निर्णय नं. २०८० – उत्प्रेषण
निर्णय नं. २०८० ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको रिट...
निर्णय नं. २०८० ने.का.प. २०४१ अङ्क ८
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४० सालको रिट नं. १५३५
विषय : उत्प्रेषण
निवेदक : जि. धनुषा विन्धी गा.पं. वा.नं. २ बेला घर भइ जि.का. रामेछापको मुखिया योगेन्द्र शाह
विरुद्ध
विपक्षी : जि.का.सर्लाहीका मुखिया कन्हैयालाल श्रेष्ठ
बढुवा समिति, जि.का. सर्लाही
अञ्चलाधीश जनकपुर अञ्चालधीशके कार्यालय जलेश्वर
लो.से.आ. ज.का. जनकपुरधाम
आदेश भएको मिति : २०४१।७।३०।५ मा
§ मागको आकृति फाराम पठाई सकिएको पदमा स्थायी रुपले पद पूर्ति वा स्थायी सरुवा गर्न नमिल्ने ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्मा
उल्लेखित मुद्दा : x
आदेश
न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकारको रहेछ ।
२. लो.से.आ.को सिफारिशमा रा.प.अ.तृतीय श्रेणीको मुखिया पदमा मिति २०३२।६।१९ का दिन ज.अं.का.मा नियुत्ति गरियो । त्यसपछि मिति ०३८१२।१ को निर्णयले मेरा सरुवा समान पदमा जि.का.सर्लाहीमा गरियो । जि.का.सर्लाहीमा कामकाज गर्दै आएको अवस्थामा जि.का.सीमा प्रशासन ईकाई सर्लाहीको खरिदार पद १ खाली भएका हुनाले सो पदपूर्ति गर्नु पर्ने भएको हुँदा प्रतिशत निर्धारित गरिपाउँ भनी जि.का.सर्लाहीबाट मिति २०३९।५।६ मा लो.से.आ.मा पत्र पठाउँदा बढुवाद्वारा पूर्ति गर्नु भनी लेखी पठाइयो । प्रतिशत निर्धारण भएको बखतमा जि.का.सर्लाहीको मुखिया पद ४ को दरबन्दी मध्ये ३ पदमा म लगायतका ३ जना सेवारत नै रहेको र रिक्त पद १ को पदपूर्तिको लागि जि.का.सर्लाहीबाट लो.से.आ. ब.अं.का.मा मागको आकृति फाराम पठाई सकिएको हुनाले सो रिक्त पदमा लो.से.आ. बाट सिफारिश भई नआएसम्म स्थायी रुपले पदपूर्ति गर्न वा स्थायी सरुवा गरी पदपूर्ति गर्न नमिल्ने भनी लो.से.आ.ज.अं.का. बाट मिति ०३९।५।१ को पत्रद्वारा लेखी पठाइयो । लो.से. आ.बाट प्रतिशत निर्धारण भइसकेको अवस्थामा सो बढुवा प्रक्रियामा सरिक हुने गरी नयाँ कर्मचारी सरुवा गर्न नमिल्ने भनी लो.से.आ.के.का.बाट मिति २०३५।१२।५ मा परिपत्र भएकोले प्रतिशत निर्धारण पछि जि.का.सर्लाहीबाट मागको आकृति फाराम समेत दाखिल भइसकेको रिक्त मुखिया पदमा स्थायी मुखियालाई सरुवा गरी उल्लिखित निर्देशनहरूको बिपरीत बढुवा प्रक्रियामा नयाँ उम्मेदवारलाई सामेल गराउने प्रश्न उठ्दैन ।
३. जि.का.महोत्तरी कारागारका खरिदार पदबाट मुखिया पदमा डिमोसन गरिएका मुखिया कन्हैयालाल श्रेष्ठलाई पदपूर्तिका लागि मागको आकृति फाराम पठाई सकिएको र बढुवाका लागि प्रतिशत निर्धारण भई सकेपछि ज.अं.का.बाट मिति २०३९।५।८ को निर्णयले जि.का. सर्लाहीको सरुवाद्वारा पूर्ति हुन नसक्ने पदमा सरुवा गरी पठाइयो ।
