January 16, 1984
Created by nepalarchives

निर्णय नं. १८७० – कीर्ते जालसाजी

निर्णय नं. १८७०     ने.का.प. २०४१                        अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३८ सालको फौ.पु.नं....

निर्णय नं. १८७०     ने.का.प. २०४१                        अङ्क १

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०३८ सालको फौ.पु.नं. ३४४

मुद्दा : कीर्ते जालसाजी

पुनरावेदक/प्रतिवादी : जि. पर्सा औराहा गा.पं. वार्ड नं. ५ बस्ने मायादेवी अथित्नी

                  ऐ ऐ बस्ने महर्न्थ गिरी अथित्

विरूद्ध

विपक्षी/वादी : जि. पर्सा औराहा गा.पं. वडा नं. ५ बस्ने शिवजी गिरी अथित्

फैसला भएको मिति :      २०४०।१०।२।२ मा

§  रजिष्ट्रेशन पारित भएको राजीनामा लिखतमा वादी साक्षी बसेको र लिखत पारित हुँदा कार्यालयबाट सनाखत समेत गराएको तथा वादी लेखपढ गर्न जान्ने व्यक्ति भएको देखिएका आधारमा कीर्ते कागजको परिभाषा भित्र नपर्ने ।

(प्रकरण नं. १५)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

विपक्षी तर्फबाट : x  

उल्लेखित मुद्दा : x

फैसला

            न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३७।९।३।४ को फैसलामा चित्त नबुझेकाले पुनरावेदन गर्ने अनुमति पाउँ भनी पर्न आएको निवेदनमा मिति ०३८।८।१५।५ मा पुनरावेदनको अनुमति प्राप्त गरी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको रहेछ ।

            २.    मिति ०३३ साल भाद्र ९ गतेमा विपक्षी मध्येको महन्थ गिरी अथितले मैले सूर्य गिरी अथित्को स्वास्नी जोखनी कान्छीको जग्गा सुक्री बिक्री गराएको हुँ साक्षीमा सही गरी दिनु पर्‍यो भनी मलाई लिखतको सबै व्यहोरा नसुनाई साक्षी किनारमा मैले सहिछाप गरी दिएको थिएँ । पछि घर आउँदा सूर्य गिरी अथित्को स्वास्नीको नाउँमा जग्गा दर्ता नै नभएको शिवजी गिरी अथित्को आमाको नाउँ पनि जोखनी कान्छी अथित्नी भएकोबाट र लालपूर्जा समेत भई सँगै हुँदा शिवजी गिरीको आमाको नाउँको जग्गा मैले सूर्य गिरी अथित्को स्वास्नी जोखिनी कान्छीबाट बिक्री नाम गराई लिएको हुँ भनी विपक्षीले गाउँघरमा बोलेको बुझिन आएकोले लिखतको नक्कल लिई हेर्दा मेरो आमा जोखिनी कान्छीको जग्गा मध्ये कि.नं. १२६ को ०१० विकाउँ गिरीको साथ कि.नं. २१४, ३९ को जग्गा ०५ राजकलीदेवीको साथ आमाले अघिनै बिक्री गरिसकेको जग्गा समेतको कि.नं. ११३, १२६, २१४, ३९, २८९, २३७ को जग्गा २० रु.२५,०००।मा जोखनी कान्छी अथित्नी भन्ने सूर्य गिरीको स्वास्नीलाई मेरो आमा बनाई निजबाट बिक्रीनामा लेखाई लिएकोले कीर्ते कागजको ३,४ नं. को कसूर गरेकोमा कीर्ते कागजको ७, १०, १४ नं. बमोजिमको प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको शिवजी गिरीको फिराद रहेछ ।

            ३.    विपक्षीका दावी लेखाई अनुसार मैले निजको आमाको नामको जग्गालाई मेरो भनी बिक्री गरेको नभई खास मेरा नाउँको दर्ता तिरो भोगको जग्गा बिगहा २० मिति ०३३।५।९ मा मायादेवीलाई रु.२५,०००। मा बिक्री गरी दिएको हुँ । आमाको नाउँ र मेरो नाउँ एउटै नभई विपक्षको आमाको नाम जोखनी हो र मेरो नाम जोखनी कान्छी अथित्नी हो भन्ने र म रघुनाथका हकमा माथि लेखिए अनुसार मेरो सगोलको आमाले आफ्ना हक भोगको जग्गा बिक्री गर्नुभएको हुनाले म साक्षी बसी सहिछाप गरी दिएको हुँ । कीर्ते जालसाजी गरेको होइन वादी दावीबाट फुर्सद पाउँ भन्ने समेतको प्र.जोखिनी कान्छी अथित्नी र रघुनाथ गिरी समेत जना २ को संयुक्त प्रतिउत्तरपत्र रहेछ ।

