February 26, 1985
Created by nepalarchives

निर्णय नं. २१६४ – दोहोरो लिखित बिक्री बदर

निर्णय नं. २१६४  ने.का.प. २०४१               अङ्क ११ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री...

निर्णय नं. २१६४  ने.का.प. २०४१               अङ्क ११

फुल बेञ्च

इजलाश

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको दे.फु.नं. ५९

मुद्दा : दोहोरो लिखित बिक्री बदर

निवेदक/प्रतिवादी : जिल्ला प्यूठान सापडाँडा गा.पं. वार्ड नं. ४ विजवार टारी बस्ने बलबहादुर भण्डारी

विरूद्ध

विपक्षी/वादी : प्यूठान जिल्ला सापडाँडा गा.पं. वार्ड नं. ४ बस्ने ऋषिराम भण्डारी मरी भु.स. गर्ने मदनदेव भण्डारी

फैसला भएको मिति : २०४१।११।१५।३ मा

§  ऐन अनुसार अचल सम्पत्ति एकालाई लिखत गरेर दिएको छ र त्यही सम्पत्ति अर्को व्यक्तिलाई कुनै पनि व्यहोराले लिखत गरी दिइन्छ भने त्यो दोहोरी लिखत हुने ।

(प्रकरण नं. १०)

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल

उल्लेखित मुद्दा : x

फैसला

       प्र.न्या. नयनबहादुर खत्री : यस अदालतको डिभिजन बेञ्चबाट मिति ०३९।६।७।५ मा फैसला भएको उपरोक्त मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग मार्फत हु.प्र. बक्स भई यस अदालतको फुल बेञ्चको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

       २. अन्यायवाला बलबहादुर भण्डारीले पहाडको घर जग्गा ०३०।६।११ गते रू. ५५,०००। मा मलाई राजीनामा गरी दिएको पारित गराई माग्न मेरो फिराद परेकोमा लिखत पारित हुने ठहरी ०३२।२।१५ मा जि.अ.प्यूठानबाट फैसला भई लिखत पारित गरी दिनु भनी प्यूठान माल कार्यालयलाई लेखी पठाई हाजिर हुन जाँदा तारिखमा राखी यस विषयमा जाहेर गरिएकोले अर्को सूचना नआएसम्म तारिखमा रहन नपर्ने भनी मलाई बोधार्थ दिएको बलबहादुरले गुल्ममा बुझाउन पर्ने बाँकी रू. १०,७००।५७ र सूद समेत असूल गर्नु भनी रक्षा मन्त्रालयबाट लेखी आएकोले पक्रदा सो रू. १०,७००।५७ बाट लोकबहादुर भण्डारी जमानी भएकोले अब ऋषिरामको लिखत पारित गरी दिन हुने नहुने के हो भनी अ.म.मालपोत विभागमा जाहेर गरेको बोधार्थ प्यूठान मालले मलाई पठएको छ । अन्यायी बलबहादुर र गिरबहादुर मिली मलाई राजीनामा गरी दिएको जमीन मध्ये टारीका खेतमा बारी बनाएको सो बारी र घर समेत रू. २४,०००। मा ०३३।१।२८ मा बलबहादुरले राजीनामा गरी दिने अन्यायी गिरबहादुर र निजका स्वास्नी अमृता क्षेत्रीनीका नाउँमा राजीनामा खडा गरी लिने दिने गरेछन् सो राजीनामा पारित गराई माग्न नालेश परी ०३४।१।९ मा पारित हुने ठहरी फैसला भएको छ । दोहरा लेनदेन गरेको कुरा ०३५।१।१ मा थाहा पाएको हुँदा फिराद गरेको छु अन्यायवाला मिली मेरो जग्गा खान दोहरा बिक्री लिनुदिनु गरेको हुँदा दोहरा पारी गरी दिएको रू. ४२,०००। को राजीनामा बदर वातेल गराई सजाय गरिपाउँ भन्ने समेत ऋषिराम भण्डारीको फिरादपत्र ।

       ३. म बलबहादुरले वादीलाई गरी दिएको राजीनामा पारित हुन सकेको छैन । म्याद नाघेकोले कपाली हुने कपाली लिखतबाट जग्गामा हक पुग्न नसक्ने भएकोले दोहरा लिनुदिनु गरे भन्ने दावी पुग्न सक्तैन । लिखत पारित नभई कपाली भएपछि जग्गाको स्वामित्व मेरै हुन आई घर खेतहरू रू. २१,०००। मा गिरबहादुरलाई रू. २१,०००। मा अमृतालाई ०३३।१।२८ मा राजीनामा दिई सो राजीनामा पारित गराई पाउँ भन्ने उजूर दिई ०३२।२।१५ मा पारित हुने ठहरी फैसला भए पनि पारित गराउने म्याद नाघी कपाली भइसकेकोले दोहरा बिक्रीको संज्ञा दिन नमिल्ने हुँदा वादीको उजूर खारेज गरिपाउँ म गिरबहादुरको व्यहोरा उल्लिखित जग्गा बलबहादुरबाट मैले र श्रीमतीले राजीनामा गराई लिई म समेतको उजूर परी ०३४।२।१५ मा पारित हुने ठहरी फैसला भए तापनि पारित गराई लिन मञ्जूर नभई पारित गरी लिने म्याद गुज्रीसकेको छ वादीलाई जग्गा राजीनामा गरी दिएको कुरा म तथा मेरो श्रीमतीलाई थाहा हुन नसक्ने भएकोले मेरो उपर दोहोरा बिक्रीमा दावी पुग्न नसक्ने भन्ने समेत प्रतिवादी बलबहादुर भण्डारी र गिरबहादुरको संयुक्त प्रतिउत्तर पत्र ।

