निर्णय नं. २०२० – घर खिचोला, मेटाई घर पसल छुट्याई पाउँ
निर्णय नं. २०२० ने.का.प. २०४१ अङ्क ६ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी...
निर्णय नं. २०२० ने.का.प. २०४१ अङ्क ६
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
सम्वत् २०४० सालको दे.फु.नं. ५३
मुद्दा : घर खिचोला, मेटाई घर पसल छुट्याई पाउँ
निवेदक/प्रतिवादी : का.जि. का.न.पं. वा.नं. १२ टेकु बस्ने कयौ महर्जननीको वारिस भई आफ्ना हकमा समेत अर्जुन महर्जन
विरूद्ध
निवेदक/प्रतिवादी : ऐ ऐ टेकु नेशनल ट्रेडिङ लिमिटेड अगाडिको ल.पु.जि. वा.नं. २१ मिखावहाल बस्ने राममाया महर्जननी
फैसला भएको मिति : २०४१।६।५।६ मा
§ विवादको जग्गामा घर बनी सकेको भए र सो घर वादीले बकस दिन नचाहेको भए लिखतमा नै सो कुरा स्पष्ट रूपले उल्लेख भएको हुनु पर्ने ।
(प्रकरण नं. ११)
§ लिखतमा जग्गा आफूखुस गर्नु भन्ने बोली परेको छ । सो जग्गामा घर पहिले नै बनेको भए लिखतमा त्यस्तो बोली पर्न नसक्ने ।
(प्रकरण नं. ११)
निवेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दा : x
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३९।८।१६ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र परी नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. का.न.पं.साविक वडा नं. २(क) कि.नं. ३११ मा ०–३–० मा जग्गा म र विपक्षी कयौको नाउँमा दर्ता भएको सो जग्गामा लम्बाइ फुट २५ चौडाइ फुट ३० उचाई फिट ४० को घर बनाउन नक्सा पास गरिपाउँ भनी म राममाया र विपक्षी कयौको वारेस भई विपक्षी अर्जुनले का.न.पं.मा दर्खास्त दिएकोमा डिल्लीबहादुरको उजूरी परी उजूर परेको बाहेक गरी लम्बाइ फिट २३–९ मात्र नक्सा पास गरी जनही रु.पचास हजार खर्च गरी ०३२ साल चैत्रमा घर तयार गरी पसल जति म राममाया र त्यसदेखि बाहेक तला कयौले चलन गरी आएको म समेतलाई हेर विचार गरी रिझाएको हुनाले अर्जुनलाई सो कि.नं. ३११ को ०–३–० जग्गा सम्म ०३२।१२।३० गते बकसपत्र पास गरी दिएको । पसलमा महीनाको रु.७००। मा ०२३।११।२३ देखि शिवरामलाई बहालमा राखेको बाहाल दिएन पसलबाट उठेन भनी अर्जुनले वा.अञ्चलाधीशमा निवेदन दिएकोमा पछि ताला खुलाई पसल चलन चलाई पाउँ भन्ने विपक्षीहरूको उजूरको मुद्दा यसै अदालतमा छ । उक्त घर म राममाया र विपक्षको आधा आधा हक लाग्ने त्यस्तो घर पसल अर्जुनको भनी ०३४।४।१२ गतेदेखि खिचोला गर्नुभयो मेरा हकको रु.५०,०००। जाने आधा घर पसल छुट्याई खिचोला गरेमा सजाय गरी चलन चलाई पाउँ भन्ने समेत राममायाको मिति ०३५।१।४।२ को फिरादपत्र ।
३. म अर्जुन र शिवरामका परिश्रम मेहनत आर्जनबाट शिवरामको श्रीमती फिरादी म अर्जुनको आमा कयौ महर्जनका नाउँमा का.न.पं. वडा नं. २ क.को हाल वडा नं. १२ कि.नं. ३११ को ०–३–० आना जग्गा ०३१।६।२८।२ मा रजिष्ट्रेशन पास गराई लिई निजहरूकै नाममा का.न.पं.म अर्जुन वारेस भई नक्सा पास प्रमाणपत्र ०३१।१२।२० मा लिएको राममाया र कयौ अर्जुन शिवरामका बीच सल्लाह भई जग्गा अर्जुनलाई बकसपत्र गरी दिेने राममाया र कयौले सो घर बनाउने भनी सो ३ आना जग्गा घरसारमा ०३३।६।३ मा बकसपत्र लेखाई लिए दिएका थियौं घर बनाउन थालेपछि राममायाले बकसपत्र पास गरी दिन आलटाल गरेबाट सल्लाह भई पसल व्यापारको हरहिसाब फरक फरक गर्ने म कयौले ल.पु.