September 21, 1984
Created by nepalarchives

निर्णय नं. २०१९ – डाँका

निर्णय नं. २०१९  ने.का.प. २०४१               अङ्क ६ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री...

निर्णय नं. २०१९  ने.का.प. २०४१               अङ्क ६

फुल बेञ्च

इजलाश

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४० सालको फौज्दारी फुल बेञ्च नं. १९

मुद्दा : डाँका

निवेदक/प्रतिवादी : पर्सा जिल्ला साविक रामगढवा गा.पं. वडा नं. १ हाल रामगढवा सिंसिंया गा.पं. वडा नं. ६ बस्ने राजेश्वर दुवे बाहुन

ऐ ऐ बस्ने जग्गु राउत कुर्मी

जि. पर्सा साविक रामगढवा गा.पं. वा.नं. ८ को हाल परिवर्तित श्रीसिंसिया राम गढवा गा.पं. वडा नं. ८ बस्ने इसरायल देवान फकिर

ऐ ऐ बस्ने जुमराती देवान फकिर

 

विरूद्ध

निवेदक/प्रतिवादी : गेना राउत कुर्मीको जाहेरीले श्री ५ को सरकार

फैसला भएको मिति : २०४१।६।५।६ मा

§  वारदातमा संलग्न थियो भन्ने कुराको तथ्ययुक्त प्रमाण वादी श्री ५ को सरकारको तर्फबाट आउन सकेको देखिँदैन तसर्थ यी प्रतिवादीहरूलाई डाँका गरेको ठहर्‍याएको इन्साफ गल्ती हुनाले सफाई पाउने ।

(प्रकरण नं. ३१)

निवेदक प्रतिवादी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री कृष्ण प्रसाद भण्डारी

बादी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री ध्रुवलाल राज

उल्लेखित मुद्दा : x                                                                       

फैसला

        न्या. बासुदेव शर्मा : म.क्षे.अ.को फैसला उपर निवेदकहरूको श्री ५ महाराजाधिराजका हजुरमा बिन्तिपत्र परेकोमा इन्साफ जाँची कानूनबमोजिम गर्नु भन्ने हु.प्र.बक्स भई आएबमोजिम यस अदालतको डिभिजन बेञ्च समक्ष निर्णयार्थ पेश हुँदा माननीय न्यायाधीशको बीचमा राय बाझी भएको हुनाले प्रस्तुत मुद्दा यस फुल बेञ्च समक्ष निर्णयार्थ पेश हुनआएको छ । यस मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

        २.  २०३० साल भाद्र १८ गतेको रात करिव १ बजे २०।२२ जना डाँकाहरूले डाँका वारदात गरी बाबु इन्द्रजितलाई कुटपिट गरी सख्त घाइते पारी दिएको मेरै गाउँको रामचन्द्रले खबर गरेकोले म तुरून्त आई बाबुसँग कुराकानी हुँदा उक्त डाँकुहरू मध्ये मेरै गाउँ वार्ड नं. ८ बस्ने जुमराती देवान १, ऐ ७ नं. वार्ड बस्ने सिवचन राउत १, ऐ १ नं.बस्ने राजेश्वर दुवे बाहुन १, ऐ बस्ने जग्गु राउत १ समेतका डाँकाहरूले बिगो रु.१३७६२।७५ को धनमाल लगेकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।

        ३.  उजूरी बमोजिम म समेत भई डाँका वारदात गर्न गएको होइन, छैन भन्ने समेत प्र.जुमरातीको बयान कागज ।

        ४.  २०३०।५।१८ गते मेरो घरमा दर्खास्त बमोजिम जुमराती देवान १, शिवचन राउत १, जगु राउत १, राजेश्वर दुवे १ समेतलाई र पर्सा अलौ बस्ने हमिद मिया १, रामगढवा बस्ने सिताराम राउत अहिर १, इसरायल देवान १, रामलखन उपाध्याय १, झमन राउत १, जुगल किशोर १ समेत जना १० लाई उक्त डाँका वारदातमा चिन्हेको हुँ भन्ने समेत व्यहोराको इन्द्रजित राउतको कागज ।

