July 15, 1984
Created by nepalarchives

निर्णय नं. २०२३ – कर्तव्य ज्यान

निर्णय नं. २०२३ ने.का.प. २०४१             अङ्क ६ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०३९...

निर्णय नं. २०२३ ने.का.प. २०४१             अङ्क ६

डिभिजन बेञ्च

इजलाश

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् ०३९ सालको फौ.पु.नं. २४३

मुद्दा : कर्तव्य ज्यान

पुनरावेदक : परमेश्वर राय यादवको जाहेरीको श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : जिल्ला रौतहट बरियारपुर गा.पं. वा.नं. ८ बस्ने राजेन्द्रप्रसाद यादव समेत

फैसला भएको मिति : २०४१।३।३२।१ मा

§  कुटाईको चोट पीरबाट मृत्यु भएको थियो भने त्यस्तो मृत्यु शैय्यामा पुर्‍याउने घातक प्रहार गरेको काठको मुंग्रो वा लात मुक्काले हानेको कुनै किसिमको निलडाम घाउ, चोट मृतक शरीरको वाहृय वा अभ्यन्तर कतै देखिनु पर्नेमा सो नभई मृतकको मृत्यु मटु सम्बन्धी रोगबाट भएको भन्ने चिकित्सकले राय व्यक्त गरेको हुँदा प्रतिवादीहरूको कर्तव्यबाट निजको मृत्य भएको भन्न सक्ने अवस्था देखिएन ।

(प्रकरण नं. २१)

पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार

विपक्षी प्रतिवादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          प्र.न्या. नयनबहादुर खत्री : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट प्रतिवादीहरूलाई सफाई दिने गरी मिति २०३८।१२।९ मा भएको फैसलामा चित्त नबुझी न्यायप्रशासन सुधार ऐन, २०३१को दफा १३ को उपदफा (५)(क) बमोजिम वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ :

          २.   २०३५ साल आषाढ १ गते बिहान बाबु भरत राय मनसीफ रायको घरदेखि उत्तरतर्फको इनारमा मुख धुन भनी गएका रहेछन् विपक्षी मुजुङ रायले बाबालाई नाना प्रकारले गाली गरी हात मर्काउने निमोठ्ने गरेको र अकलु राय यादव, दलार्चन हजरा दुसाध, जोगी मोहरा, मंगलु राय चतुर्गुण पण्डित कुहृमार समेतले बाबुलाई डंडाल्नो र छातीमा समेत हात मुक्काले पिट्दै गरेका थिए । त्यसै अवस्थामा राजेन्द्रप्रसाद घरबाट मुंग्रो जस्तो काठ लिई उफ्रिदै आई बाबुको गर्दन ताकी जोडले हिर्काएपछि बाबू बेहोस भए । तत्कालै खाटमा राखी समनपुर हेल्थपोष्टमा पुर्‍याउँदा बाबु भरत रायको मृत्यु भएकोले कानूनबमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।

          ३.   २०३५।३।१ गते बिहान परमेश्वर रायको घरतर्फ हल्ला भएको सुने । म घरैमा थिएँ । झगडा भई परमेश्वरको बाबु भरत राय मरे भन्ने सुने । म समेत भई कुटपिट गरे गराएको होइन कसले कुटे मलाई थाहा छैन । म उपरको उजूर झुठ्ठा हो भन्ने समेत दुलारचन हजराले प्रहरीमा गरेको कागज ।

          ४.   २०३५।३।१ गते बिहान म आफ्नो खेततर्फ जान लागेको बखत परमेश्वरले मलाई समातेर घरमा लगी रोके । त्यसै बखत गाउँलेहरू आई बाझाबाझ गर्न थाले भरतलाई पिटे भन्ने हल्ला सुनें मैले देखिन । पिटाउनेमा मेरो हात छैन भन्ने समेत व्यहोराको भुजुङ राय यादवको कागज ।

          ५.  २०३५।३।१ गते म आफ्नै घरमा थिएँ । भरत राय समनपुर हेल्थपोष्टमा मरेका हुन् । गिरीजा, जय किशुन र सजनले मलाई के हेर्छस् ठोक भनेकोले लग्नको हातबाट बाँसको लठ्ठी खोसी भरत रायको पीठमा एक चोट हान्दा भरत ढलेकोले म घर तर्फ गएँ । पिटाईको दर्दले मरे वा के कारणले मरे म जान्दिन, ज्यान मार्ने नियतले कुटेको छैन भन्ने व्यहोराको राजेन्द्रप्रसादले गरेको कागज ।

