निर्णय नं. २०७८ – कर्तव्य ज्यान
निर्णय नं. २०७८ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं....
निर्णय नं. २०७८ ने.का.प. २०४१ अङ्क ८
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको फौ.पु.नं. ४३६।४३७।
ऐ. ऐ. सा.नं. १७१
मुद्दा : कर्तव्य ज्यान
वादी : ठगु बुढाथोकी मतवालाको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
पुनरावेदक/प्रतिवादी : सल्यान मार्के गा.पं. वार्ड नं. ७ सिमखर्क घर भै हाल सल्यान कारागारमा कैद परेको बन्दी ठगु बुढाथोकी
ऐ ऐ बस्ने डोटु बुढाथोकी मतवाला
ऐ ऐ बस्ने राते बुढाथोकीनी
ऐ ऐ बस्ने माली बुढाथोकीनी
सल्यान मार्के गा.पं. वार्ड नं. ७ सिं खर्क घर भै हाल जिल्ला कार्यालय कारागार शाखा सल्यानमा थिनएको ठगु बुढाथोकी मतवाला
विरुद्ध
विपक्षी/वादी : श्री ५ को सरकार
पु.वे./प्रतिवादी : सल्यान मार्के गा.पं. वार्ड नं. ७ सिमखर्क बस्ने डोटु बुढाथोकी
विरुद्ध
विपक्षी/प्रतिवादी : श्री ५ को सरकार
फैसला भएको मिति : २०४१।७।१४।३ मा
§ हतियार प्रयोग गरी कर्तव्य गरी मार्नेलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम सर्वस्व सहित जन्मकैद गर्ने गरी गरेको फैसला सदर ठहर्छ ।
(प्रकरण नं. १८)
प्रतिवादी तर्फबाट : विद्वान वैतनीक अधिवक्ता श्री विनोद रोका
विपक्षी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. बासुदेव शर्मा : श्री मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले मिति २०४० साल जेष्ठ १५ गते शुरु सल्यान जिल्ला अदालतले गरेको फैसलालाई सदर गरी फैसला भएको सो उपर प्र.मध्येका डोटु बुढाथोकी र ठगु बुढाथोकीले म.प.क्षे.अ.उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण यस प्रकार छ ।
२. मिति २०३६।१०।४ गते लोकबहादुर बुढाथोकी नेपालगन्ज तर्फ गएको घरमा निजको स्वास्नी छोरा मात्र भएको ऐ. ५ गते विहानदेखि ऐ. ६ गते तक झ्यालढोका बन्द भएको थाहा पाई प्र.पं.समेतलाई जम्मा गरी ऐ. ८ गते ढोका हेर्दा तल्लो छेडीमा मरिहरेको सेती र रामेको लास देखियो अन्यायवाला डोटु र सेती समेतको अगाडिदेखिको रिसइवी भएकोले निजैको कर्तव्यबाट मरेको ठहर्याई जाहेर गर्न आएको छु भन्ने ठगु बुढाथोकी मतवालाले मिति ०३६।१०।९ मा जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको जाहेरी दर्खास्त । टाउको पश्चिम दक्षिण खुट्टा पूर्व उत्तर भएको मुख उत्तर फर्केको दायाँ आँखा फुटी ४” ईन्च लामो १।२” ईन्च चौडा १” ईन्च गहिरो घाउ–१’ आँखा मुनि नाख र आँखाको कुनामा १” ईन्च लम्बा –१ई. चौडा–१” इन्च गहिरो घाउ १” दाहिने आँखाको आँखिभौदेखि नाक माथि हुँदै देब्रे आँखाको शुरु सम्म ४” ईन्च लामो १।२ ईन्च चौडा १ ईन्च गहिरो घाउ–१ तालुमा २” ईन्च १
चौडा लम्बा १
इन्च गहिरो घाउ १ लासको नाकको देब्रे प्वालबाट रगत र पानी झरेको मुख खुला भै माथिका ५ वटा दाँत देखिएको मुखबाट रगत कान रगतले पोतिएको घाँटीमा ४ ईन्च, लम्बा १ ईन्च चौडा ३
