February 3, 1984
Created by nepalarchives

निर्णय नं. १७७२ – उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

निर्णय नं. १७७२    ने.का.प. २०४० अङ्क १०   डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रिट...

निर्णय नं. १७७२    ने.का.प. २०४० अङ्क १०

 

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको रिट नं. १८७९

आदेश भएको मिति : २०४०।१०।२०।६ मा

रिट निवेदक : जिल्ला झापा गौरादह गा.पं.वडा नं.७ बस्ने भुवनेश्वर प्रसाद अधिकारीसमेत

विरूद्ध

विपक्षी : श्री भूमिसुधार कार्यालय, भू.सु.अ.झापा समेत

विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

(१)                भूमिसुधार कार्यालयले जग्गाधनीले पत्याएको भन्दा बाहेकको व्यक्तिको नाममा समेत मोहियानी हक नामसारी गर्नेगरेको निर्णय उक्त दफा २६(१) को विपरीत हुनजाने देखिने ।

(प्रकरण नं. ७)

रिट निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भुथापा

विपक्षीतर्फबाट       : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती

आदेश

प्र.न्या.नयनबहादुर खत्री

१.     नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिरहरू यसप्रकार छन् :

२.    जिल्ला झापा गौरादह गा.पं.वडा नं.५ को कि.नं.२००, २०३, २२८ र १९७ को ज.बि. ५० को जग्गाधनीमा विपक्षीले निवेदकहरूलाई देखाई उक्त जग्गा पति रुद्रबहादुरले मोहियानीमा कमाई आएकोमा पतिको मृत्यु ०३१।३।१३ गते भएकोले जग्गा जोती कमाई आएकोले मोहियानी हक नामसारी गरिपाउँ भनी विपक्षीले विपक्षी कार्यालयमा निवेदन गर्नुभएकोमा विपक्षी भक्तमायाबाट मनकुमार घिमिरे नामक एक छोराको जायजन्म भएको छ । निज मनकुमारको हित संरक्षण गर्न समेत विपक्षीलाई मोहियानी हक नामसारी गरी दिन मञ्जूर छैन । उल्लिखित जगामा मनकुमारको तर्फबाट खेती भएकोले बाली लगाएको र कूत समेत निजैका संरक्षणबाट प्राप्त गरेकोले विपक्षी भक्तमाया अधिकारीलाई मोहियानी हक नामसारी गरी दिन मञ्जूर छैन भन्ने प्रतिवाद विपक्षी कार्यालयमा गरेको थियो । विपक्षी कार्यालयले भक्तमायाको नाममा समेत मोहियानी हक नामसारी गरी दिने ठहर्‍याई मिति ०४०।१।५ मा निर्णय गर्‍यो । भूमिसुधार कार्यालय झापाले गरेको उक्त निर्णयबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) द्वारा प्रदत्त मेरो मोही रोज्न पाउने अधिकारलाई आघात पुर्‍याएको छ । दफा २६(१) बमोजिम मोहियानी हक एकजनाको नाममा मात्र सर्न जाने स्पष्ट व्यवस्था गरेको छ । एकै जग्गामा दुई व्यक्ति मोही हुन नसक्ने तथ्यलाई भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ तथा २(ख) ले प्रष्ट गरेको छ । विपक्षी कार्यालयको फैसला उक्त कानुनको समेत प्रतिकूल भई मेरो उपरोक्त कानुनी हक अपहरित हुनुको साथै संविधानको धारा १०(१) ११(२)(ङ) र धारा १५ द्वारा प्रत्याभूत गरिएको मौलिक हकबाट वञ्चित हुनुपरेकोले अन्य उपचारको अभावमा संविधानको धारा १६ बमोजिम धारा ७१ अन्तर्गत असाधारण अधिकारक्षेत्र प्रयोग गराई माग्न आएकाछौ । धारा ७१ बमोजिम उत्प्रेषणको आदेशले विपक्षी कार्यालयको फैसला बदर गरी परमादेशको आदेशले मनकुमारको नाममा मात्र मोहियानी हक नामसारी गरी दिनु भन्ने आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने मुख्य रिट निवेदन जिकिर रहेछ ।

