May 11, 1984
Created by nepalarchives

निर्णय नं. १८६६ – अंश बण्डा

निर्णय नं. १८६६  ने.का.प. २०४१                    अङ्क १ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त...

निर्णय नं. १८६६  ने.का.प. २०४१                    अङ्क १

फुल बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३९ सालको प्रतिवेदन दे.फु.नं. १

मुद्दा : अंश बण्डा

निवेदिका : जि. रूपन्देही मधवलिया गा.पं. वा.नं. ४ बस्ने हेमकुमारी श्रेष्ठ

विरूद्ध

विपक्षी     : ऐ मझौलिया गा.पं. वा.नं. ४ किटीहवा भन्ने नन्दनगर बस्ने मनोहरनारायण श्रेष्ठ

आदेश भएको मिति :   २०४१।१।२९।६

§  नक्कल सारेको मितिलाई थाहा पाएको मिति कायम गरी सो मितिबाट १५ दिनभित्र निवेदन परेको भन्ने जिकिर मनासिब देखिने ।

(प्रकरण नं. ५)

निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

उल्लेखित मुद्दा : x

 

फैसला

            न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।८।१७ को निर्णय उपर निवेदिकाको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा व्यहोरा साँचो भए यसै सम्बन्धित विषयमा श्रीधर नारायणको बिन्तिपत्रमा भएका प्रमांगी अनुसार फुल बेञ्चबाट दोहर्‍याई निर्णय गर्न विचाराधीनमा रहेको हो भने यो बिन्तिपत्रमा लेखिएको मुद्दाको विषयमा पनि एकै साथ फुल बेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गरी दिनु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत निवेदन पत्रमा निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री नारायणराज खरेल तथा विपक्षीहरूको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तको बहस समेत सुनियो ।

            २.   यसमा २०३६।६।२८ को बण्डा मुचुल्कामा आफू रोहवरमा नरहेकोमा हाजिर भई सही नगरेको भनी कानून विपरीत मुचुल्का खडा गरेको, जिमीदारी घरहरू हालको बण्डा मुचुल्कामा नपरेको भन्ने समेत आधारमा सो ०३६।६।२८ को बण्डा मुचुल्का बदर गरिपाउँ भन्ने हेमकुमारीको उजूर पर्दा रूपन्देही जिल्ला अदालतबाट दण्ड सजायको ६१ नं. बमोजिम १५ दिनभित्र उजूर गर्नुपर्नेमा ०३६।६।२८ को मुचुल्का उपर ०३६।७।२१ मा मात्र निवेदन परेको देखिएको भन्ने आधारमा हेमकुमारी श्रेष्ठको निवेदन जिकिर पुग्न नसक्ने गरी ०३६।९।२२।१ मा आदेश भएको देखिन्छ ।

            ३.   सो आदेश उपर हेमकुमारी श्रेष्ठको लुम्बिनी अञ्चल अदालतमा निवेदन पर्दा लुम्बिनी अञ्चल अदालतबाट रूपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधीशको ०३६।९।२२।१ को आदेश बदर गरी ०३६।१२।८ मा आदेश भएको र सो उपर मनोहरनारायण श्रेष्ठ समेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा निवेदन पर्दा लुम्बिनी अञ्चल अदालतको ०३६।१२।२८ को आदेश बदर गरी ०३७।२।८ मा आदेश भएको, सो उपर हेमकुमारीको सर्वोच्च अदालतमा निवेदन पर्दा प.क्षे.अ.को ०३७।२।८ को आदेश बदर गरी सिङ्गलबेञ्चबाट ०३७।५।२५ मा आदेश भएको र डिभिजन बेञ्चबाट सो सिङ्गलबेञ्चको ०३७।५।२५ को आदेश बदर गरी ०३८।८।२८ मा आदेश भएको देखिन्छ ।

            ४.   डिभिजन बेञ्चको ०३८।८।२८ को आदेश उपर निवेदिकाको श्री ५ महाराजाधिराजका हजुरमा बिन्तिपत्र परी बक्स भई आएको प्रमांगी बमोजिम उक्त ०३८।८।२८ को आदेश मिलेको छ छैन सो हेर्नुपर्ने हुन आएको छ ।

            ५.   मुलुकी ऐन दण्ड सजायको ६१ नं. मा फैसला कार्यान्वयनको सिलसिलामा तहसिलदार कर्मचारीले गरेको काम कारवाहीमा चित्त नबुझ्ने सरोकारवाला व्यक्तिले सोही अड्डाका हाकिम छेउ पन्ध्र दिनभित्र उजूर गर्न सक्नेछ निजले गरेको निर्णयमा चित्त नबुझे अदालती बन्दोवस्तको १७ नम्बर बमोजिम पुनरावेदन सुन्ने अड्डामा निवेदन दिन सक्नेछभन्ने व्यवस्था भएको पाइन्छ । वादी हेमकुमारी श्रेष्ठ प्रतिवादी मनोहरनारायण श्रेष्ठ समेतको अंश मुद्दामा रूपन्देही जिल्ला अदालतबाट फैसला बमोजिम वादी प्रतिवादीका बीच बण्डा छुट्याउन डोरमा हाजिर हुने वादी प्रतिवादीलाई तारिख तोकी कित्तै पिच्छे बण्डा छुट्याउँदा रोहवरमा रही वादीहरूले सहिछाप नगरेको ठीक हो भनी २०३६।६।२७ मा पं.स.कुमारप्रसाद चौधरी समेतले र ०३६।६।२८ मा बाबुकाजी शाक्य समेतले बण्डा मुचुल्कामा सहिछाप गरेको देखिएको छ । बण्डा मुचुल्का उपर निवेदिकाको जिल्ला न्यायाधीश समक्ष उजूरी २०३६।७।२१ मा परेको देखिएको छ । २०३६।६।२८ को मुचुल्का उपर दण्ड सजायको म्याद १५ दिन नघाई २०३६।६।२१ मा मात्र निवेदन परेको देखिएकोले सो निवेदनबाट केही कारवाही गर्न नपर्ने भनेको रूपन्देही जिल्ला अदालतको आदेश कानून अनुरूप नै देखिएको छ । निवेदिका समेतका वादीहरू रोहवर मै भएको देखिएकोले नक्कल सारेको मितिलाई थाहा पाएको मिति कायम गरी सो मितिबाट १५ दिनभित्र निवेदन परेको भन्ने जिकिर मनासिब देखिएमा रूपन्देही जिल्ला अदालतको आदेश सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।८।१७ को आदेश मनासिब देखिन्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल बैशाख २९ गते रोज ६ शुभम् ।