गहिरो धारिलो हतियारले हानेको घाउ, छातीको बीचमा ८ ईन्च लम्बा ३ इन्च चौडा रातो डाम गुदद्वारबाट दिसा निस्केको पिठ्यूको बीच भागमा ३ ईन्च लम्बा १ इन्च चौडा घाउ भएको जमीनमा ठाउँ ठाउँमा रगत लागे भन्ने मृतक सेती बुढाथोकीनीको लासप्रकृति विवरण साथै उक्त सेतीको लासको ढाडदेखि १
हात पूर्वतर्फ वालक रामे बुढाथोकीको लास रहेको निधार आँखीभौमा रगतका छिटा गुदद्वारदेखि दिशा छोडेको घाँटीमा ५ इन्च लामो १।२ ईन्च चौडाई ३ ईन्च गहिराई भएको धारिलो हतियारले काटेको घाउ पिठ्यूमा ४ इन्च लामो ३
ईन्च चौडाको रातो डाम भएको लासको प्रकृति उल्लेख भएको मिति ०३६ माघ १० गतेको संयुक्त लासप्रकृति विवरण तथा घटनास्थल विवरण ।
३. डोटु बुढा र म निजको स्वास्नी काली समेत भई सेतीलाई मार्न जान लाग्दा बीच बाटोमा मेरो स्वास्नी राते पनि खडा भएको रहिछ निजलाई समेत लिई घरको बन्द ढोका खोली भित्र पस्दा सेती र निजको बच्चा सुती सकेको रहेछन् । कालीले कपाल समाती लुछ्दा सेती उठी दुबै लछार पछार गर्न लागेको बेलामा रामेलाई नमारी हुँदैन भनी मैले लिई राखेको खुकुरीले कालीले ढलाएकी सेतीको ठाउँको देब्रे हातले समाती उत्तानो पारी खुकुरीले रेटी सेतीको घाँटी काटे प्राण जान लागेको बेलामा डोटुले बन्चरो समाई सेतीको आँखा नेर निधार र टाउकोमा हान्यो सो अवस्थामा निज सेतीको बच्चा रामे कराएकोले ढोटुले हातले हानी पल्टाई दिई र अब यसलाई पनि मार्नु पर्यो भनी हातमा लिई राखेको खुकुरीले काटी रेटी मारेका हौं निज सेती र निज सेतीको छोरा रामेलाई मार्नमा अरुको सहमत छैन भन्ने समेत व्यहोराको प्र.ठगु बुढाथोकीले मिति ०३६ साल माघ १ गते प्रहरीमा गरेको बयान कागज ।
४. ठगु बुढाथोकी समेतका सल्लाहले सेतीलाई मारौं भनी निजको घरमा जाँदा उनीहरू मस्तनिद्रमा सुतेका थिए मैले कपाल उखेल्दा निद्राबाट बिउंझी उठी र भनाभन हुँदा हामीमा लछारपछार भै उत्तानो परी पल्टी राखेको सेतीलाई ठगु बुढाथोकीले हातमा लिइराखेको खुकुरीले घाँटी काटेपछि मेरो लोग्नेले सेतीको घरमा रहेको बञ्चरो लिई आँखा टाउकोमा हाने निजको बच्चा खुबै कराउँदै थियो ठगु बुढाथोकीले घाँटी रेटी मारेका हुन् हामी बाहेक मार्नमा सहयोगी मतियारा कोही छैनन् भन्ने समेत व्यहोराको मिति ०३६।१०।१० मा काली बुढाथोकीले प्रहरी समक्ष गरेको बयान कागज ।
५. डोटु मेरो लोग्ने ठगु र काली लोकबहादुर घरको ढोका खोली भित्र पसे र काली र सेतीको भनाभन भएको आवाज बाहिर म खडा भएको ठाउँमा सुनियो । त्यत्तिकैमा सेती रामेको आवाज आयो ढोका बन्द भएकोले भित्रको दृश्य देख्न पाइएन । त्यसपछि रुनु कराउनु गरेको अवाज बन्द भयो भित्र लौ मरी बोक्सीनी अब आनन्द भयो भन्दै तीनै जना बाहिर निस्के र यो कुरा कसैसँग नगर्नु भनेका थिए । मैले सेती र रामेलाई मार्नमा हात हालेकी छैन भन्ने समेत व्यहोराको मिति ०३६।१०।१० मा राते बुढाथोकीले प्रहरी समक्ष गरेको बयान ।
