निर्णय नं. १८८९ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. १८८९ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको रिट...
निर्णय नं. १८८९ ने.का.प. २०४१ अङ्क १
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०३९ सालको रिट नं. १०६२
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : धनुषा जिल्ला झटियाठी गा.पं. वार्ड नं. ८ बस्ने देव सुनरी तेलीनी
विरूद्ध
विपक्षी : भूमिसुधार कार्यालय धनुषा
धनुषा जिल्ला कजारा रमोल गा.पं. वार्ड नं. ६ बस्ने महाबिर यादव
आदेश भएको मिति : २०४१।१।११।२ मा
§ दर्तावालालाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट समेत वञ्चित गरी रिट निवेदकको नाम दर्ता रहेको जग्गा प्रत्यर्थीलाई मोहीमा कायम गरी मोहीको प्रमाणपत्र पाउने ठहर्याई भू.सु.कार्यालय धनुषाले गरेको निर्णय त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल
उल्लेखित मुद्दा : x
आदेश
न्या. पृथ्वीबहादुर सिंह : मिति ०३९।६।१८ को भू.सु.का.धनुषाको निर्णय बदर गराई पाउँ भनी प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रहेछ ।
२. संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार छ : धनुषा जिल्ला मरकनाछा गा.पं. वार्ड नं. १ को कि.नं. २७१ को ०–९–१६ ऐ वार्ड नं. ८ को कि.नं. २० को ०–१–२ को कि.नं. ५० को ०–३–१० जग्गा भू.सु.लागू हुँदा भू.सं.नियमहरू, २०२१ को नियम ३, ६, ७, ९ को प्रकृया पूरा गरी स्वयं मेरो नाउँमा १ नं. लगत २ नं. अनुसूची प्रकाशित भई म निवेदक नै जग्गाधनी र मोही भई दर्ता प्रमाणपूर्जा प्राप्त गरिकन आफैंले जोती आएको थिएँ । उक्त जग्गा सम्बन्धमा मसँग भिन्न भई ७ नं. फाराम छुट्टाछुट्टैमा र छुट्टी बसेका छोरा रामवृज उपर मोहियानी हकको प्रमाणपत्र पाउँ भनी विपक्षी महावीर यादवले प्रत्यर्थी भू.सु.का.समक्ष निवेदन दिएकोमा भू.सु.लागू हुँदा प्रकाशित २ नं. लगत अनुसार वादीले प्रतिवादीको नामको २–१०–० जग्गा कमाएको देखिएको र रामवृजले स्वयं छोरा भई आमाको नामको दर्ताको जग्गाको बाली बुझी लिई भर्पाई गरी दिएबाट आमा देवसुनरीको नामको वादीले दावी लिएको जग्गाहरूको मोहियानी हकको प्रमाणपत्र पाउने ठहर्छ भनी मिति ०३९।६।१८ मा प्रत्यर्थी भू.सु.का.बाट निर्णय भयो ।
३. मैले भू.सं.नियमहरू, २०२१ बमोजिम मैले १.नं. लगत भरी मेरा नाउँमा २ नं. अनुसूची प्रकाशन भई त्यस उपर कसैको उजूर नपरी मैले ४ नं. जोताहा अस्थायी निस्सा पाएको हुँ । ज.ध.प्र.पू.को मोही महलमा मेरो नाउँ अंकित छ उक्त जग्गा मेरो नाउँमा दर्ता रहेको कुरा मालपोत कार्यालयको श्रेस्ताबाट देखिँदा देखिँदै मलाई नबुझी निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्त विपरीत छ । विपक्षीले पाएको भनिएको ४ नं. जो.अ.नि.कानूनसंगत छैन भर्पाईको सक्कल पेश भएको छैन । म निवेदक र रामवृज भिन्न भई बसेका व्यक्ति हुनाले दुवै जनाको जग्गा सम्बन्धमा एउटै निर्णय गरिएबाट अ.बं.७२ नं. को प्रतिकूल हुनाको साथै अ.बं.७८ नं. , अ.बं. १८०(क), १८५, १८९ समेतको प्रतिकूल हुन गएको छ भन्ने समेतको निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिङ्गलबेञ्चको ०३९।८।८ को आदेश रहेछ ।