          ६.   भरतको लासमा ठाउँ ठाउँमा छाला खोसिएको घाउ देखिएकोले कुटपिटकै कारणले भरत राय मरेको प्रमाणित हुनआएको छ । यसैको चोटबाट मरेको भन्ने नछुट्टिएकोले सबै प्रतिवादीहरू उपर ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय होस् भन्ने व्यहोराको प्रहरी प्रतिवेदन रहेछ ।

          ७.  मर्ने भरत रायलाई मैले काठको मुंग्रोले हानेको छैन । भरत राय मुख धुन इनारमा गएका बखत चिप्ली लडेर वेहोश भई छोरा नातिहरूले उठाई लगे भन्ने सुने चिप्ली लडेकै कारणबाट मरेको हुनु पर्छ । प्रहरीले कुटपिट गरी पढी नसुनाई सहिछाप गराएका हुन मेरो राजिखुसीले कागज गरेको होइन भन्ने समेतको राजेन्द्रप्रसादले अदालतमा गरेको बयान ।

          ८.   २०३५।३।१।५ का दिन म घरैमा थिएँ । भरत रायलाई मैले कुटपिट गरेको छैन । इनारमा मुख धुन जाँदा चिप्ली लडेर वेहोश भएछन् र छोराहरूले अस्पताल लगेका थिए त्यहीं मरे अरे भनी बालदेव हजराले भन्दा सुनेको हुँ आरोपबाट फुर्सद पाउँ भन्ने समेतको दुलाएचन हजराले अदालतमा गरेको बयान ।

          ९.   मैले भरत रायलाई कुटपिट गरी मारेको छैन, जाहेरवालासँग जग्गाको साँधका कुरामा झगडा भएको इवीबाट झुठ्ठा जाहेरी दिएका हुन् भन्ने समेत भुजुङ रायले अदालतमा गरेको बयान ।

          १०.  छोरीकी छोरी नातिनीको विवाहमा २०३५।२।३० गते बारा रघुनाथपुर गई आषाढ ४ गते मात्र घर फर्केको हुँ । म घरमा नै नहुँदा भरत रायलाई मैले कुटपिट गरी मरेको होइन, इनारमा मुख धुन गएको बखत आफैं लडी हेल्थपोष्टमा मरे भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको चतुर्गुणको बयान ।

          ११.  रौतहट पिपरीया गाउँमा मेरो मामाको घरमा सत्यनारायणको पूजा भएकोले २०३५।२।३० गते गई २०३५।३।६ गते मात्र घर आएको हुँ । मैले भरत रायलाई कुटपिट गरेको होइन, आफैं लडी मरेका हुन् भन्ने भगलु रायको बयान ।

          १२.  मानपुरमा खेती भएकाले खेती गर्न जेष्ठमा नै गई आषाढ १२ गते मात्र घर फर्केको हुँ । मैले भरत रायलाई कुटपिट गरेको छैन आफैं लडी मरेको हुन् भन्ने समेत भगलु राय यादवको बयान ।

          १३.  रौतहट जिल्ला पिपरिया पञ्चायतमा मेरो मितै जोधा रायको घरमा २०३५।२।२३ गते गई सो वारदात भएको समयमा घरमा नहुँदा भरत रायलाई मैले कुटपिट गरी मारेको छैन भन्ने समेत व्यहोराको जीगी महरा चमारले गरेको बयान ।

          १४.  मेरी छोरीको घर रौतहट जिल्ला पथराबुदा रही पञ्चायतबाट खबर आएकोले जेष्ठ ३० गते गई आषाढ २ गते मात्र घर फर्केको हुँ । मैले भरत रायलाई कुटपिट गरेको होइन भन्ने समेत व्यहोराको लगन राय यादवको बयान ।

          १५.  गोरू किन्न भनी जेष्ठ ३० गते रौतहट जिल्ला महमदपुर गई आषाढ १४ गते मात्र घर फर्केको हुँ । समनपुर हेल्थपोष्टमा उपचार हुँदाहुँदै भरत रायको मृत्यु भयो भन्ने सुनेको हुँ, मैले कुटपिट गरेको छैन भन्ने समेत गिरीजानन्द राय यादवले गरेको बयान ।

