निर्णय नं. १९९७ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. १९९७ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रि.नं....
निर्णय नं. १९९७ ने.का.प. २०४१ अङ्क ५
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको रि.नं. १७०९
विषय : उत्प्रेषण
निवेदक : सुनसरी जिल्ला र्इटहरी गा.पं. वडा नं. २ हाल का.जि. का.न.पं. वडा नं. ४ सिफल बस्ने देवेन्द्र बजगाई
विरूद्ध
विपक्षी : त्रिभुवन विश्वविद्यालय, त्रिपुरेश्वर
शिक्षा तथा संस्कृति मन्त्रालय उच्च शिक्षा शाखा केशर महल काठमाडौं
त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, जमल
आदेश भएको मिति : २०४१।५।२१।५ मा
§ पदक प्राप्त गर्न आवश्यक योग्यता पुगेकाहरूलाई उक्त पदक शिक्षा मन्त्रालयबाटै दिने कुरा सर्वविदितै छ भन्नेसमेत त्रि.वि.वि.प.नि.का.जमल समेतको लिखितजवाफमा उल्लेख भएको देखिएकोले निवेदकबाट निवेदनपत्र लिई आवश्यक कारबाही गर्नु भनी शिक्षा तथा संस्कृति मन्त्रालय उच्च शिक्षा शाखाको नाउँमा परमादेशको आदेश जारी गरी दिने ठहर्छ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान सरकारी अधिबक्ता श्री इन्द्रराज पाण्डे
उल्लेखित मुद्दा : x
आदेश
न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार रहेछ :
२. म निवेदकले श्री त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ई.सं.१९७७–१९८० को शैक्षिक वर्षको वि.एस.सी.ए.जी.को प्रथम समूह माघे सेमेष्टर कक्षामा भर्ना भई ३ वर्ष अध्ययन गरी परीक्षामा डिस्टिङसन ल्याई प्रथम श्रेणी प्रथम स्थान प्राप्त गरेको थिएँ । जुन कुराको पुष्टि मेरो अंक तालीका तथा उक्त संस्थानबाट मलाई ई.सं.१९८१।१०।२५ मा दिइएको पत्र समेतबाट पुष्टि हुन्छ । निवेदकले प्रथम श्रेणीमा प्रथम स्थान प्राप्त गरकोले महेन्द्र विद्या भूषण पदकको लागि मिति ०३९।६।२८ मा सह–कुलपतिज्यू समक्ष निवेदन दिएको थिएँ । सहकुलपतिज्यूबाट उक्त निवेदनमा उल्लिखित व्यहोरा जायज देखिएको भनी व्यवस्था मिलाई दिनु भनी मिति ०३९।६।२९ मा उपकुलपतिज्यूलाई पत्र पठाइयो । उक्त कुराको कारवाई गर्न पुनः रजिष्ट्रारज्यू समक्ष पठाइयो र रजिष्ट्रारज्यूबाट टिप्पणी उठाई उपकुलपतिज्यू समक्ष पेश भई टिप्पणी सदर गरियो । यसै बीच शिक्षा तथा संस्कृति मन्त्रालय उच्च शिक्षा शाखा केशरमहलबाट उक्त पदकको लागि मिति २०३९।८।१८ को गोरखापत्रमा म्याद बढाई दर्खास्त आवहृान गरियो । म निवेदकले मिति ०४०।६।१४ मा उक्त सम्बन्धमा महेन्द्र विद्या भूषण कमिटिको निर्णयको जानकारी पाउँ भनी सहकुलपति समक्ष निवेदन दिएँ तर मलाई केही जानकारी दिइएन ।
३. तत्पश्चात उपरोक्त तथ्य उल्लेख गर्दै महेन्द्र विद्या भूषणको निमित्त आवेदन दिने अन्तिम म्याद ०३९।८।२९ मा परीक्षा नियन्त्रण कार्यालय तथा रजिष्ट्रारको कार्यालयबाट निर्णय भई आवश्यक सिफारिश आएपछि मात्र मान्य हुने गरी मिति ०३९।११।१२ मा हुने शिक्षा दिवसमा पदक पाउने व्यवस्था मिलाई पाउन सचिवज्यू शिक्षा तथा संस्कृति मन्त्रालय समक्ष निवेदन दिएँ । उक्त समयको पदक कसैले पनि पाएन ।