६. ठगु बुढाथोकी डोटु बुढाथोकी र मृतकको लोग्ने लोकबहादुरसँग अंशबण्डा सम्बन्धी झैझगडा भइरहेको र निजको स्वास्नी मृतक सेतीलाई बोक्सेनी भन्ने । यी सबै इवी लिई ठगु बुढाथोकी र डोटु राते वगली समेतले मृतक सेती र बच्चा रामे समेतलाई कर्तव्य गरी मारेकोमा पुरा विश्वास लाग्छ भन्ने सम्पूर्ण सरजमीनका मानिसहरूले बकी लेखी दिएको र पहिले देखिको कल झगडा भएको र सेती बोक्सीनी हो भन्ने रिसइवी लिई मृतकको लोग्ने घरमा नभएको मौका पारी ठगु बुढाथोकी काली समेत रातको समयमा मृतकको घरमा गई सर्वप्रथम कालीले सुतिरहेकी सेतीको कपाल लुछी लछार पछार गरी ढालेको अवस्था ठगु बुढाथोकीले पहिला घाँटी काटेको र रोइरहेको बच्चा रामे समेतको घाँटी काटी मारेको र अझै मरेकी छैन कि भनी डोटुले बन्चरोले र कालीले दाउरा समेतले हानी मारेको तथ्य संकलित सबूत प्रमाणबाट देखिन आएको र सो गरे गराएकोमा प्रतिवादी अपराधमा साविती भएको र ०३६।१०।४ गते राति सेतीका आमा छोरालाई ५ दिनसम्म कुनै किसिमको उजूर वाजुर नगरी परिपञ्च मिलाई सो कुरा दवाई डोटु बुढाथोकी भागी फरार भएको र आफू पनि अपराधबाट बच्छु कि भन्ने अभिप्रायले ठगु बुढाथोकी ०३६।१०।९ गते मात्र प्रहरीमा उजूर गर्न आएको देखिँदा जघन्य अपराध ज्यान मारी बच्छु कि भन्ने निजको उद्देश्य सफल हुन नसकी कर्तव्य गरी मारेकोमा सावित भएको हुँदा मुख्य हान्ने निज ठगु बुढाथोकी १ ठोगु बुढाथोकी १ डोटु बुढाथोकी १ काली बुढाथोकी १ समेत जना ३ लाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३ नं. को देहाय (१) अनुसार सजाय हुन र ठगुको स्वास्नी राते बुढाथोकीनी समेत उक्त अपराधमा पुर्व सहमति भएको देखिन हुँदा निज राते बुढाथोकीनीलाई पनि सोही ऐनको देहाय (१) अनुसारको सजाय माग दावी भएको ०३६।१०।१ को प्रहरी प्रतिवेदन ।
७. ०३६।१०।४ गते साँझ अं.५ बजे डोटुसँग भेट भई सेती बोक्सीनी छ त्यसलाई मारिदिए हाम्रो पनि उपाय लाग्छ भनी डोटुले भनेकोले म आफ्नु घरमा गई खुकुरी लिई डोटु र निजको स्वास्नी काली म समेत सेतीको घर गयौं डोटुले घरको ढोका लात्ताले हानी उघारी कालीभित्र पसी काली र सेतीका कपालको जगल्टा तानातान गरेपछि म र डोटु भित्र गई डोटुले सेतीकै घर लिस्नामुनि राखेको बन्चरो समाई सेतीलाई दायाँ निधारमा एक चोट हानी ढलेपछि मैले आफ्नो खुकुरीले घाँटीमा एकचोटी हानेर मारी त्यसपछि नाबालक छोरा रामे रुन लागि डोटुले मेरो खुकुरी हातबाट खोसी डोटुले नावालक रामेलाई घाँटी सेरी डोटुले र मैले मरी सक्यो भनेपछि कालीले मरेको छैन भनी सल्लाको दाउराले सेती र रामे लाई ३।३ पल्ट हानेपछि मरी सके भनी ढोका बन्द गरी ३ जना बाहिर आउँदा मेरो स्वास्नी राते सेतीकै घर आगन रातमा आएको देखी केही कुरा नगरी डोटु र काली आफ्नो घरतर्फ र म र मेरो स्वास्नी राते आफ्नो घर गयौं रातेले मार्नमा सहयोग गरेकी र केही भनेकी समेत होइन सेती रामेलाई कर्तव्य गरी मार्नेमा म डोटु काली बाहेक मतियार अरु कोही छैनन् भन्ने प्र.जाहेरवाला ठगु बुढाथोकीले ०३६।१०।१८ गते अदालतमा गरेको बयान ।
