August 31, 1984
Created by nepalarchives

निर्णय नं. १९८७ – बाबु कायम गरी अंश दिलाई पाउँ

निर्णय नं. १९८७ ने.का.प. २०४१             अङ्क ५ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री...

निर्णय नं. १९८७ ने.का.प. २०४१             अङ्क ५

फुल बेञ्च

इजलाश

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको फौ.फु.नं. १२

मुद्दा : बाबु कायम गरी अंश दिलाई पाउँ

पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला का.न.पं. वडा नं. २२ खिचापोखरी बस्ने तेजरत्न तुलाधार मरी मुद्दा सकार गर्ने ऐ ऐ बस्ने निजको छोरा रत्नसंभव तुलाधर

विरूद्ध

विपक्षी/वादी : काठमाडौं जिल्ला का.न.पं. वडा नं. ३० असन धलासीको बस्ने सोनाम तुलाधर

विपक्षी/प्रतिवादी : ऐ ऐ वार्ड नं. ११ त्रिपुरेश्वर बस्ने कुलवीर सिंह तुलाधर

ऐ ऐ बस्ने निमा तुलाधर

फैसला भएको मिति : २०४१।५।१५।६ मा

§  आमाको गर्भबाट बच्चा पैदा हुने हुँदा मातृत्व एउटा निश्चित तथ्यमा आधारित हुने कुरा हो तर पितृत्वको निर्धारण यस्तो वास्तविक तथ्यको आधारमा हुन सक्तैन । यो जहिले पनि अनुमानकै भरमा हुन्छ ।

 (प्रकरण नं. १९)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिबक्ता श्री होराप्रसाद जोशी

उल्लेखित मुद्दा : x

फैसला

          प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा डिभिजन बेञ्च समक्ष निर्णयार्थ पेश हुँदा माननीय न्यायाधिशहरुमा मतैक्य नभई राय बाझी फैसला भएकोले सर्वोच्च अदालत नियमावली २०२१को नियम ३३(क) बमोजिम यस बेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

          २.   बाजे कुलरत्नका छोराहरू जेठा चन्दरत्न, माहिला प्रतिवादी तेजरत्न साहिंला प्रतिवादी कुलवीर सिंह र कान्छा पञ्चवीर हुन् । चारै दाजु भाइहरू अंशबण्डा भई बेग्लै बसेका छन् । कुलवीर सिंहका २ पत्नी जेठी रत्नदेवी र कान्छी मेरी आमा निमा तुलाधर हुन् रत्नदेवीका २ छोरा मध्ये जेठा आनन्दरत्न र कान्छा विनोदरत्न हुन् भने छोरी ३ मा २ छोरीको विवाह हुन बाँकी छ । कान्छी मेरी आमा नीमाबाट म जन्मेपछि छोरा राजुरत्न र छोरी मञ्जुदेवीको जन्म भएको हो । प्रतिवादी तेजरत्नकी २ पत्नी मध्ये जेठी प्राणमायाबाट कुनै सन्तान नभएकोमा र कान्छी मीनाबाट तीन छोरा आमी, रत्ना र लोचन तथा छोरी १ लिली भएका हुन् । विभिन्न मुद्दामा मैले आफूलाई कुलवीर सिंहको छोरा भन्दै आएको र कुलवीर सिंहलाई बाबु भनी सोही नाताको व्यवहार गर्दै आएको छु ।

          ३.   नागरिकताको प्रमाणपत्र लिँदा पनि बाबु कुलवीरले सहिछाप गरी दिनुभएको छ । यता केही वर्ष देखि बाबु विषयमा गोलमाल हुन गयो । नागरिकता ढाँट्यो भन्ने मुद्दामा बाबु कुलरत्न र आमा निमाले मलाई तेजरत्नको छोरा हो भनी बयान गर्नुभयो । प्रतिवादी तेजरत्नसँग गई कुरा गर्दा निजले पनि मलाई छोरा हो भनी स्वीकार नगरी इन्कार गर्नु भयो । हाल म कुलवीर सिंहकै हक लाग्ने असन घरमा बसी रहेको भए पनि कुलवीर तथा तेजरत्न समेत दुवैले मलाई हेरविचार गर्नुभएको छैन । कुलवीर सिंह वा तेजरत्न जो बाबु ठहरिन्छन् उनैबाट अंश भाग छुट्याई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको सोनाम तुलाधरको फिरादपत्र ।