५. सगोलको आफ्नो छोरा रामवृज साहुले गरी दिएको भर्पाईको आधार लिई निवेदिकाको नाममा दर्ता कायम भएको भखाहा गा.पं. वार्ड नं. १ को कि.नं. २७१ ऐ वार्ड नं. ८ कि.नं. २० को कि.नं. ५० समेत जग्गाको भू.सु.ऐन, २०२१ को दफा १ बमोजिम मोही देखिएको हुनाले भू.सु.अ.ले आफ्नो–आफ्नो क्षेत्राधिकार ग्रहण गरी गरेको निर्णय कानूनसंगत छ भन्ने समेतको भू.सु.का.धनुषाको लिखितजवाफ रहेछ ।
६. छोरा रामवृजले आमा छोरा दुवैको जग्गाको बाली बुझी लिई रसिद गरी दिएको समेत एका सगोल एकै व्यक्ति कारवाही चलाई आएको देखिएकोले त्यस्ता व्यक्ति बुझिएको हुँदा प्राकृतिक न्याय विपरीत भएको छैन अधिकार प्राप्त अधिकारीले आफ्नो अधिकार प्रयोग गरी गरेको निर्णयमा कुनै त्रुटि छैन रिट खारेज गरिपाउँ भन्ने समेतको महावीर यादवको लिखितजवाफ रहेछ ।
७. निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री दमन ढुङ्गानाले दर्ता श्रेस्ता किताबमा जग्गाधनी र मोही महलमा निवेदकको नाउँ जनिएको छ १ नं. र २ नं. अनुसूची निवेदकको नाउँमा प्रकाशित हुँदाहुँदै निवेदकलाई नबुझी गरेको निर्णय त्रुटिपूर्ण छ भन्ने र विपक्षी भू.सु.का.तर्फ बाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले सबूत प्रमाणको मूल्याङ्कन गरी भर्पाई जो.अ.नि.समेतलाई आधार बनाई गरेको निर्णयमा त्रुटि छैन भन्ने र विपक्षी महावीर यादवतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालले निवेदकको छोरा स्वयं कारवाईमा उपस्थित भई आफूले गरी दिएको भर्पाईको विषयमा केही भन्न नसकी चूप लागी बसेको र छोरा स्वयं उपस्थित हुँदाहुँदै आमालाई बुझ्न पर्ने आवश्यकता छैन तसर्थः प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको छैन भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
८. प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा मालपोत कार्यालयको श्रेस्ता उतारबाट मखाहा गा.पं. वार्ड नं. २ को कि.नं. २७१ ऐ पा.नं. ८ को कि.नं. २० र ५० को कित्ताहरू विपक्षीको आमा देवसुनरी तेलीको नाममा दर्ता लेखिएकोले निवेदक मोही हुँदा मोही हकको प्रमाणपत्र पाउने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार कार्यालय धनुषाबाट निर्णय गरेको देखिन्छ ।
१०. त्यसरी माल कार्यालयको श्रेस्ताबाट रिट निवेदकका नाउँमा दर्ता रहेको जग्गामा मोही कायम गर्नु पर्दा दर्तावाला रिट निवेदकलाई बुझी प्रतिवाद गराई निर्णय गरेको देखिँदैन । त्यसरी जग्गा दर्तावाला रिट निवेदकलाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट समेत वञ्चित गरी रिट निवेदकका नाममा दर्ता रहेको जग्गाको सम्बन्धमा प्रत्यर्थी महावीर यादवलाई मोही कायम गरी मोहीको प्रमाणपत्र पाउने ठहर्याई प्रत्यर्थी भू.सु.कार्यालय धनुषाले गरेको मिति ०३९।६।१८ को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत हुनुको साथै त्रूटिपूर्ण देखिन आयो ।
११. अतः उपयुक्त उल्लेख भए अनुसार प्रत्यर्थी भूमिसुधार कार्यालय धनुषाले मिति ०३९।६।१८ मा रिट निवेदकको हकमा गरेको त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानून बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०४१ साल वैशाख ११ गते रोज २ शुभम् ।