निर्णय नं. १८१ – अंश
निर्णय नं. १८१ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. २१३ निवेदक, प्रतिवादी...
निर्णय नं. १८१ ने.का.प. २०१९
फुल बेञ्च
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
दे.फु.नं. २१३
निवेदक, प्रतिवादी : लक्ष्मीदेवी तुलाधर्नी समेत
विरुद्ध
विपक्षी, वादी : सन्तमाया ज्यापुनी
मुद्दा : अंश
१. मुद्दा चल्दा चल्दैको अवस्थामा – अ.बं. ३४ को रीतपूर्वक भएको छोडपत्रलाई कानूनले सदर मान्नुपर्ने ।
मुद्दा चल्दाचल्दैको अवस्था उक्त छोडपत्र भएको देखिएतापनि फैसला नहुँदै मुद्दा परिरहेको अवस्था यस्तो लिखत गर्नु हुँदैन भन्ने कानूनी व्यवस्था नभएको । हामीलाई करकापसँग कागज गरायो भन्ने वादी सन्तमायाको उजुरी नभई त्यसमा चित्त नबुझेको भन्ने बिन्तिपत्रसम्म दिएको । यस्तो बिन्तिपत्र दिंदैमा त्यसलाई अंशबण्डाको ५१ नं. बमोजिम उजुरी पनि भन्न मिल्न नआएको र अ.बं. ३४ नं. रीतपुर्याई लिखत भएकै देखिएकोले समेत उक्त छोडपत्र लिखत कानूनले सदर मान्न पर्ने नै देखिन्छ ।
(प्रकरण नं. १९)
२. नावालकको हकमा – छोडपत्र गरि दिएको भए अ.बं. ३४ नं. बमोजिम चित्त नबुझ्ने नाबालकले उजुर गर्न पाउने ।
……. नाबालक छोराहरूको हक मेटिन गयो कि भन्नलाई आमाले छोडपत्र गरिदिएकोमा चित्त नबुझ्ने नावालकहरूले उमेर पुगेपछि उजुर गर्न पाउने अ.बं. ६४ नं. ले दिएकै
(प्रकरण नं. २०)
निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे, एडभोकेट मधुप्रसाद
विपक्षी तर्फबाट : प्लिडर मुक्तिलाल झा
फैसला
१. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्याइपाउँ भनी सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्याउने निस्सा भई दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा,
२. मलाई हिराकाजीले स्वास्नी तुल्याई निजका वीर्यबाट छोरा घनश्याम जन्मेको दोश्रो गर्भ रेहपछि निजका घर मखन बाहालमा लगी राखेकोमा लोग्ने घरमा नभएको मौकामा प्रतिवादीहरूले कुटपीट गरी घरबाट निकाला गरेकाले माइत घरमा आई बसी लोग्नेसँग अंश माग्दा बाबुसँग अंश लिन बाँकी भएकाले अंश दिन मिलेन अहिले महिनाको रु. २०। का दरले माना चामल दिन्छु भनी ०६।६।६ मा कागज लेखी घ्याचलखु टोलमा राखी महिनाको रु. २० का दरले दिएको लोग्ने बिरामी भएका बखत भेट्न जाँदासमेत भेट्न नदिएको र ०७।११।११ गते लोग्ने परलोक भएकाले ऐजन १२ गते घरमा जाँदा प्रतिवादीहरूले मलाई कुटपीट गरी निकालेकाले मेरो छोरा २ को अंश विवाह खर्च र मेरो अंशसमेत प्रतिवादीबाट तायदाती लिई दिलाईभराई पाउँ भन्नेसमेत वादी सन्तमाया ज्यापुनीको बिन्तिपत्र बयान ।