८. ०३६ साल माघ ४ गते लोग्ने ठगु घरमा आई डोटुको घरतर्फ जान लागेको देखेकीले खुकुरी नलैजाउ भनी भन्दा नमानी खुकुरी साथमा लिई डोटुको र तर्फ गए सुति हालेपछि दिशा लागि बाहिर आउँदा सेती जोडसँग रोए कराएको आवाज सुनेकोले दौड्दै सेतीको घर आँगन नेर आइपुगेपछि ठगु डोटु कालीलाई बाहिर आँगनमा देखे किन कराएकी हो भनी भन्दा सेती र रामेलाई खतम पारी दियो अब यहाँ बोल्ने काम छैन भनी भनेकोले लोग्ने ठगु र म घरतर्फ आयौं काली डोटु आफ्नो घरतर्फ गए लोग्ने ठगु डोटु काली ३ जनाले हतियारले हानी काटी कर्तव्य गरी मारेका हुन् मेरो कसूर अपराध केही नहुँदा फुर्सद गरिपाउँ कर्तव्य गरी मारेमा जाहेर गर्नुपर्छ भन्ने थाहा नहुँदा प्रकाश गरिन सहमति मतियार भएको छैन भन्ने राते बुढाथोकीले ०३६।१०।१८ गते अदालतमा गरेको बयान ।
९. ०३६ साल माघ ४ गेतका दिन ठगु र मेरो लोग्ने डोटुले सेतीलाई मार्ने सल्लाह गरेको रहेछन् ठगु र लोग्ने डोटु घरमा आई साँझ खानाखाई सेती बोक्सीनी छ । यसलाई नमारी हुँदैन भनेकोले डोटु, म ठगु समेत भई सेतीको घरमा गई डोटु र ठगुले लात्तिले ढोकामा हानी म भित्र पसी सेती सुतिरहेकोले मैले निजको कपाल समाती लडाई भइरहेको आवाज सुनी डोटु र ठगु भित्र पसी सेती बन्चरो समाई सेतीकै टाउकोमा एकपटक हानी जमीनमा ढालेपछि ठगुले खुकुरीले सेतीको घाँटीमा हानी मारेपछि सेतीको नावालक छोरा रामे रुन लागेकोले डोटुले ठगुबाट खुकुरी खोसी घाँटी सेरी दिई मरीसकेपछि ढोका बन्द गरी घर जान भनी बाहिर निस्केपछि ठगुको स्वास्नी राति बाहिर आँगनमा देख्यौं । यो कुरा कसैसँग नभन भनी डोटु र ठगुले भनेपछि म घरतिर हिंडे डोटु र ठगु त्यहीँबाट कता लागे थाहा भएन उक्त रात ठगुको स्वास्नी राते सेतीको आँगनमा गएपनि मार्नमा कुनै सहयोग नगरेको र अरु मतियार कुनै छैनन् भन्ने काली बुढाथोकीनीले अदालतमा ०३६।१०।१८ मा गरेको बयान ।
१०. सोधिएका रामे र सेती के भई कहिले मरेका हुन् मलाई थाहा छैन वारदात हुँदा मिति ०३६।१०।४ गते भन्दा अगाडि ऐ. माघ १ गते म आफ्नो घर छोडी गएकोले मैले निजहरूलाई कर्तव्य गरी मारेको होइन ठगु कालीले आफू सावित भई म प्रति किटान जाहेर गर्नुपर्ने कारण मेरो स्वास्नी मलाई छोडी पोइल जान्छु भन्ने र ठगुसँग जग्गा सम्बन्धी कुरामा झगडा भएकोबाट आफूहरू सावित भई झुठ्ठा पोल उजूर गरेको हुन झुठ्ठा पोल उजूर वादीबाट सफाई गरी फुर्सद पाउँ भन्ने समेत डोटुले मिति ०३७।६।५ मा अदालतमा गरेको बयान ।
११. प्रतिवादी डोटु, ठगु, कालीले सेतीको आमा छोरालाई कर्तव्य गरी मारेकोमा पुरा विश्वास लाग्छ । प्र.राते उपर शंका लाग्दैन भन्ने समेत सरजमीनका सेरबहादुर वली, जितबहादुर, भैरप्रसाद, नेप्टे दमाई, कमारो रोका, जहर संबती कुइरो दमाई साबुवरी, स्वस्ती बुढाथोकीनी समेतले अदालतमा उपस्थित भई गरेको हेरेछ ।
