निर्णय नं. १८६७ – उत्प्रेषण
निर्णय नं. १८६७ ने.का.प. २०४१ अङ्क १ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त...
निर्णय नं. १८६७ ने.का.प. २०४१ अङ्क १
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३९ सालको रि.फु.नं. ५६
मुद्दा : उत्प्रेषण
निवेदक : जि. रूपन्देही पडसरी गा.पं. वा.नं. २ कटैया बस्ने श्रीधरनारायण श्रेष्ठ
विरूद्ध
विपक्षी : पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखरा
रुपन्देही जिल्ला अदालत, सिद्धार्थ नगर
जि. पाल्पा तानसेन सिंलखान टोल घर भै जि. रुपन्देही मधौलिया गा.पं. वा.नं. ४ कोटीहवा
ऐ ऐ बस्ने सुदर्शन नारायण श्रेष्ठ
ऐ ऐ बस्ने मनोहर नारायण श्रेष्ठ
ऐ ऐ बस्ने हेम कुमारी श्रेष्ठ
ऐ ऐ बस्ने गणेश नारायण श्रेष्ठ
ऐ ऐ बस्ने अमर नारायण श्रेष्ठ
ऐ ऐ बस्ने महेन्द्र नारायण श्रेष्ठ
आदेश भएको मिति : २०४१।१।२९।६ मा
§ दुबै पक्षको कथनबाट हक बेहकको प्रश्न उपस्थित भएको हुँदा सबूत प्रमाणको मूल्याङ्कन गरी हक बेहकको निर्णय गर्नुपर्ने रिट क्षेत्रबाट मिल्ने देखिँदैन ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता गणेशराज शर्मा
उल्लेखित मुद्दा : x
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।५।२९।२ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा डिभिजन बेञ्चबाट निर्णय भएको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. स्वर्गीय बुबा बाजे रत्नमान श्रेष्ठका जेठा तुलसीनारायण, माहिला कृष्णनारायण, साइला तेजनारायण, काहिला गोवन्दनारायण र कान्छा कोमलनारायण समेत ५ भाइ छोराहरू हुन् भएकोमा जेठा तुलसीनारायणको पत्नी हेमकुमारीले आफ्नो र आफू पट्टीका छोराहरू ३ भाइ समेतको अंश छुट्याई माग्न फिराद गर्दा तुलसीनारायणका अंशियार भाइहरू कृष्णनारायण, तेजनारायण, गोविन्दनारायण, कोमलनारायण समेतको ५ बण्डा लाग्नेमा ५ भागको ४ भाग बण्डा पर सारी तुलसीनारायणको एक भाग विपक्षीहरू ९ अंशियार भएकोले ९ अंशको ४ अंश वादी विपक्षी हेमकुमारी निज तर्फका छोराहरू विपक्षी गणेशनारायण, अमरनारायण र बेगमनारायणले बाँकी ५ बण्डामा स्व.तुलसीनारायण विपक्षी तेजकुमारी मनोहरनारायण, सुदर्शननारायण, महेन्द्रनारायण, समेतको भाग लाग्ने गरी तत्कालीन प्रधान न्यायालय पहिला फाँटबाट २००६।९।८ मा खड्ग निशाना सदर भई अन्तिम भएको खड्ग निशाना फैसला बमोजिम विपक्षी हेमकुमारी समेतले दिनुभएको दरखास्त अनुसार पहिला मेरा बाजे गोविन्दनारायण समेतका ५ अंशियारहरूको २०२५।१२।१३ र त्यसपछि विपक्षी तेजकुमारी, हेमकुमारी तर्फको ९ अंशियारहरूको ऐ २०२५।१२।१६ गते अंशबण्डाको मुचुल्का खडा भयो । छुट्याइएका मुचुल्का उपर हेमकुमारीको उजूर पर्दा ०२५।१२।१३ गतेको सदर र ०२५।१२।१६ गतेको बदर गर्ने गरी लुम्बिनी अञ्चल अदालतबाट ०२५।११।५।४ मा अन्तिम फैसला भएछ । बण्डा छुट्याई लिन विपक्षीहरूको दरखास्त परेनछ । मनोहरनारायण श्रेष्ठको ०३४ साल चैत्रको निवेदनमा बण्डा छुट्याउने कार्य एक महीनाभित्र सम्पन्न गरी नतिजा पठाउनु भन्ने ०३०।१२।२३ मा प.क्षे.अ.बाट आदेश भई बण्डा छुट्याउने कार्य शुरू गरी मेरा बाजे गोविन्दनारायणको भागमा ०२५।१२।१३ गते बण्डा मुचुल्काबाट परेको मौजे वोहियाको जग्गा समेत विपक्षी हेमकुमारी समेतको अंश भागमा परेको भनी बण्डा भयो ।