मिखाबहालको ४४ फिट लामो २२ फिट चौडा पाताल जग्गा फिरादीलाई बकसपत्र गरी दिई फिरादीले पनि म कयौसँग मिली म अर्जुनलाई बकसपत्र गरी गराई दिने तय भयो । शिवराम र म अर्जुनले गरी आएको व्यापारमा एक लाख पूँजि लगाई म अर्जुनकै हक भोग चलनका यही पसलमा मासिक रु.७००। बहाल लिने गरी ०३३।११।२३ देखी पसल राखेको । फिरादी राममाया र म कयौले ०३३।११।३० मा पास गरेको बकसपत्रमा उक्त कि.नं. ३११ को ३ आना जग्गाको सम्म किटानी उल्लेख भएको घर बनाउन लागेको कुनै कुरा उल्लेख नभएको हुँदा फिरादीको कथन असत्य भएको प्रष्ट छ । दावीको घर रु.१,९७,०००। मा रा.बा.बैंक मंगल बजारमा ०३४।८।१९ मा दुष्टिबन्धक दिई सकेको र सो उपर पनि फिरादीको कुनै उजूर नभएका समेतबाट सो घर पसलमा फिरादीको हक दावी लाग्ने होइन अ.बं.८२ नं. ले फिरादीको फिराद दायर हुन गर्न नमिल्ने भएकोले खारेज गरिपाउँ भन्ने समेत कयौ महर्जन तथा अर्जुन महर्जनको संयुक्त प्रतिउत्तर ।
४. एकाको नामको पास पूर्जिले बनाएको एकाको हकको घर मात्रको अनियमित कार्यको आधारलाई अन्य प्रमाणले सहयोग नगरूञ्जेल वादी दावी पुग्ने देखिएन । घर तयार भएको भए सो सम्बन्धमा वादीले प्र.अर्जुनलाई हक छाड्दा आफ्नु हक जति हक कायम राख्नु पर्ने विवादको जग्गामा बनेको घर बकसपत्र पास हुनु अघि नै तयार भइसकेको थियो भन्न वादी दावी मिलेको देखिएन यसर्थ वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत शुरू काठमाडौं जिल्ला अदालतको मिति ०३६।११।२६।१ को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी राममायाको पुनरावेदन परेकोमा शुरूका फैसलामा लेखिएका बुँदा प्रमाण समेतबाट शुरूले वादीको दावी झुठ्ठा ठहर्याई गरेको इन्साफ मनासिब छ भन्ने समेत गरी ०३८।३।९।३ मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको रहेछ ।
६. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत वादी राममाया महर्जनको निवेदनपत्र पेश हुँदा राममाया महर्जन तथा कयौ महर्जन समेतले ०३३।११।३० मा अर्जुनलाई गरी दिएको बकसपत्रमा केवल क्षेत्रफल ०–३–० जग्गा सम्म बकसपत्र पास गरी दिएको देखिन्छ । वादी समेतका नाउँमा नक्सा पास भई बनाएको घरको वादीको हक नुपग्ने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट अ.बं.८२ नं. र रजिष्ट्रेशनको १ नं. समेतको त्रुटि गरी निर्णय गरेको देखिएको र त्यस्तो विषय सार्वजनिक विषय हुनाले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) को आधारमा पुनरावेदन गर्न अनुमति दिइएको छ भन्ने मिति ०३८।७।१८।३ को आदेश ।
७. प्रस्तुत मुद्दाको साथ प्रमाण निमित्त प्राप्त भइरहेको विवादास्पद जग्गा घर बनाउन वादी राममाया महर्जननी र प्रतिवादी मध्येकी कयौ महर्जनीबाट का.न.पं.मा नक्सा पासको लागि दर्खास्त दिई तत्सम्बन्धमा कारबाही भएको मिसिलबाट पनि उक्त कि.नं. ३११ को ०–३–० जग्गा मध्येमा अर्जुन महर्जनलाई ०३३।११।३० मा बकसपत्र पास गरी दिनु भन्दा अगाडि मिति ०३२।११।२०।६ मा नै वादी राममाया र प्र.मध्ये कयौ महर्जनका नाउँमा नक्सा पास पूर्जि प्राप्त गरेको देखिन आएकोले माथि उल्लेख भए अनुसार प्रतिवादी मध्येका अर्जुन महर्जनलाई वादी राममाया महर्जन र प्र.मध्येका कयौ महर्जनबाट ०३३।११।३० मा बकसपत्र गरी दिँदा विवादास्पद जग्गा मात्र बकसपत्र पास गरी दिएको देखिन आएकाले प्रतिवादी जिकिर अनुसार प्र.मध्ये अर्जुन महर्जनको उक्त बकसपत्रबाट विवादको घरमा हक पुग्छ भन्न न्यायोचित हुन आउदैन । तसर्थ विवादास्पद कि.नं. ३११ को ३ आना जग्गा मध्येमा बनेको वादी दावीको आधी भागको घर पसलमा प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ भन्ने समेत मिति २०३९ साल मार्ग १६ गतेको डिभिजन बेञ्चबाट भएको फैसला ।
