निर्णय नं. १८७२ – ज्यान
निर्णय नं. १८७२ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला सम्वत् २०३९ सालको फौ.पु.नं....
निर्णय नं. १८७२ ने.का.प. २०४१ अङ्क १
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
सम्वत् २०३९ सालको फौ.पु.नं. २९३
सम्वत् २०४० सालको फौ.सा.नं. १०४
मुद्दा : ज्यान
पुनरावेदक/प्रतिवादी : रोल्पा नुवा गाउँ गा.पं. वडा नं. ४ लौलेखोला गाउँघर भई हाल रोल्पा कारागारमा थुनामा रहेको नरसिंह पुन मगर
विरूद्ध
विपक्षी/वादी : टोपबहादुर पुन मगरको जाहेरीले श्री ५ को सरकार
फैसला भएको मिति : २०४०।१०।२७।६ मा
§ अदालतमा साविती भएको र मर्नेका बायाँ कञ्चटको हड्डी समेत कुच्चिएको भन्ने लास प्रकृति मुचुल्काबाट देखिएकोले निजको ज्यान मार्नाको मनसाय नरहेको भन्ने देखिन नआउने ।
(प्रकरण नं. १४)
पुनरावेदक प्रतिवादी तर्फबाट :
विपक्षी वादी तर्फवाट :
उल्लेखित मुद्दा :
फैसला
न्या. बासुदेव शर्मा : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।५।३ को फैसला उपर चित्त नबुझेकोले उक्त इन्साफ उल्टाई पाउँ भनी प्रतिवादी नरसिंह पुन मगरको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको रहेछ ।
२. मेरो ५ पूस्ताको बज्यै नाताकी बिस्नी मगरनी एक्लै हुँदा कहिले आफ्नो घरमा बस्ने कहिले अन्यायवालाको घरमा बस्ने गर्थिन । निज बिस्नी मगरनी अन्यायावालाको घरमा बसेको अवस्था ०३६।३।१२ गतेका राति रुपैयाँ चोरी भयो भनेकाले ऐ १३ गते गाउँघरमा हल्ला गरी रुपैयाँ चोरी गर्ने को हो ? रुपैयाँ कसैले चोरेको भए थाहा नपाउने गरी डोकोमा राखी दिए कुनै उजूर गर्ने छैन नत्र पत्ता लगाई उजूर गर्नेछु भनी गाउँमा हल्ला सुनाई नरसिंहको घर बाहिर ऐ १३ गते डोको राखी नरसिंह र निजको स्वास्नी छोरी तथा निज बज्यै बिस्नी समेत घरभित्र सुती निदाएको बखत नरसिंहले बिस्नीलाई ढुङ्गाले चण्डीमा हानी कर्तव्य गरी मारी लास सो घरदेखि मुनी अं.५०० गज टाढा नरसिंहकै बारीको ढिकमा गाडेछ, ऐ १४ गते बिस्नी नदेखिएकोले कहाँ गइन् भन्दा कतै गाउँघरमा गई होलिन् भन्ने कुरा निज नरसिंहले गरेको र सो १४ गते साँझसम्म १५ गते बिहान पनि नदेखी निज नरसिंहले मारी दबाएको शङ्का भई म समेत गाउँलेहरूले ऐ १५ गतेमा खारखेर गर्दा कर्तव्य गरी मारेमा सावित भई हानेको ढुङ्गा र गाडेको लास समेत देखाएकाले जाहेरी दरखास्त गरेको छु कानून बमोजिम होस् भन्ने समेतको टोपबहादुर पुनको जोहरी दरखास्त रहेछ ।
३. मर्ने बिस्नी कान्छी आमा नाता पर्ने र नजिकमा हामी दुईको मात्र घर हुँदा म कहाँ आउने बस्ने गर्थिन । निजको छोरा कमानसिंह मेरो छोरी नंखरालाई दुकानमा छाडी ०३६।३।१२ गते घरमा गई १३ गते रु.१००। मागेको दिइनन् । चोरी भयो भनी छलफल पनि भयो डोको पनि मेरो आँगनमा थापियो । बेलुका निज बिस्नी समेत मेरो घरमा खानपिन गर्दा चोरीको शंका लगाई भन्ने म र तैंले पनि मेरो स्वास्नी छोरी खाने बोक्सी भनेको छस् अझ तलाई पनि खान्छु भनी भनाभन भएपछि निज बिस्नी मेरो घरको तलामा म र श्रीमती छोरी समेत खाने बस्ने कोठामा सुत्यौं । मलाई रिस उठी रहेकोले स्वास्नी छोरी समेत मस्त निदाएका बखत आधा रातको समयमा बाहिरबाट ढुङ्गा ल्याई बायाँ हातले लाईट बाली दायाँ हातले मुडकीले ढुङ्गो कसी टाउका पट्टि ३ चोट हानेपछि निज बिस्नी मरेकीले निजलाई ओछ्यानको भांग्रोमा पोको पारी बोकी लगी लास दबाएको हुँ अरू मद्दत मतियार समेत कोही छैनन् भन्ने समेत प्र.नरसिंहले प्रहरीमा गरेको बयान कागज ।
