January 19, 1984
Created by nepalarchives

निर्णय नं. १८०३ – लिखत नामसारी दर्ता बदर

निर्णय नं. १८०३     ने.का.प. २०४० अङ्क १०   डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३८ सालको दे.पु.नं. ३९७...

निर्णय नं. १८०३     ने.का.प. २०४० अङ्क १०

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०३८ सालको दे.पु.नं. ३९७

फैसला भएको मिति : २०४०।१०।५।५ मा

पुनरावेदक/प्रतिवादी : नुवाकोट जिल्ला कुमारी गा.पं.वडा नं.९ ढुंगाना गाउँ बस्ने युवकुमारी     न्यौपाने

विरूद्ध

विपक्षी/वादी : का.जि.जितपुर गा.पं.वार्ड नं.२ जितपुर गैरी गाउँ बस्ने टिका देवी ढकाल्नी

मुद्दा : लिखत नामसारी दर्ता बदर

(१)                नक्साबाट समेत विवादित झगडा परेको खेत वादीको राजीनामाको कित्ता भित्र मिल्न भिडन आएको समेत देखिँदा त्यस्तो जग्गा प्रतिवादीले नामसारी दर्ता गरी बिक्री गरेको कायम रहन्छ भन्न न्यायोचित नहुने ।

(प्रकरण नं. १२)

पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती

विपक्षीतर्फबाट       : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

फैसला

न्या.हरिहरलाल राजभण्डारी

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवदेनमा पुनरावेदको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।९।२४ को आदेशानुसार पुनरावेदनको लगत दर्ता भई पेश हुनआएको मुद्दाको तथ्य निम्न अनुसार छ :

२.    पूर्व खोल्सो र पाखो पश्चिम खोल्सो उत्तर बाटो दक्षिण पाखो यति ४ किल्ला भित्रको मु.सेते तामाङ जिम्माको काफल स्वारा भन्ने जग्गा र सो जग्गामा बनेको ९।१३ को १ तले कच्ची घर हर्कमान तामाङबाट सुकुमानले रु. ४,०००। मा ०२०।९।१४ मा राजीनामा पारित गरी लिई सो राजीनामाको जग्गा निजले मलाई राजीनामा पास गरी दिनुभएको २२ सलको बाली राजीनामाबाट मेरो हक भएको नु.मालमा दर्ता भएको घरबारी पाखा जग्गा सिमसार खेत बनाई भोगी आएको सो जग्गाको ४ किल्ला समेत परिवर्तन नगरी सोही जग्गा मध्ये ०३०।१२।१६ मा रु.२,०००। मा युवकुमारीलाई राजीनामा गरी दिई लिई दुषित दर्ता गराएको हुँदा दर्ता राजीनामा नामसारी लिखत समेत बदर गरिपाउँ भन्ने समेत फिराद ।

३.    पूर्व चिलाउनेको बोट पश्चिम खोल्सो उत्तर दक्षिण तेर्सो बाटो यति ४ किल्ला भित्रको काफले खेत मेरो खसम सुकुमानका नाममा ०२४ सालमा दर्ता भएको १५ मध्ये ७१० मेरा नाउँमा नामसारी गरी रु.२,००० मा ०३०।१२।१६ मा युवकुमारीलाई राजीनामा गरी दिएको हुँ निजले हालसम्म सो घर जग्गामा बसोबास गरी रहेको छ भन्ने माहिली तामाङनी र सुकुमानको श्रीमतीबाट ०२४ सालको दर्ता १५ मध्ये खेत ७१० मैले राजीनामा गरी लिई बसी आएको छु भन्ने समेत युवकुमारीको प्रतिउत्तर ।

४.    भोग तिरोको सबूतको अभावमा दर्ताको आधारले मात्र सुकुमान समेतको हक कायम नहुने अवस्था भई राजीनामाबाट वादीको हक पुग्ने त्यस्तो वादीको हकको जग्गाको नामसारी गर्ने हक वादीलाई मात्र भएकोमा हक नपुग्ने माहिलीले गराएको नामसारी दर्ता बदर हुने ठहर्छ भन्ने समेत रसुवा तथा नुवाकोट जिल्ला अदालतको ०३२।३।२० को फैसला ।

५.    सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी युवकुमारीको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।

६.    युवकुमारीले माहिलीबाट ०३०।१२।१६ को राजीनामाले समेत युवकुमारीको दर्ता कायम हुने ठहर्छ । शुरूको इन्साफ मिलेको देखिएन भन्ने समेत बागमती अञ्चल अदालतको ०३४।३।८ को फैसला ।

७.    पुनरावेदको अनुमति पाउँ भन्ने वादीको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३६।२।२४ को आदेश ।

८.    बागमती अञ्चल अदालतले प्रमाण छाडी गरेको त्रुटिपूर्ण फैसला बदर गरी दिएको छ । शुरूले वादी दावी बमोजिम बदर हुने ठहराएको इन्साफ मनासिव ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।३।२४ को फैसला ।