            ४.    म महन्त गिरीको हकमा लेखाई बमोजिम सूर्य गिरीको स्वास्नी कान्छी अथित्नीबाट जग्गा सुक्रिबिक्री लेखाई लिएको हुँ भनी साक्षीमा सही गरी दिनुस् भनी फिरादीबाट सही गराई लिएको होइन, विपक्षीको आमाको नाम जोखनी मात्र हो र मेरी श्रीमती मायादेवीलाई जग्गा बिक्री गर्ने जोखनी कान्छी भन्ने नाउँ नै फरक भएको हुनाले विपक्षले बिकाउ गिरी र राजकलालाई जग्गा बिक्री गरी मेरो आमाले दिएको भन्ने तर्फ उक्त लिखत पनि प्रमाण दिन नसकेकोले ती व्यक्तिहरूलाई झिकी लिखत हेरिएमा कुन व्यक्तिको नाम के रहेछ देखिने नै छ । विपक्षको आमा पहिले नै मरिसकेकोबाट समेत दावा बमोजिम कीर्ते जालसाजी नगरेको हुँदा फिराद लेखाई झुठ्ठा हो भन्ने र म मायादेवीको हकमा विपक्ष साक्षी बसी सही मानिस जोखनी कान्छीबाट मैले जग्गा बिगहा २० रु.२५,०००।मा लिएको हुँ । विपक्षीले मसँग लिएको दाइजो पचाउन यो फिराद गरेका हुन भन्ने समेतको प्र.मायादेवी अथित्नीको र महन्त गिरीको संयुक्त प्रतिउत्तरपत्र ।

            ५.    शिवजी गिरी अथित्को आमा जोखनी कान्छीको नाउँको जग्गा सूर्य गिरीको स्वास्नी जोखनी कान्छी अथित्नीले महन्त गिरीको स्वास्नी मायादेवीलाई बिक्री गरिएको हो भन्ने समेत व्यहोराको वादीको साक्षी मिलन गिरी र दिपनारायण गिरीको एकै मिलनको पृथकपृथक बकपत्र रहेछ ।

            ६.    सूर्य गिरीको स्वास्नी जोखनी कान्छी अथित्नीले आफ्नो नाउँको जग्गा २० रु.२५,०००।मा ०३३ भाद्र महीनामा महन्त गिरीको स्वास्नी मायादेवीसँग बिक्री गरी दिएको हो भन्ने समेत व्यहोराको प्र.मायादेवी र महन्त गिरीको साक्षी तपसी गिरी र जोखन साहु तेलीको एकै मिलानको पृथकपृथक बकपत्र रहेछ ।

            ७.    सूर्य गिरीको स्वास्नी जोखनी कान्छीको आफ्नो नाउँको जग्गा २० रु.२५०००।मा मायादेवी अथित्नीसँग ०३३ साल भाद्र महीनामा बिक्री गरी दिएको हो शिवजी गिरीको आमा जोखनी कान्छीको नाउँको जग्गा बिक्री गरेको होइन भन्ने समेत प्र.जोखनी कान्छी र रघुनाथ गिरीको साक्षी शिवपुजन गिरीको बकपत्र ।

            ८.    फौ.नं. २४७९ को खारेजी मुद्दाको फिरादपत्रमा जोखनी कान्छी नाउँको जग्गा लेखाई लिएको छु साक्षीमा सही गरिदिनु पर्‍यो भनी मलाई लिखतको व्यहोरा सुनाई साक्षी किनारमा मैले सही गरी दिएको थिए भनी लेखेको देखिएबाट र सनाखतमा वादी साक्षी बसेको आधारमा समेत वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेतको पर्सा जिल्ला अदालतको फैसला ।

            ९.    उक्त फैसला उपर चित्त बुझेन भन्ने समेत व्यहोराको शिवजी गिरीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

