March 11, 1963
Created by nepalarchives

निर्णय नं. १७९ – लेनदेन

निर्णय नं. १७९                              ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री क्षत्री न्यायाधीश श्री.स. ईश्वरीराज मिश्र दे.फु.नं. २१ निवेदक,...

निर्णय नं. १७९                              ने.का.प. २०१९

फुल बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री नयनबहादुर खत्री क्षत्री

न्यायाधीश श्री.स. ईश्वरीराज मिश्र

दे.फु.नं. २१

निवेदक, वादी : चूडामणि शर्मा

विरुद्ध

विपक्षी, प्रतिवादी : मुक्तिप्रसाद गौचन थकाली

मुद्दा : लेनदेन

(१)   दाम बुझाएमा भरपाई लिनु पर्ने वा तमसुकको पिठमा दरपिठ गर्नुपर्ने ।

            ……दाम बुझाएको भरापाई दिनु पर्ने वा रीतपूर्वक व्यहोरासमेत पारी तमसुकको पिठमा दरपिठ गर्नु पर्नेमा त्यस्तो ०४।७।२२ को तमसुकमा लेखत साक्षी हुने जानिफकार तिलकबहादुरले शिर पट्टिको खाली भागमा दरपिठ गराई रुपैंयाँ बुझाएको होला भन्ने कुरा अनप्रतित देखिने हुनाले सो तमसुकको रुपबाट र प्रतिवादीको उक्त भनाईका भरले दरपिठ भएको भनी भनन मिलेन ।

(प्रकरण नं. १८)

निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे

फैसला

            १.     सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्‍याई पाउँ भनी सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्‍याउने निस्सा भई दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा,

            २.    प्रतिवादीले मबाट रु. २०००। कर्जा लिई २००४ साल कार्तिक २२ गते कपाली तमसुक गरी दिएको सो रुपैयाँ सावाँ व्याज माग्दा नदिएकोले अहिलेसम्मको व्याज रु. १८००। र सावाँ रु. २०००। समेत जम्मा रु. ३८००। र मुद्दा किनारा हुँदा तकको व्याज समेत दिलाई भराई पाउँ भन्ने ०१४।२।४ को वादी चूडामणिको फिरादपत्र ।

            ३.    वादीबाट मैले रु. २०००। लिएको हो, तापनि वादीलाई रुपैयाँले हर्जा भई मागेकाले मसँग जम्मा भएको २ वर्ष ३ महिनाको व्याज र सावाँ मध्ये रु. १८०१। रुपैयाँ ज्वाई नाताका तिलकबहादुर हस्ते ०६।१०।८ गते वादीलाई बुझाई यिनै वादीले नै तमसुकको शिर पट्टि दरपिठ जनाई दिएछन् । तापनि उसैमा मैले विश्वास मानी बसेको त्यस्तैमा संकटकालीन अवस्थामा यो वादीलाई रु. २०००। चन्दा दिउँदा भन्ने व्यहोराको कांग्रेसले भाकापत्र गराई रुपैयाँमा पक्रँदा सो बेला यो वादीसँग रुपैयाँ मौज्दात नहुँदा मसँग मागी मैले रु. २०००। दिई कांग्रेसलाई बुझाई कांग्रेसले गराएको भाकापत्र र लखबन्धकमा खाएको रु. ३८५। र अघिका रु. २०००। मध्येका रु. १८०१। को सावाँ व्याज तिरी सकिएको बाँकी रहेको सावाँ र व्याज समेतको दोहोरै भिडाई हिसाब गरी मेरो कट्टि हुने जति रुपैयाँ कटाई बाँकी बढी भएको रुपैयाँको सावाँ व्याज बुझाउँला भने व्यहोराको भरपाईको कागजसमेत वादीले गरी दिएको हुनाले वादीलाई मैले दिनु तिर्नु पर्ने बाँकी रुपैयाँ छैन । मेरो बढी रुपैयाँ खानलाई र डम्बरबहादुरको मबाट लखमा खाएको ।३० समेतको ।४० मुुरी खेत मैले डम्बरबहादुरलाई फकाई राजीनामा गरी दिएनन् भन्ने रिसले यो उजुर दिएको मात्र हो भन्नेसमेत मुक्तिप्रसाद गौचनको प्रतिवादी ।

            ४.    ०७।१०।२४ को भरपाई फट्टा र ०७।११।३ को भरपाईसमेत सद्दे किर्तेमा सुनाएमा मैले गरी दिएको होइन किर्ते हो भन्नेसमेत वादी चूडामणिको र उक्त टिप्पण भरपाईसमेत सद्दे साँचो हो भन्नेसमेत मुक्तिप्रसाद गौचनसमेतको बयान ।

