August 7, 1984
Created by nepalarchives

निर्णय नं. १९५८ – उत्प्रेषण

निर्णय नं. १९५८     ने.का.प. २०४१                        अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको...

निर्णय नं. १९५८     ने.का.प. २०४१                        अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४० सालको रि.नं. १८३७

विषय : उत्प्रेषण

निवेदक : सप्तरी गा.पं.मौवाहा गा.पं.१ मौजे मौवाहा बस्ने रमानन्द झा

विरूद्ध

विपक्षी : ऐ ऐ वार्ड नं. ५ मौवाहा बस्ने अनुप मण्डल धानुक

भू.सु. का. सप्तरी

आदेश भएको मिति : २०४१।४।२३।३ मा

§  विवादको जग्गाको २ नं. अनुसूची लगत प्रकाशित नभएको प्रमाण लगाई भू.सु.का.सप्तरीले निर्णय गरेको देखिन्छ । अ.बं.१३९ नं. बमोजिम बुझी निर्णय गर्नुपर्नेमा सो नगरी गरेको निर्णय त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

उल्लेखित मुद्दा : x

आदेश

            न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी भू.सु.का.सप्तरीले मिति ०३९।१२।३ मा गरेको निर्णय बदर गरिपाउँ भनी रिट निवेदकले यस अदालतमा मिति ०४०।३।३।६ मा दर्ता गरेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् ।

            २.    सप्तरी मौवाहा वा.नं. २ को कि.नं. २६५ को ०१४१८ जग्गा साविकमा पिताजी बुचन झाको नाममा दर्ता भएकोमा २०१८ सालमा बाबु स्वर्गीय हुँदा २०२१ सालमा उक्त जग्गा मेरो नाममा नामसारी भई मेरो जोत भोगमा रही आएको छ । हाल सर्भेमा उक्त जग्गा मेरो नाममा एउटै कित्तामा नापी भएको छ । मेरो नाममा अनुसूची प्रकाशित भएको छैन । मोही महलमा कसैको नाम लेखिएको छैन । जग्गाधनी लक्ष्मी झाको कि.नं. २६५ को ०१४१८ मध्ये उत्तर तर्फबाट ०० जग्गाको ४ नं. पाएको छु । लक्ष्मी झाले उक्त ०० जग्गा भतिजा रमानन्द झालाई नामसारी दिनुभएको । जग्गाधनीहरूलाई बुझी ३ नं. प्रमाणपत्र पाउँ भनी विपक्षीले भू.सु.का.मा २०३५ साल आश्विनमा निवेदन गर्नुभएको थियो ।

            ३.    मेरो बाबु छ दाजु भाइ मध्ये लक्ष्मी झा साइला बाबु हुनुहुन्छ । मेरो बाबु समेत सबै दाजु भाइ ४० वर्ष अगाडि नै अलगअलग बसी छुट्टाछुट्टै व्यवहार भएको र सगोलमा एक धुर पनि जग्गा थिएन छैन । लक्ष्मी झाको नामबाट एक धुर जग्गा पनि मेरो नाममा आएको छैन । बाबुको नामबाट हाल कि.नं. २६५ को जग्गा मेरो नाममा नामसारी भई आएको छ विपक्षीले मेरो जग्गा मोहियानीमा जोतेको छैन भनी प्रतिवाद गरेको छ ।

            ४.    कि.नं. २६५ को जग्गा मध्ये उत्तर तर्फबाट ०० को जग्गाधनी रमानन्द झाका हकमा प्रतिवादीले तरिख छोडी बसेको र २ नं. लगत प्रकाशनबाट मोही देखिँदा मोहियानी हकको प्रमाणपत्र पाउने ठहर्छ भनी अधिकारीले २०३९।१२।३ मा निर्णय गरेको छ ।

