March 27, 1984
Created by nepalarchives

निर्णय नं. १८४९ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १८४९     ने.का.प. २०४० अङ्क १२   डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३८ सालको रि.नं. १०३१...

निर्णय नं. १८४९     ने.का.प. २०४० अङ्क १२

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३८ सालको रि.नं. १०३१

आदेश भएको मिति : २०४०।१२।१४।३ मा

निवेदक      : जिल्ला सप्तरी कविलासा गा.पं.वडा नं.७ बस्ने कपिलेश्वर साहुतेली

विरूद्ध

विपक्षी : भू.सु.का.सप्तरीका का.मु.भू.सु.अ.भिमशंकर भण्डारीसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)                जग्गाधनीलाई रोजाउने प्रकृया पूरा गरेर मात्र मोही नामसारी गर्नुपर्नेमा सो मोही रोजाउने प्रकृया पूरा नगरी प्रत्यर्थीका नाममा नामसारी गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. १०)

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती

विपक्षीतर्फबाट       :विद्वान सरकारी अ.श्री भैरवप्रसाद लम्साल र विद्वान अ.श्री राधेश्याम अधिकारी

आदेश

न्या.धनेन्द्रबहादुर सिंह

१.     नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने निवेदकको निवेदन जिकिर एवं तथ्य संक्षेपमा यसप्रकार छ :

२.    चन्द्रनारायण सिंहको दर्ता तिरोको निजैले जोत साविक जग्गा कठ्ठा ०१५१० जग्गा राजीनामा गरी लिएको पास गरी नदिएबाट नालिस दिई ०२४।११।४ मा पास भई नापीमा कबिलास गा.पं.वडा नं.७ (क) बाट कि.नं.९० जग्गा कठ्ठा ०१२१८–½ कायम भएको जोत कोही नभएको जनाई ०२७ सालमा ज.ध.प्रमाण पूर्जा दिई जोतपोत समेत मैले अविच्छिन्न भोग गरी आएको जग्गामा यो भन्दा अगाडि बुधनीले, लोग्नेले कमाएको कि.नं.३४१ जग्गा लोग्ने मरेकोले मेरो नाउँमा मोही हक नामासारी गरी प्रमाणपत्र पाउँ भनी उजूरी गरेकी थिइन कि.नं.३४१ को जग्गा मेरो होइन भनी प्रतिवादीले इन्कार गरेकोले कारवाई गर्न नमिल्ने भनी विपक्षी कार्यालयबाट ०३८।९।१७ मा उजूरी तामेलीमा राखिएको थियो । विपक्षीले पुनः मेरो कि.नं.९० को जग्गा पक्री उक्त जग्गा कमाई बाली बुझाई रहेकोले लोग्ने मरेको हुँदा मोही नामसारी गरी प्रमाणपूर्जा पाउँ भन्ने उजूरी गरेकी रहिछीन, विपक्षीको लोग्ने मोही भएको बाली बुझाएको समेत छैन भन्ने प्रतिवाद गरेको थियो । २ नं.अनुसूचीमा चित्त बुझाई बसेको भन्दै विपक्षीले कहाँबाट उतार गरी ल्याएकी थिइन । २ नं.अनुसूचीकै भरमा सो २ नं.भनेको कागज उक्त कि.नं.९० कै हो भन्ने ठहर गरियो । सो लिखत के कस्तो हो भनी मलाई देखाउने आफ्नो कार्यालयमा रहेको श्रेस्ता भिडाउने काम पनि गरिएको छैन विपक्षीको दुई छोरा जीवित छन् यस्तोमा त्रुटिपूर्ण निर्णय गरेको छ । उक्त निर्णयबाट म निवेदकलाई संविधानको धारा ११(ङ) तथा धारा १५ समेतद्वारा प्राप्त सम्पत्ति सम्बन्धी हकमा आघात पर्नगएकोले संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी अधिकारीले गरेको ०३९।५।१७ को निर्णय बदर गरिपाउँ भन्ने निवेदन ।

३.    विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने यस अदालत सिंगलबेञ्चको ०३९।७।२१ को आदेश ।