४. अभियुक्त नरसिंह पुन मगरले मात्र मार्छु भनी तल्लो तलाबाट माथि गई हत्याको साधन समेत बोकी लिई हिर्काई कर्तव्य गरी बिस्नी मगर्नीको ज्यान लिएकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १३(३) बमोजिम कारवाही गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन रहेछ ।
५. झेंनाम पञ्चायत धुम्बासमा मेरो भट्टी दुकान थियो । ०३६।३।१२ गते घर आई ऐ १३ गते रक्सी किन्न रु.१००। चाहियो भनी निज बिस्नीसँग सापटी माग्दा हाल चलाउन्न भनी मैले एकचोटि दर्शन गर्न देउ भनी रुपैयाँ हेर्दा चोरी भएछ भनिन् । पछि म जोत्न गएँ आउँदा आमा र चित्रबहादुर मेरो घरमा रहेछन् कान्छी आमाले रु.६८७। जति हराएछ पत्ता लगाउनु पर्यो भनिन् । छलफल गर्दा डोको राख्ने सल्लाहा गरी कसैले चोरेको भए डोकोमा राखी दिनु भनी मेरै घरमा डोको थापियो । बेलुकी कान्छी आमा समेतले मेरै घरमा खाना खाई मलाई चोर नलगाउ भन्दा तैंले पनि स्वास्नी छोरी खाने बोक्सी भनेको छस् तँलाई पनि खाई दिन्छु भनिन् । बिस्नी सदा झैं म बसेको माथिल्लो तलामा गई सुतिन् । म स्वास्नी लगायत भुइँ तल्लामा सुतेकोमा स्वास्नी छोरी निदाए । मलाई निद्रा आएन । चोरीको दोष लगाएकी र तँलाई खान्छु भनेकीले रिस उठी मार्छु भन्ने तर्कना आई आधा रातमा लाईट बाली ढोका खोली आँगनमा थापेको डोको हेरेँ रुपैयाँ देखिन । अब त्यो बोक्सीनीलाई नमारी छाड्दिन भनी ढुङ्गा टिपी माथिल्लो तलामा जाँदा निज उत्तानो परी निदाएका बेला देब्रे हातले लाईट बाली दाहिने हातमा लिएको ढुङ्गाले दाहिने कञ्चटमा हाने अलि–अलि चलि घ्यार–घ्यार गर्न लागेको बेला २।३ पटक हानी मरेपछि निजले ओछ्याएको भांग्रोमा पोको पारी जुरे ढुङ्गामा तरूल खनेको खाडलमा हाली ढुङ्गाले छोपी फर्की आउँदा स्वास्नी छोरी ब्यूँझी सकेकीले कान्छी आमा कहाँ गइन थाहा पाएनौ भनी सोद्धा थाहा पाएनौं भने भन्ने समेतको नरसिंह पुन मगरको अदालत समक्ष भएको बयान ।
६. बिस्नी मेरो बज्यै हुन ०३६।३।१२ गतेका रात रुपैयाँ चोरी भयो भनेकीले ऐ १३ गते नरसिंहको घरमा डोको थापियो । ऐ १४ गते बिहान नरसिंह मेरो घरमा आई कान्छी आमा भागीछन् भनेकाले म समेत खोजतलास गर्दा कुटी मारेमा निज सावित भई लास गाडेको ठाउँ समेत देखाएकाले बिस्नीलाई नरसिंहले कुटी मारेको ठहर्याउँछु भन्ने चित्रबहादुर पुन मगरको बकपत्र रहेछ ।
७. मेरो आमा कहिले नरसिंहको दुकान कहिले नरसिंहकै घरमा बस्ने गर्थिन । ०३६।३।१२ गते मलाई दुकानमा छाडी आमा र नरसिंह घरमा गएकोमा ऐ १३ गते नरसिंहको छोरी आई तिम्रो आमाको पैसा हरायो जाउरे भनेकीले ऐ १४ गते नरसिंहको घर गई आमा खोई भन्दा देश काटी भनेकाले गाउँघरमा खोजी फेला नपर्दा पछि पुलिसलाई खबर गरी निज नरसिंहसँग सोधपुछ गर्दा मेरो आमालाई मारेमा सावित भएको नरसिंहको घरको उपल्लो तलामा आमा सुतेको ठाउँमा रगत समेत देखिएकोले मेरो आमालाई प्र.नरसिंहले नै कर्तव्य गरी मारेका हुन् भन्ने समेतको कमानसिंह बुढाको बकपत्र ।