            १०.    मिति ०३७।४।२७ को म.क्षे.अ.को झगडिया झिकाउने आदेश रहेछ ।

            ११.    वादीले फिरादपत्र दिंदा कि.नं. ३९,२१४ को जग्गा राजकलिलाई र कि.नं. ११६ को जग्गा विकाउलाई आमाले बिक्री गरी सकेको भनी उल्लेख गरेको देखिएको र कि.नं. २३७ को जग्गामा वादीले पुनरावेदनपत्र दिँदा प्रतिवादीको भनी दावी छोडेको देखिँदा कि.नं. ३९, २१४, १२६, २३७ को जग्गामा वादी दावा पुग्न नसक्ने र कि.नं. ११३ र २८९ को हकमा वादीकी आमाले बच्चा राउतलाई गरी दिएको ०२२।४।१२।३ मा पास भएको राजीनामाको श्रेणीको ल्याप्चे छापहरूसँग ०३३।५।९ को राजीनामा लिखतमा परेको कि.नं. ३९ र २१४ को फिल्डबुकमा जोखनी कान्छी अथित्नीको नाममा लागेको ल्याप्चे छापहरूसँग मिलेको भन्ने रेखा विशेषज्ञको राय भएकोले वादीले जालसाजी कीर्तेमा दावी गरेको राजीनामा उल्लेख भएको जग्गा वादीको आमाकै हकको देखिन आयो । वादीको आमाले बच्चा राउल अहिरलाई गरी दिएको रु.५००।को राजीनामामा लागेका ल्याप्चे छापसँग मिति ०३३।५।९।९ को रु.२५,०००।को राजीनामा लिखतमा लागेको कारणी जोखनी कान्छी अथित्नीको ल्याप्चेहरूसँग नमिल्ने भई फरक देखिएको भन्ने रेखा विशेषज्ञको राय देखिएकोले कि.नं. ११३ र २८९ को जग्गाको हक जालसाजी कीर्ते ठहर्‍याउनु पर्नेमा नठहराएको शुरू पर्सा जिल्ला अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

            १२.   मध्यामाञ्चल क्षेत्रीय अदालतको उक्त इन्साफमा चित्त नबुझेकोले पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेतको मायादेवी अथित्नी समेतको यस अदालतमा पर्न आएको निवेदनपत्र।

            १३.   यसमा कि.नं. १२६, ३९ र २१४ आमाले बिकाउ र रामकलीलाई बिक्री गरेको भनेको प्रमाण मिसिल सामेल रहेको देखिँदैन । कि.नं. ११३ र १२६ को हकमा फिल्डबुकको सहिछाप अस्पष्ट र कि.नं. २८९ मा विशेषज्ञको राय नै नभएकोमा कि.नं. ११३ र २८९ नं. को जग्गाको हदसम्म जालसाजी ठहराएको निर्णयबाट प्रमाण ऐन, २०३१ को दफा २३ (७) को त्रुटि गरी निर्णय गरेको त्यस्तो त्रुटि सार्वजनिक महत्त्वको समेत हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १२ को उपदफा ५ को खण्ड (ख) को आधारमा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने व्यहोराका यस अदालत डिभिजन बेञ्चको मिति ०३८।८।१५ को आदेश ।

            १४.   नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फको वारेसलाई पुकार गर्दा उपस्थित हुन नआएकोले विपक्षी शिवजी गिरीलाई रोहवरमा राखी पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले प्रस्तुत मुद्दामा विवादको रु.२५,०००।को लिखतमा विपक्ष साक्षी बसी अड्डा समक्ष समेत सनाखत गरी लिखत पास भइसकेको छ, साथै विपक्ष लेखपढ गर्न जान्ने व्यक्ति हुनुहुन्छ । प्रस्तुत विवादको जग्गा वादी शिवजी गिरीको आमा जोखनी अथित्नीको नभई सूर्य गिरीको स्वास्नी जोखनी कान्छी अथित्नीको हक भोगको हो जो प्रतिवादी मायादेवीको दाता हुनुहुन्छ भनी आफ्नो बहस प्रस्तुत गर्नुभयो ।