          ४.   म ल्हासामा जन्मिएको हुँ । तेजरत्न तुलाधार ल्हासामा जानु भएका बखत २००३ सालमा म निजकी पत्नि भई बसेकी थिएँ । निज तेजरत्नको वीर्य र मेरो गर्भबाट वादी सोनाम २००५ सालमा ल्हासामा जन्मेको हो । सोनाम जन्मेपछि तेजरत्न काठमाडौं आउनुभएको थियो तर फेरि फर्कनु भएन । व्यापारकै सिलसिलामा ल्हासामै बस्नु भएको कुलवीर सिंहकै श्रीमती भई बसेपछि छोरी मञ्जू र छोरो राजु जन्मिएका छन् । म कुलवीर सिंहसंगै पोइल जाँदा वादी ५ वर्षको भइसकेको थियो । पुत्र स्नेहबाट निजलाई मैले पालन पोषण गरेकी हुँ । यो वादी कुलवीर सिंहको छोरा नभई तेजरत्नकै छोरा हो भन्ने समेत व्यहोराको प्रतिवादी नीमा तुलाधरको प्रत्युत्तरपत्र ।

          ५.  म २००५ सालमा ल्हासामा जाँदा तेजरत्न ल्हासामा हुनुहुन्थ्यो नीमाको गर्भबाट यो वादीको जन्म भइसकेको काखमा बच्चा थियो । सोही सालमा तेजरत्न र म ल्हासाबाट फर्केका हौँ । तेजरत्न ल्हासा नजाने भनी काठमाडौंमा नै बस्नु भयो । म २००८ सालमा हृलासा गएँ । २०१० सालमा नीमासँग मेरो सम्बन्ध भई छोरी मञ्जू र छोरा राजु समेत जन्माएकी छन् । २०१७ साल जेष्ठमा म ल्हासाबाट फर्के । वादीकी आमा मेरो साथमा बसेको कारणबाट अनुचित फाइदा उठाउन असर भएका हुन् । स्वास्नीको छोरो भएबाट मैले छोरो भनेकोसम्म हुँ वास्तवमा मेरो वीर्यबाट जन्मेको होइन । वादीको आमासँग आउँदा वादीको उमेर ५ वर्षको भइसकेको थियो । वादीले स.अ.तथा प्रहरी समक्ष मिति २०३४।४।१७ मा बयान गर्दा मलाई सानु बाबु भनी लेखेको समेतबाट वादीलाई म निजको बाबु होइन भन्ने थाहा छ । झुठ्ठा उजूर गरेमा वादीलाई नै सजाय होस् भन्ने समेतको कुलविर सिंहको प्रत्युत्तर ।

          ६.   मैले विपक्षीको आमालाई विवाह गरेको र स्वास्नी तुल्याएको छैन । वादी मेरो छोरो पनि होइन । म २००५ सालमा ल्हासामा थिइन ००४ सालमै नेपाल आइसकेको छु यो कुरा हामीहरूको बीच भएको २००५ सालको वण्डापत्रले बताउँदछ । म फर्केपछि २००५ सालमा वादीको जन्म भएको देखिन्छ । २००४ सालमा नेपाल फर्किएपछि म फेरि ल्हासा गएको छैन भन्ने कुरा कुलवीरको बयानबाट प्रष्ट हुन्छ । वादी कुलवीर सिंहको छोरा नभए डेनमार्कमा पढ्न जाँदा छोरा भनी कुलवीर सिंहले सही गरी दिनु पर्ने थिएन, फ्नो छोरो भएकोले नै सही गरी दिएको हो । वादीलाई कुलवीरले आफ्नो घरमा राखी खर्च समेत दिएको भन्नु भएकोले वादी मेरो छोरो नभई कुलवीर सिंह र निजकी श्रीमती निमा तुलाधरको छोरो हुँदा म उपर दिएको फिराद झुठ्ठा हो भन्ने समेतको तेजरत्न तुलाधरको प्रत्युत्तर ।