            ५.    प्रतिवादीबाट पेश भएको रु. २०००। को भरपाईसमेत किर्ते नभई वादीले गरिदिएको देखिन ठहर्न आएकोले सावाँ व्याज रुपैयाँ भराई पाउँ भनी वादले झुट्टा उजुर गरेको ठहर्छ भन्नेसमेत स्याङ्जा अदालतको २०१५।३।१६।२ को फैसला ।

            ६.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी चूडामणिको अपील ।

            ७.    वादीले ०७।११।३।४ मा गरी दिए भनेको भरपाईको सहीछाप मिसिलसामेल रहेको वादीकोहस्तामा भिडाई हेर्दा हस्ताक्षरको सहीछाप मिल्न नआएको समेतबाट वादी दावा बमोजिम सावाँ रु. २०००। र त्यसको आजसम्मको ऐनले पाउने व्याज मोहरू. २०००। समेत जम्मा मोहरू. ४०००। प्रतिवादीले वादीलाई बुझाउनु पर्ने ठहर्छ भन्नेसमेत पाल्पा अपीलको ०१५।७।२२ को फैसला।

            ८.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी मुक्तिप्रसादको अपील ।

            ९.    शुरु स्याङ्जा अदालतको फैसलामा प्रमाण लगाई छिनेको प्रमाण सर्वोच्च अदालतमा अपीलाटले दिएको अपीलको प्रमाण खण्डमा लेखिएको चूडामणिले हरि शर्मालाई ०६।२।९ मा रु. १५००। मा पास गरिदिए भनेको राजीनामा सक्कल स्याङ्जा माल रजिष्ट्रेशन फाँटलाई झिकाई ०७।११।३ मा चूडामणिले मुक्तिप्रसादलाई रु. २०००। बुझी गरी दिएको भनेको भरपाई टिप्पण तमसुकसँग भिडाई कारणीक सहीछाप विशेषज्ञलाई जचाई पेश गर्नुभन्ने मध्यमाञ्चल उच्च अदालत सिंगलबेञ्चबाट ०१७।२।६ को आदेश ।

            १०.    आदेशानुसारको लेखत झिकाई रेखा विशेषज्ञलाई जाँचाई पेश हुँदा आदेशानुसार यही वादी चूडामणिले हरि शर्मालाई ०६।२।९ मा पास गरी दिएको रु. १५००। को राजीनामा स्याङ्जा मालबाट सक्कलै झिकाई ०७।११।६ मा चूडामणिले मुक्तिप्रसादलाई रु. २०००। बुझी गरिदिए भनेको भरपाई टिप्पणमा गरेको चूणमणिको हस्तासही र उक्त पास राजिनामामा गरेको हस्तासही भिडाउँदा लिपी र अक्षरको बनौटसमेत मिल्दोजुल्दो एकै किसिमको देखिएकोले समेत छलफलमा वादीलाई झिकाई अएपछि पेश गर्नु भन्ने मध्यमाञ्चल अदालत सिंगलबेञ्चबाट भएको ०१८।३।४ को आदेश ।

            ११.    ०७।११।३।४ मा चूडामणिले मुक्तिप्रसादलाई रुपैयाँ बुझी टिप्पणी तमसुक गरिदिएको देखिएको । सो टिप्पण तमसुक मैले गरिदिएको होइन भनी वादी बयान गर्छ तापनि सो टिप्पण तमसुकमा लगाएको हस्ताक्षरमा लगाएको साही निशानाको लिपी लेखाई र यही वादी चूणमणिले हरि शर्मालाई ०६।२।९ मा पास गरिदिएको रु. १५००। को स्याङ्जा मालबाट आएको राजिनामामा लगाएको हस्तासहीको लिपी र अक्षरको बनौटसमेत मिल्दोजुल्दो एकै किसिमको देखिएको र छलफललाई झिकाएका वादीको वारिसले ०१८।७।१४ गतेको तारिख गुजारी बसेकोले समेत वादीले झुट्ठा उजुर गरेको ठहराएको शुरु स्याङ्जा अदालतको इन्साफ मुनासिव । पाल्पा अपीलले गल्ती इन्साफ गरेको ठहर्छ भन्नेसमेत सर्वोच्च अदालतल डिभिजन बेञ्चबाट भएको ०१८।११।१२ को फैसला ।

