निर्णय नं. २०४८ – अंश मानाचामल
निर्णय नं. २०४८ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.फु.नं ...
निर्णय नं. २०४८ ने.का.प. २०४१ अङ्क ७
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको दे.फु.नं ४१२
मुद्दा : अंश मानाचामल
पुनरावेदक/वादी : धा.जि. भारपाक गा.पं. घर भइ हाल नुवाकोट गंगामाई गा.पं. वडा नं. ३ त्रिशुली बस्ने कल्पनाकुमारी अधिकारी
विरुद्ध
विपक्षी/प्रतिवादी : धा.जि. भारपाक गा.पं. वडा नं. ३ को वाराङ बस्ने चन्द्रकुमारी अधिकारी क्षेत्री
ऐ ऐ बस्ने चन्द्र बहादुर अधिकारी क्षेत्री
फैसला भएको मिति : २०४१।५।१०।१ मा
§ लोग्ने स्वास्नीको २ नं. को ऐन हेर्दा अर्कासित करणी नगराए पनि करणी गराएको छु भनी अड्डामा सावित भएमा त्यस्तो स्वास्नीसित लोग्नेले सम्बन्ध बिच्छेद गर्न पाउँछ भन्ने कानुनी व्यवस्था भइराखेकोले अंश मानाचामलको दावी पुग्न नसक्ने र नावालक छोराको हकमा बाबु कायम गरी ल्याएका बखत ठहरे बमोजिम हुने भनी खारेज गरेको शुरुको निर्णय सदर हुने ।
(प्रकरण नं. १०)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुसिलकुमार पन्त
विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दा : x
आदेश
न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३९।२।१८।३ मा भएको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी ४०।६।१६।१ मा परेको निवेदनपत्रमा ०४०।११।४ मा पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ ।
२. विपक्ष चन्द्रबहादुर मेरा पति हुन मेरो गर्भबाट १ छोरा समेत जायजन्म भएको छ विपक्षी मिली मलाई षड्यन्त्र गरी हाडनाता करणी मुद्दा दिएकोमा ०३४।९।२२ गते वा.अं.अ.बाट खारेज भई अन्तरिम फैसला भएको छ । विपक्षी लोग्नेले ०३५ सालमा अर्के स्वास्नी ल्याएको र मलाई सासु र लोग्ने मिली ०३४।१०।३ गते घरबाट निकाला गरिदिएकोले विपक्षीहरूसँग बाबु बाजेको श्रीसम्पत्तिका तायदाती मागी सौता लोग्ने र म वादी र मेरो नावालक छोरा गरी पाँच भागको अंश मध्ये म र नावालक छोराको गरी २ भाग अंश दिनलाई फैसला भएको मिति तकको माना चामल भराई पाउँ भन्ने समेत व्यहोराको वादी रहेछ ।
३. विपक्षी वादीले ०३१।१२।२२ मा तीन पुस्ता भित्रको ओमबहादुर नाम गरेको देवरले करणी गरी ३ महीनाको गर्भ छ । भनी अदालतमा बयान गरेको र हाडनाता करणी मुद्दामा बयान गर्दा १० महीना भयो विवाहिता लोग्नेसँग भेट भएको छैन भनेकी हुनाले उक्त छोरा ओमबहादुरसँग करणी गराई जन्मिएको हुँदा हामीले अंश दिनु पर्ने होइन लोग्ने स्वास्नीको २ नं. बमोजिम र वा.अं.अ.को ०३४।९।२२ को फैसलाले समेत मेरो सम्बन्ध बिच्छेद भएको स्वतः सिद्ध छ । वादीको झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको चन्द्रकुमारी र चन्द्रबहादुरको संयुक्त प्रतिउत्तरपत्र रहेछ ।
४. वादीले ०३१ सालमा चैत्र २२ गते हाडनाता करणीमा मुख सावित भई अड्डामा आई बकेको हुँदा लोग्ने स्वास्नीको २ नं. को व्यवस्था अनुसार अर्कोसँग करणी गराएको कुरा स्वास्नीले स्वीकार गरी भन्दछे भने स्वतः सम्बन्ध बिच्छेद हुने हुँदा वादीले लोग्ने तर्फबाट अंश पाउँ भन्ने दावी पुग्न सक्दैन र नावालक छोराको मानाचामलतर्फ बाबुको ठेगाना लागि कायम भएका बखत उजूर लाग्ने हुनाले यस्तो स्थितिमा बाबु कायम हुने ठहरेमा मात्र दावी पुग्ने देखिएकोले दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको धादिङ जिल्ला अदालतको फैसला रहेछ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी कल्पनाकुमारीको म.क्षे.अ.मा पुनरावेदन परेको रहेछ ।