३. वादी मेरो चिनापर्चीको मानिस नहुनाले नाता पर्ने नपर्ने मलाई थाहा छैन । वादीलाई बाबुले घरमा ल्याइ राखेको छैन । वादीलाई बाबुले स्वास्नी तुल्याएको मलाई थाहा नहुनाले निजलाई अंश दिनुपर्ने होइन । निकाला गरे भन्ने वादी दावा फजुल हो । कुटपीट गरी निकालेको भए घा जाँच गराई उजुर गर्न सक्नुपर्ने । ०५ साल बैशाखदेखि बाबु दुवै आँखा नदेख्ने र विक्षिप्त भएको मानिसले ०६।६।६ गते बादीलाई कागज गरिदिएको होइन । बाबु छँदासम्म वादी घरमा आएकै छैन । बाबु मरेपछि अहिले नक्कली स्वास्नी बनी अंश खान खोजेको देखिएको र बाबु परलोक भएपछि वादी हाम्रो घरमा आएकी र हामीले कुटपीट गरी निकालेको समेत होइन र वादीलाई हामीले अंश दिनुपर्नेसमेत होइन भन्नेसमेत प्र. लक्ष्मीदेवीको वा समेतको ज्योतिरत्नको बयान ।
४. वादी सन्तमाया मेरा छोरा हिराकाजीको स्वास्नी होइन । म घरको मुख्य छँदै मेरा नाउँमा उजुर हुनुपर्ने नभएकोले समेत अंश दिनुपर्ने होइन । मसमेतले जो भएको ०५ सालमा ज्योतिरत्नलाई शेषपछिको बकसपत्र गरिदिएको छ भन्नेसमेत हिराकाजीको बाबु आशाकाजीको बयान ।
५. कुटपीट गरी निकालेको भनी वादीले ०७।१२।२३ गतेमा मानु छुट्टिएको मिति कायम गरी आफ्नो आफ्नो जिम्माको फाँटवारी ७ दिनभित्र लिई आउनु भनी दुवै थरलाई तारिख तोकिदिने भन्नेसमेत देवानी पहिलाको पर्चा ।
६. अंश गर्नुपर्ने मसँग अरु केही छैन । अंश छोडपत्र विषयमा मलाई दिएको रु. २५००।– मध्ये खर्च भई रु. १७१५ बाँकी छ । बण्डा पाउने ससुरा आशाकाजी १ सौता लक्ष्मीदेवी १ ऐजनको छोरा भाइकाजी १ र विवाह खर्च परसार्ने ऐजनको छोरी चिनियादेवी १ र मपट्टि राधेश्याम १, घनश्याम १ समेत २ छोरा र मसमेत छौं भन्नेसमेत वादी सन्तमायाको ०१०।१।४ को तायदाती र निज सन्तमायालाई अंशबापत रु. २५००। दिइसकेकोले अरु दिनुपर्ने हाम्रो जिम्मा केही छैन भन्नेसमेत वा समेतको ज्योतिरत्नको कागज रहेछ ।
७. छोडपत्रमा नाबालक आगे गरेको नाबालकको हक छाडेको सदर नहुने प्रतिवादीले हाम्रो जिम्मा बण्डा गर्नुपर्ने बाँकी छैन भन्ने कागज गरेकाले दवाए तर्फ दपोटमा नालिस लाग्ने नै हुँदा वादीले बाँकी छ भनी देखाएको रु. १७१५ अंशवण्डा लगाईदिने र नाबालकहरूको धन उमेर नपुगेसम्म हकदार वा माथवर जिम्मा लगाउन सरकार तजविज भन्नेसमेत ०११।४।१४ को रा.का.दे.पै. को फैसला ।
८. सो इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी ज्योतिरत्नसमेतको अपिल ।
९. नाबालकको हकमा समेत आमा वारिस भई रीतपूर्वक लेखा पास गरेको देखिएको र नाबालक समेतको छोडपत्रबमोजिमको रुपैयाँ नाबालकको आमा वादीले बुझी लिई निज जिम्मा रहेको देखिएकोले नाबालकको चित्त नबुझे अ.बं. ६४ र अंश बण्डाको ५१ नं. का म्यादभित्र नाबालकले वादीउपर उजुर गर्न पाउने हुँदा वादीले छोडपत्र गरी बुझिएिको रु. २५०० आशाकाजीसमेतलाई बण्डा लगाउनुपर्दैन । बण्डै गर्न नपर्नेमा बण्डा लगाउने गरी गरेको शुरुको इन्साफ गल्ती ठहर्छ भन्नेसमेत ०१२।२।२४ को अपिल तेस्राको फैसला ।