            १२.   डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्‍याई पाउँ भन्नेसमेत व्यहोराको वादी चूडामणि शर्माको निवेदनपत्रको व्यहोरा पेश हुँदा फैसलामा कारणीको सहीछाप मिल्दोजुल्दो छ भनी उल्लेख गरी निर्णय गरेमा जाँच्दा सहीछाप अप्रष्ट छ भनी रेखा विशेषज्ञ विष्णुनिधि तिवारीले ०१८।२।८।१ मा रिपोर्ट गरेको मिसिल सामेल भएको र तारेख थामी पाउँ भनी दिएको निवेदन मिसिलसाथ पेश नगरी एकतर्फी फैसला भएको भनी निवेदकले समेत रोहवरमा निवेदन गरेको हुँदा व्यहोरा साँचो भए दोहर्‍याई दिने निस्सा गरिदिएको छ । दुवै थर झगडिया झिकाई फुल बेञ्चमा पेश गर्नुभन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०१९।१।२१।५ को आदेश ।

            १३.   प्रतिवादी मुक्तिप्रसादलाई वादी चूडामणिले गरी दिएको भनेको ०७।११।३ को टिप्पण तमसुकमा भएको ल्याप्चे सहीछाप अन्य मिसिलमा रहेको ल्याप्चे सहीछापसँग मिल्छ मिल्दैन सोही ०७।११।३ को टिप्पनमा भएको हस्ता औ वादी चूडामणिले नेपाली कांग्रेसलाई मद्दत निमित्त ने.रु. २०००। दिनेछु भनी गरिदिएको भनेको ०७।१०।२४ को भरपाईमा भएको हस्ता मिसिल सामेल रहेको वादी चुडामणिको हस्ताक्षर आजका मितिमा बेञ्चमा लिएको मिसिल सामेल रहेको हस्तासहीसमेत मिल्छ मिल्दैन पुलिस विभाग विशेष पुलिस विभाग समेतबाट अरु २ जना रेखा विशेषज्ञ झिकाई यस अदालतका ना.सु. शवबहादुर समेत ३ जना विशेषज्ञको बोर्डबाट जँचाई रिपोर्ट लिई पेश गर्नु भन्ने सर्वोच्च अदालत फुल बेञ्चबाट भएको ०१९।१०।१६।३ को आदेश ।

            १४.   ०७।११।३ को टिप्पण तमसुकमा लागेको कारणीको ल्याप्चे सही बोर्डबाट हेर्दा नबुझिने अप्रष्ट भएकोले अरु कुनै कागजसँग भिडाउन नमिल्ने हस्ताक्षर भिडाउनलाई हामी सो विषयको विशेषज्ञ नभएकोले भिडाउन र राय दिनसमेत नमिल्नु भन्नेसमेत रेखा विशेषज्ञ त्रैलोक्यप्रसाद समेतको ०१९।११।१३ को रिपोर्ट ।

            १५.   निवेदकतर्फबाट रहनुभएको विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरेले वादीबाट पेश भएको तमसुकमा दरपिठ गरेको भाग काटिएकोले तमसुकको शिर छोटो छ भन्ने प्रतिवादी भनाईका हकमा शिर छोटो लामो जस्तो भए पनि हुन्छ । मौकामा दाम बुझाएको भए आफै जानुपर्ने । बुझाउन पठाएको मानिसले दरपिठ गरेको भन्नेसम्म प्रतिवादीले सुनेको कुरा भनेको छ । दरपिठ गरेको प्रतिवादी खुद आफैले देखेको छैन । दरपिठ भनेको तमसुकको पिठमा हुन्छ खाली ठाउँमा शिरमा होइन व्याज कति बुझाएको हो । त्यसको उल्लेख छैन वादी चूडामणिले लिएको भनेको टिप्पण तमसुकमा लागेका सहीछाप बिलकुल किर्ते हो । टाँका मिल्दैन ल्याप्चे छाप जुन अस्पष्ट छ । खाली विधि पुर्‍याउन लगाइएको हो । चूडामणिको तमसुक होइन । प्रतिवादी झुट्टा हुँदा सावाँ व्याज भराई पाउँ भन्नेसमेत बहस गर्नुभयो ।

            १६.    प्रस्तुत मुद्दामा वादी दावीबमोजिमको दाम प्रतिवादीले तिर्नु पर्ने नपर्ने के हो र प्रतिवादीबाट पेश भएको ०७।११।३।४ को चूडामणिले गरिदिएको भनेको टिप्पन तमसुक सक्कली नक्कली के हो भन्ने यी २ कुराको विचार गरी निर्णय गर्नुपर्ने हुन आयो ।