            १५.   प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब वेमनासिब के रहेछ भनी विचार गर्दा यसमा प्रतिवादीहरूले कीर्ते जालसाजी गरेको भनिएको मिति ०३३।५।९ को रु.२५,०००।को रजिष्ट्रेशन पारित भएको राजीनामा लिखतमा वादी शिवजी गिरी साक्षी बसेको र लिखत पारित हुँदा कार्यालयबाट सनाखत समेत गराएको तथा वादी लेखपढ गर्न जान्ने व्यक्ति भएको देखिएको आधारमा वादी शिवजी गिरीको दावी कीर्ते कागजको परिभाषा भित्र नपर्ने हुँदा निजको वादी दावी खारेज हुने ठहर्छ । निजलाई जरिवाना गर्ने गरेको शुरू पर्सा जिल्ला अदालत र कि.नं. ११३ र २८९ नं. को जग्गाको हदसम्म जालसाजी कीर्ते ठहराउनु पर्नेमा नठहराएको जिल्ला अदालतको इन्साफ उल्टी हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ समेत मिलेको नदेखिएकोले उल्टी हुने ठहर्छ, तपसीलका कलमहरूमा तपसील बमोजिम गर्नु ।

 

तपसील

पुनरावेदक प्रतिवादी देहाएका मानिसहरू के इन्साफ माथि ठहर खण्डमा लेखिए बमोजिम शुरू पर्सा जिल्ला अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भई फिराद खारेज हुने ठहराएकोले मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३७।९।३ का फैसलाले निजहरूलाई देहाएमा लेखिए बमोजिम जरिवाना गरेकोमा निजहरूले सो जरिवाना यस अदालतमा पुनरावेदन गर्दा मिति ०३७।१०।८ मा यस अदालतमा लगत नगदी शाखा मार्फत काठमाडौं जिल्ला अदालतमा सदर स्याहा भएको देखिएकोमा अब सो जरिवाना नलाग्ने हुँदा फिर्ता पाउँ भनी ऐनका म्यादभित्र दरखास्त पर्न आए नियमानुसार गरी फिर्ता दिन र उक्त रकमको लगत कट्टा गर्न पर्सा जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु……………………..१

            प्र.मायादेवी अथित्नी के पाउने रु.२,२१६।६१ पैसा प्र.महन्त गिरी अथित् के पाउने रु.१००।

देहायका प्रतिवादीहरू के मध्यमाञ्चल क्षेत्रीय अदालतका मिति ०३७।९।३ का फैसलाले देहाय बमोजिम जरिवाना गरेकोमा अब सो फैसला बदर भई नलाग्ने हुँदा उक्त जरिवाना असूल भएको भए फिर्ता दिनु नभएको भए व्यहोरा जनाई लगत कट्टा गरी ऐ ऐ मा लेखी पठाउन ऐ ऐ मा लगत दिनु …………………….२

            प्र.जोखनी कान्छी अथित्नी के रु.२,२१६।६२ पै, प्र.रघुनाथ गिरी अथित् के रु. २५।–, प्र.असर्फीलाल कायस्थ के रु.। २५।

            प्र.विश्वनाथ कायस्थ के रु.   २५।

मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला अनुसार प्र.मायादेवी अथित्नी के मिति ०३३।५।९ मा लेखाई लिएको कि.नं. ११३, २८९ को जग्गा बिगहा १५ लेनदेन गरेको जालसाजी ठहरिएकोले त्यसको दामासाहीले हुने रु.१७,७३४।८५ पै.असामी जोखनी कान्छी अथित्नीबाट कानून बमोजिम गरी लिनु भनेकोमा अब उक्त फैसला बदर भएकोले सो गर्नु नपर्ने हुँदा सो कलमको लगत कट्टा गर्न ऐ मा लेखी पठाउन ऐ मा लगत दिनु…………………….. ३

विपक्ष वादी शिवजी गिरीके शुरू पर्सा जिल्ला अदालतका मिति ०३४।११।२९ का फैसला र ०३४।१२।६ का लगतले निजलाई लागेका जरिवाना रु.३,१२५। अब उक्त फैसला बदर भई उक्त जरिवाना नलाग्ने हुँदा र निजले मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा उक्त जरिवाना बापत धन जमानी दिएको मिसिलबाट देखिन आएकाले उक्त धनजमानी फुकुवा गरिदिन र सो कलमको लगत कट्टा गर्न ऐ ऐ मा लेखी पठाउन ऐ ऐ मा लगत दिनु………………… ४

नियमानुसार गरी मिसिल बुझाई दिनु…………………….. ५

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४० साल माघ २ गते रोज २ शुभम् ।