        ५.  उजूरवालाको बाबु इन्द्रजितको बयान बमोजिम म समेत भई निजको घरमा डाँका वारदात गर्न गएको होइन, छैन झै झगडा र चुनाव सम्बन्धीको रिसइवीबाट म समेतका उपर झुठ्ठा उजूर गरेका हुन् भन्ने समेत व्यहोराको जुगल किशोर १, झमन राउत १ समेतको बयान कागज ।

        ६.  उक्त प्रतिवादीहरूलाई मौकैमा डाँकाहरूले नै परस्पर बालेको टर्च बत्तीले चिनेको हुँ भन्ने समेत व्यहोराको र प्रतिवादीहरू मध्येको हमिद मियाँ बाहेकको जुगल किशोर समेतको उपर रिसइवीले यो झुठ्ठा उजूर गरेका हुन् निजहरूले डकैती गरे गराएको होइन छैन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

        ७.  गैना राउत कुर्मीको उजूरी दर्खास्तमा डाँकाहरू मध्ये जुमराती देवान १, शिवचन राउत १, राजेश्वर दुवे १, जगु राउत अहिर १, समेतलाई चिनेको कुरा बताएको हुँदा दर्खास्त गरेको छु भन्ने गेना राउतको जाहेरी दर्खास्त भएको र जुमराती देवान, शिवचन राउत, राजेश्वर दुवे, जग्गु राउत अहिर समेतका ४ जना सो बाहेक इसरायल देवान, जुगल किशोर, सिता राउत, रामलखन उपाध्याय, हमिद मियाँ, झमन राउत समेत १० जनालाई मैले चिनेको हुँ भन्ने इन्द्रजितको बयान भएको ।

        ८.  प्र.जुगल किशोर, झमन राउत, प्र.सिता राउत १ का उपर रिसइवीको जरियाबाट उजूरी दर्खास्त दिएको हुन भनी लेखाई दिएका र गैना राउतको उजूरी दर्खास्त पनि प्र.जुगल किशोर १, झमन राउत १, सीता राउतको नाउँ उल्लेख नभएको हुँदा पक्राउमा परेका प्र.जुगल किशोर, झमन राउत १ र पक्राउमा नपरेका प्र.सिता राउत १, शिवचन राउत १ को उपर मुद्दा चलाउन सबूत नपुगेको हुँदा मुद्दा नचलाउने ।

        ९.  पक्राउमा परेका जुमराती देवान कसूरमा इन्कार भए तापनि जुमराती देवान १ पक्राउमा नपरेको जग्गु राउत अहिर १, राजेश्वर दुवे १ लाई चिनेको हुँ भनी सरजमीनमा अधिकांश व्यक्तिले लेखाई दिएको र पक्राउमा नपरेका इसरायल मिया, हमिद मिया, रामलगन उपाध्यायलाई चिन्हेको हुँ र प्र.रामलखन उपाध्याय १ को हातमा बन्दुक लिएको मौकामा देखे चिनेको हुँ भनी सरजमीनका अधिकांश व्यक्तिले लेखाई दिएको प्र.रामलगन उपाध्याय पहिले पनि डाँकामा सजाय पाएको गैना राउतको निवेदनबाट देखिएको र प्र.इसरायत १, जुमराती देवान १, पनि मैले डाँका मुद्दामा परेको भन्ने समेत संकलित सबूत प्रमाणको आधारबाट विरूद्ध महलमा लेखिएको प्र.जुमराती १, इसरायल देवान १, रामलगन उपाध्याय १, हमिद मिया, जग्गु राउत १, राजेश्वर दुवे १ समेत भई बिगो रु.१३७६२।७५ को धनमाल डाँका गरी लगेको प्रमाणित हुनआएकोले निजहरू उपर मुलुकी ऐन चोरीको ६ नं. बमोजिम अपराध गरेमा ऐ को १४ को देहाय ४ बमोजिम कारबाही भई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको स.स.अ.तथा स.स.अ.को संयुक्त प्रहरी प्रतिवेदन भएको ।