      १७.   सर्वप्रथम वादीबाट पेश भएको ४।७।२२ को प्रतिवादी मुक्तिप्रसादले गरी दिएको भनेको तमसुक तर्फविचार गर्दा तमसुकमा लेखिएको दाम मध्ये रु. १८०१। र २ वर्ष ३ महिनाको व्याज बुझाउन ज्वार्इंंनाताको तिलकबहादुर शेरचनको जिम्मा लगाई पठाएको वादीले बुझी लिई दरपिठ जनाई दिनु पर्‍यो भनी तिलकबहादुरले भनेमा त्यसको शिर पट्टि टुप्पामा तेर्सो गरी मिति कच गरी आज तकको व्याज र सावाँ मोरु १८०१। असुल भयो भनी वादी आफैले दरपिठ गरेछन् । हाल सो दरपिठ गरेको भाग काटी तमसुक मात्र बाँकी राखी पेश गरेको भन्ने प्रतिवादीको भनाइ छ । सो दरपिठ भएको कुरा प्रतिवादीले सुनेकोसम्म भन्ने देखिन्छ । सावाँ रु. १८०१। र २ वर्ष ३ महिनाको व्याज बुझाउन जाने भनेका प्रतिवादीले ज्वाई नाताका तिलकबहादुरले दाम बुझाएको भरापाई लिनुपर्ने वा रीतपूर्वक व्यहोरासमेत पारी तमसुकको पिठमा दरपिठ गर्नुपर्नेमा त्यस्तो ०४।७।२२ को तमसुकमा लेखत साक्षी नै हुने जानिफकार तिलकबहादुरले तमसुकको शिरपट्टिको खाली भागमा दरपिठ गराई रुपैयाँ बुझायो होला भन्ने कुरा अनप्रतित देखिने हुनाले सो तमसुकको रुपबाट र प्रतिवादीको उक्त भनाईका भरले दरपिठ भएको भनी भन्न मिलेन ।

