने गरेको पू.क्षे. अदालतको इन्साफ मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।  

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४१ साल पौष ११ गते रोज ३ शुभम् ।