          १६.  जेष्ठ २९ गते भैंसी किन्न भनी रौ.जि. पथरा पञ्चायतमा गई आषाढ ५ गते घर फर्केको हुँ । भरत इनारमा मुख धुन जाँदा आफैं लडी समनपुर हेल्थपोष्टमा उपचारको लागि लगिएकोमा उहाँ नै मरे भन्ने सुनेको हुँ, मैले कुटपिट गरेको होइन भन्ने समेत व्यहोराको जय किशन रायको बयान ।

          १७.  लास पोष्टमार्टम रिपोर्ट अनुसार मृतक शरीरको कहीं चोटपटक देखिँदैन । हर्ट डिजिजले मरेको भनी डाक्टरले लेखी दिएको र प्र.राजेन्द्रप्रसाद समेतका १० जना प्रतिवादीले इन्कार गरी बयान गरेका । इन्कारी बयानलाई साक्षीको बकपत्रले पुष्टि गरेको समेत भरत राय यादवलाई प्रतिवादीहरूले कुटपिट गरी सोही चोटबाट निजको मृत्यु भएको भन्ने प्रमाणित हुन आएन । प्र.राजेन्द्रप्रसाद समेतले सफाई पाउने ठहर्छ भन्ने रौतहट जिल्ला अदालतको फैसला रहेछ सो इन्साफ उपर चित्त नबुझी वादी श्री ५ को सरकारको पुनरावेदन मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेकोमा मृतक भरत राय यादवको पोष्टमार्टम रिपोर्ट हेर्दा कुनै आन्तरिक तथा वाहृय चोट नलागेको र मुटु सम्बन्धी रोगबाट मृत्यु भएको भन्ने डाक्टरले राय व्यक्त गरेको हुँदा मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने प्रमाणित हुन आएन कर्तव्यबाट मृत्यु भएको नदेखिँदा प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको शुरू रौतहट जिल्ला अदालतको इन्साफ मनासिब छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०३८।१२।९ मा फैसला भएको रहेछ ।

          १८.  सो फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन मिति २०३९।४।२२ मा यस अदालतमा परेको रहेछ ।

          १९.  नियमबमोजिम दैनिक पैशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारका तर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमारको बहस समेत सुनियो ।

          २०.  प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतबाट भएको इन्साफ मिलेको छ छैन भन्ने कुरामा नै निर्णय दिनु पर्ने भएको छ ।

          २१.  यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरूलाई सफाई दिएको मिलेन भन्ने प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय हुनु पर्ने भन्ने पुनरावेदनमा मुख्य जिकिर भएको पाइन्छ । कुनै पनि मुद्दा त्यसमा पनि ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी मुद्दामा अपराध गरेको सबूत प्रमाण बिना कसै प्रति अभियोग लाग्दैमा सजाय गर्नु फौजदारी न्याय सिद्धान्त विपरीत हुन जान्छ । प्रस्तुत मुद्दामा प्रतिवादी राजेन्द्रप्रसाद प्रहरीमा साविती भए तापनि सो सावितीलाई परिपुष्टी गर्ने अन्य कुनै सबूत प्रमाण देखिँदैन र निज अदालतमा इन्कारी रहेको पाइन्छ भने अन्य प्रतिवादीहरू प्रहरी र अदालत समेत दुबै स्थानमा इन्कारी रहेका र गडाउ गर्ने कुनै प्रमाण समेत मिसिल संलग्न भएको पाइदैन । यदि प्रतिवादीहरूकै कुटाईको चोट पीरबाट भरत रायको मृत्यु भएको थियो भने त्यस्तो मृत्यु शैय्यामा पुर्‍याउने घातक प्रहार गरेको काठको मुंग्रो वा लात मुक्काले हानेको कुनै किसिमको निलडाम घाउ, चोट मृतक शरीरको वाहृय वा अभ्यन्तर कतै देखिनु पर्नेमा सो नभई मृतकको मृत्यु मुटु सम्बन्धी रोगबाट भएको भन्ने चिकित्सकले राय व्यक्त गरेको हुँदा प्रतिवादीहरूको कर्तव्यबाट निजको मृत्यु भएको रहेछ भन्न सक्ने अवस्था देखिएन । अतः प्रतिवादीहरूलाई प्रस्तुत ज्यान मुद्दामा सफाई दिने गरी गरेको शुरू रौतहट जिल्ला अदालतको इन्साफलाई मनासिब ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहरी प्रतिवादीहरूले सफाई पाउने ठहर्छ । जानकारीको लागि यो फैसलाको एक प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियमबमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमत छु ।

 

न्या. हरगोविन्दसिंह प्रधान

 

इति सम्वत् २०४१ साल आषाढ ३२ गते रोज १ शुभम् ।