July 1, 1984
Created by nepalarchives

निर्णय नं. १९४८ – लिखत दर्ता बदर

निर्णय नं. १९४८ ने.का.प. २०४१             अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३५ सालको दे.पु.नं....

निर्णय नं. १९४८ ने.का.प. २०४१             अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३५ सालको दे.पु.नं. ४५१

मुद्दा : लिखत दर्ता बदर

पुनरावेदक/प्रतिवादी : जि. पर्सा मिसवा गा.पं. वार्ड नं. ३ बस्ने देवेन्द्रनाथ तिवारी

विरूद्ध

विपक्षी/वादी : जि. पर्सा तुलसी वर्वा गा.पं. वार्ड नं. ४ बस्ने सिताराम भारती

ऐ ऐ बस्ने कैलाश भारती

ऐ ऐ बस्ने एकवाल भारती

ऐ ऐ बस्ने शत्रुधन भारती

ऐ ऐ बस्ने रामलाल भारती

फैसला भएको मिति : २०४१।३।१८।१ मा

§  अंश नभए पनि मानु छुट्टिई भिन्न बसेको वा खती उपती आफ्नोफ्नो गरी आफ्नो हिस्सा भाग मात्र राखी खान पिउन गरेकोमा एकै ठाउँमा भए पनि कुनै छुट्टी भिन्न भएको ठहर्दैन त्यस्तोमा कमाएको धन र लाएको ऋण आफ्नोफ्नो हुने ।

(प्रकरण नं. १३)

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

उल्लेखित मुद्दा : x

फैसला

          न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको उल्लिखित मुद्दाको फैसला उपर चित्त नबुझी प्रतिवादी तर्फबाट यस अदालत समक्ष पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

          २.   मुसुदी भारतीको दुई छोरा जेठा सिताराम कान्छा रामलाल भएकोमा सिताराम भारतीको छोरा व्यास भारती एकवाल भारती, कैलास भारती र शत्रुघन भारती जम्मा ४ छोरा रामलालको सन्तान नभएको, मुसुदी भारतीका हामी सन्तानहरू एकसाथ सगोलमा नै रही बसेका छौं । विपक्षी व्यास भारतीले आफ्नो नाउँमा दर्ता रहेको नाताले हाम्रो अंश हक भोगको तुल्सीपुर वडा नं. २ कि.नं. ८२।१६४ को जग्गा २२ ऐ वार्ड नं. १ कि.नं. २९ को जग्गा ०१९५ समेत ३५ विपक्षीसँग रु.२५००१। लिखत गरी अदालतको फैसला बमोजिम ०३४।२।१२ गते भू.प्र.का.पर्साबाट लिखत पारित गरी दिएको सो पारित भएको कुरा भू.प्र.का.पर्साबाट ०३४।३।२० गते नक्कल सारी लिएबाट अवगत भएकोले लेनदेन व्यवहारको १० नं. बमोजिमको कानूनी व्यवस्थाको समेत वास्ता नराखी हाम्रो सम्पत्ति हाम्रो अंश हकभोगको जग्गा खरीद बिक्री गरेको अनाधिकार खरीद बिक्रीलाई लिखतमा लेखिएको जग्गा १० खण्डको नौ खण्ड बदर गरी हाम्रो नाउँमा दर्ता गरिपाउँ भन्ने समेतको फिरादपत्र ।

          ३.   फिराद दावी बमोजिमको जग्गा व्यास भारती अलग भएपछि आफ्ना आर्जनबाट खरीद गरेको र त्यस मध्ये जग्गा बि.०११ समेत जग्गा २।१६।१०।०३२ भाद्रमै मेरो साथ बिक्री गरी दिएको कि.नं. ८२ को ज.बि.४ कित्ताकाट भई मेरो नाउँमा दर्ता भई बाँकी २कित्ताकाट नं. ८२।१६४ व्यास भारतीका नाउँमा कायम रहेको जग्गा बिगहा २१० र वार्ड नं. १ कि.नं. २९ को ज.बि.०१९५ समेत ज.बि.३५ मोल रु.२५००१। लिई ०३२।१२।२३ गते व्यास भारतीले राजीनामा गरी दिएकोले लिखत म्यादभित्र पास गरी नदिएकोले पारित गरिपाउँ भन्ने व्यास भारती उपर नालेश गरेको जि. अ.को फैसला बमोजिम ०३४।२।१२ गते लिखत पास भएको १० खण्डको ९ खण्ड लेनदेन व्यवहारको १० नं. बमोजिम बदर गरिपाउँ भन्ने वादी दावी छ सो लेनदेन व्यवहारको १० नं. मा प्रष्ट उल्लेख भएकोले सँग बस्दैमा मञ्जूरी लिन पर्ने प्रश्न हुनै नसक्ने भई आर्जन गर्ने व्यास भारतीबाट किनेको बदर हुनै नसक्ने भन्ने समेत देवेन्द्रनाथ तिवारीको प्रतिउत्तर पत्र ।

