January 7, 1985
Created by nepalarchives

निर्णय नं. २१२० – हकसफा

निर्णय नं. २१२० ने.का.प. २०४१             अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको दे.पु.नं....

निर्णय नं. २१२० ने.का.प. २०४१             अङ्क ९

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०३९ सालको दे.पु.नं. ४५७

मुद्दा : हकसफा

पुनरावेदक/वादी : रूपन्देही जिल्ला सिलोटिया गा.पं. वडा नं. ३ बस्ने गणेशलाल भैया मरी मु.सु.गर्ने विहारीलाल भैया श्रीवास्तव

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ. मर्चवारकटवा गा.पं. वा.नं. १ बस्ने अमरनाथ दुवे

ऐ ऐ बस्ने समानाथ दुवे

ऐ ऐ बस्ने तयनाथ दुवे

ऐ सिलोटिया गा.पं. वडा नं. ३ बस्ने महादेव प्रसाद भैया

फैसला भएको मिति : २०४१।९।२४।२ मा

§  थैली थाहा पाएपछि म्यादभित्रै धरौटी राखेको अवस्थामा निखन्न पाउँदैन भन्न नमिल्ने ।

(प्रकरण नं. १४)

पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह

उल्लेखित मुद्दा : x

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षे.अ.को फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमती प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

          २.   मुन्नालालको छोरा कान्तालाल गणेशलाल हो कान्ताको छोरा महादेवलालले मर्चवारमौजे कटवाको ज.वि.५१९१७ मिति ०२९।११।२ मा समानाथ दुबे समेत जना ३ लाई बिक्री गरेको थैली थाहा हुन नसकेकोले प्रतिवादी परेपछि थैली दाखिल गर्न पाउने लेनदेन व्यवहारको १६ नं. को सुविधा प्राप्त हुने हुनाले फिराद गरेको छु उक्त जग्गा निखनाई पाउँ भन्ने समेत ०३०।५।१९ को फिराद ।

          ३.   महादेवलाल भैयाले हामीहरूसँग रु.२१९९९। लिई ज.वि.५१९१७ मिति ०२६।१।८।१ मा राजीनामा गरी दिनु भई हामीहरूको राजीनामा पास गराई पाउँ भन्ने मुद्दा परी ०२९।५।२०।२ का अदालतका फैसला बमोजिम ०२९।१।२२ मा पास भएको कुरा वादीले सहजै थाहा पाउन सक्ने थाहा पाइन भन्ने वादी दावी झुठ्ठा र वादी, महादेवको हकवाला वा नेपालको नागरिक समेत नभई भारतबाट आएको हुनाले समेत हक निखन्न दिन नपर्ने भन्ने समेत प्रतिउत्तर पत्र ।

          ४.   वादीले राखेको थैली प्रतिवादी समानाथ दुबे अमरनाथ दुबे र तयानाथ दुबेले बुझी लिनु पर्ने र वादी दावीको जग्गा वादीले निखन्न पाउने ठहर्छ भन्ने समेत रुपन्देही जि.अ.को ०३१।१२।५ को फैसला ।

          ५.  हकवाला हो होइन भन्ने निर्णय गर्नुपर्ने सो नगरी निखन्न दिने ठहराएको इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरूको पुनरावेदन ।

          ६.   रजिष्ट्रेशनको ३५ नं. को व्यवस्था अनुसार वादीले भूमिप्रशासन कार्यालय रुपन्देहीमा निखनाई माग्न थैली धरौट राखी कारवाही नचलाई फिराद गरेको रजिष्ट्रेशनको ३५ नं. को प्रतिकूल देखिनाले वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३४।१।७।३ को फैसला ।

          ७.  सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिने सर्वोच्च अदालतको ०३४।८।१७।६ को आदेश ।

          ८.   वादी दावी खारेज गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३४।१।७।४ को फैसला बदर गरिएको छ । कानुन बमोजिम इन्साफ गर्नु भनी मिसिल पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।७।१३।२ को फैसला ।

          ९.   रजिष्ट्रेशनको ३९ नं. बमोजिम लिखत सारी थैली पत्ता लगाई मुख मिले रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राख्ने र नमिले अदालतमा नालेस गर्ने कार्यविधि शुरु गर्नुपर्नेमा सो नगरी अदालतमा प्रवेश गरेकोले लेनदेन व्यवहारको १६ नं. का सुविधा पाउन सक्ने भएन । वादी दावी पुग्न सक्दैन भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३६।४।१८।६ को फैसला ।