३. विपक्षी रूपन्देही जिल्ला अदालतबाट विपक्षी तेजकुमारी समेतबाट नयाँ फाँटवारी लिई ०२५।१२।१३ गतेको अंश मुचुल्कामा मेरो बाजेको नाममा परेको हाल नापीमा २०–४–१४ कायम भएको जग्गा विपक्षीहरूलाई बण्डा लगाई दिने गरिएको, दण्ड सजायको ४६ नं. विपरीत प्रतिवादीको बण्डा छुट्याई पाउँ भन्ने दरखास्तबाट बण्डा मुचुल्का नहेरी गोविन्दनारायणको हक खाने मलाई नबुझी मलाई मेरो अचल सम्पत्तिको जग्गाका हकबाट वञ्चित गराइएकोले प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुन गएको छ । दण्ड सजायको ४६ अंशबण्डाको २४, २८नं. विपरीत नेपालको संविधानको धारा ११(२)(ङ), धारा १५ ले प्रदान गरेका हकहरू हनन् भएकोले विपक्षीहरूका बीच बण्डा गरिदिने गरेको ०३६।६।२८।१ समेतको बण्डा मुचुल्का निर्णय उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत सिङ्गलबेञ्चको ०३६।१२।५ को आदेश ।
५. मनोहरनारायण श्रेष्ठको निवेदनमा पाल्पा जिल्ला अदालतले यसमा व्यहोरा साँचो भए फैसला बमोजिम छुट्याउनु पर्ने अंशबण्डा छुट्याउने कार्य एक महीना भित्र सम्पन्न गरी नतिजा पठाउनु भन्ने आदेश भई गएकोमा शुरू अदालतबाट फैसला विपरीत कार्य गरे निवेदकले स्वयं यस अदालतमा र यस अदालतको आदेशमा चित्त नबुझे सर्वोच्च अदालतमा निवेदन दिन पाउने अ.बं.१७ नं. मा व्यवस्था भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको लिखितजवाफ ।
६. ०२५।१२।१३ गतेको बण्डा मुचुल्का अनुसार बण्डा भएको जग्गामा निवेदकको बाजेको नाममा दर्ता भइसकेको थियो भनी लेखाउन नसकेको र बाह्र वर्ष पूर्व भएको बण्डापत्र अनुसार जग्गा दर्ता नै नभएको बखतमा अदालतले सो जग्गा विपक्षीको हकको हो ? भन्ने कुरा जानकारी हुन सक्दैन जानकारी नै भए पनि विपक्षीले आफ्नो हक पुगेको प्रमाण नदेखाएसम्म बण्डा गर्न कानूनले बाधा पर्दैन । विपक्षीलाई अ.बं.८२ नं. ले उजूर गर्ने अधिकार छैन । विपक्षीको बाजेको भागमा परेको कुन–कुन कित्ता जग्गा ०३६।६।२८ को बण्डा मुचुल्कामा पर्यो खुलाउन नसकेको २००६।९।८ को फैसला मुताविक हेमकुमारीको म्यादै भित्र उजूर परेको आधारमा ०२५ सालमा बण्डा छुट्याइएको देखिने, एक पटक दरखास्त परेको देखिएपछि त्यसै विषयमा अर्को पक्षले चाँडो कार्य सम्पन्न गराउन निवेदन परेको समेत बाट रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत रूपन्देही जिल्ला अदालतको लिखितजवाफ ।