६. करणीमा बिग्री गर्भधारण गरेको कुरामा समेत मुख सावित भई बयान गरेको मिसिल संलग्न भई आएको हाडनाता मुद्दाको छिनुवा मिसिलबाट देखिन आएकोले यस मुद्दामा सो विबन्धन निजलाई लाग्दैन भन्न नहुने हुनाले र लोग्ने स्वास्नीको २ नं. का ऐन हेर्दा अर्कोसित करणी नगराए पनि करणी गराएको छु भनी अड्डामा सावित भएमा त्यस्ता स्वास्नीसित लोग्नले सम्बन्ध बिच्छेद गर्न पाउँछ भन्ने कानुनी व्यवस्था भइराखेकोले निज कल्पनाकुमारीको चन्द्रबहादुर उपरको अंशभाग माना चामलको दावी पुग्न नसक्ने र नावालक छोराको हकमा बाबु कायम गरी ल्याएको बखत ठहरे बमोजिम हुने भनी खारेज गरेको निर्णय बेमनासिव भन्नु भएन । अतः शुरु निर्णय सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको ०३९।२।१८।३ को म.क्षे.अ. को फैसला रहेछ ।
७. म.क्षे.अ.को र्फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको ०४०।६।१६ को निवेदनपत्रमा हाडनाताकरणी मुद्दामा निवेदिका कल्पनाकुमारीलाई अ.वं.९४ नं. को कार्यविधि नअपनाई ठाडो कारवाईका रुपमा बयान गराएको कानुनी मान्यता प्राप्त बयान हो भन्न मान्न सकिने अवस्था नदेखिँदा उपयुक्त आधारमा शुरुबाट तहकीकात कारवाई गरी निर्णय गरेको मिलेको नहुँदा बदर हुन्छ र वादीले प्रतिवादी कल्पनालाई सुम्पुवा गरी बेरीतसँग फिराद दावी गर्न आएको देखिँदा खारेज हुने ठहर्छ भनी बागमती अञ्चल अदालतबाट ०३४।९।२२।६ मा फैसला भएको निवेदन साथ पेश गरेको फैसला प्रतिलिपिबाट देखिन्छ । सोही हाडनाता करणी मुद्दामा भएको साविती बयानलाई अदालतले गैरकानुनी घोषित गरेपछि उक्त गैरकानुनी कुराको प्रमाण लिई यस मुद्दामा लोग्ने स्वास्नीको २ नं. का ऐन हेर्दा अर्कासित करणी नगराए पनि करणी गराएकी छु भनी अड्डामा साविती भएमा त्यस्तो स्वास्नीसित लोग्नेले सम्बन्ध बिच्छेद गर्न पाउँछ भन्ने कानुनी व्यवस्था भइराखेकोले निज कल्पनाकुमारीको चन्द्रबहादुर उपरको अंशमाना चामलको दावी पुग्न नसक्ने नावालक छोराको हकमा बाबु कायम गरी ल्याएका बखत ठहरे बमोजिम हुने ठहर्छ पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भनी मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३९।२।१८।३ को निर्णयमा सबूत प्रमाणको सही मूल्यांकन नभई त्रुटि गरेको देखिएको त्यस्तो त्रुटि सार्वजनिक महत्वको समेत देखिँदा न्या. प्र.सु.ऐन, ०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४०।४।११।४ को आदेश रहेछ ।
८. नियम बमोजिम कजलिष्टमा चढी पेश हुन आएको मुद्दाको पुनरावेदक कल्पना कुमारीलाई र वा.स.चन्द्रबहादुरलाई रोहवरमा राखी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुशिलकुमार पन्तले र चन्द्रबहादुर अधिकारीका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नु भएको वहस समेत सुनियो ।
९. मध्यमाञ्चल क्षे.अदालतले गरेको निर्णय मिले नमिलेको के हो सोमा निर्णय दिनु परेको छ ।
१०. यसमा यिनै वादी कल्पनाकुमारी निजको ३ पुस्ताभित्रको हाडनाताको ओमबहादुरसँग करणीमा बिग्रेको भनी चन्द्रबहादुरले फिराद गरेको हाडनाता करणी मुद्दामा यी वादी कल्पनाकुमारीले चन्द्रबहादुरसँग करणीमा बिग्रिएको र निजको करणी विर्यबाट निजले गर्भधारण गरेको कुरामा समेत मुख सावित भई बयान गरेको मिसिल संलग्न भई आएका हाडनाता मुद्दाको छिनुवा मिसिलबाट देखिन आएकोले यस मुद्दामा सो विबन्धन लाग्दैन भन्न नहुने हुनाले र लोग्ने स्वास्नीको २ नं. को ऐन हेर्दा अर्कासित करणी नगराए पनि गराएको छु भनी अड्डामा सावित भएमा त्यस्तो स्वास्नीसित लोग्नेले सम्बन्ध बिच्छेद गर्न पाउँछ भन्ने कानुनी व्यवस्था भै राखेकोले निज कल्पनाकुमारीको चन्द्रबहादुर उपरको अंश मानाचामलको दावी पुग्न नसक्ने र नावालक छोराको हकमा बाबु कायम गरी ल्याएका बखत ठहरे बमोजिम हुने भनी खारेज गरेको शुरुको निर्णय सदर हुने ठहर्छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले वादी दावी खारेज गर्ने गरी गरेको निर्णयमा कुनै त्रुटि नदेखिँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर ठहर्छ । कोर्टफी लागि दायर भएको देखिएकोले केही गर्नु परेन मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी