July 24, 1984
Created by nepalarchives

निर्णय नं. १९५६ – उत्प्रेषण

निर्णय नं. १९५६   ने.का.प. २०४१           अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४० सालको रि.नं....

निर्णय नं. १९५६   ने.का.प. २०४१           अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०४० सालको रि.नं. १२९७

विषय : उत्प्रेषण

निवेदक : सप्तरी र्इनरुवा फूलवारीया गा.पं. वार्ड नं. ६ बस्ने रामचरण भगत कलवार

विरूद्ध

विपक्षी   : जि. स. ईनरूवा फूलवारीया गा.पं. वा.नं. ६ बस्ने रामचरण खत्वे

भूमि सुधार कार्यालय, सप्तरी

आदेश भएको मिति :   २०४१।४।९।३ मा

§  मुख नमिलेको कुरामा सबूत प्रमाणको मूल्याङ्कन गरी कानूनबमोजिम निर्णय गर्नु भनी परमादेश समेत जारी हुने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

उल्लेखित मुद्दा : x

आदेश

          न्या. बासुदेव शर्मा : विपक्षी भूमिसुधार कार्यालय सप्तरीले गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी रिट निवेदकको यस अदालतमा मिति ०४०।४।९ मा दर्ता हुनआएको मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् ।

          २.  संक्षिप्त तथ्य एवं जिकिर : जि. सप्तरी इनरूवा फूलवारीया गा.पं. वा.नं. ६(क) कि.नं. १८७ को ज.बि.०१८१८ जि. ध.बनौली गा.पं.बनौलीको चतुरचौधरी थारूबाट भू.सु.का.लागू हुनुभन्दा अगावै खरीद गरी अहिलेसम्म आफ्नो श्रमद्वारा खेती गरी आएकोमा कुनै विवाद थिएन । यस्तैमा विपक्षी रामचरणले भू.सु.लागू हुनु अघि नै भिन्न भएको म उपर पिता राम औतारको नामको के कस्तो हो ४ नं. अस्थायी निस्सा देखाई उल्लिखित मेरो जग्गा मोहीमा कमाएको भन्दै मोहीमा दर्ता गरी प्रमाणपत्र पाउँ भन्ने व्यहोराको निवेदन दिई प्रत्यर्थी कार्यालयले मलाई झिकाई बयान गर्दा उक्त जग्गा भिन्न भई मेरो खरीदको जग्गा रहेको विपक्षीले कहिल्यै नकमाएको व्यहोराको बयान गरेका थिए । मिति ०३९।१२।१६ का दिन प्रकाशित २ नं. अनुसूची मेरा पिताको नामको रहेको र त्यसमा कुनै विवाद समयमै नभएको भन्दै उक्त कित्ता ज.बि.०१२० को मोहियानी हकको प्रमाणपत्र विपक्षीलाई बनाई दिने भनी ठहर भएकोबाट मेरो मौलिक हकमा आघात पर्न गएकोले सम्मानित अदालतको असाधारण अधिकारक्षेत्र गुहार्न आएको छु ।

          ३.  मेरो हकको जग्गाका सम्बन्धमा मलाई जग्गाधनी देखाई मेरै हकको जग्गाको १ नं. फाराम विपक्षीले भरेको अवस्था भए मैले उजूर गर्न नसकेको भन्न हुने थियो पिता राम औतारको नाममा भरेको अनुसूचीले मेरो हक जान नसक्ने हुँदा भू.सु.ऐन दफा २५(१) को त्रुटि भएको छ । साथै मेरो कि.नं. १८७ मा विपक्षीले उल्लेख गरेको चार किल्ला नमिली अर्कै जग्गाको २ नं. को आधारमा मेरो जग्गा पक्रेकोमा जग्गाको यकीन गर्न प्रमाण ऐन, २०३१ को दफा ३ र अ.बं.१८४ बमोजिम बुझ्नु पर्ने प्रमाण नबुझी उक्त ऐनको प्रत्यक्ष त्रुटि गरेको छ । पिताको नामको २ नं. अनुसूचीबाट मैले मोही मान्नु पर्ने होइन विपक्षीले उक्त जग्गा मोही भई कमाएको भए नापीका बखत उपस्थित भई नपाउन सकेको हुन सक्नु पर्ने सो भए गरेको छैन । विपक्षीले भू.सु.लागेको २ वर्षको अवधिमा ०३८ का मैले गरिदिएको भनी एउटा जाली भर्पाई पेश गरेको छ जसमा पूर्ण ईन्कार रहेपछि मुलुकी ऐन अ.बं.७८ नं. बमोजिम सुनाउने र त्यसको यकीन गर्नुपर्ने हुन्छ । सो नगरी गरेको निर्णय त्रुटिपूर्ण भएको र प्रत्यक्ष त्रुटि गरी बुझ्नु पर्ने प्रमाण नबुझी मेरो हक भोगको जग्गा मा विपक्षी रामचरणलाई मोहियानी हकको प्रमाणपत्र दिने भनी गरेको प्रत्यर्थी कार्यालयको निर्णयबाट मेरो हकमा आघात पर्न गएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी रिट निवेदकले जिकिर लिएको रहेछ ।

