December 23, 1983
Created by nepalarchives

निर्णय नं. १७७६ – उत्प्रेषण

निर्णय नं. १७७६    ने.का.प. २०४० अङ्क १०   डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रि.नं. ११०३ आदेश...

निर्णय नं. १७७६    ने.का.प. २०४० अङ्क १०

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३९ सालको रि.नं. ११०३

आदेश भएको मिति : २०४०।९।८।१ मा

निवेदक : जिल्ला धनुषा कचुरी ठेरा वडा नं.५ बस्ने सैनी यादव

विरूद्ध

विपक्षी : जिल्ला भूमिसुधार कार्यालय धनुषा समेत

विषय : उत्प्रेषण

(१)                अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम गरेको निर्णयमा कुनै कानुनी त्रुटि नदेखिँदा रिट निवेदनपत्र खारेज हुने ।

(प्रकरण नं. ७)

निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

विपक्षीतर्फबाट       : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

आदेश

न्या.बासुदेव शर्मा

१.     भूमिसुधार कार्यालय धनुषाले २०३९।४।११ मा गरेको निर्णय बदर गरिपाउँ भनी २०३९।८।१७।५ मा पर्नआएको रिट निवेदनपत्रको संक्षिप्त विवरण यस प्रकारको रहेछ ।

२.    जि.ध.वधचौडा गा.पं.वार्ड नं.१(क) कि.नं.१६ को ०१६ जग्गा जोती आएको ४ नं.जो.अ.नि.पाएको ०३७ सालको कूत गा.पं.मा बुझाएको छु मोही प्रमाणपत्र पाउँ भनेर पुनः साविक ०१० पार्वती तेलीनको नाउँमा छँदा देखि कमाई आएको जमिदारी व्यवस्था छँदाकै बखत रामलखनका नाममा सो जग्गा भई रामलखनले देवेन्द्र यादवलाई राजीनामा गरी दिएको छ भन्ने निवेदन परेपछि देवेन्द्र यादवको तर्फबाट मोहीमा निवेदकले जोतेको छैन ०२९।८।४ मा राजीनामा गराई लिएदेखि मैले आफैंले जोती आएको छु साविक ज.ध.रामलखनले पनि आफैंले जोती आएका थिएँ भन्ने र रामलखनका तर्फबाट साविकमा मेरो नाममा हाल देवेन्द्रको नाम छ निवेदक मोही हैन भन्ने समेतको बयान भएपछि विपक्ष भू.सु.अधिकारीज्यूले ०३९।४।११ मा ४ नं.जो.अ.नि.र प्रकाशित २ नं.अनुसूचीको जग्गा अनुसूचीमा नभएको रामलखनबाट ०२९।८।४ मा देवेन्द्रको नाउँमा गएको वादीको स्थिति ०३८।९।१९ को निवेदनबाट देखिएको साविकमा पार्वती तेलीनका नाउँबाट कहिले र कसरी रामलखनका नाउँमा स्वामित्व हस्तान्तरण भएको तथ्य खुल्न नआएकोले एकाको नाउँको प्रकाशित २ नं.अनुसूचीबाट अरूको जग्गाको प्रमाणपत्र दिनु कानुनसंगत नदेखिँदा उजूरी खारेज हुने ठहर्छ, कानुनी त्रुटि भई बदरभागी छ, विपक्षी भू.सु.अधिकारी समक्ष विपक्ष रामलखन चौधरीले बाली नबुझ्दा गा.पं.मा ०३७।९।७ मा धरौटी राखेको रसिद र ०२३।५।२२ को जो.अ.नि.पेश गरेको भएपछि सो लिखत अ.बं.७८ नं.बमोजिम सुनाई कारवाई गर्नुपर्नेमा नगरी गरेको त्रुटिपूर्ण छ । जो.अ.नि.मा पार्वती जग्गाधनी लेखिएको भएपछि पार्वतीका निजका हकवालालाई अ.बं.१३९ नं.बमोजिम जग्गाधनी कसरी सरेको छ, विवाद उठेको बुझ्नुपर्ने स्थिति छँदाछँदै नबुझी गरेको मालको मोठ समेत बुझ्नुपर्ने नबुझी गरेको त्रुटिपूर्ण छ । पार्वतीबाट रामलखनमा सरेको तथ्य खुल्न नआएको भनी निर्णय गरेको त्रुटि छ, ४ नं.जो.अ.नि.प्राप्त गर्ने व्यक्तिको मोहियानी हक अलपत्र हुने गरी बुझ्नपर्ने प्रमाण नै नबुझी गरेको कानुनी त्रुटिपूर्ण निर्णय बदर गरी मेरो अपहरित हक प्रचलन गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदनपत्र रहेछ ।

३.    विपक्षीबाट लिखितजवाफ लिई पेश गर्नुभन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको २०३९।८।२७।१ को आदेश रहेछ ।

४.    मिसिल साथ पेश भएको ४ नं.जो.अ.नि.तथा २ नं.अनुसूचीमा जग्गाधनी देखिएको रामलखनको नाउँमा मोही दावीको कित्ता वादीको ०३८।९।१९ को निवेदनबाट नै देवेन्द्र यादवको नाउँमा गएको देखिनुका साथै साविक पार्वतीका नाउँबाट कुन प्रकारले कसरी रामलखनको नाउँमा दावीको जमीनको स्वामित्वको हस्तान्तरण भएको तथ्य मिसिलमा खुल्न नलाएकोले एक व्यक्तिको नाममा प्रकाशित २ नं.अनुसूचीबाट अरूको जग्गाको प्रमाणको भर्पाई कबुलीयत नभई मोहियानी हकको प्रमाणपत्र दिन कानुनसंगत नदेखिँदा खारेज गरिदैमा निवेदकको हक हनन् नभएकोले रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने समेत भूमिसुधार कार्यालय धनुषाको लिखितजवाफ ।

५.    तारेखमा रहेको निवेदक सेती यादवको वारेस ईश्वरलाल श्रेष्ठलाई रोहवरमा राखी निवेदकतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विपक्षी भूमिसुधार कार्यालय धनुषाको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेको बहस समेत सुनियो ।

६.    प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ ? निर्णय गर्नु परेको छ ।

७.    यसमा प्रस्तुत मुद्दाको संलग्न मिसिल हेर्दा साविक पार्वती तेलिनका नाउँबाट कहिले र कसरी रामलखनका नाउँमा वादी दावीको जमीनको स्वामित्व हस्तान्तरण भएको तथ्य खुल्न नआएकोले एउटाको नाउँमा प्रकाशित २ नं.फाराम अनुसूचीबाट अरूको जग्गाको प्रमाणपत्र दिन कानुनसंगत नदेखिँदा निवेदकको माग बमोजिम दिन हुन मिल्ने नदेखिँदा प्रस्तुत उजूरी खारेज हुने ठहर्छ भनी ०३९।४।११।२ मा भूमिसुधार कार्यालय धनुषाले निर्णय गरेको पाइन्छ । अधिकार प्राप्त अधिकारीले कानुनबमोजिम गरेको निर्णयमा कुनै कानुनी त्रुटि नदेखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुनेठहर्छ । नियमबमोजिम गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४० साल माघ ८ गते रोज १ शुभम् ।