४. पुनः ०४०।६।१३ को गोरखापत्रमा शिक्षा तथा संस्कृति मन्त्रालयबाट महेन्द्र विद्या भुषण पदकको लागि सन् १९७३ वा सो भन्दा पछिको परीक्षामा स्नातक उपाधिमा प्रथम श्रेणीमा प्रथम भएको वा ग्रेड प्वाइन्ट प्रणाली अन्तर्गत हरेक पाठ्यांशमा उच्चतम ग्रेड प्राप्त गरी स्नातक उपाधिमा सर्वोच्च स्थान गरेकाहरूबाट निवेदन आवहृान गरियो । म निवेदकले पनि महेन्द्र विद्या भूषण पाउनु पर्ने हो भनी सिफारिशको लागि निवेदन दिई त्रि.वि.वि.परीक्षा नियन्त्रण कार्यालयमा मिति ०४०।७।२८ गते जाँदा निवेदन दर्ता गर्नबाट पनि इन्कार गरियो । तत्पश्चात मिति ०४०।६।२४ मा प्रत्यर्थी नं. २ बाट मेरो उपरोक्त पहिलो आवेदनमा महेन्द्र विद्या भूषण पदक सिफारिश हुन नसकेको व्यवहोरा जनाई मलाई पत्र लेख्ने काम भयो मलाई उक्त पदक नदिइने हो भने कारण सहित मलाई जानकारी दिनु पर्दछ । बिना आधार हचुवा तवरबाट महेन्द्र विद्या भुषणको पदक मेरो निमित्त सिफारिश हुन नसकेको भन्ने कानून विपरीत भई निवेदकको उपरोक्त वर्णित हकहरू अतिरिक्त संवैधानिक प्रत्यावृति प्राप्त धारा १०,११,१५ र नागरिक अधिकार ऐनको दफा ३ समेतका हक अपहरित भएको हुँदा आगामी हुने शिक्षा दिवस समारोहमा दिइने महेन्द्र विद्या भुषण पदकबाट समेत वञ्चित गर्ने प्रत्यर्थीहरूको कारबाही बदर गरी उपरोक्त पदकको सिफारिशको निवेदन म बाट लिई मलाई सिफारिश गरी पदक मलाई दिनु भन्ने परमादेशको आदेश जारी गरिपाउँ । यस विषयको अन्तिम किनारा नलागेसम्म १९७७–१९७८ शैक्षिक वर्षका लागि कृषि तर्फ दिइने महेन्द्र विद्या भूषणको पदक कसैलाई नदिनु भन्ने अन्तरिम आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन रहेछ ।
५. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने स.अ. सिंगलबेञ्चको आदेश रहेछ ।
६. महेन्द्र विद्या भुषण पदकको लागि नाम सिफारिश गर्ने क्रममा उक्त विषय सिफारिश सहमतिमा प्रस्तुत हुँदा उक्त समितिबाट मिति ०३९।१०।६ मा त्रि.वि.वि.का प्रत्येक अध्यन संस्थानबाट स्नातक तहमा सर्वप्रथम हुनेलाई मात्र महेन्द्र विद्या भुषण पदक प्रदान गर्न नाम सिफारिश गरी आएकोले श्री देवेन्द्र बजगाईले कृषि अध्ययन संस्थानको सन् १९७८ को २०३४ माघे सत्रको समूहमा स्नातक तहमा सर्वप्रथम हुनुभएको नदेखिएकोले हाल सिफारिश गर्न नमिल्ने भन्ने निर्णय भएकोले उक्त वर्ष निजको नाम सिफारिश नभएको हो ।
७. निजले कृषि अध्ययन संस्थानको स्नातक तहमा प्रथम श्रेणीमा सर्वप्रथम सर्वोच्च स्थान भएको प्रमाणपत्र पेश गर्न सकेको र रीत नपुगेको अवस्थामा निवेदकले उक्त पदकको लागि पुनः दर्खास्त दिन सक्ने नै हुँदा रिट निवेदन खारेज गरिनु पर्दछ भन्ने समेत शिक्षा तथा संस्कृति मन्त्रालयको लिखितजवाफ रहेछ ।
८. निवेदक देवेन्द्र वजगाई र यादवकुमार चापालाई छुट्टाछुट्टै समूहबाट एकै सालमा एकै प्रकारको स्नातक कोर्ष उतीर्ण गरेकोमा अंक प्रतिशतमा यादवकुमार चापागाईको अंक बढी भएको व्यहोरा स्पष्ट छ । छुट्टाछुट्टै समूहमा उतीर्ण भएकोमा १९७७–१९८० वि.एस.सी.को ब्याजमा निज चापागाई प्रथम हुनुभएको हो । यसैलाई ध्यानमा राखी दुवैको नाम त्रि.वि.बाट शिक्षा मन्त्रालयमा पठाइएको पनि हो । शिक्षा मन्त्रालय सिफारिश समितिबाट निजको नाम सिफारिश हुन सकेन । अरू कुनै कानूनी हक अपहरित नभएकोले रिट निवेदन खारेज हुनु पर्ने हो खारेज गरिपाउँ भन्ने समेत त्रिभुवन विश्वविद्यालयको लिखितजवाफ रहेछ ।