          ४.   कि.नं. ८२ को जग्गा ४० मध्ये कित्ताकाट भई ८२।१६४ मा २० कायम भएको जग्गा भनी दर्ता प्रमाण पूर्जा नक्कलबाट देखिन आएको र कि.नं. २९ को ०१९५ पूरै कित्ता समेत ३५ व्यास भारतीले देवेन्द्रनाथ तिवारीलाई सुक्री बिक्री गरी दिएको देखिन आएकोले लेनदेन व्यवहारको १० नं. प्रयोग गर्दै वादी दावीको जग्गा व्यास भारतीले आफूले आर्जन गरी बिक्री गरेको देखिएकोले वादी दावी बमोजिम १० खण्डको ९ खण्ड बदर गरी हाम्रो नाउँमा दर्ता गरिपाउँ भन्ने समेत वादी दावी पुग्न सक्दैन भन्ने समेत पर्सा जिल्ला अदालतको ०३४।११।१४।६ को फैसला ।

          ५.  उक्त फैसला बदर गरी वादी दावी बमोजिम लिखत बदर गरिपाउँ भन्ने समेत रामलाल भारतीको पुनरावेदन जिकिर ।

          ६.   नापी हुँदाको बखतमा वादी प्रतिवादीले १ नं. र ७ नं. फाराम भरेको छ छैन निजहरूको कागज गराई भरेको भए एकएक प्रतिलिपि पठाई दिनु भनी सम्बन्धित भू.प्र.का.लाई लेखी पठाई आएपछि नियमानुसार पेश गर्नु भन्नेसमेत ०३७।१।८।१ को म.क्षे.अ.को डिभिजन बेञ्चको आदेश ।

          ७.  सिताराम भारती र रामलाल भारती दुई दाजुभाइ भएका र भाइ रामलालतर्फबाट ७ नं. फाराम पनि छुट्टै भरेको प्रतिलिपि मिसिल संलग्न हुन आएकोले निजका हकमा सगोलको भन्न नमिल्नाले निज रामलालको दावी पुग्न नसक्ने ठहराएको सम्म शुरू इन्साफ मनासिबै ठहर्छ र निज बाहेक अरू वादीहरूका हकमा विचार गर्दा मुसुदी भारतीका छोरा यो वादी सिताराम र निजका छोराहरू विपक्षी व्यास र यी वादी कैलाश, एकवाल र शत्रुघन समेत जम्मा ५ जना छोरा अंशियारहरू छुट्टी भिन्न भएको ठोस प्रमाण प्रतिवादी तर्फबाट गुज्रन नआएकोले त्यस्तो एकाघर सगोलको परिवार मध्ये कुनै एक जनाका नाउँमा खरीद भएको नाताले मात्र निजको स्वआर्जन भन्न न्यायोचित नभएकोले विपक्षी मध्येको व्यासले देवेन्द्रनाथलाई रु.२५००१। मा बिक्री गरेको लिखत मध्ये रू.१२५००।५० रामलालको कटाई बाँकी रु.१२५००।५० लिखतमा ५ भागको ४ भाग रु.१०,०००।४० को लिखत सम्म बदर हुने ठहर्छ यस्तो ५ भागको ४ भाग सम्म बदर हुनेमा सम्पूर्ण लिखत बदर हुन नसक्ने ठहराएको शुरू पर्सा जिल्ला अदालतको फैसला केही गल्ती भई उल्टी हुने ठहर्छ भन्ने समेत मिति ०३७।११।२५ को म.क्षे.अ.को पुनरावेदन फैसला ।

          ८.   मानो छुट्टी भिन्न बसेको व्यास भारतीलेप्रसाद भारतीबाट मिति ०३२।२।२५ मा राजीनामा पास गरी लिएको आफ्नो आर्जनको जग्गा मध्ये ०३२।५।७ मा मैले राजीनामा गरी लिई दर्ता तिरो समेत चलिरहेको छ । यो जग्गा दाता व्यास भारतीको निजी आर्जनको जग्गा हो । लिखत पास गर्दा लिने दिने दुइथर मिली सिधा पास गर्ने अड्डामा गई पास गरी लिएको नभई लिखत पासमा व्यास भारतीसँग नालेश समेत परी लिखत पास ०३४।२।१२ मा भएको हो । उक्त फैसला विपक्षीहरूले बदर गराउन सक्नुभएको छैन । यसबाट समेत उक्त जग्गा दर्ता व्यास भारतीको निजी आर्जनको हुँदा उक्त म.क्षे.अ.को फैसलामा सार्वजनिक महत्त्वको विषयमा गम्भीर कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत देवेन्द्रनाथ तिवारीको यस अदालतमा निवेदन पर्न आएको ।