          १०.  सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा तत्काल प्रचलित लेनदेन व्यवहारको १६ नम्बर बमोजिम प्रतिउत्तर परेपछि वादीले थैली धरौट राखेको देखिएकोले निखन्न पाउने निर्णय गर्नुपर्नेमा सो नगरी वादी दावी नपुग्ने गरेको क्षे.अ.को निर्णय त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिने भन्ने मा.न्या. श्री बासुदेव शर्माबाट र क्षेत्रीय अदालतले त्यसबेला कायम रहेको नजीरको कानुनी स्थितिलाई अबलम्बन गरी गरेको निर्णयलाई कानुनी त्रुटि भएको भन्ने मिल्ने देखिँदैन । तसर्थ पुनरावेदनको अनुमति दिन मिलेन भन्ने मा.न्या. श्री हरगोविन्द सिंह प्रधानबाट राय भई सर्वोच्च अदालत फुल बेञ्चमा पेश हुँदा लेनदेन व्यवहारको १६ नं. को गम्भीर कानुनी त्रुटि गरी निर्णय गरेको देखिएकोले पुनरावेदनको अनुमति दिईएको छ । पुनरावेदनको अनुमति प्रदान गरेको मा.न्या. श्री बासुदेव शर्माको राय मनासिव भई मिति ०३९।७।१६।३ मा आदेश भएको रहेछ ।

          ११.  पुनरावेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले फिराद गर्दाका अवस्था थैली थाहा हुन नसकेको प्रतिवादी परी थैली थाहा भएपछि धरौट राखेको छ । निखन्न नपाउने भन्न मिल्दैन । वादी दावा नपुग्ने गरेको क्षेत्रीय अदालतको निर्णय मिलेको छैन । वादी दावी बमोजिम हक सफा गर्न पाउने निर्णय हुनुपर्छ भन्ने समेत र विपक्षी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंहले थैली पत्ता लगाई फिराद साथ धरौट राख्नु पर्छ । फिराद साथ थैली धरौट नराखेमा निखन्न पाउन सक्दैन । तसर्थ फिराद दावी नपुग्ने गरेको निर्णय मिलेको छ भन्ने बहस समेत बहस गर्नुभयो ।

          १२.  प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको रेकर्ड मिसिल प्राप्त हुन नआएको भनी शुरु मिसिल साथ रही पेश हुनआएकोमा उक्त क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

          १३.  यसमा निर्णयतर्फ हेर्दा लेनदेन व्यवहारको १६ नं. को सुविधा पाउन नसक्ने भनी गरेको निर्णयमा लेनदेन व्यवहारको १६ नं. को गम्भीर त्रुटि भएको भनी पुनरावेदनको अनुमति प्रदान भएको देखिन्छ ।

          १४.  प्रस्तुत मुद्दाको फिराद पर्दाका अवस्था कायम रहेको लेनदेन व्यवहारको १६ नं. हेर्दा थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको पैंतीस दिनभित्र थैली अड्डामा ल्याई धरौट राख्नुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । हक निखनी लिन अंक बताई दिनुहोस् भन्दा निखन्न दिन्नौं अंक बताउन खाँचो छैन भनी जवाफ गरे लिखत पत्ता लगाई निखन्नलाई भरमगदुर प्रयास गर्दा लिखत पास भएको कार्यालय पत्ता लगाउन सकिँन भन्दै तत्कालिन लेनदेन व्यवहारको १६ नं. को आधारमा प्रस्तुत फिराद परेको पाइन्छ । प्रतिउत्तर परी थैली थाहा पाएपछि थैली समेत ऐनका म्यादभित्र धरौट राखेको देखिन्छ । फिराद गर्दाका अवस्था वादीलाई थैली थाहा भएको भन्ने र निखन्न दिनु नपर्ने कुराको तथ्ययुक्त सबूत प्रमाण प्रतिवादीले दिन सकेको छैन । यस्तोमा प्रतिउत्तर परे थैली थाहा पाएपछि म्यादभित्रै धरौटी राखेको अवस्थामा निखन्न पाउँदैन भन्न नमिल्ने हुँदा वादी गणेशलालले राखेको थैली प्रतिवादीहरूले बुझी लिनुपर्ने र वादी दावीको जग्गा वादीले निखन्न पाउने ठहराएको रुपन्देही जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ ।