९. निवेदकको संवैधानिक हक, नागरिक हक अधिकार वा अरू कुनै कानूनी अपहरित नभएकोले रिट निवेदन खारेज हुनु पर्ने हो खारेज गरिपाउँ भन्ने समेत त्रि.वि.वि.परीक्षा नियन्त्रण कार्यालयको लिखितजवाफ रहेछ ।
१०. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत विषयमा रिट निवेदकको वा.कृष्णचन्द्र उपाध्याय र विपक्षी त्रि.वि.वि.को वा.मेगबहादुरलाई रोहवरमा राखी निवेदकका तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता वैद्यनाथ उपाध्याय र विपक्षी त्रि.वि.वि.का तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शुम्भुप्रसाद ज्ञवालीको र शिक्षा तथा संस्कृति मन्त्रालय उ.शि.शा.काठमाडौंको तर्फबाट विद्वान स.अ.श्री इन्द्रराज पाण्डेको बहस सुनियो।
११. प्रस्तुत विषयमा रिट निवेदकको माग बमोजिमको आज्ञा, आदेश जारी हुने हो होइन ? निर्णय दिनु पर्ने हुन आयो ।
१२. यसमा आगामी कुनै शिक्षा दिवस समारोहमा दिइने महेन्द्र विद्या भुषण पदकबाट समेत वञ्चित गर्ने प्रत्यर्थीहरूको काम कारवाई उत्प्रेषणको आदेशद्वारा बदर गरी उपरोक्त पदकको सिफारिशको निवेदनबाट लिई मलाई सिफारिश गरिपाउँ भन्ने निवेदकको माग भएकोमा रिट निवेदकले कृषि अध्ययन संस्थानको स्नातक तहमा प्रथम श्रेणीमा सर्वप्रथम सर्वोच्च स्थान भएको प्रमाणपत्र पेश गर्न सकेको र रीत पुगेको अवस्थामा निवेदकले उक्त पदकका लागि पुनः दर्खास्त दिन सक्ने नै छ भन्ने शिक्षा तथा संस्कृति मन्त्रालयको, महेन्द्र विद्या भुषण पदक दिने अधिकार श्री ५ को सरकारको हो सो पदक प्राप्त गर्न खोज्नेहरूसँग श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट सूचना प्रकाशित भई दर्खास्त आव्हान गरिन्छ । सोको सूचना अनुसार दर्खास्त दिनेहरूको दर्खास्त छानविन गरी पदक प्राप्त गर्न आवश्यक योग्यता पुगेकाहरूलाई उक्त पदक शिक्षा मन्त्रालयबाटै दिने कुरा सर्वविदितै छ भन्ने त्रि.वि.वि.को र महेन्द्र विद्या भुषण पदक दिने अधिकार श्री ५ को सरकारको हो । सो पदक प्राप्त गर्न खोज्नेहरुसँग श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट सूचना प्रकाशित भई दर्खास्त आव्हान गरिन्छ । सोही सूचना अनुसार दर्खास्त दिनेहरुको दर्खास्त छानविन गरी पदक प्राप्त गर्न आवश्यक योग्यता पुगेकोहरुलाई उक्त पदक शिक्षा मन्त्रालयबाटै दिने कुरा सर्वविदितै छ भन्ने समेत त्रि.वि.वि.प.नि.का.जमल समेतको लिखितजवाफमा उल्लेख भएको देखिएकोले निवेदक देवेन्द्र बजागाईंबाट निवेदनपत्र लिई आवश्यक कारबाही गर्नु भनी शिक्षा तथा संस्कृति मन्त्रालय उच्च शिक्षा शाखाको नाउँमा परमादेशको आदेश जारी गरी दिेने ठहर्छ । यो आदेशको प्रतिलिपि जानाकारीको लागि सम्बन्धित कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल भाद्र २१ गते रोज ५ शुभम् ।