December 30, 1983
Created by nepalarchives

निर्णय नं. १७५२ – कर्तव्य ज्यान

निर्णय नं. १७५२    ने.का.प. २०४० अङ्क ९   डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३८ सालको फौ.पु.नं. २९७ फैसला...

निर्णय नं. १७५२    ने.का.प. २०४० अङ्क ९

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०३८ सालको फौ.पु.नं. २९७

फैसला भएको मिति  : २०४०।९।१५।६ मा

पुनरावेदक/प्रतिवादी : गोर्खा १८ सय खोला विही गा.पं.वार्ड नं.९ क्राक गाउँ बस्ने हाल केन्द्रीय   कारागार शाखा भद्रगोलमा थुनामा रहेको छिरीङ तेन्जिङ भोटे

विरूद्ध

विपक्षी/वादी : वाङ ढाकापा लामाको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

(१)                लेनदेनमा झगडा हुँदा तत्काल उठेको रिस थाम्न नसकी मृतकलाई छुरीले हिर्काएकोबाट ऐनका म्याद भित्र मृत्यु भएको देखिन आएकोले सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्ने भएकोले अ.बं.को १८८ नं.बमोजिम १० वर्ष कैद  हुने ।

(प्रकरण नं. १६)

पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

विपक्षीतर्फबाट वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

फैसला

न्या.बब्बरप्रसाद सिंह

१.     पश्चिमाञ्च क्षेत्रीय अदालतको ०३८।१।११ को फैसला उपर प्रतिवादीको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं पुनरावेदन जिकिर यसप्रकार छ :

२.    मिति २०२८।५।१७ गते छिरीङ तेन्जिङ भोटेले तिब्बती शरणार्थी फुन्चो ढोक्यालाई कस्तूरी लिन जाउँ भनी लगी व्यारीङ वनको ओडारमा टाउको पछाडि छुरीले हानी घायल भएकोले क्राक गाउँ बस्ने नुपुओङतेल भोटेले फेला पारी सोधपुछ गर्दा छिरीङ तेन्जिङले छुरी हानी रु.७,५००। समेत लग्यो भनी भनेकोले र सोही वेदनाबाट निज मरेकोले कानुनबमोजिम होस् भनी वाङ ढोकपाले जाहेर गरेको भनी प्रहरी चेकपोष्ट लार्केको ०२८।५।२५ को जाहेरी दरखास्त ।

३.    छिरीङ तेन्जिङ भोटेले फुन्चो ढोक्यालाई कस्तुरी ल्याउने सल्लाह गरी बेरीङ वनको ओडारमा छुरीले हानी साथमा भएको रु.७,५००। धनमाल समेत लग्यो भनी मृतकले भनेकोले सोही वेदनाबाट निज मरेको शंका लाग्छ भन्ने समेत नुपुआङतेल भोटे समेतको सरजमीन मुचुल्का ।

४.    फुच्चो ढोकपासँग भएको धनमाल हरण गर्न छिरीङ तेन्जिङले छुरीले हानी निजको मृत्यु भएको भन्ने शंका देखाई सरजमीन गरी दिएकोले अभियुक्त छिरीङ तेन्जिङ मौकामा फेला नपरेकोले निज उपर ज्यानसम्बन्धीको १३ नं.बमोजिम सजाय हुने राय व्यक्त गरी केशको कारवाही हुन अनुरोध गर्दछु भन्ने समेत प्रहरी प्रतिवेदन ।

५.    लेनदेनको कुरामा झगडा हुँदा मृतक फुन्चो ढोक्याले मलाई देब्रे पातामा छुरीले हान्यो, मलाई सानो घाउ लाग्यो मैले पनि तत्काल उठेको रिस थाम्न नसकी छुरीले निजको घिच्रामा हानेको हो । निजसँग पैसा थियो थिएन मलाई थाहा छैन । फुन्चो मरेको खबर पाएपछि मनाङ गएर २ महीना बसेँ र चितवन आएर २ महीना बसँे । मलाई सल्लाह दिने कोही पनि छैनन् । सरजमीनले किन पैसा लिएर भाग्यो भने थाहा छैन । मैले हानेका छुरीबाट निज फुन्चो मरेको हो भन्ने समेत अभियुक्त छिरीङ तेन्जिङ भोटेको बयान ।