      १८.   अब उक्त व्यहोरासँग दरपिठ भएको कुरासमेत जनाई वादी चूडामणिले मलाई रु. २०००। को टिप्पन तमसुक गरिदिएको छ । दरपिठ गरेको कुरा उक्त टिप्पन तमसुकबाट पनि समर्थन हुन्छ भनी ०७।११।३।४ को चूडामणिले गरिदिएको टिप्पण तमसुक पेश भएको छ । सो लिखतलाई वादी चूडामणिले किर्ते खडा गरेको हुन् भनी बयान गरेकोले यो टिप्पण तमसुक सद्दे किर्ते के हो भन्ने तर्फ ०७।११।३ गतेका दिन वादी आई कांग्रेस सरकारमा दाखिल गर्न रु. २०००। दिनुहोस् भनी जिकिर गरेकोले सिद्धमान पशुपति मणिलाल भट्टराई समेतको रोहवरमा दिँदा वादीले गनी बुझी लिएपछि डोर बसेका ठाउँसम्म बोकी लगि दिनु पर्‍यो भनी वादीले भनेबाट मणिलाल कविराजालाई नगद बोकई लगि टिप्पन ल्याई दिई हरहिसाब गरौंला भनी पछि टिप्पण तमसुक गरी दिएको भन्ने प्रतिवादीको भनाई भएको रुपैयाँ बोक्ने भनेको कविराजको बयान हेर्दा वादीलाई प्रतिवादी मुक्तिप्रसादले बुझाएका बखतमा म पनि रोहवरमा भएका औ म पानीको गाग्रो लिई घरमा गई फर्की आउँदा कागज भरपाईमा तिमीलाई पनि साक्षी राखेको छ । सही गरिदिनु अहिले रुपैयाँ बोकी हिंड भनी वादीले भनेकाले रुपैयाँको थैलो घर लगि दिएको भनी लेखकोबाट लिखत भईसकी रुपैयाँ लगेको तर डोरमा नभई घरमा लगेको भन्ने भई लिखत भएको समय र लिखतबमोजिम रुपैयाँ लगेको ठाउँबारे प्रतिवादीको र निजको साक्षी कविराजको कुरा बाझिएको । सो टिप्पन लेखत हेर्दा लिखतमा साक्षी भनी राखिएको कविराजको र मणिश्वरको सहीछाप पनि नदेखिएको । रोहवरमा भई रुपैयाँ बोकी लगेको भए सहीछाप हुनुपर्ने नभएकोबाट  पछि साक्षीहरू खोजी सहीछाप गराउने नियतबाट टिप्पण तमसुक खडा गरेको देखिने र तमसुकमा लेखिएबमोजिम साक्षीको सामुन्नेमा लेनदेन व्यवहार भएको नदेखिने तमसुकमा लागेको ल्याप्चे विशेषज्ञलाई जँचाउँदा बोर्डबाट हेर्दा नबुझिने अस्पष्ट भएकोले अरु कुनै कागजसँग डिभाउन नमिल्ने भन्ने विशेषज्ञको रिपोर्ट भएकोले ल्याप्चे सहीछापबाट निरोपण हुने कुरा भएन ०७।११।३ को टिप्पन तमसुकमा लागेको लेखात्मक सहीछाप वादी चूडामणिको हो होइन भनी सो सहीछाप छलफलमा वादी तर्फबाट पेश हुन आएको हरिशर्मालाई चूडामणिले गरिदिएको ०६।२।९।१ मा स्याङ्जा मालबाट पास भएको राजिनामामा लिखतमा लागेको वादी चूडामणिको सहीछाप र हाल फुल बेञ्चको सामुन्ने लिएको वादी चूडामणिको सहीछापसँग भिडाई हेर्दा टाँका लागी मिल्न नआई फरक देखिन आएको र सावाँ रु. १८०१। र २ वर्ष ३ महिनाको व्याज बुझाएपछि सावाँ रु. १९९। र केही व्याज बाँकी भएको हिसाबसमेत नमिलाई मुक्तिप्रसादबाटै रु. २०००। नगद लिएको भन्ने कुरा पत्यार लायकको नदेखिने समेतबाट ०७।११।३ को टिप्पण तमसुक किर्ते ठहराई सावाँ व्याज ने.रु.४०००। प्रतिवादी मुक्तिप्रसादबाट वादी चूडामणिले भरी पाउने ठहराएको इन्साफ पाल्पा अपीलको मुनासिब, डिभिजन बेञ्चको उल्टी ठहर्न आएकाले अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी मुक्तिप्रसाद गौचन थकालीके निजलाई पाल्पा अपीलका ०१५।७।२२ का फैसलाले गर्ने गरेको दण्ड ने.रु. १०००। सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१८।११।१२ का फैसला र ०१८।११।२५ का लगतले लगत काट्ने गरेकोमा हाल लाग्ने नै भएकोले डिभिजन बेञ्चको फैसलाको लगत काटी पाल्पा अपीलको फैसलाबमोजिम लगत कायम गर्नु भनी स्याङ्जा इलाका अदालतलाई पुर्जि गर्न तहसीलमा लगत दिने…………१

देहायका मानिसलाई किर्ते कागजमा साक्षी बसेमा भनी ऐ. अपीलका ऐ मितिका फैसलाले गर्ने गरेको देहायबमोजिमको दण्ड नलाग्ने भनी डिभिजन बेञ्चका ऐ मितिमा फैसला र लगतले गर्ने गरेकोमा हाल लाग्ने नं. भएकोले डिभिजन बेञ्चको लगत काटी पाल्पा अपीलको फैसलाको लगत कायम गर्नु भनी ऐ.ऐ……………………२

सिद्धिमान कुवर जोगीके ऐ  २।५०, कविराज कुमालके ऐ २।५०, पशुपति भट्टराईके जैशीके ने.रु. २।५०, मणिलाल भट्टराई जैशीके ने.रु. २।५०

देहायका मानिसके झुट्ट बकेमा भनी निजहरूलाई गर्ने गरेको देहायबमोजिमको दण्ड नलाग्ने भनी लगत काटी दिने गरेको डिभिजनको लगत काटी पाल्पा अपीलको फैसला कायम गर्नु भनी स्याङ्जा इलाका अदालतलाई पुर्जि गर्न ऐ …………………३

हर्कबहादुर कामीके जुकत सिं कुमालके ने.रु. १, पूर्णबहादुर शेरचन थकालीके ऐ १।

देहायका मानिस के निजहरूलाई शुरु स्याङ्जा अदालतका ०१५।३।१६ का फैसलाले झुट्टा बकेमा भनी गर्ने गरेको देहायबमोजिमको दण्ड पाल्पा अपीलका ऐ. मितिका फैसलाले फिर्ता दिने गरेकोमा डिभिजन बेञ्चका ऐ. मितिका फैसला र लगतले सो दण्ड लाग्ने नै गरेकोमा हाल नलाग्ने हुँदा डिभिजनको फैसला लगत काटी पाल्पा अपीलका फैसलाबमोजिम गर्नु भनी ऐ ………………..४