८. वादी दावीको जग्गामा ०३३।११।३० को बकसपत्र गरी दिएकोले वादीको हक देखिन आउँदैन । बकसपत्र दिँदा घर बनिसकेको भए सोको बारेमा केही उल्लेख हुनु पर्ने हो । ०३२।१२।२० मा नक्सा पास भएकोले ०३२।१२।३० भित्रै अर्थात १० दिनभित्रै घर बन्न सक्ने स्थिति देखिदैन । घर बनिसकेको जग्गा मालपोत तिर्नको लागि सम्म बकसपत्र हुनु पर्ने प्रयोजन पनि देखिँदैन । खिचोला ठहर्याएको डिभिजन बेञ्चको निर्णय मिसिल संलग्न प्रमाणहरूको उपेक्षा गरी त्रुटिपूर्ण हुन गएको छ भन्ने समेत न्यायिक समितिको पर्चा ।
९. निवेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले विवादको ०–३–० जग्गा राममाया र कयौ महर्जनले अर्जुन महर्जनलाई हालै देखिको बकसपत्र ०३३।११।३० गते पारित गरिदिएको छ । सोही मितिमा कयौ महर्जनले राममायालाई ल.पु.मिखाबहालको पाताल जग्गा बकसपत्र पास गरी दिएको छ नक्सा पास मिति ०३२।१२।२० को १० दिनभित्रमा चार तल्ले आर.वि.सि.घर बनाउन सकिने स्थिति छैन चैत्र महीना भित्र घर बनाए भन्ने वादीको भनाई छ । सम्पूर्ण जग्गामा घर बनेको छ । ०३३।११।३० मा घर बनिसकेको भए घरको बारेमा उल्लेख हुनु पर्ने सो पनि भएको छैन । डिभिजन बेञ्चको निर्णय मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । विपक्षी वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मीले, कागजले जे बोल्छ सोही हुनुपर्छ ०३३।११।३० को लिखतमा घर बकसपत्र दिएको छैन । प्रतिवादीले आफैंले घर बनाएको भए नक्सा पास गरेको हुनु पर्ने सो केही छैन वादीका साक्षीहरूले घर बकसपत्र गरी दिनु पहिले नै बनाएको हो भनी बकी दिएका छन् । खिचोला ठहर्याएको डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१०. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा म राममाया र विपक्ष कयौ महर्जन समेत २ जनाका नाउँमा दर्ता भएको काठमाडौं नगरपञ्चायत साविक वडा २(क) कि.नं. ३११ को ०–३–० जग्गामा घर बनाउन नक्सा पासको निम्ति हामी दुई जनाको वारेस भई अर्जुन महर्जनले ०३२।१०।१२ मा काठमाडौं नगरपञ्चायतमा दर्खास्त दिई ०३२।१२।२० मा नक्सा पास पूर्जि पाई दुई जनाले उक्त तीन आना जग्गामा चार तले पक्की आर.वि.सी.ढलान गरी जनही रु.५०,०००। खर्च गरी ०३२ साल चैत्र महीना भरमा घर तयार गरिसकेपछि पसल जति जम्मै म राममायाले र पसल देखि बाहेकका अरू तल्लाहरू विपक्षीले चलन गरी आएको थियो । विपक्षी अर्जुनले रिझाएको हुनाले कि.नं. ३११ को घर पसल बनेको जमीनसम्म बकसपत्र गरी दिनुहोस् भनी बहुत जोड गरेकोले जमीनसम्म ०३३।११।३० गते हाल देखिको बकसपत्र पास गरी दिएको थिएँ । नक्सा पास भई बनिसके घरमा ०३४।४।१२ देखी विपक्षी आमा छोरा मिली खिचोला गरेकाले आधा हकको घर पसल छुट्याई अड्डैबाट चलन चलाई पाउँ भन्ने समेत वादी दावी देखिन्छ । विवादको कि.नं. ३११ को पूरै जग्गा प्रतिवादी अर्जुन महर्जनलाई हालैदेखिको बकसपत्र गरी दिएको वादी सावित देखिन्छ । विवादको जग्गामा बकसपत्र गरी दिनुभन्दा पहिले ०३२ साल चैत्र महीना भरिमा घर बनाई सकेको भन्ने वादी र बकसपत्र पाएपछि घर बनाएकोले घर आफ्नो हो भन्ने प्रतिउत्तर जिकिर देखिकोले विवादको कि.नं. ३११ मा बनेको घर ०३३।११।३० को बकसपत्र भन्दा पहिले बनेको हो वा पछि बनेको हो र वादी दावीको घरमा वादीको आधी हक लाग्ने नलाग्ने के हो भन्ने दुई प्रश्नहरूको निरोपण हुन पर्ने देखिन्छ ।