८. बिस्नीलाई प्र.नरसिंहले कुटेको आँखाले नदेखे पनि मैले दिएको जाहेरी दरखास्त बमोजिम ०३६।३।१२ गते रुपैयाँ चोरी भयो भनेकी ऐ १३ गते नरसिंहकै घरमा सुतेकी र १४ गते नदेखिएकीले म समेत भई नरसिंहलाई कारकेर गर्दा मारेमा सावित भएको निज सुतेको ठाउँमा रगत देखिएको र दबाएको भनेको ठाउँमा गई हेर्दा निजले भने बमोजिम दुवै तर्फको चण्डीमा घाउ चोट लागेको समेत देखिँदा बिस्नीलाई नरसिंहले नै मारेको विश्वास लाग्छ भन्ने समेतको जाहेरवाला टोपबहादुरको बकपत्र भएको ।
९. बिस्नीलाई मारेमा प्रहरी र अदालत समक्ष समेत निज नरसिंह सावित भएको देखिँदा प्रहरी प्रतिवेदन अनुसार मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. को देहाय (३) बमेजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेतको शुरू रोल्पा जिल्ला अदालतको फैसला ।
१०. मलाई चोर भनेकी र मलाई बोक्सी भनेको छस् तँलाई पनि खाइदिन्छु भनेको रिसबाट ढुङ्गाले हानी मारेकोमा ज्यानसम्बन्धीको १४ नं. अनुसार १० वर्ष कैद नगरी ऐ १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गरेको इन्साफ उल्टी गरिपाउँ भन्ने समेतको नरसिंहको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
११. खाना खाइसकेपछि सुत्नु अगाडि चोरीको दोष र मलाई पनि खान्छु भनेकी भन्ने कुरा प्र.नरसिंहको बयानबाट देखिन्छ । तर सो रिसले त्यसै मौकामा ढुङ्गाले हानी मारेको नभई सबै सुती निदाइसकेपछि निजलाई निद्रा नपरी बिस्नीलाई मार्छु भन्ने तर्कना उठी ढुङ्गा टिपी कञ्चटमा २।३ पटक हामी आधा रातमा मारेको भन्ने समेत निजकै बयानबाट देखिएको हुँदा ज्यान सम्बन्धिको १४ नं. बमोजिमको अपराध भन्न नमिली शुरूबाट ऐ को १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएको इन्साफ मनासिब ठहर्छ भन्ने समेतको सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।५।३ को फैसला ।
१२. मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय गर्नु पर्नेमा ऐ को १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरू रोल्पा जिल्ला अदालत र सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन भन्ने समेतको प्र.नरसिंह पुन मगरको यस अदालत समक्ष पर्न आएको पुनरावेदन पत्र ।
१३. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ ? भनी निर्णय दिनु पर्ने देखिन्छ ।
१४. यसमा कर्तव्य गरी ढुङ्गाले बिस्नीको कन्चटमा हानी मारेमा प्र.नरसिंह पुन मगरले प्रहरी तथा अदालत समक्ष समेत सावित भई बयान गरी पुनरावेदन पत्रमा समेत स्वीकार गरेको भई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गरेकोमा चित्त नबुझी ऐ.को १४ नं. बमोजिम भवितव्य ठहर्याई १० वर्ष सम्म कैद हुनु पर्ने भन्ने हदसम्म पुनरावेदनमा जिकिर लिएको देखिन्छ । मिति ०३६।३।१३ गते चोरीको दोष र तँलाई पनि खान्छु भनेकाले सोही रिसबाट निजलाई कुटपिट गरी मार्छु भन्ने निजको मनमा तर्कना उठेको भन्ने बयानबाट बिस्नीलाई मार्नको लागि ढुङ्गा टिपी निदाएकी बिस्नीलाई कन्चटमा टाउकोमा २।३ पटक हानी मारेको भनी प्र.नरसिंह पुन मगर प्रहरी र अदालतमा साविती भएको र मर्ने बिस्नीको बायाँ कन्चटको हड्डी समेत कुच्चिएको भन्ने ०३६।३।२१ को लास प्रकृति मुचुल्काबाट देखिएकोले निजको ज्यान मार्नाको मनसाय नरहेको भन्ने देखिन आउँदैन । तसर्थः शुरू पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन परेको हुँदा साधकको लगत कट्टा गरी नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४० साल माघ २७ गते रोज ६ शुभम् ।