१२. ०३६ साल माघ ४ गते म मेरै घर सिखर्कमा हुँदा सोधिएका कुरा केही थाहा छैन भन्ने प्र.रातेको साक्षी चुके कामी र कैलो कामी समेतले अदालतमा गरेको बकपत्र ।
१३. मार्ने निश्चय गरी प्र.मध्येका ठगु र डोटुले खुकुरी तथा बञ्चरोले सेतीको घाँटी तथा टाउको समेतमा काटी हानी मारेपछि निजको छोरा रामेलाई ठगुको खुकुरीले डोटुले काटी मारेको देखिएकोले त्यसरी खुकरी तथा बञ्चरो जस्तो जोखिमी हतियार प्रयोग गरी सेती र रामेलाई कर्तव्य गरी मार्ने ठगु र डोटु तथा सेतीलाई मार्ने संयोग पारिदिने प्र.कालीले सेतीको कपाल समाई लडाई दिएकोले प्र.ठगु तथा डोटुलाई प्रहरी प्रतिवेदन दावी बमोजिम ज्या.सं. १३(१) को अपराध गरेको र प्र.काली उपर ज्या.सं.को १३(१) को दावी भए पनि निजले मार्न संयोग पारी दिएकोले ज्या.सं.को १३(४) बमोजिम अपराध गरेका ठहर्छ । ठगुको श्रीमती रातेको हकमा प्रहरी प्रतिवेदनमा ज्या.सं.को १३(१) को दावी भए पनि सेतीलाई मार्ने ठाउँ निजको घर बाहिर आँगन सम्म गई कर्तव्य गरी मारेको हेरी रही केही नगरी बसेकी बाहेक अरु मार्ने सम्बन्धी काम कुरा गरेको कतैबाट नदेखिई खुल्न नआएको हुँदा निजले ज्यान सम्बन्धीको १७(३) बमोजिमको कसूर गरेको ठहर्छ । निजलाई १।६ कैद हुन्छ भन्ने शुरु जि.अ.को मिति ०३८।४।२८।४ को फैसला ।
१४. सरजमीनहरूबाट दोषी समर्थन भएको भरले अपराधी प्रमाणित गर्न नमिल्नेमा सेती र रामेलाई राते र म समेत भई कर्तव्य गरी मारेको ठहर्याई भएको फैसलाले मर्का परी मलाई सर्वस्व सहित जन्मकैद हुने भनी गरेको सजायबाट सफाई फुर्सद गरिपाउँ भन्ने ठगु बुढाथोकीको पुनरावेदन सेती र रामेलाई मारेको र मार्ने सल्लाह गरी मार्नेमा सहमत गरेको समेत कुनै कुरा नहुँदा मलाई सजाय गर्ने गरी फैसला गरेको शुरुको फैसला गल्ती भएकोले बदर गरी उजूरबाट फुर्सद गरी हक इन्साफ पाउँ भन्ने समेत डोटु बुढाथोकीले म.प.क्षे.अ.मा गरेको पुनरावेदन ।
१५. शुरु सल्यान जिल्ला अदालतले प्रतिवादी ठगु बुढाथोकीको तथा डोटु बुढाथोकीले प्रहरी प्रतिवेदन दावी बमोजिम ज्यान सम्बन्धीको १३(१) को अपराध गरेको प्र.काली बुढाथोकीनी उपर निजले रामे र सेतीलाई मार्ने संयोग पारी दिएकोले ज्यान सम्बन्धीकै १३(४) बमोजिमको अपराध गरेको शुरुले गरेको इन्साफ मनासिव ठहर्छ प्र.ठगुको श्रीमती रातेको हकमा वारदात स्थलमा गई कर्तव्य गरेको हेरी रहेकी र वारदात भएको थाहा पाई सो कुराको जानकारी सम्बन्धित निकायमा समयमै नगरी बसेकोबाट ज्यान मार्ने कुरामा मतलबी सम्म देखिन आएकोले निजलाई ज्या.सं.को १७(३) बमोजिम सजाय गर्ने गरेको शुरु फैसला समेत मनासिव ठहर्छ भन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले मिति ०४० साल जेष्ठ १५ गतेको फैसला ।