१०. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी सन्तमायाको अपिल ।
११. वादीहरू अंशियारै होइन भनी प्र. हरूले भन्छन् तापनि वादीलाई प्रतिवादीहरूले अंशवापत दिई रु. २५०० दिई ०९।९।२८ मा छोडपत्र गराएको देखिएकोले अंशियार होइन भन्न नहुने । छोडपत्र भएकोले अब वादीलाई अंश दिलाउनुपर्ने नपर्ने के रहेछ भन्नेतर्फ मुद्दा पर्दापर्दै अर्को रजिष्ट्रेशन पास अड्डामा छोडपत्र गराई रजिष्ट्रेशन पास गराएको सदर मान्न नहुनेमा पनि उमेर नपुगेकी आमाले छोडपत्र गर्दैमा नाबालक छोराहरूको हकमेटिन्छ भन्न नहुने । उमेर पुगेपछि नाबालकहरूले आफ्नो अंश खोजी लिन पाउने हुनालेसमेत त्यस्तो नावालकहरूको हक छुटाई गरेको वेरितको छोडपत्र सदर मान्न नहुने भएकोले बादीहरूलाई प्रतिवादीहरूले अंश दिनुपर्ने ठहराएको शुरुको इन्साफ मुनासिव, ऐनको रीत पुर्याई बण्डा गराई छोरा राधेश्याम, घनश्यामको अंशसमेत आमा सन्तमायाको जिम्मा लगाइदिनु भनी मिसिल शुरुमा पठाइदिनु भन्नेसमेत सर्वोच्च अदालत सिंगल बेञ्चबाट भएको ०३३।४।२५ को फैसला ।
१२. सिंगल बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्याइपाउँ भन्नेसमेत प्र. ज्योतिरत्न, लक्ष्मीदेवीको निवेदनको व्यहोरा जाहेर हुँदा दोहर्याई ऐनसबाल बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने मौसुफको निजी सचिवालयको ०१६।४।११ को पत्र ।
१३. वादीका आमा छोरालाई अंशवापत रु. २५००। दिई ०९।९।२८ मा अंशको छोडपत्र गराएकोबाट अंश पाउनेको अवस्थाको अंशियारै होइनन् भन्न नभएको र त्यस्तो अंश पाउने अंशियारलाई पाउने अंश पूरै दिई रीतपूर्वकको बण्डापत्र गराउनुपर्ने सो नगराई अंश मुद्दा चलिरहेको बखत वेरीतको छोडपत्र गराएको त्यसउपर पनि चित्त बुझेन भनी ३ महिनाभित्रै वादीले बिन्तिपत्र दिई यसै मिसिलमा समावेश गरिएकोसमेत देखिएकोले इन्साफ ०१३।४।२५ को सर्वोच्च अदालत सिंगलबेञ्चको मुनासिव छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको ०१९।४।१५ को फैसला ।
१४. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन, मुद्दा दोहर्याइपाउँ भन्नेसमेत लक्ष्मीदेवी, ज्योतिरत्नसमेतको निवेदनपत्र ।
१५. अंश मुद्दा चलिरहेको अवस्था विपक्षीले मोहरू २५००। लिई अंशको दावी छोडी छोडपत्र गरी रजिष्ट्रेशन पास भइसकेपछि मुद्दा पेश भएकोमा मुद्दा चल्दाचल्दै छोडपत्र गरेको ऐनले सदर हुँदैन भनी डिभिजन बेञ्चबाट फैसला हुँदा चित्त बुझेन एकपटक फुल बेञ्चबाट हेरिपाउँ भनी निवेदकले रोहवरमा जिकिरसमेत गरेकोले व्यहोरा साँचो भए मुद्दा परी चलिरहेकै अवस्था अंशको दावी छाडी छोडपत्र गरी रजिष्ट्रेशन पास भएकोमा सदर हुन्छ, हुँदैन भन्ने कानूनी प्रश्न देखिनाले दोहर्याई हेर्ने निस्सा दिएको छ । दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत श्री माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०१९।७।१५।४ को आदेश ।