३.    विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने मिति ०४०।३।२१।३ को सिङलबेञ्चको आदेश ।

४.    विवादको जग्गामा मेरा एकासगोलका पनि रुद्रबहादुर मोही हुनुभएको कुरामा विपक्षीले इन्कार गर्न सक्नुभएको छैन । पतिको मृत्यु पछि छोरा मनकुमार नाबालक भएकोले जग्गाको खनजोत मैले नै गरी गराई छोराको समेत पालन पोषण गरी आएकीले पतिका नामको मोहियानी आफ्नो समेत नाममा नामसारी गरी पाउनका लागि गाउँ पञ्चायतको सिफारिश साथ भूमिसुधार कार्यालय, झापामा निवेदन गरेकोमा भूमिसम्बन्धी ऐनको दफा २६(१) समेतका अधिनमा रही मोहियानी नामसारी गर्ने गरेको निर्णय कानुन अनुरूप नै छ । विपक्षीले पत्याएको छोरा र निजको संरक्षिका सगोकी आमा मेरो समेत नाम राखी नाबालखको सम्पत्तिको सुरक्षा हुने थप बन्दोबस्त गरी भएको निर्णयले विपक्षीलाई कुनै मर्का तथा विपक्षीको हकमा कुनै आघात नपुगेको हुनाले विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी भक्तमाया अधिकारीको लिखितजावाफ ।

५.    मोही परलोक भएपछि निजका परिवारले जोत भोग गरी कूत बुझाई आएकोमा जग्गाधनीले स्वीकार गरेको र भूमिसम्बन्धी ऐनको दफा २६ को उपदफा (१) बमोजिम मोहीको छोरा मनकुमारलाई पत्याएको, निज मनकुमार वर्ष ११ को नाबालक भएकोले नाबालकको संरक्षक आमा भक्तकुमारी नै हुँदा र निज भक्तमायाले मोही हकको नामसारी गर्न माग गरेको नाबालकबाट खनजोत हुन नसक्ने र जग्गाधनीको कूत नाबालकबाट पाउन समेत नसक्ने हुँदा न्यायिक मनको प्रयोग गरी छोरा मनकुमार र संरक्षक भक्तमायाका नाउँमा मोही हक नामसारी हुने ठहरी कानुनको परिधिमा रही भए गरेका उक्त फैसलाबाट निवेदकहरूको संवैधानिक हक र अधिकार हनन् नभएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय, झापाको लिखितजवाफ ।

६.    प्रस्तुत रिट निवेदनमा रिट निवेदकका तर्फबाट विद्वान अधिवक्ता श्री शम्भुथापाले मेरो पक्षलाई मोही रोज्न पाउने अधिकार भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले प्रदान गरेको छ र उक्त कानुनद्वारा प्रदत्त अधिकार भित्र रही मोही रुद्रबहादुरको छोरा मनकुमारलाई मोही रोजेको थियो विपक्षी भक्तमायालाई मोहियानी हक नामसारी गरी दिन मञ्जूर छैन भन्ने प्रतिवाद विपक्षी भूमिसुधार कार्यालयमा मेरो पक्षले गर्दा गर्दै पनि भक्तमाया समेतको नाममा मोहियानी हक नामसारी गरी दिने गरेको निर्णयमा भूमिसम्बन्धी ऐनको दफा २६(१) समेतको त्रुटि हुनाले उक्त निर्णय बदर गरिपाउँ भन्ने समेत बहस गर्नुभयो । विपक्षी भक्तमाया तर्फका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले भूमिसम्बन्धी ऐनको दफा २६(१) मा जग्गाधनीले पति, पत्नी वा छोराहरू मध्ये कसैलाई मोही रोज्न सक्ने व्ययवस्था गरेको छ । प्रस्तुत मुद्दामा मोही रुद्रबहादुरको छोरा मनकुमार ११ वर्षको नाबालक भएको हुनाले नै निजको हकहितको संरक्षण गर्न र पछि जग्गाधनीले नाबालक मनकुमारको मोहियानी हकमा कुनै गडबड नगरोस भनेर नै मनकुमार र निजको संरक्षक आमा भक्तमाया समेतको मोहियानी नामसारी गर्ने निर्णय भूमिसुधार कार्यालयबाट भएको र उक्त निर्णय कानुन अनुरूपकै हुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस गर्नुभयो ।