भक्त धनपति भुसालके रु १।, धर्यराज पुरी के रु १।, जि. जयलाल पाध्या के ऐ १।, चूडामणि उपाध्या के रु १।, प्रमानन्द भट्टराई जैशीके ऐ १।, गगनबहादुर कबर जोगी के दिपलाल भुसालले रु. १।, रुद्रप्रसाद उपाध्यायके रु. १।

वादी चूडामणिले प्रतिवादी मुक्तिप्रसादको जेथा देखाई दण्ड सजायका ३६ नं. का म्याद ५ वर्ष भित्र दर्खास्त  दिएमा वादीलाई दशौद र प्रतिवादीलाई विशौंद लिई वादीलाई रु ४०००। भराई दिने भनी पाल्पा अपीलका ऐ. मितिका फैसलाले गर्ने गरेकोमा डिभिजनका ऐ. मितिका फैसलाले सो लगत काटी दिने गरेकोमा हाल सो बिगो वादीले प्र. बाट भरी पाउने भएकोले डिभिजनको लगत काटी पाल्पा अपीलका फैसलाबमोजिम बिगो वादीलाई भराई दिनु भनी ऐ………………….५

वादी चूडामणि पाध्याके निजलाई शुरुका ऐ मितिका फैसलाले गर्ने गरेको दण्ड मोरु ११०५। नलाग्ने हुँदा फिर्ता दिनु भनी पा. अपीलबाट गरेकोमा डिभिजनको ऐ. मितिका फैसलाले लाग्ने नै भएकोले फिर्ता दिने गरेको लगत काटिदिने गरेकोमा हाल नलाग्ने भएकोले लिने गरेको डिभिजनको लगत काटी पाल्पा अपीलका फैसलाबमोजिम फिर्ता दिनु भनी ऐ ………………..६

पाल्पा अपीलका देहायका मानिसके निजहरूलाई गल्ती इन्साफ गरेमा भनी डिभिजन बेञ्चका ऐ. मितिका फैसलाले गर्ने गरेको देहायबमोजिमको जरिवाना हाल नलाग्ने हुँदा असुल भए फिर्ता र नभए व्यहोरा जनाई लगत काटी दिनु भनी तहसीलमा लगत दिनु ………………….७

सु. शंकरप्रसाद रिजालके  ।५०, सि.क्ल. नेत्रलाल पाण्डेके ।२०, ख. निल पराक्रम सिंके रु ।३०

वादी चूडामणि शर्माके शुरुउपर अपील गरेमा भनी डिभिजन वा ऐ. मितिका फैसलाले गर्ने गरेको दण्ड ने.रु. ११०।५० हाल नलाग्ने हुँदा असुल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी ऐ.ऐ. …………….. ८

प्रतिवादी मुक्तिप्रसाद तर्फबाट रहेको वकीलको फी ने.रु. १४। वादी चूडामणिबाट भराई दिनेभनी स्याङ्जा इ.अ. मा लेखी पठाउन लगत दिने भनी डिभिजनले गर्ने गरेकोमा हाल सो वकीलकोफी भराउनु पर्दैन सो लगट काटी दिनु भनी स्याङ्जा इलाका अदालतलाई पुर्जि गर्न तहसीलमा ऐ ऐ ……………………९

प्रतिवादी मुक्तिप्रसाद गौचनके इन्साफ पारी छिन्ने पाल्पा अपीलउपर अपील गरेमा निजलाई पाल्पा अपीलबाट भएको दण्ड ने.रु. १०००। को हा.क. का ११ नं. ले दशौंद ने.रु. १००। दण्ड हुन्छ वारिस हुँदा असुल गर्नु भनी तहसीलमा लगत दिनु …………………..१०

गल्ती इन्साफ गरेमा स्याङ्जा इलाका अदालतका देहायका मानिसको रिकर्ड राख्नु भनी रजिष्ट्रार अफिसमा सूचना दिने ………………….११

ख. त्रैलोक्यनाथ हाल इलाका न्यायाधीश नुवाकोट १, वि. रत्नबहादुर गुरुङ १

मिसिल नियमबमोजिम बुझाई दिनु ……………………….१२

 

इति सम्बत् २०१९ साल फाल्गुण २७ गते रोज २ शुभम् ।