September 19, 1984
Created by nepalarchives

निर्णय नं. २०४० – उत्प्रेषण

निर्णय नं. २०४०   ने.का.प. २०४१                   अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रि.नं....

निर्णय नं. २०४०   ने.का.प. २०४१                   अङ्क ६

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको रि.नं. १३२६

विषय : उत्प्रेषण

निवेदक : जिल्ला सप्तरी महादेव गा.पं. वा.नं. ३ बस्ने सुवेलाल मण्डल धानुक

विरूद्ध

विपक्षी   : भूमिसुधार कार्यालय सप्तरी

जि. सप्तरी महादेवा गा.पं. वा.नं. ३ बस्ने वालीन्दर प्रसाद साफी

ऐ ऐ सरकपुरा गा.पं. वा.नं. घ बस्ने नित्यानन्द ब्राह्मण

आदेश भएको मिति :   २०४१।६।३।४ मा

§  उजूरी परेकोमा निवेदकले पेश गरेको मितिको भर्पाई अ.बं.७८ नं. बमोजिम सुनाई त्यस सम्बन्धमा निजको कथनलाईसमेत विचार गरी कानूनबमोजिम निर्णय गर्नुपर्ने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री वलिरामकुमार र विद्वान अधिवक्ता श्री कृष्णलाल देव

उल्लेखित मुद्दा : x

आदेश

          न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको रहेछ ।

          २.  जि. सप्तरी गा.पं.महादेवा वार्ड नं. ३ को कि.नं. ४३ को ०१५ कि.नं. ५१ को ०१० जग्गा मोहीमा कमाई आएको १ नं. लगत भरी ४ नं. जो.अ.नि.पाएकोमा सो जग्गा हरिनारायण साफीले नित्यानन्द ठाकुरलाई बिक्री गरेकोले निजले कूत बुझी भर्पाई गरी दिएका छन् मोहीको प्रमाणपत्र पाउँ भन्ने निवेदन आफ्नो मोही छोडी कि.नं. ५१ मा दावी गरेको झुठ्ठा हो भन्ने बालेन्द्र प्रसाद र वादी दावी झुठ्ठा हो भन्ने नित्यानन्द ठाकुरको प्रतिउत्तर भएकोमा कि.नं. ५१ को ०० को वादी मोही भन्न नमिल्ने र कि.नं. ४३ को ०१५ को वादीले मोहीको प्रमाणपत्र पाउने ठहर्छ भन्ने भू.सु.का.सप्तरीको ०४०।३।१२ को निर्णय ।

          ३.  कि.नं. ५१ को मोहीको भन्न मिलेन भनी गरिएको हद सम्म मेरो चित्त बुझेन म निवेदक भूमिसम्बन्धी ऐन, ०२१ प्रारम्भ हुनुभन्दा अघिको मोही भई भूमिसम्बन्धी नियमहरू, ०२१ को नियम ३ बमोजिम मोहीको लगत १ नं. अनुसुची भरी २ नं. अनुसुची प्रकाशित भई ४ नं. जो.अ.नि.समेत प्राप्त गरेको विधिवतको दर्तावाला मोही हुँदा कबूलियतको आवश्यकता नरहने प्रष्ट छ । साविक ज.घ.हरिनारायणको नाउँको म दर्तावाला मोही भई पछि ज.ध.हुनआएका नित्यानन्द र उनीबाट खरीद गर्ने बालिन्दर जग्गाधनी हुन आए भनी मेरो मोहियानी हकमा कुनै असर पर्न सक्दैन सो निर्णय भू.सं.ऐन, ०२१ दफा २५(१), २५(४)(ख) समेतको त्रुटिपूर्ण छ । मानकीबाट पेश भएको भर्पाई मलाई नसुनाई प्रमाणमा लिएको र म तर्फबाट पेश भएको भर्पाई प्रमाणमा नलिई गरेको निर्णय अ.बं.७८ नं. को त्रुटिपूर्ण छ । मानकीसँग भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४(१) बमोजिमको कबूलियत समेत छैन । विपक्षी नित्यानन्द र मानकी साफिले मेरो हक मेट्न बीचबीचमा ०३० साल र ०३१ सालको बाली सम्बन्धमा ०३० साल देखि ०३४ सालसम्म बाली लुटपिट मुद्दाहरू लडेको फैसला समेत देखिन्छ । मुद्दा फैसला भएपछि विपक्षहरू समेतका नाउँमा जालसाजीबाट भर्पाई खडा गरे सम्बन्धमा ०४० सालको फौ.सा.नं. ९६६ को जालसाजी मुद्दा सप्तरी जिल्ला अदालतमा चलिरहेको छ । नित्यानन्दले सुगावतीलाई बालिन्दर भन्दा अघि बिक्री गरेका छन् । यसमा म मार्फत हल गोरूले जोती भोगी आएको भनी लेखिएको छ यस्तो अवस्थामा मलाई मोही नठहर्‍याएको भू.सु.को फैसलाबाट मेरो सम्पत्ति सम्बन्धी हकमा असर परेकोले उत्प्रेषण लगायतको आदेश जारी गरी भू.सु.का.सप्तरीको ०४०।३।१२ को निर्णय बदर गरिपाउँ र अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेतको सुबलाल मण्डलको निवेदनपत्र ।

          ४.  विपक्षीबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिंगलबेञ्चको ०४०।५।१० को आदेश ।