          ७.  एउटै फिरादबाट बाबु कायम फौजदारी मुद्दा र अंश पाउँ भन्ने देवानी मुद्दाको इन्साफ गर्न मिलेन । प्रतिवादी कुलवीर तथा नीमाका सम्पूर्ण साक्षीले बाबु तेजरत्न नै हुन् भनी औंल्याई दिने ती साक्षीहरू प्र.तेजरत्न र प्र.कुलवीरका नातेदारहरू देखिने । वादीकी आमाले नै तेजरत्न बाबु हुन् भनी किटान गरी दिएकोले वादीका बाबु तेजरत्न तुलाधर हुन भन्ने ठहर्छ । यस फिरादबाट अंशतर्फ दावी पुग्न सक्दैन भनी सुनाई दिने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला रहेछ ।

          ८.   उक्त फैसलामा चित्त बुझेन भनी वादी सोनाम तुलाधर प्रतिवादी तेजरत्नको मध्यमाञ्चल क्षेत्रीय अदालतमा छुट्टाछुट्टै परेको पुनरावेदन ।

          ९.   अंशतर्फ यस फिरादपत्रबाट दावा पुग्न सक्तैन भन्ने र वादी सोनाम, तेजरत्नको छोरा ठहर्‍याएको शुरू काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३७।१०।१४ को फैसला ।

          १०.  सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी तेजरत्न तुलाधरको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भएको रहेछ ।

          ११.  यसमा निर्णयतर्फ हेर्दा वादी दावी निश्चित नभई अनिश्चित दावी देखिँदा त्यस्तो दावीबाट इन्साफ गरेको त्रुटि भएको भनी पुनरावेदनको अनुमति प्रदान गरेको देखिन्छ । फिराद दावी पर्दा बाबु कुलवीर सिंह हुन् वा तेजरत्न जो ठहरिन्छन् निजबाट अंश छुट्याई पाउँ भन्ने उल्लेख भएको पाइन्छ । वादीले त्यस प्रकार दावी नगरी एउटालाई बाबु कायम गरिपाउँ भनी दावी लिई फिराद गरे पनि प्रतिवाद गर्दा मेरो छोरा होइन अर्कैको छोरा भनी देखायो भने अ.बं.१३९ नं. बमोजिम पेटबोलीबाट बुझी कारणी सरह बनाई कुन व्यक्ति बाबु हो भन्ने कुराको निर्णय दिनु पर्ने हुन्थ्यो, तर प्रस्तुत मुद्दामा वादीलाई जन्म दिने भनेकी आमा नीमाले तेजरत्नको छोरा भनी देखाउने, तेजरत्नले कुलवीर सिंहलाई देखाउने गरेकोबाट र वादीकी आमा नीमा तुलाधर र प्रतिवादी कुलवीर सिंह तथा तेजरत्नहरू एकै सामाजिक रीतिस्थितिका नभई भिन्न भिन्न समाजिक रीतिस्थितिका व्यक्तिहरू भएका कारणहरूबाट समेत त्यस प्रकारको दावी लिई वादीले फिराद गरेकोमा इन्साफ गर्न नमिल्ने भन्न न्यायसंगत देखिँदैन ।