        १०. जाहेरवालाका बाबु इन्द्रजित पहिले प्रधानपञ्च थिए, अरू प्रधानपञ्च खडा गरी निर्वाचनमा विजय गराएको रिसइवीले झुठ्ठा पोल गरेका हुन निजको घरमा मैले डाँका गरेको छैन भन्ने समेत प्र.जुमरातीको बयान । वारदातको रातमा महरपुरमा हुँदा मैले डाँका गरेको छैन भन्ने समेत राजेश्वरको बयान ।

        ११.  वारदातको रातभर मेरै गाउँको विश्वराज बहादुर र मोतीलाल पटहेरासँग साथमा रही अलौको रामचन्द्रको द्वारमा नाच हेरिहेको थिएँ, उक्त रात म कही गएको थिएन, इन्द्रजित राउतसँग सुगौली बजारमा भाद्र महीना ११ गतेका दिन मासुको झैं झगडाको रिसइवीले पोल गरेको हुन मैले चोरी डाँका गर्न गएको छैन भन्ने समेत व्यहोराको प्र.हमिद मियाँको बयान ।

        १२. ०३०।५।१६ गते म मेरो मामाको घर पुलकोलमा गएको अं.५६ दिन पछि मात्र फर्केको हुँ डाँका वारदातको दिन म आफ्नो घरमा छैन, चुनावको सम्बन्धमा म प्रचार गर्दिेन भनेको रिसइवीले पोल गरेका हुन मैले चोरी डाँका गर्न गएको छैन भन्ने समेत व्यहोराको प्र.जग्गु राउत अहिरको बयान ।

        १३. ०३०।५।१६ गते नै म मेरो बहिनीको घर जिल्ला बारा टेडीकटी गाउँमा गई ऐ २१ गते फर्केको हुँ, डाँका वारदातका दिन म घरमा छैन, लालमन कुर्मी, रामवालक, रामचन्द्र कुर्मी समेत सरजमीनमा दर्खास्तवालाको ७ पुस्ता भित्रको दाजुभाइ भएको झुठ्ठा व्यहोरा लेखाई दिएका छन् म डाँका गर्न गएको होइन, छैन भन्ने समेत व्यहोराको प्र.इसरायल मियाँको बयान ।

        १४. प्रतिवादी रामलगन उपाध्यायका नाउँमा जारी भएको म्याद मिति ०३०।११।६।१ मा तामेल भई सोको म्यादमा उपस्थित नभई शुरू म्यादै गुजारी बसेको थमाएको र थमाई ल्याएको समेत मिसिलबाट नदेखिएको ।

        १५. बाबु इन्द्रजितसँग बुझ्दा ०३०।५।१८ गते गाउँकै जुमराती १, शिवचन कुर्मी, रामगढवा बस्ने १, ऐ बस्ने वहअरीको राजेश्वर दुबे १, जग्गु अहिर १ जवान ४ को नाउँ लिनुभो बिगो रु.१३७६२।७५ को धनमाल डाँका गरी लगे भन्ने समेत व्यहोराको वादी पक्षका गवाह गेना राउतको बकपत्र ।

        १६. प्रतिवादी राजेश्वर दुवेको साक्षी हरि चौधरी थारू १, ग्रहन हजरा दुसाद १, महजरा महतो धानुक १, वलदेव राउत १, मन्सी राउत १, मंगल राउत १, प्र.जुमराहीको साक्षी बृक्षा राउत कुर्मी १, भरत साकलबार १, देवनारायण कलवार १, चोकी सा कलवार १, राजेश्वर राउत १, प्र.पं.मदनप्रसाद १, हुसेन मिया अन्सारी १, प्र.हमिद मियाको साक्षी मोतीलाल पटेरा १, अलिराज मिया १, विश्वराज बहादुर १, प्र.जग्गु राउतको साक्षी दरोगा राउत १, मंगल राउत अहिर १, हिरा सा कलवार १, प्र.इसरायल मियाँको साक्षी दोस महमद देवान १, महमद जलिल मिया १, बद्री देवान फकिर १ समेतको बकपत्र ।