१६. निवेदक प्रतिवादीतर्फबाट रहनुभएको विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरे एडभोकेट मधुप्रसादले अंश छोडपत्रको काजग रजिष्ट्रेशनको ३ नं. ले सदर हुने र सो छोडपत्रमा वादीको चित्त नबुझेको भए रजिष्ट्रेशनको ऐनअन्तर्गत नालिस गर्नुपर्ने अ.बं. ३४ नं. र साहु असामीको १५ नं. ले नाबालकले गरेका व्यवहार सदर हुने भनी र वादीतर्फबाट रहनुभएको विद्वान वकील प्लिडर र मुक्तिलाल झाले अंश पाइसकेकोमा पनि चित्त नबुझे अंशवण्डाका ५१ नं. बमोजिम उजुर गर्न पाउने यसमा मेरो पक्षले अंश नपाएका छोडपत्र गराएको भन्ने हकमा छोडपत्रमा मुद्दा परेको कुरा नजनाएको र मुद्दा गर्दिन भन्ने पनि नभएको दण्ड सजायका ४८ नं. ले मुद्दा पर्दापर्दैको अवस्थाको छोडपत्र सदर नहुने हुँदा मेरो पक्षले अंश पाउने ठहराएको डिभिजन बेञ्चको फैसला कायम रहनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
१७. दुवै पक्षका विद्वान वकीलहरूको बहस र उपरोक्त विवरणहरूबाट अंशमुद्दा चलिरहेको अवस्था वादी पक्षले गरिदिएको छोडपत्र लिखत सदर हुन्छ हुँदैन भन्नेसमेत कुराको प्रस्तुत मुद्दामा निर्णय गर्नुपर्ने देखिन्छ ।
१८. वादी सन्तमायाले ०७ सालमा अंश पाउँ भनी फिराद दिई मुद्दा चल्दैको अवस्था ०९ साल पौषमा आफ्नो र नाबालक २ छोराहरूको हकमा आफू र छोराहरू आगे भई अंशवापत रु. २५००। बुझी लिई छोडपत्र गरेको र उक्त अंशमा हक दावी छाडेको छोडपत्र रजिष्ट्रेशनको ३ नं. बमोजिम पाससमेत भएको देखियो । वादी प्रतिवादीहरूको अंशियार नभए वादी सन्तमाया र प्रतिवादी लक्ष्मीदेवीको ससुरा आशाकाजीले अंशवापत रु. २५००। दिई छोडपत्र गराउने नपर्ने यसरी छोडपत्र गराएको कारणबाटसमेत वादी प्रतिवादी अंशियार हुन् भन्ने डिभिजन बेञ्चले ठहराएको मुनासिव ।
१९. अंशियार वादीसमेतले प्रतिवादीलाई गरिदिएको छोडपत्र सदर हुन्छ हुँदैन भन्नेतर्फ मुद्दा चल्दाचल्दैको अवस्था उक्त छोडपत्र भएको देखिए तपानि फैसला नहुँदै मुद्दा परिरहेको अवस्था यस्तो लिखत गर्नुहुँदैन भन्ने कानूनी व्यवस्था नभएको । हामीलाई करकापसँग कागज गराएको भन्ने वादी सन्तमायाको उजुरी नभई त्यसमा चित्त नबुझेकोले बिन्तिपत्रसम्म दिएकी । यस्तो बिन्तिपत्र दिँदैमा त्यसलाई अंशबण्डाको ५१ नं. बमोजिमको उजुरी पनि भन्न मिल्न नआएको र अ.बं. ३४ नं. को रीतपुर्याई लिखत भएकै देखिएकाले समेत उक्त छोडपत्र लिखित कानूनले सदर मान्न पर्ने नै देखिन्छ ।
२०. अब कानूनबमोजिम भएको लिखतबाट नाबालक छोराहरूको हक मेटिई गायो कि भन्नालाई आमाल छोडपत्र गरिदिएकोमा चित्त नबुझे नाबालकहरूले उमेर पुगेपछि उजुर गर्न पाउने हक अ.बं. ६४ नं. ले दिएको हुँदा अंश बापत छोडपत्र गरी दिईसकेकोले वादी अंशलाई बण्डा गरी दिनुपर्ने ठहर्दैन । छोडपत्र बेरित ठहराई बण्डा गरिदिने गरेको शुरुको सदर गरेको सर्वोच्च अदालत सिंगलबेञ्च र स.अ. डिभिजन बेञ्चको मुनासिव देखिन नआएकोले तपसीलका कुरामा तपसीलबमोजिम गर्नु ।