          १५.  रुपन्देही जिल्ला अदालतको इन्साफ बदर गरी निखन्न नपाउने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

         

तपसील

देहायका प्रतिवादीहरूके पश्चिमाञ्चल क्षे.अ.का.०३४।१।७ का फैसलाले वादीले राखेको कोर्टफी रु.८९९।९६ वादीलाई भराउने गरेको लगत काटी दिने र पुनरावेदन गर्दा धरौट राखेको कोर्टफी रु.८९९।९६ देहाय बमोजिम प्रतिवादीहरूलाई फिर्ता दिने गरेकोमा सो बमोजिम गर्नु परेन सो लगत व्यहोरा जनाई लगत काटिदिनु भनी रुपन्देही जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु ……………… १

प्र.अमरनाथ दुबे के २९९।९६, प्र.समानाथ दुबे के २९९।९५, प्र.तयानाथ दुबे के २९९।९५

वादी पुनरावेदक गणेशलाल भैया मरी मु.स.गर्ने श्यामबिहारीलाल भैया श्रीवास्तवके फिराद गर्दा राखेको कोर्टफी रु.८९९।९६ र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१३४।९८ समेत जम्मा रु.१०३४।९४ देहायका प्रतिवादीहरूबाट भरी पाउने सो कोर्टफी मध्य प्रतिवादीहरुले शुरु उपर ०३२।१।८ मा पुनरावेदन गर्दा रुपन्देही जि.अ.मा धरौट राखेको कोर्टफी रु.८९९।९८ बाट र नपुग रु.१३४।९८ प्रतिवादीहरूबाट भराई पाउँ भनी वादीको ऐनका म्यादभित्र दर्खास्त परे दस्तुर केही नलिई धरौट रहेकोबाट र प्रतिवादीहरूबाट बराबरका दरले भराई दिनु र शुरु फैसलाले भराउने गरेको कोर्टफी धरौटबाट भरी भराउ हुने भई त्यसको लगत कट्टा गरी दिनु भनी रुपन्देही जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु …………………. २

प्र.अमरनाथ दुबे १, प्र.समानाथ दुबे १, प्र.तयानाथ दुबे १

वादीबाट धरौट रहन आएको थैली माथि लेखिए बमोजिम प्रतिवादीहरूले बुझी लिनुपर्ने ठहरी फैसला भएकोले पश्चिमाञ्चल क्षेत्रीय अदालतका ०३४।१।७ का फैसलाले वादीलाई फिर्ता दिने गरेको सो बमोजिम गर्नु पर्दैन सो फैसलाको लगत काटी शुरु रुपन्देही जि.अ.को ०३१।१२।५ का फैसलाले प्रतिवादीहरूलाई दिने गरेको लगत कायम राख्नु भनी रुपन्देही जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु………………… ३

देहायको प्रतिवादीहरूले पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१४३।९८ वादीबाट पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३६।४।१८ को फैसलाले भराउने गरेकोमा सो बमोजिम भरी भराउ गरी रहन परेन लगत काटी दिनु भनी रुपन्देही जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु ………………….४

प्र.अमरनाथ दुबे १, प्र.समानाथ दुबे १, प्र.तयानाथ दुबे १

वादी गणेशलाल भैयाको मु.स.गर्ने श्यामबिहारीलाल भैयाके अनुमतिद्वारा यस अदालतमा पुनरावेदन गर्दा ०३९।८।९ मा काठमाडौं जिल्ला अदालतमा रु.१३४।९८ धरौट राखेको देखिँदा सो धरौटी फिर्ता पाउँ भनी वादीको ऐनका म्यादभित्र दर्खास्त परे दस्तुर केही नलिई वादीलाई फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनु……..५

इन्साफ उल्टीमा पश्चिमाञ्चल क्षेत्रीय अदालतका देहाय बमोजिमका तत्कालिन न्यायाधीशहरूको रेकर्ड राख्नु …………………६

माननीय मुख्य न्यायाधीश श्री पृथ्वीबहादुर सिंह १, माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल १

मिसिल नियम बमोजिम गरी बुझाई दिनु……………… ७

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल पौष २४ गते रोज २ शुभम् ।