        १७. प्रस्तुत मुद्दामा शुरू म्यादै गुजारी बसेको प्र.रामलगन उपाध्यायको हकमा मुलतवी राख्ने निज हाजिर भए वा फेला परेका बखत ठहरे बमोजिम गर्ने गरी अरू प्रतिवादीहरुले जाहेरीमा लेखिए बमोजिम डाँका गरे नगरेको निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरूले यस अदालतमा बयान गर्दा प्र.जुमरातीले मैले जाहेरवालाको घरमा डाँका गरेको होइन र प्र.राजेश्वर दुबे ब्राम्हणले वारदातको रातमा म हरपुर हुँदा मैले डाँकामा सम्मिलित भई डकैती गरे भन्ने कुराको प्रश्न नै उठ्दैन, मैले डकैती गरेको होइन, छैन र प्र.हमिद मिया शेषको बयानमा मैले चोरी डाँका गर्न गएको छैन र जग्गु अहिरले दर्खास्तवाला गेना राउतको बाबु इन्द्रजित राउत प्रधानपञ्चमा उठेको र मेरो प्रचार गर भनी भनेका थिए मैले प्रचार गर्दिन भनी भन्दा मसँग रिसाइरहेका थिए सोही रिसइवीबाट झुठ्ठा पोल गराएका हुनुपर्दछ, म डाँका गर्न गएको होइन भनी बयान गरेको । प्र.इसरायल देवानको बयानमा इन्द्रजित राउत प्रधानपञ्चमा उठेका र मलाई प्रचार गरी देउ भनेका र मैले दर्खास्तवालाको प्रचार नगरी प्रतिद्वन्द्धी मदनप्रसादको प्रचार गरेकोले सोही रिसइवीबाट झुठ्ठा पोल गराएको हो भन्ने समेत बयान पाइन्छ । साथै निज प्रतिवादीहरूको साक्षीहरूले पनि यी प्रतिवादीहरूले डाँका गरेको होइन छैन भनी बकपत्र गरेकोबाट यीनै प्रतिवादीहरूले डाँका गरे भनी विना पर्याप्त सबूत प्रमाण ठहराउन न्यायोचित नहुने हुँदा साथै वादी पक्षबाट जाहेरवालाको घरमा हुने प्रतिवादीहरूले डाँका गरे भनी कुनै पनि सबूत प्रमाण दिन गुजार्न नसकेको देखिएकोले वादी दावी पुग्न नसक्ने हुँदा वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको फैसला ।

        १८. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन ।

        १९. अभियुक्त मध्येको इसरायल जमुनी समेतलाई चिने भन्ने विक्रम ठाकुर लोहार जंगली राउत कुर्मी समेत सरजमीनका व्यक्तिहरूलाई अदालतबाट झिकाई कानूनबमोजिम निजहरूको बयान गराई मिसिल पठाउनु भनी मिसिल शुरू पर्सा जिल्ला अदालतमा पठाई उक्त लेखिए बमोजिम बुझी आएपछि नियमबमोजिम पेश गर्नु भन्ने २०३४।३।२०।२ को म.क्षे.अ.डिभिजन बेञ्चको आदेश ।

        २०. लालमन कुर्मी १, रामचन्द्र राउत कुर्मी १, कैलाश राउत कुर्मी १, राम अयोध्या राउत कुर्मी १, देवनन्दन राउत कुर्मी १, रामवालक राउत कुर्मी १, चोक्त राउत कुर्मी १, जंगली राउत कुर्मी १, इन्द्रजित राउत कुर्मी १, समेतको बकपत्र ।