४.    भू.सं.ऐन, २०२१ को दफा २५ दफाको उपदफा (१) अनुसारको मोहीले लगत भनी पेश गरेको आधारमा नियम ६ अनुसार लगत प्रकाशित गरी सो लगत उपर कसैको उजूर नपरी २ नं.अनुसूची मोही लगत कायम रहेको देखिन्छ । ऐनको दफा २६(१) अनुसार मोहियानी हकको हकदार पति पछि निजको पत्नीलाई प्राथमिकता दिएको पाइन्छ । भू.सं.ऐन, २०२१ को दफा २५(१) अनुसार कायम भएको मोही लगतको आधारमा ऐनको दफा २६(१) अनुसार मोही नामसारी दर्ता गर्ने गरी यस कार्यालयबाट भएको निर्णय कानुन सङत हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.सप्तरीको लिखितजवाफ ।

५.    म निवेदिकाको पति महतो साहुले कमाई आएको पतिको परलोक पछि मोही हक नामसारी गरिपाउँ भन्ने निवेदनमा भूमिसम्बन्धी नियमावली, २०२१ को परिच्छेद २ अन्तर्गतको कार्यविधि पूरा भई प्रकाशित र अन्तिम रहेको २ नं.अनुसूचीको बारेमा रिट निवेदनमा आई अन्यथा भन्न पाउने अवस्था छैन । नियमको अनुकूल प्रकाशित २ नं.अनुसूचीमा विपक्षले भनेको कुनै त्रुटि रहेको छैन । सबूत प्रमाणको रोहमा अधिकार प्राप्त अधिकारीबाट भएको निर्णयमा कुनै त्रुटि नरहेकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने खुधनी देवीको लिखितजवाफ ।

६.    निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले प्रत्यर्थी बुधनीदेवीको लोग्ने मोही होइन २ नं.अनुसूची मलाई नदेखाई कार्यालयको श्रेस्तामा नभिडाई मोही नामसारी गरी दिने गरेको निर्णय त्रुटियुक्त छ बदर हुनुपर्ने भन्ने समेत र प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले २ नं.अनुसूची समेतको आधारमा मोही नामसारी गरेकोमा कुनै त्रुटि छैन भन्ने समेत र प्रत्यर्थी बुधनीदेवीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले २ नं.अनुसूची प्रकाशित हुँदा उजूर नपरी ४ नं.जो.अ.नि.प्राप्त गरिसकेको हुँदा मोही नामसारी गरेको निर्णयमा त्रुटि छैन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

७.    प्रस्तुत विषयमा निवेदकका माग अनुसार आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।

८.    यसमा निर्णयतर्फ हेर्दा प्रत्यर्थी बुधनीदेवीको लोग्ने महतो साहुले भरेको १ नं.लगत भरी २ नं.अनुसूची प्रकाशित भएको र ४ नं.जो.अ.नि.पाएको सो २ नं.अनुसूचीमा उजूर नपरेको समेत आधारमा प्रत्यर्थी भू.सु.का.सप्तरीले मोही कायम गरी प्रत्यर्थी बुधनीदेवीको नाममा मोही नामसारी गरी दिने भनी निर्णय गरेको देखिन्छ ।

९.    जग्गाको मोहीमा विपक्षको पति भएको भन्ने हो भने पनि विपक्षीका एका सगोलका छोरा २ मध्ये मनकु साहु तेली र सिताराम साहुतेली जीवित छन् भनी रिट निवेदनमा उल्लेख भएको पाइन्छ ।

१०.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले मोही सम्बन्धी हक पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्था गरेको छ । मोही महतोको स्वास्नी र २ छोरा भएकोमा उक्त भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ (१) बमोजिम हुनुपर्ने भन्ने छ । लिखितजवाफबाट छोरा छैन भन्नसकेको छैन । प्रत्यर्थी भूमिसुधार कार्यालय सप्तरीको लिखितजवाफमा पति पछि पत्नीको हक हुन्छ भन्ने लेखेको देखिन्छ । तर उक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार जग्गाधनीलाई रोजाउने प्रकृया पूरा गरेर मात्र मोही नामसारी गर्नुपर्नेमा सो मोही रोजाउने प्रकृया पूरा नगरी प्रत्यर्थी बुधनीदेवीका नाममा नामसारी गर्ने गरेको सम्म प्रत्यर्थी भूमिसुधार कार्यालय सप्तरीको निर्णय त्रुटिपूर्ण देखिन आयो ।

११.    अतः उपर्युक्त उल्लेख भएअनुसार प्रत्यर्थी भूमिसुधार कार्यालय सप्तरीको मिति ०३९।५।१७ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४० साल चैत्र १४ गते रोज ३ शुभम् ।

 