६.    फुन्चो ढोकपा जीवित छैन । त्यसबेला म विही गाउँको प्रधानपञ्च थिए । गाउँकै मानिसले फुन्चोलाई बोकी मेरो घरमा ल्याए बोलचाल र खान सक्ने थिए । टाउकोमा र घिच्रामा घाउ थियो मैले के भयो भन्दा लेनदेनको कुरामा मैले छिरीङलाई छुरी हानेपछि उसले पनि मलाई छुरी हान्यो । म मुर्छा परेपछि छिरीङ कता गयो थाहा भएन भन्थ्यो । पैसा सम्बन्धित कुरो मैले पनि सोधिन । निजलाई मेरै घरमा औषधी गर्दै थिएँ । निजलाई झाडा खूब लागेको थियो ज्वरो पनि आएको थियो । घरमा ल्याएको ११ दिनमा मृत्यु भयो । मृतक फुन्चोको छुरीको चोटले नै मरेको भन्न सक्दिन । छिरीङले अरू बदमासी कायम गरेको पनि थाहा छैन भन्ने समेत छिरीङ डुण्डुपको बयान ।

७.    निज गवाह जाहेरवाला आङ ढोकपा फेला नपरेकोले उपस्थित गराउन नसकेको भन्ने समेत स.स.अ.को पत्रसाथको मुचुल्का ।

८.    छिरीङ तेन्जिङ भोटेले मृतक फुन्चोलाई छुरीले हानेको भनी अदालतमा साविती बयान गरेकोले निजलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुन्छ भन्ने समेत ०३६।१०।४ को गोर्खा जिल्ला अदालतको फैसला ।

९.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी छिरीङ तेन्जिङको प.क्षे.अ.मा परेको पुनरावदेन ।

१०.    सरजमीनबाट प्रविादीले मृतकलाई छुरी हानेको कुरा मौकामा भनेको देखिन्छ । अदालतमा छुरी हानेको कुरामा सावित भई बयान गरेकोले समेत इन्साफ शुरू गोर्खा जिल्ला अदालतको मनासिव ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको डिभिजनबेञ्चको ०३८।११।५ को फैसला ।

११.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी छिरीङ तेन्जिङको यस अदालतमा पर्नआएको पुनरावेदन ।

१२.   पुनरावेदक प्रतिवादीकातर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले प्रतिवादीले पहिले मृतकले छुरी प्रहार गरेपछि तत्काल उठेको रिसबाट छुरी प्रहार गरेको छ । मृतकलाई मार्नु पर्ने मनसाय थियो भन्ने कतैबाट पुष्टि हुनसकेको छैन । यस्तो अवस्थामा ज्यानसम्बन्धीको १३(१) लगाई सर्वस्वसहित जन्मकैदको सजाय गरेको चर्को हुनगएको छ भन्ने समेत र विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले मार्नुपर्ने इवी मनसाय नभए जंगलको एकान्त ठाउँमा लगी छुरी प्रहार गर्नुपर्ने अवस्था थिएन । प्रतिवादी छिरीङ तेन्जिङले छुरी प्रहार गरेको कारणबाट मृत्यु भएको भनी मृतकले मौकामा व्यक्त गरेको छ तसर्थ सर्वस्वसहित जन्मकैद गरेको सजाय चर्को भएको भन्न मिल्दैन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

१३.   प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव वा बेमनासिव के रहेछ सो कुराको निर्णय दिनुपरेको छ ।