        २१. अदालतमा बुझिएका सरजमीनका व्यक्तिहरू लालमन राउत कुर्मी, रामचन्द्र राउत कुर्मी, कैलाश राउत, राम अयोध्या राउत, देवनन्दन राउत, रामवालक राउत, चोकर राउत र जंगली राउत कुर्मीले प्रतिवादीहरू राजेश्वर दुवे, जग्गु जुमराती देवान, इसराइल, देवान, अमिद मियाँ समेतलाई वारदातका अवस्थामा पहिचान गरेको भनी बयान गरी दिएको देखिँदा उपरोक्त प्रतिवादीहरूलाई सफाई दिएको पर्सा जिल्ला अदालतको इन्साफ नमिलेको हुँदा अ.बं.२०२ नं. र क्षेत्रीय अदालत नियमावली बमोजिम उक्त माथि लेखिएका प्रतिवादीहरूलाई झिकाई नियमबमोजिम गरी पेश गर्नु भन्ने २०३५।४।२३।५ को म.क्षे.अ.को डिभिजन बेञ्चको आदेश ।

        २२. यसमा राजेश्वरले चक्कुले मलाई पेटमा रोपी चिरी दिएको भनी घाइते हुने इन्द्रजीत र जाहेरी दर्खास्तमा उल्लेख भएको प्रेमप्रसादलाई अदालतले बुझेको नदेखिँदा कानूनबमोजिम बुझी पुरानो मुद्दा हुँदा १ महीना भित्र कार्य सम्पन्न गरी पठाउनु भनी यो मिसिल पर्सा जिल्ला अदालतमा पठाई कार्य सम्पन्न भई आएपछि कानूनबमोजिम पेश गर्नु यो आदेशको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिनु भन्ने २०३५।११।२३।४ को म.क्षे.अ.डिभिजन बेञ्चको आदेश । गवाह प्रेमप्रसाद कुर्मीको बकपत्र ।

        २३. अभियुक्तहरूले प्रहरी प्रतिवेदन दावी अनुसार डाँका वारदात गरेकै देखिन ठहर्न आउँछ, सफाई दिने गरेको जिल्ला अदालतको इन्साफ उल्टी हुने ठहर्छ, तपसील बमोजिम गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको २०३६।२।२८ गतेको फैसला ।

        २४. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट किनारा भएको डाँका मुद्दाको मिसिल झिकी इन्साफ जाँची कानूनबमोजिम छिनी दिनु भनी बक्स भई यस मुद्दा शाखामा दर्ता हुनआएको रहेछ ।

        २५. प्रतिवादीहरूले डाँका गरेको भन्ने प्रमाण पुर्‍याउने अभिभारा वादी पक्षको हुने भन्ने कुरामा दुई मत हुन सक्तैन जाहेरवालाको निजको बाबु इन्द्रजितको भनाई अनुसार जाहेरी दिएकोमा ४ जनालाई किटानी पोलेको छ तर इन्द्रजितले १० जनालाई चिने भनी बयान गरेको चस्मदिद देख्ने भनेको लालमन समेतको भनाई प्रहरीमा र अदालतमा गरेको बयान मिलेको छैन । तसर्थ प्रतेवादीहरूलाई क्षेत्रीय अदालतले दोषी ठहर्‍याएको इन्साफ मिलेको नहुँदा अ.बं.२०२ नं. बमोजिम सरकारी अधिवक्तालाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने सर्वोच्च अदालतको मिति २०४०।१।१३।३ को आदेश ।

        २६. प्रतिवादीहरू राजेश्वर दुवे र जग्गु अहिरले डाँका गरेको र प्रतिवादीहरू जुमराती र इसराइलले सफाई पाउने ठहर्छ भन्ने मा.न्या. श्री त्रिलोकप्रताप राणाको राय र यी चारै जना प्रतिवादीहरू राजेश्वर दुबे, जग्गु अहिर, जुमराती र इसराइलले डाँका गरेको ठहर्छ भन्ने मा.न्या. श्री हरगोविन्द सिंह प्रधानको राय भई डिभिजन बेञ्चबाट राय बाझी फैसला भएको रहेछ ।

