निर्णय नं. १९७२ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. १९७२ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रि.नं....
निर्णय नं. १९७२ ने.का.प. २०४१ अङ्क ४
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४० सालको रि.नं. १७९६
विषय : उत्प्रेषण
निवेदक : जि. कैलाली धनगढी स्थित ज्ञान ईण्डष्ट्रिज प्रा.लि.को तर्फबाट ऐ को सञ्चालक मोरङ वि.न.पं. वडा नं. ८ बस्ने मोतीलाल दुगड
विरूद्ध
विपक्षी : कैलाली भन्सार कार्यालय, धनगढी
भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौं
आदेश भएको मिति : २०४१।३।१९।२ मा
§ भन्सार महसूल नलाग्ने निर्णय भई निकासी भइसकेको मालको भन्सार महसूल छूट भएको भनी सो रकम दिलाउन कुनै कानूनले अधिकार प्रदान गरेको नदेखिने ।
(प्रकरण नं. ६)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हा
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे
उल्लेखित मुद्दा : x
आदेश
न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषण मिश्रित परमादेश वा अन्य आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भनी २०४०।२।२३ मा रिट निवेदन पर्न आएको रहेछ ।
२. संक्षिप्त तथ्य निवेदन जिकिर : यस ज्ञान इण्डष्ट्रिज प्रा.लि.ले राइस ब्राज एक्सट्रेक्सन (केटल फिड) भारतमा जनावरलाई खुवाउन बिक्री गर्न २०३६ सालदेखि निकासी गरी आएको र सो सालमा भन्सार महसूल भन्सार अधिकृतले माफी दिई निस्सा समेत पाएको अवस्था उक्त माल भारत निकासी गरेको करीब १ वर्षपछि कैलाली भन्सार कार्यालयले आ.व.२०३८।३९ मा भन्सार नलाग्ने गरी निकासी भएको सबै प्रज्ञापन पत्रहरूको लागि रु.२,९४,५६४।७५ र २०३९ सालको माघ १४ गते तक रु.१,०९,४०५। समेत जम्मा रु.४,०३,९६९।७५ हचुवा तवरले छूट रकम भनी माग गरेको रहेछ । त्यस्तो छूट रकम माग गर्न विपक्षी भन्सार कार्यालयलाई कुनै कानूनले अधिकार प्रदान गरेको छैन । भन्सार विभागको पत्रानुसार छूट रकम तुरून्त दाखिल गर्न ल्याउनु भनी पत्रद्वारा माग गर्नु कानूनसंगत छैन माल निकासी गर्ने अवस्थामा प्रज्ञापनपत्रमा भन्सार महसूल लाग्ने नलाग्ने निर्णय गर्न भन्सार अधिकृतलाई अधिकार छ । तर त्यसरी निर्णय गर्ने अधिकारीले गरेको निर्णय विपरीत महीनौ पछि स्वेच्छाले सो निर्णयमा असर पर्ने गरी कुनै रकम माग गर्न भन्सार विभागले आदेश गर्न मिल्दैन त्यस माथि सम्पत्ति सम्बन्धी हक र हितमा असर पर्ने कुरामा मलाई सुनवाईको मौका नदिई एकतर्फी निर्णय आदेश गर्नु प्राकृतिक न्याय सिद्धान्तको समेत विपरीत छ । कानूनबमोजिम यस उद्योगले भन्सार महसूल नलाग्ने निस्सा प्राप्त गरी निकासी गरेको कुरामा पुनः छूट भनी माग गर्नु र नदिएमा माल रोकी कारवाई गर्न धम्की दिनु कानून तथा न्याय विपरीत छ । कैलाली भन्सार कार्यालय सं.न.२३.०४ (झ) मा पिना र वनस्पति तेल बनाउँदा निस्केको अरू अवशेष भन्ने शीर्षक अन्तर्गत देहाय (झ) मा “अन्य” भनी लेखिएको दरबन्दी अनुसार रु.५। एकसय किलोमा भन्सार लाग्छ भनी विभागले निर्देशन गरेको त्रुटिपूर्ण छ । अतः भन्सार नियमावली मिति ०४०।१।१३ को आदेश पत्र र सो गैरकानूनी आदेश बमोजिम कैलाली भन्सार कार्यालयले छूट रकम असूल गर्ने भनी गरेको गैरकानूनी निर्णयको पत्र समेत उत्प्रेषणको वा अन्य जो उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी बदर गरी भन्सार विभाग र भन्सार कार्यालयले निवेदकको माल सामान रोक्का नगर्नु भनी प्रतिषेधको आदेश जारी गरी हकको सुरक्षा गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।
३. यसमा के कसो भएको हो ? सम्बन्धित विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमबमोजिम गरी पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको २०४०।२।२९ को आदेश रहेछ ।