७. ०६ सालको खड्ग निशाना बमोजिम बण्डा बारे दरखास्त परी बण्डा छुट्याइएकोमा लुम्बिनी अञ्चल अदालतको ०२७।११।५ को फैसलाबाट ०२५।१२।१६ को बण्डा मुचुल्का बदर भएको ०२५।११।५ को फैसलाले कसैलाई तारेखमा राखेको थिएन । हेमकुमारीले अंश पाउने भन्दा बढी जग्गा भोगी आएकोले फाँटवारीमा ढिला सुस्ती गर्ने मुराद लिई चूप लागी बसेकीले प.क्षे.अ.मा निवेदन दिई आदेश भई कारवाही भएको हुँदा दण्ड सजाय ४६ नं. को म्याद गएको भन्न मिलेन । उही तायदाती बमोजिमको बण्डापत्रमा जग्गाको ४ किल्ला भित्र नम्बर खुलाई लिएको हो । रिट निवेदकको हक भनेको कुराको प्रमाण छैन । विना हकमा दावी गर्ने अधिकार अ.बं.८२ नं. ले दिँदैन । तुलसीनारायणको नाउँमा दर्ता भएको जग्गा अंशियारमा बण्डा भएको छ । रिट क्षेत्रबाट हक स्थापित गर्न मिल्दैन । पुरानो दर्ता श्रेस्ता खारेज भई सर्भे नापीबाट नयाँ कि.नं. क्षेत्रफल कायम हुन आएको पुरानो मिसिलबाट पत्ता नलाग्ने भई परिवर्तित कि.नं. र क्षेत्रफल खुलाई दिएकोमा नयाँ तायदाती लिइएको भन्न मिल्ने प्रश्न आउँदैन भन्ने समेत तेजकुमारी श्रेष्ठ, सुदर्शननारायण श्रेष्ठ, महेन्द्रनारायण श्रेष्ठ समेतको वारिस भई आफ्नो हकमा समेत मनोहरनारायणको लिखितजवाफ ।
८. फैसला कार्यान्वयन हुन गएकोमा फरक परेको भए दण्ड सजायको ६१ नं. बमोजिम जिल्ला न्यायाधीश छेउ र अ.बं.१७ नं. बमोजिम आफूले उजूर गर्ने मार्ग छँदाछँदै मेरो हकको जग्गा विपक्षीको बण्डामा पर्ने गरी मुचुल्का खडा गरेका हुन मेरो हक प्रचलन गरिपाउँ भनी हक बेहकको प्रश्न उपस्थित गराई यो असाधारण क्षेत्रमा निवेदनपत्र दर्ता गर्ने संविधानको धारा ७१ अनुकूल भएको नहुँदा रिटनिवेदन खारेज हुनेठहर्छ भन्ने डिभिजन बेञ्चको ०३८।५।२९ को निर्णय ।
९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी पश्चिमाञ्चल क्षेत्रीय अदालत समेतको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विपक्षी मनोहरनारायण श्रेष्ठबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री गणेशराज शर्माको बहस समेत सुनियो ।
१०. यसमा २०२५।१२।१३ को बण्डा मुचुल्काबाट मेरो बाजे गोविन्दनारायणको अंश भागमा परेको वोहिया मौजाको जग्गा समेत विपक्षीहरूले अंशबण्डा मुचुल्कामा पारी बण्डा गराएकोले सो ०३६।६।२८ को बण्डा मुचुल्का उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ । विवादको जग्गा तुलसीनारायणको दर्ता भित्रको जग्गा हुँदा सो जग्गा बण्डा नहुने भन्न मिल्दैन भन्ने विपक्षीहरूको जिकिर देखिएको । दुवै पक्षको कथनबाट हक बेहकको प्रश्न उपस्थित भएको हुँदा सबूत प्रमाणको मूल्याङ्कन गरी हक बेहकको निर्णय गर्नुपर्ने अवस्था देखिन आएको छ । रिट क्षेत्रबाट त्यसरी हक बेहकको निर्णय गरी हक कायमै गर्न मिल्ने देखिँदैन । तसर्थः हक बेहकको प्रश्न उपस्थित भएको भनी डिभिजन बेञ्चबाट रिट निवेदन खारेज गरेको मनासिब छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव,
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल बैशाख २९ गते रोज ६ शुभम् ।