September 16, 1984
Created by nepalarchives

निर्णय नं. २०२९ – लिखत दर्ता बदर

निर्णय नं. २०२९ ने.का.प. २०४१             अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०३९ सालको...

निर्णय नं. २०२९ ने.का.प. २०४१             अङ्क ६

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् ०३९ सालको दे.पु.नं. ३८६

मुद्दा : लिखत दर्ता बदर

पुनरावेदक/ वादी : जिल्ला सिराहा मानपुर गा.पं. वा.नं ८ बस्ने खामना खातुन

ऐ ऐ बस्ने महम्मद मोजन मिल मियां

ऐ ऐ बस्ने मोहमद र्इमरान मियां

विरूद्ध

विपक्षी/प्रतिवादी : जिल्ला सिराहा मानपुर गा.पं. साविक वाडे नं. ७ हाल वार्ड नं. ८ बस्ने साधु नदाफ मियाँ

ऐ ऐ बस्ने सेख कैयुम मियां

फैसला भएको मिति : २०४१।५।३१।१ मा

§  बिक्री गरेको वादी दावी बमोजिमको जग्गा बिक्री व्यवहार गर्न नपाउने कुराको कुनै सबूत प्रमाण दिन सकेको छैन । यस स्थितिमा उक्त बिक्री व्यवहार गरेकोलाई वादीहरूको मञ्जूरी लिनुपर्छ भन्न मिलेन ।

(प्रकरण नं. १३)

पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री केदारचरण राय

उल्लेखित मुद्दा : x

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला गम्भीर कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने अमिना खातुन समेतको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट आदेश भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।

          २.   सेख कैयुम मिया म अमिना खातुनको पति र महमद इमरान, महमद मोजममील मियाँको सगोलको पिता हुन् विपक्षी सेख कैयुमले हामीलाई कुनै जानकारी नदिई हाम्रो समेत हक लाग्ने मानपुर गा.पं. वार्ड नं. ६ १ कि.नं. को ०१९ ऐ वार्ड नं. ६ कि.नं. १२ को ०१५ ऐ वार्ड नं. ७ कि.नं. ९९ को ०६ समेत ०१२० जग्गा ०३२।८।९ गते साधु नदाफलाई राजिनामा लेखिदिएकोछ । मेख कासिम मियाले सेख कैयुम उपर अंशबण्डाको नालिश दिएपनि उक्त जग्गा साधु नदाफले ०३३।८।१५ गते भू.प्र.का.बाट पास गराएछन्, ०३३।८।१५ गते जानकारी भएको लेनदेन व्यहारका म्यादभित्र फिराद गरेका छौं । मञ्जूरी नलिई हामीलाई जानकारी नदिई सगोलको जग्गा साधु नदाफलाई राजीनामा गरी दिएको हाम्रो हक जती आधा ०० जग्गामा कासिमको हक हुने आधामा कैयुम र हामी समेतको ४ भाग लाग्ने हुँदा ४ खण्डको ३ खण्ड जग्गा साधु नदाफका नाउँको ०३२।८।९ को लिखत दर्ता बदर गरी ३ भागको ०१० जग्गा हाम्रा नाउँमा दर्ता गरिपाउँ भन्ने वादी ।

          ३.   वादीहरू कैयुम मियाँको सगोलको छोरा पत्नी हुन् सल्लाहबाट रु.१६६४४।८२ लिई ज.वि.०१२० जग्गा ०३२।८।९ गते लिखत गरी ०३३।८।१५ गते पास गरी दिएको हो मञ्जूरीको सहिछाप नभए पनि एकासगोलमा मुख्यले थाहा पाएकोमा सगोलका सबैलाई थाहा भएको मानिने भन्ने लेनदेन व्यवहार ११ नं. मा लेखिएकै छ घरको मुख्य बाबुले बेचेको उजूर गर्न नपाउने हो कैयुमको यो जग्गा मात्र नभई अरू जग्गा पनि भएको हुँदा लिखत दर्ता सदर गरिपाउँ भन्ने प्र.साधु नदाफको प्रतिवादी ।

          ४.   प्र.साधु नदाफले गराई दिएको लिखत थैली अंक जालसाजी गराई दिएमा जालसाजतर्फ छुट्टै फिराद दिने हुँदा मैले बिक्री गरेका जग्गाको मात्र वादीहरूले पाउनु पर्ने जग्गाको लिखत बदर हुने र वादीहरूले दर्ता गराई लिन पाउने हुँदा यस मुद्दाबाट हक बेहक हुन नसक्ने भन्ने सेख कैयुम मियाको प्रतिवादी ।