          १२.  वादीलाई तेजरत्नको छोरा कायम गरे तर्फ हेर्दा वादी सोनाम उपर परेको विदेशी सिक्का कारोवार मुद्दा र चरेस खरीद बिक्री मुद्दामा वादी सोनामले बयान गर्दा बाबुको नाम कुलवीर सिंह भनी लेखेको पाइन्छ । तर फिराद लेखाई हेर्दा आफूलाई कुलविर सिंहको छोरा हुँदै कुलवीर सिंहलाई बाबुको नाता व्यवहार गर्दै आएकोमा नागरिकता ढाँट्यो भन्ने मुद्दामा कुलवीर सिंहले बयान गर्दा तेजरत्नको छोरा भनी र आमा नीमाले पनि तेजरत्नको छोरा हो भनी बयान गर्नुभयो भन्ने उल्लेख गरेको देखिन्छ । वादीकी आमा नीमा तुलाधरले वादी सोनाम तेजरत्नको छोरो हो भनी प्रतिवाद गरेको छ । बुझिएको वादी सोनामको साक्षी सूर्यबहादुर भन्ने सूरज गुरूङले वादी कुलवीरको छोरा हुनुपर्छ भनी बकपत्र गरेको पाइन्छ तर कुलवीर सिंहको छोरा हो भनी किटान गर्न सकेको छैन । प्रतिवादी तेजरत्नका साक्षी धर्मरत्न शाक्य भिक्षु र तुलप्रसाद शेरचन २ जनाले वादी सोनाम कुलवीर सिंहको छोरा भनी बकपत्र गरेको छ तर निजहरूले वादी सोनाम ल्हासामा जन्मेको देखेका हौं भनी भन्न सकेका छैनन् । प्रतिवादी नीमाका साक्षी मन्याव बज्राचार्य, कैशाङ, वाङ्दी शाक्य र छन्तुला शाक्यहरूले वादी सोनाम तेजरत्नको छोरा हो ल्हासामा जन्मेको हो भनी किटानी बकपत्र गरेको छ । प्रतिवादी कुलवीर सिंहका साक्षी दानवीर सिंह तुलाधर, होशाङ तुलाधर, अकलमान तुलाधर, दीर्घमान श्रेष्ठ, सानुमाया तुलाधर, वीर्जरत्न तुलाधर, सूर्यरत्न तुलाधर र राजुरत्न तुलाधरहरूले पनि वादी सोनाम प्रतिवादी तेजरत्नको छोरा हो भनी बकपत्र गरेको देखिन्छ । सो बकपत्र गर्नेहरूमध्ये प्रतिवादी तेजरत्न र कुलवीर सिंहका सानुमाया तुलाधर दिदी नाता र वीर्जरत्न, सूर्यरत्न र राजुरत्नहरू सहोदर भतिजा नाताको भन्ने कुरा मिसिलबाट देखिन्छ । सो नाता होइन भनी पुनरावेदकले भन्न सकेको छैन । त्यस्ता नातेदारहरूले वादी सोनाम तुलाधर प्रतिवादी तेजरत्नको छोरा नभए त्यस किसिम तेजरत्नको छोरा हो भनी किटान साथ बकपत्र गर्नुपर्ने अवस्था थिएन । त्यसरी बकेको बकपत्रलाई विश्वास मान्नु नपर्ने कारण पनि केही देखिँदैन । वादी सोनाम तुलाधर प्रतिवादी नीमा तुलाधरको गर्भबाट जन्म भएको कुरामा विवाद छैन । स्वयं वादीलाई जन्म दिने वादीकी आमा प्रतिवादी नीमा तुलाधरले वादी सोनाम, तेजरत्नकै छोरा हो भनी प्रतिवाद गरेको कुरा उपर्युक्त प्रतिवादी नीमा र कुलवीर सिंहका साक्षीहरूले बकेको बकपत्रबाट समेत प्रष्ट रूपमा समर्थित भएको देखिन्छ । यस्तो स्थितिमा तेजरत्नलाई बाबु कायम गरेको त्रुटि छ भन्ने समेत पुनरावेदन जिकिर पुग्न सक्तैन । वादी सोनामलाई प्रतिवादी तेजरत्नको छोरा ठहर्‍याएको शुरू काठमाडौं जिल्ला अदालतको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले ठहर्‍याई छिनेका इन्साफ मनासिब ठहर्छ ।

          १३.  वादी दावी खारेज गर्ने गरेको सहयोगी माननीय न्याायधीश श्री गजेन्द्रकेशरी वास्तोलाको रायसँग सहमत नहुँदा नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय ।