९.    सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा जग्गा मिच्नेको १८ नं.को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।९।२४ को आदेश ।

१०.    पुनरावेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले वादीलाई खेत बिक्री गरेकै छैन । सुकुमानको नम्बरी दर्ता बदर गरी पाउँ भन्ने दावी छैन । त्यस्तो खेत दावीकै जग्गा हो भन्न नहुनेमा वादी दावी बमोजिम बदर गर्ने गरेको निर्णय मिलेको छैन बदर हुनुपर्छ भन्ने समेत र विपक्षीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले वादीलाई बिक्री गरेको जग्गाको किल्ला भित्रको खेत हुँदा शुरूले वादी दावी बमोजिम बदर गर्ने गरेको निर्णय मिलेको हुनाले क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

११.    प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।

१२.   यसमा निर्णयतर्फ हेर्दा जग्गा मिच्नेको १८ नं.को त्रुटि भनी पुनरावेदनको अनुमति प्राप्त भएको देखिन्छ । विवादित जग्गा प्रतिवादी माहिली तामाङनीले नामसारी गरी बिक्री गरेको मितिले प्रस्तुत फिराद २ वर्ष भित्रै परेको देखिँदा त्यसलाई हदम्याद नाघेको भन्न मिल्ने देखिन्न । तथ्य भित्र हेर्दा सुकमान तामाङबाट घर बारी र काफले भन्ने पाखो जग्गा समेत ०२२।१।२२ मा वादीले राजीनामा गरी लिएको देखिन्छ । दर्ता उतारबाट २०२१।९।२१ को दरखास्त बमोजिम काफल बारी भन्ने घरबारीमा खेत आवाद गर्ने मोही हर्कजीत तामाङ र सुकुमान तामाङ भन्ने लेखिएको पाइन्छ । यसबाट सो घर जग्गा बिक्री नहुँदै सोही बिक्री गरेको जग्गामा वादीको दाता सुकुमानले खेत आवाद गर्न दरखास्त दिई खेत दर्ता नहुँदैका अवस्था पाखोको दर्ताबाट वादीलाई ०२२।१।२२ मा घरबारी पाखा जग्गा बिक्री गरेको भन्ने देखिन्छ । त्यसरी वादीलाई बिक्री गरी सकेपछि सोही पाखो जग्गामा २०२४ सालमा दरखास्तवालाका नाउँमा खेत लम्बरी भएको पाइन्छ। काफल बारी भन्ने घरबारी वादीलाई बिक्री गरी हक छुट्टी सकेपछि त्यसमा अरूले खेत आवाद गर्न सकिने स्थिति रहँदैन । सो खेत आवाद गरेको काफलबारी भन्ने घरबारी वादीलाई प्रतिवादी माहिली तामाङनीको लोग्ने सुकुमानले बिक्री गरेको घर बारी पाखो बाहेकको अर्कै तिरो दर्ताको हो भनी प्रतिवादीले भन्न र प्रमाण दिनसकेको छैन । प्रतिवादी माहिलीको लोग्ने सुकुमानले खेत आवाद गर्न दिएको दरखास्त बमोजिमको पाखो जग्गा बाँकी राखी वादीलाई घरबारी पाखो जग्गा बिक्री गरेको भन्नसकेको पनि छैन । मिति ०३९।११।६ मा भई आएको नक्साबाट समेत विवादित न.नं.१ को झगडा परेको खेत वादीको राजीनामाको कित्ता भित्र मिल्न भिड्न आएको समेत देखिँदा त्यस्तो जग्गा प्रतिवादी माहिली तामाङनीले नामसारी दर्ता गरी बिक्री गरेको कायम रहन्छ भन्न न्यायोचित नहुने हुँदा शुरूले वादी दावी बमोजिम बदर हुने ठहराएको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको इन्साफ मनासिव ठहर्छ । अरू तपसीलबमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी युवकुमारीबाट वादी टिकादेवीलाई मध्यमाञ्चल क्षेत्रीय अदालतका ०३८।३।२४ का फैसलाले भराउने गरेको कोर्टफी रु.३। तीन, प्रतिवादीले पुनरावेदन गर्दा ०३८।१०।१९ मा काठमाडौं जिल्ला अदालतमा धरौट राखेको देखिँदा सो धरौट रहेकोबाट भराई पाउँ भनी वादीको दरखास्त ऐनको म्यादभित्र परे दस्तूर केही नलिई वादीलाई धरौट रहेकोबाट भराई दिनु र मध्यमाञ्चल क्षेत्रीय अदालतले भराउने गरेको लगत काटी दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु………………………………………………………………………………………………..१

मिसिल नियमबमोजिम गरी बुझाई दिनु…………………………………………………………………………………………………………..२

 

उक्त रायमा म सहमत छु ।

न्या.धनेन्द्रबहादुर सिंह

 

इतिसम्वत् २०४० साल माघ ५ गते रोज ५ शुभम् । 