          ५.  घरको मुख्य सेख कैयुम देखिएको व्यवहार चलाउन बेचबिखन गर्न पाउने देखिएको र सेख कैयुमले दिएको जालसाज मुद्दा जालसाज नठहरी निर्णय भएको, कासिम मियाले यिनै वादीको ०० कठ्ठा जग्गा बदर हक कायम मुद्दामा बदर हुन नसक्ने ठहर्‍याई निर्णय भएबाट वादी दावीअनुसार लिखत तथा दर्ताबदर नहुनेठहर्छ भन्नेसमेत सि.जि. अ.को मिति ०३४।११।६।६ को फैसला ।

          ६.   शुरू सिराहा जि. अ.को इन्साफमा चित्त बुझेन शूरू फैसला बदर गरी वादी दावी कायम गरिपाउँ भन्ने समेत मिति ०३४।१२।२९ को पुनरावेदन जिकिर ।

          ७.  राजीनामा लिखत गरी दिँदा वादीहरूको मञ्जूरी लिएको नहुँदा दावी बमोजिम वादीहरूको नाउँमा कायम गरी दिनु पर्नेमा दावी नपुग्ने ठहर्‍याएको शुरू इन्साफ नमिलेकोले विपक्षी झिकाई पेश गर्ने भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको मिति ०३५।९।११ को आदेश ।

          ८.   कैयुम मिया घरको मुख्य देखिएको र अंशबण्डाको १९।१ बमोजिम आफू खुश गर्न पाउने अवस्थाको सम्पत्ति देखिन आएकोले लेनदेन व्यवहारको १० नं. अंगाली गरेको वादी दावी पुग्न नसक्ने देखिएकोले पुनरावेदन जिकिर पुग्न सक्दैन शुरू इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०३६।१२।१८ गतेको फैसला ।

          ९.   पूर्वाञ्चल क्षेत्रीय अदलतको फैसला गम्भीर कनूनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी वादी अमिना खातुन समेतले दिएको निवेदनमा पू.क्षे.अ.को फैसला प्रत्यक्षतः गम्भीर त्रुटिपूर्ण देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०३९।३।४ गते आदेश भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।

          १०.  पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहले बिक्री गरेको जग्गा वादीहरूको समेत हक लाग्ने हो । लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थालाई निष्प्रभावित पार्न अंशबण्डाको १९।१ समेत ऐनको प्रयोग गरी लिखत दर्ता बदर नहुने ठहर्‍याएको शुरू इन्साफ सदर गरेको पूर्वाञ्चल क्षे.अ.को.फैसला त्रुटिपूर्ण हुँदा बदर हुनपर्छ भन्ने समेत र विपक्षी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री केदारचरण रायले अंशबण्डाको १९।१ बमोजिम आफू खुस गर्न पाउने सम्पत्ति बिक्री व्यवहार गरेको हुँदा दर्ता बदर नहुने ठहर्‍याई शुरू इन्साफ सदर गरेको पू.क्षे.अ.को इन्साफमा कुनै त्रुटि नहुँदा सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          ११.  प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको छ, छैन सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

          १२.  यसमा निर्णयतर्फ हेर्दा प्र.शेख कैयुम मियाले हाम्रो समेत हक लाग्ने सगोलको जग्गा हाम्रो मञ्जूरी नलिई ज.बि.०१२० रु.१६६४४।८२ मा प्र.साधु नदाफलाई राजीनामा पारित गरी दिएकाले हाम्रो हक सम्म लिखत दर्ता बदर गरिपाउँ भन्ने वादी अमिना खातुन समेतको मुख्य दावी जिकिर देखिन्छ ।

          १३.  वादीहरू शेख कैयुम मियाँको एकासगोलका हुन भन्ने कुरामा र प्र.शेख कैयुम घर व्यवहार चलाउने मुख्य मानिस भएको कुरा वादीले स्वीकार गरेकै पाइन्छ । घरको व्यवहार चलाउने मुख्यलाई अंशबण्डाको १९ नं. को दफा १ ले सगोलको सम्पत्तिमा अचलको आधिसम्म आफ्नो खुस गर्न पाउने अधिकार प्रदान गरेको देखिन्छ । प्र.शेख कैयुमले बिक्री गरेको जग्गा निजको अंश भागमा पर्ने भन्दा बढी छ अथवा सगोलको अचल सम्पत्तिको आधा भन्दा बढी छ भन्ने कुरा वादीहरूले आफ्नो फिरादमा दावी लिन सकेको छैन । प्र.शेष कैयुम मियाले बिक्री गरेको वादी दावी बमोजिमको जग्गा निजले बिक्री व्यवहार गर्न नपाउने कुराको कुनै सबूत प्रमाण दिनसकेको छैन । यस स्थितिमा उक्त बिक्री व्यवहार गरेकोलाई वादीहरूको मञ्जूरी लिनुपर्छ भन्न मिलेन ।

          १४.  अतः वादी दावी बमोजिम लिखत दर्ता बदर नहुने ठहर्‍याएको शुरू जि. अ.को इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी राखी डायर भएको मुद्दा हुँदा केही गर्न परेन । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल भाद्र ३१ गते रोज १ शुभम् ।