        २७. यसरी यस अदालतको डिभिजन बेञ्चका माननीय न्याायधीशहरूको बीचमा राय बाझी भई यस फुल बेञ्च समक्ष निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दामा प्रतिवादी राजेश्वर दुबेको तर्फबाट वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले वास्तवमा डाँका वारदात भएको नै होइन । मेरो पक्ष डाँका गरेकोमा इन्कारी छ । वारदात घटेको देख्ने भनिएका सरजमीनका व्यक्तिहरूको भनाई एक आपसमा मिल्दैन जस्तो कि लालमनले प्रहरी समक्ष बयान गर्दा मेरो पक्षको हातमा बन्दुक थियो भन्छ भने अदालतमा भाला थियो भन्छ । त्यस्तै राम बालकले प्रहरी र अदातलमा लाठी, रामचन्द्रले प्रहरी र अदालतमा हरियो बाँसको लाठी थियो भन्छ जबकि वारदातबाट पिडित हुने व्यक्तिहरू इन्द्रजित र प्रेमप्रसादले जग्गु र राजेश्वरले छुराले प्रहार गर्‍यो भन्छ । यसरी चस्मदिद व्यक्तिहरूको भनाई नै बाझिएको छ । मेरो पक्षले उक्त वारदातका दिनमा धान काट्न गएको भनेका छन् र निजका साक्षीहरूले खेती गरी रहेका अवस्थामा देखे भनेका छन् । मेरो पक्ष र निजका साक्षीहरूको बयान बाझिएको छैन तसर्थ उक्त वारदातको दिन मेरो पक्ष अन्यत्र रहेको छ र उक्त डाँका वारदात घटेकै होइन रिसइवीको कारणले मेरो पक्षलाई पोलेको हुनाले मेरो पक्षले सफाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नुभयो । वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री ध्रुवलाल राजले जाहेरवाला गेना राउत र उक्त डाँकाको वारदातमा घाइते हुने इन्द्रजित समेतले यी प्रतिवादीहरूको नाम किटान साथ भनेका छन् । यी प्रतिवादीहरूलाई वारदात स्थलमा देखे चिनें भन्ने सरजमीनका व्यक्तिहरूले अदालतमा आई बकपत्र गरी दिएको हुनाले निजहरूको भनाइलाई प्रमाणमा लिनु हुन्छ । त्यसकारण मध्यमाञ्चल क्षेत्रीय अदालतले यी प्रतिवादीहरूलाई सजाय गरेको निर्णय मनासिब छ भन्ने समेत बहस गर्नुभयो ।

        २८. आज निर्णय सुनाउनका लागि तारिख तोकिएको यस मुद्दामा प्रतिवादी रामलगन उपाध्याय ०३०।११।६।१ मा तामेल भएको म्याद गुजारी बसेकोले ऐनका म्याद नाघेपछि कानूनबमोजिम हुने भनी म.क्षे.अ.बाट फैसला भइरहेकोले यस सम्बन्धमा केही विचार गरी रहनु परेन ।