तपसील
प्रतिवादी आशाकाजीके निजका शुरु रा.का.दे.पै. का ०११।४।१४।५ का फैसलाले दण्ड ने.रु. ५। र कोर्टफी ने.रु. २६।८० समेतजम्मा ने.रु. ३१।८० लिने गरेकोमा अपील तेश्राका ०१२।२।२४।३ का फैसलाले ने.रु. ५। मात्र लाग्ने ने.रु. २६।८० नलाग्ने भनी वादीबाट दाखिल हुनुपर्ने कोर्टफी ने.रु. १०। मध्ये ने.रु. ९।७५ कट्टा गरी बाँक ने.रु. १७।५ फिर्ता दिनु भनेकोमा सर्वोच्च अदालत सिंगलबेञ्चका ०१३।४।२५ का फैसलाले अपीलको लगत काटी दिने गरेकोमा हाल माथिलेखिएबमोजिम ठहरेकोले सिंगलबेञ्चका फैसलाबमोजिम गर्नुपर्दैन अपीलका फैसलाबमोजिम लगत कायम गर्नु भनी तहसीलमा लगत दिनु ………………….१
वादी सन्तमाया के निजले फिरादसाथ कोर्टफी ने.रु. १०। राख्नु पर्नेमा हाल कोर्टफी नलिई ठाडै बुझी दिनु भन्ने आदेशानुसार रु. ।२५ को लिफामा बयान गरेकीले रा.का.दे.पै. का ऐजन मितिका फैसलाले सो.ने.रु. ।२५ प्र. आशाकाजीबाट निजलाई भराई दिने गरेकोमा अपील तेश्राका ऐजन मितिका फैसलाले त्यसको लगत कट्टा गरी कोर्टफी ने.रु. १०। मध्ये रु. ।२५ कटाई बाँकी कोर्टफी ने.रु. ९।७५ वादीबाट प्रतिवादी आशाकाजीलाई भराई दिने गरेकोमा सर्वोच्च अदालत सिंगलबेञ्चका ऐजन मितिका फैसलाले अपीलको लगत कट्टा गरी शुरुको लगत कायम गर्ने गरेको हाल लेखिएबमोजिम ठहर्न आएकोले सिंगलबेञ्चका फैसलाबमोजिम गर्नु पर्दैन अपीलका फैसलाबमोजिम लगत कायम गर्नु भनी ऐजन ऐजन ………………..२
वादी सन्तमायाके निजलाई वेरीतसँग छोडपत्र गरेमा भनी रा.का.दे.पै. का ऐजन मितिका फैसला ले.ने.रु. २।५० दण्ड गर्ने गरेको सर्वोच्च अदालत सिंगलबेञ्चका फैसलालेसमेत लिई दण्ड कायम गरेकोमा हाल माथि लेखिएबमोजिम ठहरी नलाग्ने हुँदा असुल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी ऐजन ऐजन ……………३
रा.क.दे.पै. का फैसलाले बण्डा छुट्टयाउन बिगो फाँटमा लगत दिने गरेको अपील तेश्राका ऐजन मितिका फैसलाले शुरुको लगत कट्टा गर्ने गरेकोमा सर्वोच्च अदालत सिंगलबेञ्चका ऐजन मितिका फैसलाले शुरुको इन्साफ सदर भई रा.का.द.पै. का ०१३।१२।१४।४ का पर्चाले बण्डा छुट्टयाई दिनु भनी बिगो फाँटमा ०१४।६।२५ मा लगत दिएकोमा हाल लेखिएबमोजिम ठहर्न अएकाले सोबमोजिम गर्नु पर्दैन भनी ऐजन ऐनज ……………४
केही गल्ती इन्साफ गर्ने रा.का.दे.पै. का कर्मचारीमध्ये ना.सु. रुद्र पाणीको बाहान टुटी सकेकोले केही गर्न नपर्ने हुँदा देहायकका मानिसको रिकर्ड राख्नु भनी सर्वोच्च अदालत रजिष्ट्रार अफिसमा सूचना दिनु ………..५
डा. पोषन बहादुर, १ गोविन्द दास १
नियमबमोजिम मिसल बुझाई दिनु ……………… ६
इति सम्बत् २०१९ साल चैत्र ९ गते रोज ६ शुभम् ।