७.    प्रस्तुत रिट निवेदनमा दुवैपक्षका विद्वान कानुन व्यवसायीहरूले गर्नुभएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा रिट निवेदकको माग अनुसारको आदेश जारी हुने हो होइन हेर्नु परेको छ । यसमा रिट निवेदकले मैले मोही नपत्याएको भक्तमाया समेतको नाममा मोहियानी नामसारी गर्ने गरेको भूमिसुधार कार्यालय, झापाको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मनकुमारको नाममा मात्र मोहियानी हक नामसारी गरी दिनु भन्ने परमादेशको आदेश जारी गरिपाउँ भन्ने मुख्य जिकिर लिएको देखिन्छ । मोही रोज्ने सम्बन्धी व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा गरेको पाइन्छ । उक्त दफा २६(१) मा यस परिच्छेदको अन्य दफाहरूको अधिनमा रही मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने उल्लेख भएको पाइन्छ । यस ऐनको व्यवस्था अनुसार मोहीको मृत्यु पछि निजको पति, पत्नी वा छोरा मध्ये कसैलाई पनि जग्गाधनीले मोही रोज्न सक्दछ । रिट निवेदकहरूले मोही रुद्रबहादुरको छोरा मनकुमारलाई मोहियानी हक नामसारी गर्न मञ्जूर छ, भक्तमायाको नाउँमा मोहियानी दिन मञ्जूर छैन भन्ने प्रतिवाद गरेको कुरा मिसिलबाट देखिन आउँछ । यसरी जग्गाधनीहरू भुवनेश्वरप्रसाद अधिकारीले मोहीको छोरा मनकुमारलाई भूमिसम्बन्धी ऐनको दफा २६(१) अनुसार मोही पत्याएकोमा भूमिसुधार कार्यालय, झापा गाउँ पञ्चायतले गरी दिएको सिफारिशको आधारमा भक्तमाया अधिकारी र छोरा मनकुमारको नाउँमा मोहियानी हक नामसारी हुने ठहर्‍याई मिति ०४०।१।५।५ मा निर्णय गरेको पाइन्छ । भूमिसुधार कार्यालय, झापाले जग्गाधनीले पत्याएको भन्दा बाहेकको व्यक्तिको नाममा समेत मोहियानी हक नामसारी गर्ने गरेको निर्णय उक्त दफा २६(१) को विपरीत हुन जाने देखिएको हुनाले भक्तमायाको नाम उक्त मोहीको नामबाट कट्टा गर्न र जग्गाधनीले मोहीमा पत्याएको मनकुमार ११ वर्षको नाबालक देखिएको हुनाले निज १६ वर्ष नपुगेसम्म निजको आमा भक्तमायालाई निज मोही मनकुमारको संरक्षिका भनी जनाउने गरी श्रेस्ता सच्याई दिनु भनी भूमिसुधार कार्यालय, झापाका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । यो आदेशको एकप्रति प्रतिलिपि विपक्षी भूमिसुधार कार्यालय झापाको जानकारीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गर्नु ।

 

उक्त रायमा म सहमछ छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४० साल माघ २० गते रोज ६ शुभम् । 