        २९. प्रस्तुत मुद्दामा प्रतिवादीहरू राजेश्वर दुवे र जग्गु राउतको हकमा विचार गर्दा जोहरवाला गंगा राउतले दिएको जोहरी दर्खास्तमा यी दुवै प्रतिवादीहरूको नाम किटानासाथ उल्लेख गरेको पाइन्छ भने घटनास्थलमा घाइते हुने व्यक्ति इन्द्रजित राउतले पनि यी दुवै व्यक्तिलाई डाँका वारदातमा चिनेको हुँ भनी कागज गरेको कुरा मिसिल संलग्न कागजातबाट देखिन आउँछ । प्रतिवादी राजेश्वर दुवेले जाहेरवालाको घरमा मैले डाँका गर्न गएको छैन । उक्त वारदातको १ दिन अघि १७ गतेको दिन म हरपुर पञ्चायत वार्ड न.३ हरपुरमा मेरो खेती भएको घरमा भदैया बाली कटाउन गएको र २३ गते घरमा फर्की आएको हुँ भनी आफ्नो सफाईका लागि ग्रहण हजारा दुसाध, विष्णु महतो धानुक, मंगल राउत अहिर, महजर महतो धानुक समेत ९ जनालाई साक्षीको रूपमा पेश गरेका छन् । यी साक्षीहरूलाई अदालतमा ल्याई बकपत्र गराउँदा ग्रहण हजारा, दुसाध, महजर र बलदेवले खेती गर्न गएको भनी बकेकोबाट प्रतिवादी राजेश्वर दुवे र उनका साक्षीहरूको भनाइमा विरोधाभास पाइयो । यस्तै गरी प्रतिवादी राजेश्वरका अर्का साक्षी हरी चौधरीले आफू सहित ६ जना राजेश्वर दुवेको बंगलामा सँगै सो दिन सुतेका थियौं भनेको छ, जुन कुरा प्र.राजेश्वर स्वयंले आफ्नो बयानमा भन्न सकेको छैन । तसर्थ प्रतिवादी राजेश्वरका साक्षीहरूको बकाई भरपर्दो देखिएन । यस्तै गरी प्रतिवादी जग्गु अहिरले ०३०।५।१६ गते मामा बिरामी भएकोले फुलकोलमा गएको थिएँ र ५६ दिन पछि मात्र फर्केको हुँदा डाँका वारदातको दिन म घरमा छैन भनी बयान गरेको पाइन्छ । तर निजको साक्षीहरू दरौगा, मंगल राउत र हिरा सा कलवारले वारदातको दिन समयमा अर्थात ०३०।५।१८ गते जग्गुलाई पुलकोलमा देखेको भेटेको भन्न नसकी ०३०।५।१६ गते भेटेको भनी बकपत्र गरेको पाइन्छ यसरी प्रतिवादी जग्गुले वारदातको दिन र समयमा आफू अन्यत्र छु भन्ने कुराको पक्का प्रमाण दिन सकेको पाइँदैन ।

        ३०. डाँकाको प्रहारमा पर्ने इन्द्रजितले प्रतिवादी जग्गु राउत र राजेश्वरले मेरो दुबै हात समाती मेरो पाखुरा र पेटमा छुराले प्रहार गरे भनी मौकामा गरेको कागजलाई निजको नाति र सोही वारदातमा पिडित हुने पे्रमप्रसादले राजेश्वर र जग्गुले बाजे इन्द्रजितलाई छुराले हानी घाउ खत पारी रहेको थियो भनी अदालतमा समेत बकी लेखी दिएकोबाट समर्थित हुन आउँछ । सरजमीनका चस्मदिद व्यक्तिहरू रामचन्द्र राउत, लालमन राउत कुर्मी समेतले प्रतिवादी राजेश्वर दुवे र जग्गु अहिरलाई वारदात स्थलमा देखे चिने भनी अदालतमा आई बकपत्र गरी दिएको पाइन्छ । मिसिल संलग्न यी सम्पूर्ण सबूत प्रमाणहरूबाट यी प्रतिवादीहरू राजेश्वर दुवे र जग्गु अहिरले डाँका गरेको होइन भन्न मिलेन । तसर्थ यी प्रतिवादीहरूलाई मध्यमाञ्चल क्षेत्रीय अदालतले डाँका गरेको ठहर्‍याई सजाय दिने गरेको निर्णयलाई सदर गरेको डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय मनासिब ठहर्छ ।