          ५.  वादीको प्रमाणमा पेश भएको जोताहा प्राप्त भएको अवस्थाको जग्गाधनी र हाल जग्गाधनी फरक परेको साविक १३ नं. कित्ता मध्ये ०२५।१०।१२ मा राजीनामा पारित गरी ०१८१० नित्यानन्दले खरीद गरी लिएको निजबाट अन्यत्र परेपछि मात्र वादी दावी भएको देखिएको नापी श्रेस्ताबाट समेत वादी मोही देखिन नआएको ०३७ सालको भर्पाई सम्बन्धमा प्र.नित्यानन्दको इन्कारी बयान भएको देखिँदा वादी वादीको जग्गामा वादी मोही भई कमाएको भन्न नमिल्ने हुँदा यस कार्यालयको निर्णय कानून संगत नै छ रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.को लिखितजवाफ ।

          ६.  विपक्षीको हरिनारायण नाउँको ०० जग्गाको मात्र ४ नं. जो.अ.नि.छ यसको १ नं. फाराम भर्दा ०१८१० मध्ये फलाना तर्फ जनाई फाराम भर्नु पर्ने सो नजनाई भरिएकोले कि.नं. ५१ कै जग्गामा सुबेलाल मोही हो भन्न नमिल्ने ज.ध.नित्यानन्दले मेरो बाबु मानकी माथि कि.नं. ५१ को लुटपिट मुद्दा दिँदा स.जि. अ.बाट ०३३।८।६ मा फैसला भई लुटपिट ठहरी मेरो बाबु उक्त जग्गाको मोही देखिएको छ । सगरमाथा अञ्चल अदालतबाट पनि सोही फैसला सदर भएको छ । नित्यानन्दले मेरो भर्पाईहरू समर्थन गरी विपक्षीको भर्पाईलाई समर्थन नगरेबाट छुट्टै सुनाई रहनु आवश्यक पर्दैन । मेरो दाता नित्यानन्दले कि.नं. ५१ को जग्गामा मेरो बाबालाई मोही समर्थन गरी दिएको कुरा बकसपत्रको कैफियतमा उल्लेख छ भर्पाई कबूलियत समेतबाट देखिन्छ । यस्तो अवस्थामा भू.सु.का.बाट भएको निर्णय कानूनसंगत नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने बालीन्दरप्रसादको लिखितजवाफ ।

          ७.  कि.नं. ५१ को जग्गा ०१० मध्ये ०० जग्गाको मानकीलाई ४ नं. जो.अ.नि.पनि भएको र अरू बाँकी जग्गा पनि निजले नै जोती आएको हुँदा नै मैले कबूलियत र भर्पाई गरी दिएको छु । उक्त जग्गा सुबेलालले मोहीमा कमाएको होइन । विपक्षले जालसाजी मुद्दा दिदैमा जालसाज ठहरिने होइन भू.सु.का.को निर्णय कानूनबमोजिम नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको नित्यानन्दको लिखितजवाफ ।

          ८.  नियमबमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदन पत्रमा रिट निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले निवेदकले भू.सु.का.समक्ष पेश गरेको भर्पाई अ.बं.७८ नं. बमोजिम सुनाउन पर्नेमा नसुनाएको समेत त्रुटिपूर्ण छ भनी र भू.सु.का.सप्तरीका तर्फबाट खटिई आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले यसमा प्रमाणको मूल्याङ्कन गरी भू.सु.का.सप्तरीले गरेको निर्णय मनासिब नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भनी तथा विपक्षी बालिन्दरप्रसादको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कृष्णलाल देवले प्रमाणको मूल्याङ्कन गरी न्यायिक मन प्रयोग गरी गरेको भू.सु.का.को निर्णयमा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपाउँ भनी प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।

          ९.  प्रस्तुत रिट निवेदन पत्रमा निवेदकका माग बमोजिमको आदेश जारी हुने हो होइन सोको निर्णय दिनु पर्ने देखिन्छ ।

          १०. निर्णयतर्फ विचार गर्दा यसमा जि. सप्तरी महादेवा गा.पं. वा.नं. ३ को कि.नं. ४३ र कि.नं. ५१ को जग्गाको १ नं. अनुसूची भरी २ नं अनुसूची प्रकाशित भै ४ नं. जो.अ.नि.पाएकोले निर्विवादी मोहीको रूपमा कमाई आएकोमा हरिनारायण साफीले नित्यानन्द ठाकुरलाई बिक्री गरेको हुँदा निजले ०३७।१०।१० मा कूत बुझी भर्पाई समेत गरी दिएका हुँदा उक्त कित्ता मोहीमा दर्ता गराई पाउँ भनी भू.सु.का समक्ष रिट निवेदकको उजूरी परेकोमा निवेदकले पेश गरेको मिति ०३८।१०।१० को भरपाई अ.बं.७८ नं. बमोजिम सुनाई त्यस सम्बन्धमा निजको कथनलाई समेत विचार गरी कानूनबमोजिम निर्णय गर्नुपर्नेमा सो बमोजिम गरेको नदेखिएकोले भू.सु.का.सप्तरीको उक्त मिति २०४०।३।१२ को निर्णयमा अ.बं.७८ नं. को कानूनी त्रुटि देखिँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर गरी दिएको छ । अब कानूनबमोजिम जो गर्नुपर्ने गरी निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ । आदेशको प्रतिलिपि जानकारीको लागि महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्ष कार्यालयमा पठाई नियमानुसार गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल आश्विन ३ गते रोज ४ शुभम् ।