            ५.    कि.नं. २६५ मा ०१४१८ जग्गा छ । उत्तर तर्फबाट ०० जग्गा विपक्षीले जोतेको भए सर्भेमा पनि छुट्टै कित्ताकाट हुने थियो । सर्भे २६ सालमा भएको थियो । सर्भेमा मोही नलेखी दिएको भए विपक्षीले मौकामा सर्भे उपर उजूर गर्नुपर्थ्यो । सो नगरी यति दिन सम्म चूप लागि बस्नु पर्ने कारण खूद विपक्षीले लेख्नु सक्नुभएको छैन । विपक्षीले धरौटी राखेको वा बाली बुझाएको भर्पाई समेत पेश गर्न सकेको छैन । कि.नं. २६५ को उत्तर तर्फको ०० जग्गा लक्ष्मी झाको नामबाट रामानन्दको नाममा आएको र लक्ष्मी झाको नाउँमा २ नं. अनुसूचीको जग्गा यही भन्ने कुनै प्रमाण निर्णयमा उल्लेख नभएकोबाट अ.बं.१८५।१८९ को विपरीत छ र एकाको २ नं. अनुसूचीबाट अर्काको जग्गा नपाउने भन्ने सिद्धान्त प्रतिवाद भएको छ । मेरो जग्गामा विपक्षीको मोही कायम हुने आधार मिसिलमा छैन । आधारहीन निर्णय बदरभागी भएकोले विपक्षी अधिकारीले ०३६।१२।३ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानूनी हकको संरक्षण गराई पाउँ भनी रिट निवेदकले जिकिर लिएको रहेछ ।

            ६.    यस अदालतसँग सि.बे.को ०४०।३।९।५ को आदेशानुसार प्राप्त हुनआएको लि.ज.यसप्रकार छन् ।

            ७.    अनुसूची १।२।४ मा उल्लिखित ४ किल्लाको जग्गा यो होइन अन्तै छ भन्न लेख्न नसक्नुबाट मैले मोहीमा कमाई आएको जग्गा नै रिटमा लिएका दावा अनुसारको जग्गा हो भन्ने स्पष्ट भएकोले रिट निवेदन खारेज भागी छ भन्ने अनुप मण्डल धानुकको लिखितजवाफ रहेछ ।

            ८.    भू.सु.ऐनको दफा २५(१) बमोजिम विपक्षी मोही देखिएको ३ नं. प्रमाणपत्रको सम्बन्धमा जग्गाधनी बुझ्दा इन्कारी प्रतिउत्तर लगाई पूर्पक्षमा नबसी ०३७।३।२७ देखि तारेख गुजारी बसेको र मिसिल समेतको प्रमाणको आधारमा उक्त कित्ता मोहीको हैसियतले जग्गा आवाद गरी आएकोले यस कार्यालयबाट मोहीको प्रमाणपत्र दिने गरी ०३९।१२।३ को निर्णय कानूनसंगत भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.सप्तरीको लिखितजवाफ रहेछ ।

            ९.    नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत विषयमा तारेखमा रहेका रिट निवेदक रमानन्द झाको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह र विपक्षी भू.सु.का.सप्तरीबाट विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनियो ।

            १०.    प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनुपरेको छ ।

            ११.    यसमा विवादको जग्गाको २ नं. अनुसूची लगत लक्ष्मी झाको नाउँमा प्रकाशित भएको प्रमाण लगाई भू.सु.का.सप्तरीले निर्णय गरेको देखिन्छ । लक्ष्मी झालाई अ.बं.१३९ नं. बमोजिम बुझी निर्णय गर्नुपर्नेमा सो नगरी मिति ०३९।१२।३ मा भू.सु.का.सप्तरीले गरेको निर्णय त्रुटिपूर्ण देखिएकोले बदर गरी दिएको छ । कानूनबमोजिम पुनः निर्णय गर्नु भनी परमादेशको आदेश दिने ठहर्छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन म.न्या. का.मा पठाई नियमबमोजिम फाइल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल श्रावण २३ गते रोज ३ शुभम् ।