          १४.  यसमा निर्णयतर्फ हेर्दा वादीले आफ्नो फिरादमा विभिन्न मुद्दामा मैले आफूलाई कुलवीर सिंहको छोरा हुँदै कुलवीरलाई बाबुको नाता व्यवहार गर्दै आएको र नागरिकताको प्रमाणपत्र लिँदा बाबु कुलवीरले सहिछाप गरी दिनुभएको छ भन्ने प्रष्ट उल्लेख गरेको पाइन्छ । चरेश खरीद बिक्री गरी विदेशी सिक्का कारोवार मुद्दामा वादी सोनाम तुलाधरले बयान गर्दा बाबुको नाम कुलवीर सिंह भनी देखाएको प्रमाण मिसिलबाट देखिन्छ । वादी सोनाम कुलवीर सिंहको छोरा नभए त्यस प्रकार बाबुको नाम कुलवीर सिंह भनी लेखाउनु पर्ने अवस्थै थिएन । प्रतिवादी नीमा तुलाधर र प्रतिवादी कुलवीर सिंह समेतका सोनाम प्रतिवादी साक्षीहरूले वादी तेजरत्नको छोरा हो भनी बकपत्र गरेको छ तर वादी सोनाम र प्रतिवादी तेजरत्नका साक्षीहरूले वादी सोनाम प्रतिवादी कुलवीर सिंहको छोरो हो भनी बकपत्र गरेको पाइन्छ । वादी सोनाम प्रतिवादी कुलवीर सिंहको छोरा नभए त्यसरी बकपत्र गर्नुपर्ने अवस्था पनि थिएन । वादी सोनामले फिराद गर्दा उमेर २८ वर्ष लेखिदिएको छ त्यसबाट वादी ०७ सालमा जन्मेको भन्ने जनाउँछ । कुलवीर सिंहले प्रतिवाद गर्दा म २००५ सालमा ल्हासा जाँदा तेजरत्न ल्हासामा हुनुहुन्थ्यो, सोही साल तेजरत्न र २००६ सालमा म ल्हासाबाट फर्किई २००८ सालमा ल्हासा गएँ भन्ने लेखेको देखिन्छ । त्यसबाट २००७ सालमा जन्मेको वादीलाई २००५ सालमा काठमाडौं फर्की सकेका तेजरत्नको छोरा रहेछ भनी सम्झन नमिल्ने । कुलवीर सिंहकै भनाई अनुसार निजकै छोरा रहेछ भन्ने देखिएको छ ।

          १५.  बाबु कुलवीर सिंह हुन् वा तेजरत्न तुलाधर जो ठहरिन जान्छ निजबाट अंश छुट्याई पाउँ भन्ने समेत दावी लिई फिराद परेको देखिन्छ । वादीलाई निजको बाबु यो हो भन्ने नै निश्चित छैन । यस्तो अनिश्चित दावीको आधारमा अदालतले वादीको बाबु यो हो भनी ठहर गरिदिन मिल्ने अवस्था रहदैन । यस स्थितिमा यस्तो अनिश्चित दावीबाट प्रतिवादी कुलवीर सिंहको छोरा भन्ने देखिएकोमा वादी सोनाम तुलाधरलाई प्र.तेजरत्नको छोरा ठहर्‍याएको शुरूको सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलको देखिएन । अतः प्रस्तुत मुद्दामा अनिश्चित वादी भएकोले वादी दावी खारेज हुने ठहर्छ सहयोगी माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको रायसँग सहमत नहुँदा फुलवेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई डिभिजन बेञ्चमा माननीय न्याायधीशहरूमा मतैक्य नभई राय बाझी फैसला भएकोले सर्वोच्च अदालत नियमावली, २०२१को नियम ३३(क) बमोजिम यस बेञ्चको लगतमा दर्ता भई पेश हुनआएको रहेछ ।

