July 13, 1984
Created by nepalarchives

निर्णय नं. १९३२ – उत्प्रेषण

निर्णय नं. १९३२ ने.का.प. २०४१             अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट...

निर्णय नं. १९३२ ने.का.प. २०४१             अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको रिट नं. १५७३

विषय : उत्प्रेषण

निवेदक : जि. बारा खोपवा गा.पं. वडा नं. ५ निवासी रामदेव राउत अहिर

विरूद्ध

विपक्षी    : भूमिसुधार कार्यालय बारा

जि. बारा खोपवा गा.पं. वार्ड नं. ५ निवासी अच्छेलाल राउत अहिर

ऐ ऐ वा.नं. ७ निवासी हरि शंकर चौधरी

आदेश भएको मिति : २०४१।३।३०।६ मा

§  ऐनको व्यवस्था विपरीत संयुक्त मोही कायम गर्ने गरेको भू.सु.का.को निर्णय भूमिसम्बन्धी ऐनको दफा २६(१) को त्रुटि देखिने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान

विपक्षी तर्फबाट : x

उल्लेखित मुद्दा : x

आदेश

          न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार रहेछ ।

          २.   जि. बारा खोपवा गा.पं. वडा नं. ७ कि.नं. ४१ को ज.बि.०१७१० को जग्गाधनीमा हरिशंकर चौधरी हुनुहुन्छ । मोहीमा पिता गलु राउत हुनुभएकोमा पिता २०३८ सालमा परलोक हुनुभएपछि मैले नै जोत आवाद गरी जग्गाधनीलाई बाली बुझाउँदै आइरहेको छु ।

          ३.   मैले जोत आवाद गरी जग्गाधनीलाई बाली बुझाउँदै आइरहेको उक्त जग्गाका मोही नामसारी गरिपाउँ भनी विपक्षी मध्येको अच्छेलालले भू.सु.का.बारामा निवेदन दिएछ । उक्त निर्णयमा कारवाई हुँदा जग्गाधनी हरिशंकरलाई बुझी बयान गराइएकोमा विपक्षी अच्छेलालले उक्त जग्गामा कुनै जोत आवाद गरेको छैन, रामदेव राउत अहिरले म उक्त जग्गा जोत आवाद गरी बाली बुझाउँदै आइरहेको हुनाले निज रामदेव राउत अहिरकै नाउँमा मोही कायम होस् र विपक्षी अच्छेलालको दावी खारेज गरिपाउँ भनी बयान गर्नु भएकै छ । सो जग्गाको जग्गाधनीले पत्याएको खास मोही म नै हुँ । यसरी जग्गाधनी स्वयं भू.सु.का.बारामा हाजिर भई मलाई मोही पत्याउन भएको छँदाछँदै पनि भू.सू.का.बाराका भू.सु.अधिकारी विश्वनाथ श्रेष्ठले यसमा परलोक भएको मोही गलु राउत अहिरका नाउँमा मोही कायम रहेको खोपवा गा.पं. वडा नं. ७ कि.नं. ४१ को ज.बि.०१७१० जग्गा मोहीका छोरा अच्छेलाल राउत अहिर र रामदेव राउत अहिर दुवै जनाका नाउँमा नामसारी गरी संयुक्त ३ नं. मोही प्रमाणपत्र बनाई दिने ठहर्छ भन्ने कानूनी त्रुटिपूर्ण फैसला भयो । भू.सं.ऐनको दफा २६(१) ले मोहियानी हक बण्डा लाग्दैन ।

          ४.   मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पत्नि वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भनी भू.सं.ऐनको दफा २६(१) मा किटानी व्यवस्था छ । जग्गाधनीले मलाई पत्याई बाली बुझेको रसिद दिई सोही मुताविक भू.सु.का.मा बयान गर्नु भएको छ । भू.सु.का.बाराले ऐनको दफा २६(१) अनुसार पूरै मेरै नाउँमा मोही नामसारी गरी दिनु पर्नेमा संयुक्त नामसारी गरी दिने गरेको भू.सु.का.को फैसला उक्त दफा २६(१) को कानूनी त्रुटिपूर्ण हुँदा परमादेश लगायत अन्य उपयुक्त रिट र चाहिने आज्ञा, आदेश वा पूर्जि समेत गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।

          ५.  विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको स.अ.सिङ्गलबेञ्चको आदेश रहेछ ।

          ६.   विपक्षीहरूका नाममा रीतपूर्वकको म्याद तामेल भएकोमा लिखितजवाफ पेश नगरी म्याद गुजारी बसेका रहेछन् ।

          ७.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा निवेदकको वा भरतबहादुर के.सी.लाई बेञ्चबाट ३ पटक बोलाउन लगाउँदा पनि उपस्थित नभएका र निवेदकका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान र विपक्षी भू.सु.का.को तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ताको बहस जिकिर समेत सुनियो ।

          ८.   प्रस्तुत विषयमा निवेदकका माग बमोजिमको आज्ञा, आदेश जारी गर्नुपर्ने हो होइन ? निर्णय दिनु पर्ने हुन आएको छ ।

          ९.   यसमा अच्छेलाल राउत अहिर र रामदेव राउत अहिर दुवैजनाका नाउँमा नामसारी गरी संयुक्त ३ नं. मोही प्रमाणपत्र बनाई दिने ठहर्‍याई भू.सु. अधिकारीले ०३९।११।१ मा निर्णय गरेको पाइन्छ । भू.सु.ऐन, २०२१ को दफा २६(१) मा यस परिच्छेदको अन्य दफाहरूको अधीनमा रही मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छभन्ने व्यवस्था भएको देखिन्छ । यसरी ऐनको व्यवस्था विपरीत संयुक्त मोही कायम गर्ने गरेको भू.सु.का.को उक्त निर्णयमा भूमिसम्बन्धी ऐनको २६(१) को त्रुटि देखिएकोले उत्प्रेषणको आदेश जारी गरी ०३९।११।१ को निर्णय बदर गरी दिएको छ । कानून बमोजिम पुनः निर्णय गर्नु भनी परमादेशको आदेश जारी गरी दिने ठहर्छ । यो आदेशको जानकारी सम्बन्धित कार्यालयमा पठाउन आदेशको प्रतिलिपि संलग्न राखी महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल आषाढ ३० गते रोज ६ शुभम् ।