          ९.   लेनदेन व्यवहारको १० नं. को गलत प्रयोग गरी गरेको म.क्षे.अ.को फैसला सार्वजनिक महत्त्वको विषयमा गम्भीर त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालतबाट ०३८।१२।२ मा आदेश भएको रहेछ ।

          १०.  नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले आफ्नो पालामा खरीद भएको र आफ्नो पालामा बिक्री समेत भएकोले उक्त जग्गा व्यास भारतीको निजी आर्जनको हो । आफैंले खरीद गरी बिक्री समेत गरेपछि निजी भनी अदालतले मान्यता दिएको पाइन्छ । यस भन्दा अघिको ऐनको व्यवस्थाबाट समेत व्यास भारतीको निजी आर्जनको हुँदा म.क्षे.अ.को फैसला बदरभागी छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो । विपक्षी वादी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले सगोलको जो सुकैको नाममा भए पनि उक्त जग्गा सगोलकै हुने निजी आर्जनको हो भन्ने कुनै प्रमाण देखाउन नसकेबाट समेत म.क्षे.अ.को इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          ११.  यसमा म.क्षे.अ.को इन्साफ मिलेको छ छैन सो तर्फ नै निर्णय दिनु पर्ने हुन आयो । विवादको जग्गा व्यास भारती अलग भएपछि खरीद गरेको हो भन्ने प्रतिवादीको भनाई छ । तर व्यास भारती आफ्नो बाबु भाइहरूसित छुट्टी भिन्न बसेको सबूत आउन सकेको छैन । यस्तो स्थितिमा प्रतिवादी व्यास भारतीका बाबु भाइ यो वादीहरू र प्रतिवादी व्यास भारती एका सगोलमा बसेको भन्नु पर्ने हुन आयो ।

          १२.  प्रमाण ऐन, ०३१ को दफा ६(क) हेरिएमा अन्यथा प्रमाणित नभएसम्म एकाघरसँगका अंशियार मध्ये जुनसुकै अंशियारको नाउँमा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छभन्ने लेखिएको पाइन्छ ।

          १३.  ०३२।२।२५ मा प्रतिवादी व्यास भारतीले प्रसाद भारतीबाट विवादको जग्गा खरीद गरेको नाताबाट सो जग्गा निजको आफ्नो आर्जनको हो कि भन्नलाई तत्कालीन अंशबण्डाको १८ नं. ले मानो नछुट्टी संग बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लागेको ऋण सबै अंशियारलाई भाग लाग्छ । ऐन बमोजिम अंश गरी लिनुदिनु पर्छ । अंश नभएमा पनि मानु छुट्टिई भिन्न बसेको वा खती उपती आफ्नोफ्नो गरी आफ्नो हिस्सा भाग मात्र राखी खानु पिउनु गरेमा एकै ठाउँमा भए पनि कुनै छुट्टी भिन्न भएको ठहर्दैन । त्यस्तोमा कमाएको धन र लाएको ऋण आफ्नोफ्नो हुन्छभन्ने लेखिएको पाइन्छ । सगोलमा रहेको अवस्थामा सगोलकै परिवारको सदस्यको नाममा सगोलै धनबाट जग्गा खरीद हुन सक्छ । सगोल मध्येको कुनै एक सदस्यको नाउँबाट त्यस्तो जग्गा खरीद भएको नाताबाट उक्त जग्गा उसैको आर्जनको मान्ने हो भने सगोलबाट धनसम्पति बढ्न सक्ने स्थिति नै रहँदैन ।

          १४.  प्र.व्यास भारतीले मेरो आफ्नो निजी आर्जनको जग्गा खरीद भएको भनी प्रतिवादी सम्म पनि नगरी शुरू म्यादै गुजारी बसेको दखिन्छ । पुनरावेदक प्र.देवेन्द्रनाथ तिवारीले व्यास भारतीको निजी आर्जन हो भनी प्रतिवाद गरे तापनि निजी आर्जन हो भन्ने तथ्ययुक्त प्रमाण आउन सकेको पाइन्न । यस्तो स्थितिमा सगोलकै कुनै सदस्यबाट जग्गा खरीद भएकोमा त्यस्तो जग्गा निजी आर्जनबाट खरीद भएको हो भन्ने निश्चयात्मक एवं बलियो प्रमाणको अभावमा त्यस्तो जग्गा आर्जनबाट खरीद भएको भन्न मिल्दैन ।

          १५.  अतएवः पुनरावेदक प्र.व्यास भारतीबाट खरीद गरेको जग्गा रु.२५००१। को लिखत मध्ये रामलालको कटाई बाँकी रु.१२,५००।५० को लिखतमा ५ भागको ४ भाग रू.१०,००।४० सम्मको लिखत बदर गर्ने ठहराएको म.क्षे.अ.को फैसला मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

         

उक्त रायमा सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल आषाढ १८ गते रोज १ शुभम् ।