११. २०३३।११।३० को बकसपत्रद्वारा विवादको कि.नं. ३११ को ०–३–० जग्गा प्र.अर्जुन महर्जनलाई दिएकोले कि.नं. ३११ मा अरू जग्गा रहने कुरै भएन । यसलाई वादीले आफ्नो फिरादपत्रमा स्वीकार गरेको पनि छ । यदि विवादको जग्गामा बकसपत्र गरी दिनुभन्दा पहिले नै घर बनिसकेको भए सो घरको सम्बन्धमा उक्त ०३३।११।३० को लिखतमा केही कुरा उल्लेख हुनु पर्ने थियो सो केही नभएबाट सोभन्दा अगावै घर बनिसकेको थियो भन्ने देखिन आउँदैन । बकसपत्र गरिदिनु भन्दा अगावै घर बनेको र पसल वादीले चलन गर्ने माथिल्लो तल्ला प्रतिवादी मध्येको कयौ महर्जनले भोग चलन गर्ने गरेको भए सोको सबूत प्रमाण केही हुनु पर्ने सो केही छ भन्न र देखाउन वादीले सकेको छैन । ०३२ साल चैत्र महीना भित्र घर बनिसकेको भन्ने वादीको दावी छ । वादीकै भनाई बमोजिम उक्त घर चारतले आर.वि.सी.ढलान गरिएको छ । तर ०३२।१२।२० मा नक्सा पास भएपछि १० दिनभित्रमा वादीको भनाई बमोजिमको घर बनाउन सकिने स्थिति पनि देखिदैन । विवादको जग्गामा घर बनिसकेको भए र सो घर वादीले बकस दिन नचाहेको भए लिखतमा नै सो कुरा स्पष्टरूपले उल्लेख भएको हुनु पर्ने सो केही नभएको र विवादको जग्गामा गराइएको नक्सा पास बाहेक अन्य ठोस सबूत प्रमाण वादीबाट आउन नसकेको विवादको जग्गामा घर बनिसकेको थियो भन्ने प्रमाणित हुनसकेको देखिएन । घर बनिसकेको भए घर बाहेक गरी जग्गा मात्र बकसपत्र गरी लिनु पर्ने कुनै प्रयोजन देखिँदैन । अर्को कुरा वादीले ०३३।११।३० मै प्रतिवादी मध्येकी कयौको नाउँमा दर्ता रहेको ललितपुर नगरपञ्चयात वडा नं. २१ मिखाबहालको पाताल जग्गा प्रतिवादी कयौ महर्जनबाट बकसपत्र गराई लिएको पनि देखिएको छ । विवादको ०३३।११।३० को लिखतमा जग्गा आफू खुश गर्नु भन्ने बोली परेको छ । सो जग्गामा घर पहिले नै बनेको भए लिखतमा त्यस्तो बोली पर्न सक्ने थिएन । यसबाट पनि विवादित जग्गामा ०३३।११।३० भन्दा पहिले नै घर बनिसकेको थियो भन्न सकिने अवस्था देखिँदैन ।
१२. अतः उपर्युक्त कारणहरूबाट विवादको कि.नं. ३११ को जग्गामा ०३३।११।३० भन्दा अगावै घर बनिसकेको र वादीको हक लाग्ने प्रमाणित हुन नआएकोले खिचोला मेटाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्याएको शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । विवादको आधी मात्र घर पसलमा वादीलाई चलन चलाई दिने ठहर्याएको डिभिजन बेञ्चको ०३९।८।१६ को इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।
तपसील
माथी इन्साफ खण्डमा वादी दावी नपुग्ने ठहरेकोले डिभिजन बेञ्चको ०३९।८।१६ को फैसला बेमोजिमको लगत राख्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी का.जि. अ.त.मा लगत दिनु………………….१
प्रतिवादीले यस अदालतमा धरौटीको आदेश बमोजिमको का.जि. अ.त.मा धरौटी राखेको कोर्टफी रू.४८१२।५० प्रदिवादीलाई फिर्ता दिनु र ऐ ऐ मा सदर स्याहा भएको कोर्टफी रु.३६५।३० वादीबाट भराई पाउँ भनी ऐनका म्यादभित्र प्रतिवादीको दर्खास्त पर्न आए कानूनबमोजिम वादीबाट भराई दिनु भनी ऐ ऐ मा लगत दिनु………………….२
मिसिल नियमबमोजिम गरी बुझाई दिनु…………………. ३
उक्त रायमा हामीहरूको सहमत छ ।
न्या. बब्बर प्रसाद सिंह,
न्या. गजेन्द्र केशरी श्रीवास्तोला
इति सम्वत् २०४१ साल आश्विन ५ गते रोज ६ शुभम् ।