          १६.  नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तेजरत्न तुलाधरको तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले प्रस्तुत मुद्दाको फिरादमा निश्चित दावी छैन यस्तो अनिश्चित दावीका आधारमा इन्साफ दिन मिल्दैन, सोनाम विरूद्ध परेका सबै मुद्दामा निजले कुलवीर सिंहलाई बाबु भनी लेखाएको छ भने तेजरत्नलाई कसरी बाबु मान्ने ? सोनामले लिएको नागरिकताको प्रमाणपत्रमा कुलवीर सिंह बाबु हो भनी उल्लेख भएको पाइन्छ । सोनामको साक्षीले निज सोनाम कुलवीर सिंहको छोरा भनेका छन्, २००५।९।८ मा तेजरत्नले काठमाडौंमा स्वयं वण्डापत्र लेखेका छन् र पुनः तिब्बत नगएपछि कसरी सोनाम तेजरत्नको छोरा हुन सक्छन् ? भनी बहस गर्नुभयो । वादी सोनाम तुलाधरको तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले वादी दावी निश्चित भएन भन्ने तर्क मनासिब छैन, किनभने कुनै पनि व्यक्तिले मेरो बाबु यही हो भनी स्वयं किटानसाथ भन्न सक्तैन, आमाले देखाई दिएको व्यक्तिलाई नै उसले बाबु भन्नु पर्ने हुन्छ । यस्तोमा अनिश्चित दावी भन्न मिल्दैन भनी बहस गर्नुभयो । प्रतिवादी कुलवीर सिंहको तर्फबाट उपस्थित हुनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले वादी सोनामले लिएको नागरिकताको प्रमाणपत्रमा कुलवीर सिंहको छोरा भनी उल्लेख भए पनि सो प्रमाणपत्र लिँदा कुलविर सिंहले कहीँ कतै सहिछाप गरेको छैन भने वादीले लेख्तैमा मेरो पक्ष बाबु हुने होइन, यदि कुलवीर बाबु थिए भने नागरिकता ढाँट्यो भन्ने मुद्दामा वादी सोनामले कुलवीरलाई सानो बाबु (सौतेनी बाबु) भन्नु पर्ने थिएन भनी बहस गर्नुभयो । प्रतिवादी नीमा तुलाधरका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले पितृत्वको विवादमा आमाको भनाईलाई मान्नु पर्ने कुरामा सिद्धान्त समेत प्रतिपादित भइरहेको पाइन्छ । वादी सोनामको बाबु तेजरत्न तुलाधर हुन् भनी मेरो पक्षले आफ्नो प्रत्युत्तरमा किटानसाथ उल्लेख गरेको भएपछि सोही भनाईलाई मान्नु पर्ने हुन्छ भनी बहस प्रस्तुत गर्नु भयो ।

          १७.  यसमा निर्णयतर्फ हेर्दा वादीले फिराद पत्रमा नागरिकता ढाँट्यो भन्ने मुद्दा पर्न जाँदा मैले आफ्नो बयानमा कुलवीर सिंहले आफ्नो छोरा देखाई दिएको प्रमाण समेतको आधारमा म निजको छोरा हुँ भनी बयान गरेको थिएँ । विभिन्न मुद्दामा मैले आफूलाई कुलवीर सिंहको छोरा भनी उच्चारण गर्दै आएको छु र बालककाल देखि नै कुलवीर सिंहलाई बाबु भनी सोही नाताले व्यवहार गर्दै आएको छु । यता केही वर्षदेखि बाबु विषयमा गोलमाल हुन गयो नागरिकता ढाँट्यो भन्ने मुद्दामा पेटवोलीबाट कुलवीर सिंहले वयान गर्दा मलाई प्रतिवादी तेजरत्नको छोरा हो भनी देखाउनु भयो र सोही अनुसार आमा नीमाले पनि मलाई प्र.तेजरत्न तुलाधरको छोरा हो भनी बयान गरी मलाई अन्यौल अवस्थामा पुर्‍याई दिनुभएकोले बाबुको यकीन गरी अंश भाग दिलाई पाउँ भनी यो फिराद गर्नु परेको हो । तेजरत्नसँग कुरा गर्न जाँदा छोरा मान्न इन्कार गर्नुभयो । बाबु कुलवीर सिंह हुन् वा तेजरत्न तुलाधर जो ठहरिन जान्छ निजहरूबाट नै खुलाई प्रमाण बुझी दुई जवान मध्ये जसको सन्तान ठहरिन जान्छ निजबाट अंश दिलाई भराइ पाउँ भन्ने समेत उल्लेख गरेको पाइन्छ । नाता कायम र अंश दुई विषयको फिराद भएकोले अ.बं.७२ नं. बमोजिम नाता कायम तर्फ मात्र प्रस्तुत मुद्दामा इन्साफ हुँदै आएको देखिन्छ ।

