निर्णय नं. १८६९ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. १८६९ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको...
निर्णय नं. १८६९ ने.का.प. २०४१ अङ्क १
डिभिजन बेञ्च
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३९ सालको रिट नं. १२९४
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
रिट निवेदक : मोरङ जि. अमाही वरियाती गा.पं. वार्ड नं. ५ बस्ने सुरेन्द्रप्रसाद सिंह
ऐ ऐ बस्ने प्रभात कुमार सिंह
ऐ ऐ बस्ने देवी राजपुत
विरूद्ध
विपक्षी : मोरङ जिल्ला सोराभाग गा.पं. वडा नं. २ हालको ऐ अमाही वरियाती वडा नं. ५ बस्ने देवनारायण ऋषिदेव
श्री भूमिसुधार कार्यालय, मोरङका भूमिसुधार अधिकारी
आदेश भएको मिति : २०४०।१०।२।२ मा
§ कानूनको आधारविना मोही ठहर्याउने गरी निर्णय गरेको त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. ६)
रिट निवेदकको तर्फबाट : x
विपक्षी तर्फबाट : x
उल्लेखित मुद्दा : x
आदेश
प्र.न्या. नयनबहादुर खत्री : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोराहरू यस प्रकार छन् :
२. हामी निवेदकहरूको संयुक्त नाममा दर्ता रहेको जि. मोरङ अमाही बरियाती गा.पं. वडा नं. ५(ख) को कि.नं. ६४ को २–७–८, ऐ कि.नं. ६७ को ०–७–१, ऐ कि.नं. ३६ को १–८–१८ र ऐ ५ (क) को कि.नं. १०७ को ०–६–० समेत जम्मा जग्गा बिगहा ४–१०–० चार बिगहा दश कठ्ठा धनहर दोयम जग्गा हामीले आफ्नै तर्फबाट जोत आवाद गरी गराई भोगी चर्ची आएको र उक्त जग्गामा कोही पनि मोही नभएकोमा विपक्षी देवनारायण ऋषिले प्रहरी चौकी स्वयं खानाबाट मिति ०३८।७।२० र ०३८।९।२२ मा विपक्षीलाई शंधियार र म सुरेन्द्रप्रसादलाई जग्गाधनी भनी जबरजस्ती बाली बुझेको भनी गराएको भर्पाईको नक्कल लिई सो समेतको आधारमा मेरो उक्त जग्गाको मोही कायम गरिपाउँ भनी विपक्षीले ०३९।३।७ मा भूमिसुधार कार्यालय मोरङमा निवेदन दिएको थियो । सो निवेदनमा कारवाही हुँदा हामीले निज विपक्षी हाम्रो उक्त जग्गाको मोही होइन भनी इन्कार गरी प्रतिउत्तर दिएकोमा विपक्षी भूमिसुधार अधिकारीले सरजमीन गर्न लगाई आफ्नो कार्यालयको ना.सु.को प्रतिवेदन लिई उक्त तथाकथित भर्पाईको आधार समेत लिई निज विपक्षी देवनारायण ऋषिदेवलाई भूमिसम्बन्धी ऐनको दफा २५(२) अन्तर्गत मोही हुनलाई सोही ऐनको दफा ३४(१) अनुसार जग्गाधनी र मोहीको बीचमा कबूलियत भएको हुनुपर्दछ । उक्त कबूलियतको अभावमा ०३८।७।२० र ०३८।९।२२ गतेको तथाकथित भर्पाईलाई ऐनको दफा ३४ अन्तर्गत दोहोरो भर्पाई भन्ने र सरजमीनको आधार लिई मोही ठहर्याउने गरेको निर्णय भूमिसम्बन्धी ऐनको दफा २५(२), ३४(१)(२) र प्रमाण सम्बन्धी कानूनको समेत विपरीत भएकोले उक्त गैरकानूनी निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने मुख्य रिट निवेदन जिकिर रहेछ ।
३. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेशगर्नु भन्ने सिंबे.को मिति ०३९।११।३।३ को आदेश ।
४. पञ्च प्रतिनिधिहरू समेत राखी चौकीको रोहवरमा कानूनी प्रकृया अनुरूप मिति ०३८।९।२२ मा मोही र जग्गाधनी बीच कूतबाली समेत लिनु दिनु गरी भए गरेको भर्पाई कागज वेरीत वा गैरकानूनी भन्ने संज्ञा दिन मिल्ने होइन । सो कागजबाट कानूनी हकाधिकारमा आघात पर्ने भए वा बेरीतको भएको भए त्यस्तो पक्षले मौकैमा कानूनी कारवाही गर्नुपर्नेमा सो नगरी बसेको र सो कानूनी कागजका आधारमा र सरजमीन समेतको आधारमा यस कार्यालयबाट मिति ०३९।९।३० मा गरेको निर्णयले रिट निवेदकको कानूनी तथा संवैधानिक हकमा कुनै किसिमको आघात नपरेको हुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय मोरङको लिखितजवाफ रहेछ ।
५. रिट निवेदक स्वयंले भूमिसुधार कार्यालय मोरङमा प्रतिवाद गर्दा मलाई उक्त विवादास्पद जग्गा कमाउन दिएको तथ्यलाई स्वीकार गर्नुभएको छ । भूमिसम्बन्धी ऐनको दफा २५(२) को प्रयोजनका लागि जग्गाधनीले गरेको स्वीकारोक्तिले प्रयाप्त प्रमाण हुन्छ । भूमिसुधार कार्यालय मोरङले जग्गाधनीको स्वीकारोक्तिलाई समर्थन गर्ने अन्य सबूत प्रमाणको मूल्याङ्कन गरी मलाई मोही कायम गर्ने गरेको निर्णयमा कुनै किसिमको त्रुटि नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी देवनारायण ऋषिदेव मुसहरको लिखितजवाफ रहेछ ।
६. प्रस्तुत मुद्दामा भू.सु.कार्यालय मोरङबाट मिति २०३९।९।३०।६ मा भएको निर्णय मनासिब छ छैन भनी विचार गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (२) बमोजिम विपक्षी देवनारायण ऋषिदेव मोही हुनलाई उक्त ऐनको दफा ३४(१) अनुसार विपक्षी र निवेदकहरूको बीचमा तोकिए बमोजिमको लिखत कबूलियत हुन पर्ने र दुई पक्षको सहिछाप भएको कबूलियतको अर्को प्रतिलिपि स्थानीय गाउँ पञ्चायतमा दाखिल गर्नुपर्ने भन्ने कानूनी व्यवस्था भएकोले सो बमोजिम विपक्ष र निवेदकहरूको बीचमा कबूलियत भएको छ भन्ने प्रमाण विपक्षले पेश गर्न सकेको देखिँदैन । भू.सु.अधिकारीको निर्णयमा त्यस्तो कबूलियत पेश भएको छ भन्ने उल्लेख भएको पाइँदैन । भू.सु.कार्यालय मोरङको निर्णयमा उल्लेख भएको जग्गा धनी सुरेन्द्रप्रसाद सिंह र देवनारायण समेतको सही भएको मिति २०३८।७।२० को भर्पाई र ऐ ऐ समेतको सही भएको मिति ०३८।९।२२ को भर्पाईलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ मा तोकिए बमोजिमको दोहरी भर्पाई वा कबूलियतको संज्ञा दिन मिल्दैन । भू.सु.अधिकारी मोरङले कानूनको आधार बिना विपक्ष देवनारायणलाई मोही ठहर्याउने गरी मिति २०३९।९।३०।६ मा निर्णय गरेको त्रुटिपूर्ण देखिन आएकोले सो निर्णय उत्प्रेषणको रिटद्वारा बदर हुने ठहर्छ । जानकारीको लागि यो आदेशको एक प्रति प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल माघ २ गते रोज २ शुभम् ।