१४.   यसमा निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मृतक फुन्चो ढोक्यालाई बाटोमा बसी रहेको बेलामा १८ सय खोला क्राक गाउँ बस्ने नुपुओर्गेलले भेटी सोद्धा, छिरीङ तेन्जिङ भोटेले छुरी हानी साथमा भएको रूपैयाँ, सामान लिई भागेको हो मलाई विही गाउँमा पुर्‍याइदेउ भनी मृतकले भनेकोले छिरीङ धोर्जे र ध्यापु रिक्तेनले निज मृतकलाई बोकी विही गाउँका प्र.पं.छिरीङ डुण्डुप गुरुङ जिम्मा लगाए पछि २०२८।५।२३ मा मृत्यु भएको भनी प्रतिवादी छिरीङ तेन्जिङ भोटेलाई दोषी देखाई जाहेरी परेको देखिन्छ । मृतक फुन्चो ढोक्यालाई घायल अवस्थामा बोकी पुर्‍याउन ल्याउने व्यक्ति छिरीङ धोर्जे र ध्यापु रिक्रेनले पनि मृतकलाई प्रतिवादी छिरीङ तेन्जिङले छुरीले घिच्रोमा हानेको भनी व्यक्त गरेको पाइन्छ । प्रतिवादीले अदालतमा आई बयान गर्दा मृतकले मलाई छुरी हाने पछि मैले पनि निज फुन्चो ढोक्यालाई छुरीले घिच्रोमा हानेको र निज लडेपछि त्यहाँबाट भागी गएको भनी साविती बयान गरेको पाइन्छ । अरू क्षेत्रीय अदालतको फैसलामा उल्लेखित बुँदा प्रमाणबाट समेत प्रतिवादी छिरीङ तेन्जिङ भोटेले मृतकको घिच्रोमा हिर्काएको छुरीको प्रहारबाट ऐनको म्यादभित्र निज फुन्चो ढोक्याको मृत्यु भएको भन्ने कुरा स्पष्ट हुनआएकोले प्र.छिरीङ तेन्जिङ भोटेलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन ।

१५.   अब निज प्रतिवादीलाई उक्त सजाय चर्को भयो भन्ने पुनरावेदकतर्फबाट कानुन व्यवसायीको बहसतर्फ विचार गर्दा प्रतिवादी छिरीङ तेन्जिङको निज मृतक फुन्चो ढोक्यालाई मार्नुपर्ने मनसाय देखिन आउँदैन । पूर्व योजना बनाई निजलाई साथ लगी मारेको भन्ने कुरा पनि मिसिल प्रमाणबाट देखिन आउँदैन ।

१६.    प्रतिवादीले अदालतमा आई गरेको बयानबाट लेनदेनको कुरामा झगडा पर्दा रिस उठी थाम्न नसकी प्रतिवादीले छुरी प्रहार गरेको देखिन्छ । जि.पं.स. छिरीङ ढुण्डुप गुरुङले अदालतमा आई गरेको बकपत्र हेर्दा मृतकलाई मेरो घरमा ल्याएपछि सोद्धा निजले लेनदेन विषयमा झगडा हुँदा मैले छिरीङ तेन्जिङलाई छुरी हाने त्यसपछि उसले पनि छुरीले हानी यो हाल गरायो भनी जवाफ दिएको भन्ने समेत बकपत्र गरेको देखिन्छ । यसबाट लेनदेनमा झगडा हुँदा तत्काल उठेको रिस थाम्न नसकी प्र.छिरीङ तेन्जिङले मृतक फुन्चो ढोक्यालाई छुरीले हिर्काएकोबाट मृतकको ऐनका म्याद भित्र मृत्यु भएको देखिन आएकोले सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्ने भएकोले अदालती बन्दोवस्तको १८८ नं.बमोजिम १० वर्ष कैद हुन्छ पश्चिमाञ्चल क्षेत्रीय अदालतले सर्वस्वसहित जन्मकैद गर्ने गरेको लगत कट्टा गरी निज प्रतिवादी छिरीङ तेन्जिङ भोटे मिति २०३३।५।२५।६ देखि थुनामा रहेको देखिँदा सो मितिबाट निज छिरीङ तेन्जिङलाई १० वर्षको कैद म्याद ठेक्नु भनी गोरखा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु। मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.पृथ्वीबहादुर सिंह

 

इतिसम्वत् २०४० साल पौष १५ गते रोज ६ शुभम् ।