४. यसरी प्रतिशत निर्धारण भइसकेपछि सरुवा गर्न लगाई सम्भावित उम्मेदवारमा समावेशित गराई नियम तथा लो.से.आ.को स्पष्ट निर्देशनहशरुको बिपरीत मु.कन्हैयालाल श्रेष्ठलाई रिक्त खरिदार पदमा बढुवा गर्ने भनी समितिबाट मिति २०४०।१।२३ मा सूचना प्रकाशित गरियो । उक्त अन्यायपूर्ण निर्णय उपर जनकपुर अञ्चलाधीशज्यू समक्ष पुनरावेदन गरे समितिको मिति ०४०।१।२३ को बढुवा सिफारिशमा म्यादभित्र म बाहेक अन्य कुनै पनि सम्भावित उम्मेदवारहरूको उजूरी परेन । मिति २०४०।४।४ का दिन जि.का.सर्लाहीका मु.सुधाकर झाले बढुवा सन्दर्भमा जानकारी नदिई बढुवा सिफारिश गरिएको कुरा आज मात्र थाहा पाएको हुनाले सो बढुवा सिफारिश बदर गरिपाउँ भनी आ.वा.पठाएको हुँदा नियमावल्किो नियम ३,४ (४) अन्तर्गत सम्भाव्य उम्मेदवारलाई जानकारी नदिईको हुनाले पुनः बढुवा सन्दर्भमा नियम अनुसार कारवाही गर्न फाइल स.जि.का.मा पठाउने भनी टिप्पणीं सदर गरी फाइल जि.का. सर्लाहीमा पठाइयो । मु.कन्हैयालाल श्रेष्ठलाई बढुवा दिन मलाई बढुवा प्रक्रियामा सामेल गर्न नपरोस भन्ने हेतुले जि.का.रामेछापको मुखिया पदमा सरुवा गरियो ।
५. अधिकार क्षेत्रको अतिक्रमण गरी पुनः बढुवाको लागि कारवाही गर्न पठाइएको अञ्चलाधीश कार्यालयको निर्णय पूर्णतया अनधिकृत हुँदा अ.बं.३५ नं. तथा नि.से.नि.को नियम ३.५(८) र (९) को प्रत्यक्षतः त्रुटिपूर्ण छ । प्रतिशत निर्धारण भइसकेको अवस्थामा बढुवा प्रक्रियामा सरिक हुने गरी कुनै सम्भाव्य उम्मेदवार हुन सक्ने व्यक्तिलाई सरुवा गर्न नमिल्ने भनी लो.से.आ.बाट ०३५।१२।५ मा परिपत्र भएको छ । मु.कन्हैयालाललाई बढुवा प्रक्रियामा सामेल गराई बढुवा सिफारिश गरिएको हुनाले लो.से.को नीति निर्देशनको बिपरीत बढुवा प्रक्रियामा सरिक गरी बढुवा सिफारिश गरिएको सम्पूर्ण कारवाही बदरभागी छ । अतः समितिको मिति २०४०।१।२१ को बढुवा सिफारिश मु.कन्हैयालाल श्रेष्ठको सरुवा अञ्चलाधीशको पुनः बढुवा कारवाही गर्ने पठाउने भन्ने मिति २०४०।४।१२ निर्णय समेत बदर गरी प्रतिशत निर्धारणका अवस्थामा कायम रहेका मुखियाहरूको मूल्यांकन गरी बढुवा गर्नु भनी जि.का.सर्लाही र ऐ. अन्तर्गतको बढुवा समितिको नाउँमा परमादेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।
६. विपक्षीहरूबाट लिखितजवाफ मगाई नियम बमोजिम पेश गर्नु भन्ने स.अ.सिंगलबेञ्चको आदेश रहेछ ।
७. यस कार्यालयबाट हालसम्म भएका काम कारवाहीहरू कानुन बमोजिम कै छन् र यस कार्यालयको काम कारवाहीले विपक्षी निवेदकको हकमा कुनै प्रतिकूल प्रभाव नपरेको हुँदा रिट निवेदन खारेज गरी पाउन सम्मानित अदालत समक्ष अनुरोध छ भन्ने लो.से.आ. जनकपुर अञ्चल कार्यालयको लिखित जावफ रहेछ ।
८. रिक्त खरिदार पदमा बढुवाद्वारा पूर्ति गर्न लो.से.आ.बाट ०३९।५।१० मा प्रतिशत निर्धारण भई आएको र मु.कन्हैयालालको सरुवा ज.अं.का.को ०३९।५।८ को निर्णयबाट सरुवा भइसकेको र सरुवा भई यस कार्यालयमा कार्यरत सम्भावित उम्मेदवारले प्रकाशित सूचनाको म्यादभित्र बढुवा फाराम भरी पेश गरेको आधारबाट पर्न आएको बढुवा फाराम समितिमा पेश भई समितिको निर्णय अुनसार बढुवाको सिफारिश भएको हो । निज निवेदक मु.योगेन्द्र शाहको हक हनन् हनु काम कारवाही नभएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत जि.का.सर्लाहीको प्र.जि.अ.को लिखितजवाफ रहेछ ।