          ४.  मिति ०४०।४।३०।२ को यसअदालतको आदेशानुसार प्राप्त हुनआएको लिखितजवाफ यस प्रकार छन् ।

          ५.  एकै परिवारका उसमा पनि बाबु छोराको नाता भएकोमा अभिभावकको रूपमा बाबु नै कर्ता दर्ता हुने हुँदा निज राम औतारलाई वादीले ज.ध.देखाई मोही लगत भर्नु अनुपयुक्त कुरा भन्न उचित नहुने हुनाले मोही लगत भरी ४ नं. जो.अ.नि.प्राप्त गरिसकेको व्यक्तिका नाउँमा सो प्रमाणका आधारमा मोही दर्ता गर्ने गरी यस कार्यालयबाट भएको मिति ०३९।१२।१६ को निर्णय कानूनसंगत हुँदा प्रस्तुत रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने भूमिसुधार कार्यालय सप्तरीको लिखितजवाफ रहेछ ।

          ६.  रिट निवेदकको पिता राम औतार तथा रिट निवेदकले २०३८ सालको बाली बुझी ०३८।११।४ मा रितपूर्वकको भर्पाई बनाई दिनुभएको छ । रिट निवेदकले पनि मलाई मोही स्वीकार गरेको छ । रिट निवेदकले रिट निवेदनमा मिति ०३९।११।४ को भर्पाईलाई जाली भर्पाई भनी जिकिर लिए तापनि निजले म माथि कीर्ते जालसाजको मुद्दा दिन सक्नुभएको छैन । यसबाट उक्त भर्पाईको प्रमाणिकता स्वतः सिद्ध भई आएको हुँदा भूमिसुधार अधिकारीले सबूत प्रमाणको निष्पक्ष मूल्याङ्कन गरी मोहियानी हकको प्रमाणपत्र मेरो नाउँमा बनाई दिने गरेको निर्णयबाट विपक्षीको कानूनी हक आधारित नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने रामचरण खंग खत्वेको लिखितजवाफ ।

          ७.  नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत विषयमा तारेखमा रहेका रिट निवेदक रामचरण भगत कलवारको वारेस समेत भई रिट निवेदक तर्फबाट विद्वान अधिवक्ता विष्णु राउत र भू.सु.का.सप्तरीको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेको बहस समेत सुनियो ।

          ८.  प्रस्तुत रिट निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ ? निर्णय दिनुपरेको छ ।

          ९.  यसमा राम औतार कलवारको नाउँमा अनुसूची भरी ४ नं. जो.अ.नि.पाएको हाल सर्भेमा नापी हुँदा राम औतारको छोरा रामचरण कलवारको नाउँमा दर्ता कि.नं. १८७ को ज.बि.०१८१८ मध्ये ०१२० को मोहियानी हकको प्रमाणपत्र पाउँ भनी विपक्षी रामचरण खत्वेको भू.सु.का.सप्तरीमा निवेदन परेकोमा विवादको कित्ता जग्गा मैले चतुर चौधरीबाट खरीद गरेको जग्गा बाबुबाट अंश पाएको जग्गा होइन भनेको देखिन्छ । विवादको कित्ता जग्गा चतुर चौधरीबाट खरीद भएको जग्गा हो वा राम औतारको नाउँमा दर्ता रहेको जग्गा हो सो सम्बन्धमा सबूत प्रमाण बुझी यकीन भएको देखिन्न ।

          १०.  वादी प्रतिवादीको मुख नमिलेको कुरामा सबूत प्रमाण बुझी मूल्याङ्कन गरी निर्णय गर्नुपर्ने सो बमोजिम नभई राम औतारको नाममा अनुसूची प्रकाशित भएकोले विवादको कित्ता जग्गा मध्ये ०१८१८ मध्ये पूर्व तर्फबाट ०१२० मा मोहियानी हकको प्रमाणपत्र बनाई दिने ठहर गरेको भू.सु.का.सप्तरीको ०३९।१२।१६ को निर्णयमा अ.बं.१८४क र अ.बं.१८५ को त्रुटि भएकोले उक्त भू.सु.का.सप्तरीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब मुख नमिलेको कुरामा सबूत प्रमाणको मूल्याङ्कन गरी कानून बमोजिम निर्णय गर्नु भनी उक्त कार्यालयको नाउँमा परमादेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियमबमोजिम फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. त्रिलोकप्रताप राणा

 

इति सम्वत् २०४१ साल श्रावण ९ गते रोज ३ शुभम् ।