          १८.  वादी सोनाम तुलाधरलाई आफ्नो छोरा मान्न कुलवीर सिंह तुलाधर तथा तेजरत्न तुलाधर दुवैले अस्वीकार गरेको देखिएबाट वादी सोनाम प्र.कुलवीर सिंह वा तेजरत्न कसको छोरा कायम हुने हो भन्ने प्रश्न यहाँ उपस्थित हुनआएको छ । प्रतिवादी कुलवीर सिंहको प्रतिउत्तरमा २००५ सालमा ल्हासा जाँदा तेजरत्न ल्हासामा नै हुनुहुन्थ्यो र नीमाको गर्भबाट यो वादीको जन्म भइसकेको काखमा बच्चा थियो सोही साल तेजरत्न र २००६ सालमा म ल्हासाबाट फर्केको हो । काठमाडौं आएपछि तेजरत्न ल्हासा नजाने भनी काठमाडौंमा नै बस्नु भयो म २००८ सालमा ल्हासा गए र वादीको आमासँग २०१० सालमा शारीरिक सम्बन्ध कायम भयो भन्ने समेत उल्लेख भएको पाइन्छ भन्ने प्र.तेजरत्नको प्रतिउत्तरमा २००४ सालमा फर्की काठमाडौं आएपछि म ल्हासा गएकै छैन । २०३५ सालमा वादीको उमेर २८ वर्ष भएबाट निजको जन्म २००४ सालमा नेपाल फर्केपछि कुलवीर सिंह ल्हासा गइसकेपछि मात्र भएको देखिन्छ । कुलवीरको छोरा नभए आफ्नो छोरा भनी नागरिकताको दर्खास्तमा सही गरी दिने कुरै थिएन । वादीलाई कुलवीर सिंहले आफ्नै घरमा राखेको छ । वादी स्वयंले बाबु कुलवीर सिंह हुन भन्ने मूर्ति, चरेश डलर समेतको मुद्दामा ०३४।४।१७ मा प्रहरीमा वा.वि.अ.मा ०३४।४।२६ गते र ०३४।५।१५ गते समेतमा किटानी बयान गरेका छन् । वादी मेरो छोरा नभई प्र.कुलवीर सिंह निजकी श्रीमती नीमा तुलाधरको छोरा हुँदा बाबु कायम गरिपाउँ भनी म उपर दिएको नालेश झुठ्ठा हुँदा मेरो हकमा नालेश खारेज गरिपाउँ भन्ने समेत उल्लेख भएको छ ।

          १९.  वादीले फिरादमा प्र.कुलवीर सिंह तथा प्र.तेजरत्न मध्ये म यसैको छोरा हुँ भन्न नसकी दुई जना मध्ये जो बाबु ठहरिन जान्छ उसैबाट अंश पाउँ भनेको छ । जन्माउने बाबुको जानकारी आफूलाई हुन नसक्ने कुरा वादीले आफ्नो फिरादमा स्वीकार गरेको पाइन्छ । यस सन्दर्भमा वादीको आमा नीमा तुलाधरको जिकिरतर्फ दृष्टि दिनु पर्ने हुन्छ । निजले आफ्नो प्रतिउत्तरमा तेजरत्न तुलाधर २००३ सालमा ल्हासामा जानु भएका बखत २००३ सालमा निजको र मेरो शारीरिक सम्बन्ध स्थापित भई स्वास्नी भई बसी तेजरत्नको वीर्य र मेरो गर्भबाट वादी सोनाम २००५ सालमा ल्हासामा नै जन्मेको हो । सोनामको जन्म भइसकेपछि तेजरत्न नेपाल काठमाडौं आउनुभएको थियो फेरि जानु भएन । ५ वर्ष पछि कुलवीर सिंहसँग सहवास भएको भन्ने उल्लेख भएको पाइन्छ । आमाको गर्भबाट बच्चा पैदा हुने हुँदा मातृत्व एउटा निश्चित तथ्यमा आधारित हुने कुरा हो तर पितृत्वको निर्धारण यस्तो वास्तवीक तथ्यको आधारमा हुन सक्तैन यो जहिले पनि अनुमानकै भरमा हुन्छ र यस्तो विवाद उठेमा पितृत्वको निर्धारण गर्न आमाको कथनले धेरै हदसम्म महत्व राख्दछ तसर्थ पितृत्वको निश्चय गर्न आमाको कथनलाई नकार्न सकिन्न । यस स्थितिमा वादीको आमा नीमा तुलाधरले वादीलाई तेजरत्नको छोरा भनी प्रतिउत्तरमा उल्लेख गरेको र नागरिकता ढाँट्यो भन्ने मुद्दामा प्र.जि. अ.कार्यालय ललितपुरमा गरेको बयानलाई बढी महत्व दिनु पर्ने हुन आउँछ । यसको अलावा तेजरत्न र कुलवीरकी दिदी सानुमाया तुलाधरले सोनामलाई तेजरत्नको छोरा भनी बकपत्र गरेको पाइन्छ । त्यस्तै यिनै तेजरत्न तथा कुलवीर सिंहको कान्छो भाइ पञ्चवीरको छोरा राजुरत्नले पनि वादीलाई तेजरत्नको छोरा भनी लेखाएको पाइन्छ । नाताको सम्बन्धमा अन्य व्यक्तिहरूलाई भन्दा बढी जानकारी प्रस्तुत मुद्दाको सम्बन्धमा नातेदारहरुलाई नै हुनु स्वभाविक हुन्छ । प्रमाणको दृष्टिबाट पनि निजहरूको बकपत्रलाई बढी भरयोग्य मान्न सकिने देखिन्छ ।