१६. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले शुरु जिल्ला अदालत सल्यानले सर्वस्व सहित जन्मकैद गर्ने गरेको फैसलालाई सदर गरेको हुँदा चित्त नबुझेकाले ऐनको म्यादभित्र पुनरावेदन गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतलको फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने जिल्ला कार्यालय कारागार शाखा सल्यानमा थुनिएका डोटु बुढाथोकी मतवाला र ऐ. थुनामा रहेका ठगु बुढाथोकी मतवालाको छुट्टाछुट्टै पुनरावेदन परेको रहेछ ।
१७. यसमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय उपर प्रतिवादी मध्येका डोटु बुढाथोकी मतवाला र ठगु बुढाथोकी मतवालाको पुनरावेदन परी साधक सदरको लागि पेश भई आएका प्रस्तुत मुद्दामा शुरु सल्यान जिल्ला अदालतले गरेको फैसलामा सदर गरी मध्य प.क्षे.अ.ले गरेको फैसला मनुासिव बेमनासिव के रहेछ निर्णय दिनुपर्ने हुन आयो ।
१८. प्रतिवादी डोटु बुढाथोकी मतवाला समेत असमर्थको तर्फबाट बहस गर्न आउनु भएको वैतनिक अधिवक्ता श्री विनोद रोकाको बहस समेत सुनियो । प्रतिवादी मध्येका काली बुढाथोकी र ठगु बुढाथोकी मतवाला प्रहरी समक्ष आरोपित कसूरमा सावित भई प्र.डोटुलाई पोल गरी प्रहरीमा बयान गरेको र अदालतमा स्वीकारेको बुझिएका सरजमीनका मानिसहरूले अदालत समक्ष बकपत्र गर्दा मृतक सेती र निजको छोराको कर्तव्य गर्ने प्र.डोटु बुढाथोकी मतवाला र यी प्र. ठगु बुढाथोकी मतवाला तथा काली समेत हुन् भनी लेखाई दिएको पाइन्छ । प्र.ठगु बुढाथोकीको सावितीलाई पुष्ट्याँई गर्ने फलामको खुकुरी र बञ्चरो बरामद भएकोबाट र रगत लागी सुकेको सल्लाको दाउराको चिरपटबाट समेत स्वीकारोक्तिलाई पुष्ट्याँई भएको देखिँदा अभियुक्तहरूकै कर्तव्यबाट मृतकहरूको मृत्यु भएको कुरा विवादरहित तवरबाट पुष्ट्याँईं भएको छ । सेती र रामेलाई ०३६।१०।४ गते राति बोक्सी लागी भन्ने रिसमा प्र.डोटुका घरमा सोही दिन बेलुका साँझमा समेत प्र.डोटु ठगु काली समेत सल्लाह गरी मार्ने निश्चय गरी रातको अन्दाजी १० बजे सेतीको घरमा गई कालीले सेतीलाई उठाई सेतीको कपालमा समाई पछारी भूँईमा लडाएपछि प्र.मध्येका ठगु र डोटुले खुकुरी तथा बन्चरोले सेतीको घाँटी तथा टाउको समेतमा काटी हानी मारेपछि निजको छोरा रामेलाई ठगुको खुकरीले डोटुले काटी मारेको मिसिल प्रमाणबाट देखिन आएकोले त्यसरी हतियार प्रयोग गरी सेती र रामेलाई कर्तव्य गरी मार्ने प्र.डोटु बुढाथोकी मतवाला तथा प्र.ठगु बुढाथोकी मतवालालाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्व सहित जन्मकैद गर्ने गरी शुरु सल्यान जिल्ला अदालतको फैसलालाई सदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । साधक तहबाट जाँच्दा मृतक सेती र मृतक छोरा रामेलाई मार्नमा काली बुढाथोकीनीले संयोग पारी दिएकीले ज्यान सम्बन्धीको महलको १३(४) बमोजिम प्र.काली बुढाथोकीनीलाई जन्मकैद गर्ने गरी जि.अ.को सदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतका फैसलामा लेखिएको बुँदा प्रमाण समेतबाट सदर ठहर्छ । साधकको लगत कट्टा गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल कार्तिक १४ गते रोज ३ शुभम् ।