४. विपक्षीले निकासी गरेको सामानमा भन्सार महसूल लाग्नु पर्नेमा छूट हुन गएकोले छूट रकम असूल गर्न कैलाली भन्सार कार्यालयलाई निर्देशन गई सोही अनुसार कैलाली भन्सार कार्यालयबाट छूट रकम बुझाउन पटक–पटक पत्र लेखिएको हो । चावलको भूसबाट निकालेको तेलको पिना (अवशेष) को भन्सार महसूल बुझाउनु पर्ने हुँदा महसूल नलाग्ने भनी गरेको जिरह कानून संगत छैन । निवेदकले निकासी गरेको समानमा सं.नं. २३.०४ (झ) अनुसार महसूल लगाई कैलाली भन्सार कार्यालयले सामान निकासी गर्न दिएको र छूट रकम बुझाउन नियमको परिधि भित्रै रही उक्त भन्सार कार्यालयले पत्र लेखेकोमा कानून संगत छैन भन्न मिल्ने देखिन्न । छूट रकम बुझाउने गरी गरिएको निर्णयमा चित्त नबुझे पुनरावेदनको व्यवस्था छ । असाधारण अधिकारक्षेत्र गुहार्न पाउने होइन । संकेत भन्दा बढी रकम असूल हुन गए फिर्ता दिइने पनि परम्परा छँदैछ । अतः विपक्षीको कुनै पनि मौलिक हक एवं सम्पत्तिमा आघात नपुर्याएको हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत भन्सार कार्यालय कैलाली र भन्सार विभाग त्रिपुरेश्वरको लिखितजवाफ ।
५. निवेदकतर्फका विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हाले प्रज्ञापन पत्रमा राइस ब्राण्ड एक्ष्ट्रेक्सन केटल फिडमा उल्लेख भएको कुनै माल निकासी गर्दा प्रज्ञापन पत्र भरी माल निकासी गर्नुपर्ने र भन्सार महसूल नलाग्ने भन्सार अधिकृतले देखि भन्सार नलाग्ने भन्ने निस्सा भन्सार अधिकृतले दिने छ त्यसपछि मात्र माल निकासी गर्न सक्ने मेरो पक्षले भन्सार महसूल नलाग्ने निस्सा प्राप्त गरेको छ । २०३९।१०।१८ मा निवेदकलाई छूट रकम दाखिल गर्न पत्र दिएको । २३.०७ अनुसार भन्सार महसूल लिनु पर्ने २३.०७ अनुसार छूट दिएको मिलेन तसर्थ भन्सार महसूल नलाग्ने निर्णय भई निकासी भइसकेको मालको भन्सार महसूल छूट भएको भनी सो रकम दाखिला गराउन कुनै कानूनले अधिकार प्रदान गरेको देखिन्न । भन्सार अधिकृतले गरेको निर्णय बदर गर्ने अधिकार भन्सार निर्देशकलाई बुझेर मात्र निर्णय गर्नुपर्ने । २३.०७ मा केटल फिड जनावरलाई ख्वाउने अन्य परिकारमा भन्सार महसूल माफी भनी लेखिएको छ । शंकास्पद र विवादास्पद शब्दबाट अर्थ निकाली कर लगाउन नमिल्ने सिद्धान्त प्रतिपादित भइसकेको छ भनी र विपक्षी कार्यालयतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले २३.०७ मा गुलियो आहार र जनावरहरूलाई ख्वाउने अन्य परिकारहरू भनी उल्लेख भएको त्यसको (झ) अन्तर्गत यो माल पर्ने निवेदकले तयार गरेको तेलको पिना हो । तसर्थ निवेदकको मालमा भन्सार महसूल लाग्नेमा अर्को भन्सार अधिकृतलाई द्विविधाको लागि भन्सार विभागमा लेखी पठाउँदा कानूनी स्थितिको सम्बन्धमा भन्सार अधिकृतलाई महसूल लाग्ने भनी लेखी पठाएको ०३९।१०।१८ को पत्र अनुसार निवेदकबाट भन्सार महसूल लिने निर्णय भएको हुनाले चित्त नबुझेमा राजस्व न्यायाधीकरणमा पुनरावेदन गर्नुपर्ने भनी बहस प्रस्तुत गर्नुभयो । दुवैतर्फको बहस समेत सुनी निवेदकको माग बमोजिमको आदेश जारी हुने हो होइन ? निर्णय दिनु पर्ने प्रश्न उपस्थित हुनआएको छ ।
६. यसमा प्रज्ञापन पत्र भरी भन्सार महसूल माफी पाई निकासी भएर गइसकेको मालको सम्बन्धमा कानूनले अधिकार दिएको अभावमा भन्सार महसूल छूट हुन गएको भनी ०३९।१०।१८ मा कैलाली भन्सार कार्यालय, धनगढीले लेखेको पत्र गैरकानूनी हुँदा बदर गरिपाउँ भनी निवेदकको भनाई भएकोमा सो बमोजिम गर्न मिल्ने नमिल्ने के हो त्यस सम्बन्धमा ०३९।१०।१८ मा निवेदकलाई लेखेर पठाएको पत्रमा त्यस इण्डष्ट्रिजले यस कार्यालयबाट निकासी गरेको भुसको पिना (राईस ब्रान एक्टेक्सन कटेल फिड) मा भन्सार महसूल दरबन्दीको संकेत नं. २३.०७ अन्तर्गत गरिएकोमा हाल भन्सार विभागको प.सं.०३९।४० म.प.८ च.नं. १२५ मिति ०३८।१०।१४ को प्राप्त आदेशानुसार चामलको ढुटोको पिनामा भन्सार महसूल दरबन्दीको संकेत नं. २३.०४ (क) महसूल लिने निर्णय भएकोले छूट हुन गएको रकम समेत असूल गर्नुपर्ने हुँदा निम्न लेखिए अनुसारको छूट रकम तुरून्त यस कार्यालयमा दाखिल गर्न ल्याउनु हुन सूचित गरिन्छ भन्ने उल्लेख भएको पाइन्छ । भन्सार महसूल नलाग्ने निर्णय भई निकासी भइसकेको मालको भन्सार महसूल छूट भएको भनी सो रकम दिलाउन कुनै कानूनले अधिकार प्रदान गरेको नदेखिँदा यसरी निकासी भएर गइसकेको भूस पिनाको सम्बन्धमा छूट हुन गएको रकम समेत दाखिल गर्नु भनी लेखी पठाएको भन्सार कार्यालय कैलाली, धनगढीको २०३९।१०।१८ मा लेखी पठाएको पत्र अनधिकृत देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल आषाढ १९ गते रोज २ शुभम् ।