September 27, 1963
Created by nepalarchives

निर्णय नं. २१३ – जग्गा जालसाजी

निर्णय न. २१३            ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री वाशुदेव शर्मा...

निर्णय न. २१३            ने.का.प. २०२०

फुल बेञ्च

माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

मुद्दा : जग्गा जालसाजी

 

१.    म्याद नाघेको निवेदन दिएको १५ दिन सम्ममा निस्सा लिई हाजिर हुन आए तारेखमा राखी कारवाई गर्न बाधा नहुने । ५५ नं. ऐनमा थामी पाउने म्याद नाघेको १५ दिन सम्ममा निस्सा लिइ आएमा धरौटी तारेखमा राखी बुझी कानूनबमोजिम गर्नुपर्ने व्यवस्था भएकोले थामी पाउने अन्तिम दिनमा निवेदन दिएकोमा सो अवधि नाघेको १५ दिन भित्र र थामी पाउने अवधि नपुग्दै अगाडी नै निवेदन दिएकोमा सो निवेदन दिएको १५ दिन सम्ममा निस्सा लिई हाजिर हुन आएमा अगाडि आदेश भईसकेको वा नसकेकोमा समेत उक्त ऐनबमोजिम तारिखमा राखी कारवाई गर्न बाधा देखिँदैन ।

(प्रकरण नं.२)

 

आदेश

      १.     हेमकुमारीसँगको जग्गा जालसाजी मुद्दामा ०२०।५।३० गतेको तारेख पहिला पटक परी गुज्य्रो थामी पाउँ भनी महेन्द्रनारायणको वारिस शान्तनारायणले ०२०।६।१।३ मा दिएको निवेदन फाँटमा दाखिल हुन आई पेश हुँदा थामी दिनु भन्ने २०।६।४ मा तोक भएको ।

      सो दिन निज निवेदक हाजिर हुन नआई ०२०।६।७।२ मा मात्र हाजिर हुन आएकोले थामिने आदेश भएको दिनमा हाजिर हुन आएमात्र तारिखमा राख्ने वा अ.बं. ५५ बमोजिम थामी पाउने म्याद गुज्रेको वा निवेदन दिएको १५ दिनसम्म निस्सा लिई आएमा तारिखमा राख्न मिल्ने नमिल्ने के हो ? भन्ने सम्बन्धमा ऐनमा प्रष्ट नखुली अडबड परेकोले निर्णय निमित्त बेञ्चमा पेश गर्नु भन्ने ०२०।६।९।४ मा का.मु. रजिष्ट्रारबाट तोक भई निकासा निमित्त पेश हुन आएको यसमा अदालती बन्दोवस्त ६२ नं. मा नालिस अपील गर्ने गुज्रेको हदम्याद थामी दिने आदेश भएकोमा सो आदेश भएका मितिले १५ दिन भित्र अड्डामा हाजिर भए मात्र सो हदम्याद थामिन्छ भन्ने उल्लेख भएको । म्याद तारेख थामिएकोमा प्रष्ट खुलेको देखिँदैन तापनि अदालती बन्दोबस्तको ५५ नं. मा थामी पाउने म्यादसम्म डिसमिस गर्न र फैसला गर्न हुँदैन । सो म्याद नाघेको १५ दिन सम्ममा म्याद तारिख थाम्ने निवेदनपत्र पठाएको निस्सा लिई झगडीया हाजिर हुन आए निजलाई धरौट तारेखमा राखी बुझी कानूनबमोजिम गर्नुपर्छ भन्नेसमेत उल्लेख भएको देखिन्छ ।

      २.    उक्त ५५ नं. ऐनमा थामी पाउने म्याद नाघेको १५ दिनसम्ममा निस्सा लिई आएमा धरौटी तारेखमा राखी बुझी कानूनबमोजिम गर्नुपर्ने व्यवस्था भएकोले थामी पाउने अन्तिम दिनमा निवेदन दिएकोमा सो अवधि नाघेको १५ दिन भित्र र थामी पाउने अवधि नपुग्दै अगाडि नै निवेदन दिएकोमा सो निवेदन दिएको १५ दिन सम्ममा निस्सा लिई हाजिर हुन आएमा अगाडि आदेश भैसकेको वा नसकेकोमा समेत उक्त ऐनबमोजिम तारिखमा राखी कारवाई गर्न बाधा देखिँदैन ।

      ३.    प्रस्तुत निवेदक निवेदनपत्र दिएको १५ दिन भित्रैमा हाजिर हुन आएको देखिँदा तारिखमा राखी कानूनबमोजिम गर्नु । यो आदेशको जानकारीका निमित्त फाँट फाँटमा सर्कुलर हुन रजिष्ट्रार अफीसमा सूचना दिनु ।

 

इति सम्वत् २०२० साल आश्विन ११ गते रोज ६ शुभम् ।