          २०.  प्रतिवादी नीमाको साक्षी धुतुंला शाक्यले मिति २०३५।९।९ मा बकपत्र गर्दा सोनाम तेजरत्नको छोरा हुन् निज जन्मिएको ३०।३१ वर्ष जति भयो, सोनाम जन्मेको ६ महीना वा एक वर्षपछि तेजरत्न काठमाडौं फर्किए त्यसपछि तिब्बतमा फर्किएनन् भनेका छन् भने नीमाकै साक्षी केशाङ वाङदी शाक्यले सोनाम जन्मिएको ४।५ महीना देखि तेजरत्नले ल्हासा छोडी काठमााडौं आएपछि आमा नीमाले पालन पोषण गरी बाबु तेजरत्न नै हुन् भनी किटानी बकपत्र गरेका छन् । प्रतिवादी कुलवीर सिंहका साक्षी दीर्घमान श्रेष्ठ, अकलमान सिंह तुलाधर, छोसाङ तुलाधर, सूर्यरत्न तुलाधर, दानवीर सिंह तुलाधर, र वीर्जरत्न तुलाधर समेतले वादी सोनाम प्र.तेजरत्नको छोरा हो भन्दै सोनाम जन्मिएको ५।६ वर्ष पछि नीमा कुलवीर सिंहसँग गएकी हुन् भन्ने अकलमान सिंह तथा दीर्घमानको बकपत्र भएको पाइन्छ । उता तेजरत्नका साक्षीहरूले वादीलाई कुलवीरकै छोरो हो भनी किटानीपूर्वक बकपत्र गर्न सकेको छैनन् यसरी सोनाम तुलाधरको पितृत्वबारे तेजरत्न तर्फ धेरै बढी मात्रा ढल्किन गएकोले कुलवीर सिंह बाबु हुन भन्न हुने बलियो आधार देखिएन ।

          २१.  अतः उपर्युक्त तथ्य तथा आधार प्रमाणहरूबाट वादी सोनाम प्रतिवादी तेजरत्नकै छोरा ठहर्छ । तेजरत्नलाई बाबु कायम गरेको त्रुटिपूर्ण छ भन्ने समेत पुनरावेदन जिकिर पुग्न सक्तैन । वादी सोनामलाई प्रतिवादी तेजरत्नको छोरा ठहर्‍याएको शुरू काठमाडौं जिल्ला अदालतको इन्साफलाई सदर गरी छिनेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय मनासिब छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या. पृथ्वीबहादुर सिंह,

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०४१ साल भाद्र १५ गते रोज ६ शुभम् ।