९. रिक्त ख.पदमा १ को सम्भावित उम्मेदवार मलाई कुनै जानकारी नदिई बढुवाद्वारा पूर्ति गरिएकोले बदर गरिपाउँ भन्ने मु.सुधाकर झाको मिति ०४०।४।४ को आ.वा.समेत प्राप्त भएको र फायलबाट पनि निजलाई जानकारी दिएको नदेखिएकोले पुनः बढुवाको लागि नियमानुसार पुनः कारवाही गर्न जि.का.सर्लाहीमा सम्बन्धित फायलहरू वापस पठाई दिने भन्ने ०४०।४।१२ मा निर्णय गरिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत जनकपुर अञ्चलाधीश कार्यालयको लिखित जवाफ रहेछ ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा निवेदकको वा मदन राय यादवलाई बेञ्चबाट बोलाउन लगाउँदा उपस्थित नभएको र निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता कमल नारायण दास र विपक्षी अञ्चलाधीश कार्यालय समेतको तर्फबाट उपस्थित विद्वान वरिष्ठ सरकारी अधिवक्ता केदारप्रसाद शर्माको वहस जिकिर समेत सुनियो ।
११. प्रस्तुत विषयमा निवेदकका माग बमोजिमको आज्ञा, आदेश जारी हुने हो होइन निर्णय दिनु पर्ने हुन आयो ।
१२. यसमा प्रतिशत निर्धारण भएको बखतमा जि.का.सर्लाहीको मुखिया पद ४ को दरबन्दी मध्ये ३ पदमा म लगायतका ३ जना सेवारत नै रहेको र रिक्त १ पदको पदपूर्तिका लागि जि.का.सर्लाहीबाट लो.से.आ.ज.अं.का.मा मागको आकृति फाराम पठाई सकिएको हुनाले सो रिक्त पदमा लो.से.आ.बाट सिफारिश भई नआएसम्म स्थायी रुपले पदपूर्ति गर्न वा स्थायी सरुवा गरी पदपूर्ति गर्न नमिल्ने भनी लो.से.आ.ज.अं.का.बाट मिति २०३९।५।१ को पत्रद्वारा लेखी पठाएको समेत थियो भन्ने रिट निवेदनको प्रकरण ४ मा र लो.से.आ.बाट प्रतिशत निर्धारण भइसकेको अवस्थामा सो बढुवा प्रक्रियामा सरिक हुने गरी नयाँ कर्मचारी सरुवा गर्न नमिल्ने भनी लो.से.आ. के.का.बाट मिति २०३५।१२।५ मा परिपत्र भएकोले प्रतिशत निर्धारण पछि जि.का.सर्लाहीबाट मागको आकृति फाराम समेत दाखिल भइसकेको रिक्त मुखिया पदमा स्थायी मुखियालाई सरुवा गरी उल्लिखित निर्देशनहरूको बिपरीत बढुवा प्रक्रियामा नयाँ उम्मेदवारलाई सामेल गराउन नमिल्ने भन्ने प्रकरण ५ मा उल्लेख भएकोमा यस तर्फ विचार गर्दा रिक्त मुखिया पद १ को लागि मागको आकृति फाराम पठाई सकिएको पदमा स्थायी रुपले पदपूर्ति वा स्थायी सरुवा गर्न नमिल्नेमा सरुवा गरी कन्हैयालाललाई उम्मेदवार बनाएको नमिलेको र प्रतिशत निर्धारण भई मागको आकृति फाराम समेत दाखिल भइसकेपछि जनकपुर अञ्चलाधीश कार्यालयले ०४०।४।१२ मा गरेको निर्णय लोकसेवा आयोगको ०३५।१२।२ को परिपत्र बिपरीत भएकोले उत्प्रेषणको आदेश जारी गरी कन्हैयालाललाई सरुवा गर्ने गरेको कारवाही ०४०।४।१२ को निर्णय समेत बदर गरी दिएको छ । कानुन बमोजिम गर्नु भनी परमादेशको आदेश समेत दिने ठहर्छ । जानकारीको लागि यो आदेशको प्रतिलिपी सम्बन्धित कार्यालयमा पठाउन महान्यायाधिक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४१ साल कार्तिक ३० गते रोज ५ शुभम् ।