        ३१. अब अरू दुई प्रतिवादीहरू इसराइल र जुमराती जसलाई डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाले सफाई दिने ठहर्‍याएको र मा.न्या. श्री हरगोविन्द सिंह प्रधानले डाँका गरेको ठहर्‍याएको राय मध्ये कुन चाहिं राय मनासिब छ भन्ने तर्फ विचार गर्दा जाहेरवाला गेना राउतले आफ्नो जाहेरी दरखास्तमा जुमराती देवान, शिवचन राउत, राजेश्वर दुवे र जग्गु राउत गरी चार जनाको नाउँ उल्लेख गरेको र प्रतिवादी इसराइलको नाम उल्लेख गरेको पाइँदैन । डाँका वारदातमा घाइते हुने चस्मदिद व्यक्ति प्रेमप्रसाद कुर्मीले राजेश्वर र जग्गुलाई मात्र देखेँ मलाई हानेको टायममा अरू डाँकाहरूलाई देखिन भनी अदालतमा बकपत्र गरेको पाइन्छ । अदालतमा यी दुवै प्रतिवादीहरू डाँका गरेकोमा इन्कारी रहेको देखिन्छ । सरजमीनका चस्मदिद गवाह कैलाश राउत कुर्मीले अदालतमा गरेको बकपत्रमा इसराइल र जुमराती पूर्वतर्फ भागी गए भनी लेखेका र राम अयोध्या राउतले डाँकाहरू डकैती गर्दा दक्षिणतर्फ भागेको देखें भनी लेखेको पाइन्छ । यसरी यी प्रतिवादीहरू जुमराती र इसरायल उक्त डाँका वारदातमा संलग्न थियो भन्ने कुराको तथ्ययुक्त प्रमाण वादी श्री ५ को सरकारको तर्फबाट आउन सकेको देखिँदैन । तसर्थ यी प्रतिवादीहरू इसराइल र जुमरातीलाई मध्यमाञ्चल क्षेत्रीय अदालतले डाँका गरेको ठहर्‍याएको इन्साफ गल्ती हुनाले यिनीहरूले सफाई पाउने ठहर्छ भन्ने डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री त्रिलोप्रताप राणाको राय मनासिब ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा केही गल्ती हुनाले तपसील बमोजिम गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

तपसील

माथि इन्साफ खण्डमा प्र.जुमराती देवान तथा प्र.इसराइल मियाले वादी दावीबाट सफाई पाउने ठहरेकोले निजहरूको हकमा मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३६।२।२८ को फैसला बमोजिमको कैद जरिवाना तथा बिगो भराउने गरिएको लगत कायम राख्नु पर्दैन । व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी शुरू पर्सा जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु………….१

प्र.जुमराती देवान र प्र.इसराइल मियाले वादी दावीबाट सफाई पाएकोले निजहरूले राखेको जेथा जमानी फुकुवा गरी दिनु पर्ने हुँदा फुकवा गरी दिनु र निजहरूबाट दाखिल हुनआएको लालपूर्जा तथा तिरो तिरेको रसिदहरू समेत फिर्ता दिनु….२

जाहेरवालाको बिगोको हकमा प्रतिवादीहरू तीन जनाबाट दामासाहीका दरले असूल उपर हुन पर्ने हुँदा म.क्षे.अ.को बिगोको लगत काटी दिनु र बिगो रु.१६,७६२।७५ दामासाहीका दरले जनही पर्न आउने देहाय बमोजिमको बिगो भराई पाउँ भनी प्रतिवादीहरूको जेथा देखाई ऐनका म्यादभित्र दर्खास्त पर्न आएमा कानूनको रीत पुर्‍याई देहायका प्रतिवादीहरूबाट भराई दिनु भनी शुरू पर्सा जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु…………….३

प्र.राजेश्वर दुवे बाहुन के रू. ४५८७।५८ प्र.जग्गु राउत अहिर के रू. ४५८७।५८ प्र.हमिद मिया के रु.४५८७।५८

प्रतिवादीहरू राजेश्वर दुवे बाहुन तथा जग्गु राहुत अहिरके माथि इन्साफ खण्डमा डाँका ठहर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहरेको र निजहरूको हकमा कैद तथा जरिवानाको लगत कायमै रहेको र हाल इन्साफ जाँचको लागि आएको हुँदा केही गरिरहन परेन मिसिल नियमबमोजिम गरी बुझाई दिनु……………..४

 

उक्त रायमा हाम्रो सहमति छ ।

 

प्र.न्या. नयनबहादुर खत्री,

 

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४१ साल आश्विन ५ गते रोज ६ शुभम् ।