       ४. प्र.बलबहादुरले वादी ऋषिराम भण्डारीलाई बिक्री गरेको घर जग्गा दोहरा पारी प्र.गिरबहादुर अमृतादेवीलाई बिक्री गरेको ठहर्छ । गिरबहादुरको लिखतको रुपैयाँ दावी लिई आएको बखत विचार हुने नै हुँदा वादी दावी अनुसार सजाय हुने भन्ने कानुनमा नपाइनाले गिरबहादुर उपर वादी दावी पुग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ । प्र.बलबहादुर के बिगो बमोजिम रू. ४२,०००। जरिवाना हुन्छ भन्ने समेत प्यूठान जिल्ला अदालतको ०३५।१०।१४ को फैसला ।

       ५. मलाई सजाय गरी फैसला गरेको त्रुटि छ बदर गरिपाउँ भन्ने समेत प्र.बलबहादुर भण्डारीको र जालसाज गरेमासमेत गिरबहादुरसमेतलाई सजाय गरिपाउँ भन्नेसमेत वा.ऋषिरामको पुनरावेदन ।

       ६. शुरू जि.अ.ले गरेको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत सु.प.क्षे.अ.को ०३८।५।१८ को फैसला ।

       ७. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव ठहर्छ भनी यस अदालत डिभिजन बेञ्चबाट मिति २०३९ साल आश्विन ७ गते फैसला भएको रहेछ ।

       ८. डिभिजन बेञ्चबाट फैसला भएको उक्त मुद्दा फुल बेञ्चबाट दोहर्‍याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई आए बमोजिम प्रस्तुत मुद्दामा यस बेञ्चमा पेश हुन आएको छ । यसमा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले र विपक्षी वादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले गर्नु भएको बहस समेत सुनियो ।

       ९. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा यस अदालतको डिभिजन बेञ्चबाट गरेको निर्णय ठीक छ छैन हेर्नु परेको छ । यसमा प्रतिवादी बलबहादुर भण्डारीले वादी ऋषिराम भण्डारीलाई मिति ०३०।६।११ मा रू. ५५,०००। मा राजीनामा गरी दिएको घर जग्गा मिति ०३३।१।२८।२ मा गिरबहादुर र निजकी एकाघरकी स्वास्नी अमृता क्षेत्रीनीलाई रू. ४२,०००। मा दोहोरो राजीनामा गरी दिएकोले उक्त राजीनामा वातिल गरी सजाय समेत गरिपाउँ भनी वादीले दावी लिएको र राजीनामाको लिखत पारित हुने ठहरी फैसला भए तापनि यी फिरादीले पास गराई लिन नसकेकोले उक्त लिखत कपाली हुने भएको र यस्तो कपाली लिखतबाट लिखत बमोजिमको जग्गामा फिरादीको हक पुग्न नसक्ने भएकोले दोहोरा बिक्री लिनुदिनु गरे भन्ने वादी दावी पुग्न सक्दैन भन्ने जिकिर प्रतिवादीले लिएको देखिन्छ ।

       १०. अतः सर्वप्रथम प्रस्तुत मुद्दामा दोहरो लिखत के हो ? भन्ने प्रश्नको निराकरण गर्नुपर्ने हुन आएको छ । मुलुकी ऐन, लेनदेन व्यवहारको २५ नं. मा दोहोरो लिखतको बारेमा व्यवस्था गरेको पाइन्छ । जस अनुसार एकालाई लिखत गरी दिएको अचल दोहोरो पारी अरूलाई कुनै व्यहोराले लेखी दिनु हुँदैन । त्यस्तो दोहरी परेकोमा जसको लिखतको मिति अघिको छ उसैको सदर हुन्छ । यस ऐन अनुसार अचल सम्पत्ति एकालाई लिखत गरेर दिएको छ र त्यही सम्पत्ति अर्को व्यक्तिलाई कुनै पनि व्यहोराले लिखत गरी दिइन्छ भने त्यो दोहोरो लिखत हुन्छ । पछिल्लो लिखत गरी दिने कार्य गर्नासाथ त्यो क्रिया दोहोरो लिखत हुन जान्छ चाहे त्यो पहिलेको लिखत रजिष्ट्रेशन पास नभएको किन नहोस् । तसर्थ अघिल्लो लिखत रजिष्ट्रेशन पास हुन नसकेको स्थितिमा त्यही सम्पत्ति अरूलाई लिखत गरेर दिइन्छ भने त्यस्तो स्थितिमा भएको लिखतलाई दोहोरो लिखत भन्न मिल्दैन भन्ने निवेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताको तर्कसँग सहमत हुन सकिएन अतः प्रतिवादी बलबहादुरले वादी ऋषिराम भण्डारीलाई बिक्री गरेको घर जग्गा दोहोरो पारी प्र.गिरबहादुर अमृतादेवीलाई बिक्री गरेको ठहर्‍याएको र प्रतिवादी बलबहादुरलाई सजाय हुने ठहर्‍याएको शुरू र सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्‍याएको डिभिजन बेञ्चको फैसला मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गर्नु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. पृथ्वीबहादुर सिंह,

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०४१ साल फाल्गुण १५ गते रोज ३ शुभम् ।