निर्णय नं. १७३८ – ज्यान
निर्णय नं. १७३८ ने.का.प. २०४० अङ्क ९ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत्...
निर्णय नं. १७३८ ने.का.प. २०४० अङ्क ९
फुलबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३९ सालको फौ.फु.नं. १२
फैसला भएको मिति : २०४०।९।१५।६ मा
निवेदक/प्रतिवादी : धनुषा घर भई केन्द्रीय कारागारमा थुनामा रहेको रामनारायण मण्डल केवट
विरूद्ध
विपक्षी/वादी : देवनारायण मण्डलको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) आफ्नो स्वेच्छाले जाहेरीमा लेखिदिएको र अदालतमा गरेको बकपत्रको सामान्य अनुसन्धानको सिलसिलामा प्रहरीमा गरी दिएको कागज भनाईलाई आधार बनाउन सकिने नदेखिने ।
(प्रकरण नं. २०)
(२) घरबाट बरामद भएको रगत लागेको भनेको भालाको रगत जाँचको अभावमा त्यस्तो रगत मृतकको हो भन्न नमिल्ने ।
(प्रकरण नं. २२)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुभाष नेम्वाङ
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।११।१ को निर्णय उपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम यस वेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ ।
२. प्रतिवादी गुरुदयाल समेतका चिनेका २२ जना र अरू नाम नजानेका १००।१५० मानिसहरू २०३२।४।३१ गते बेलुका अन्दाजी चार बजेको समयमा आई म र पिता जिवलु आलीधूर बनाइराखेको अवस्थामा विपक्षीहरूले बाबुलाई भालाले रोपी मरणासन्न बनाएपछि जनता नवयुवक पुस्तकालयको चौरमा ल्याउनासाथ बाबु जिवलु मण्डल त्यहीँ स्वर्गीय हुनुभयो । अपराधीहरू खोजतलास गर्दा रामचन्द्र मण्डल केवट, पुराना मण्डल केवट, श्रीया मण्डल केवट, रामलखन मण्डल केवट समेतलाई गाउँलेहरूले समाती राखेका छन् अन्य विपक्षीहरू गाउँघर छाडी भागी सकेका रहेछन् निजहरूलाई ज्यानसम्बन्धी महल बमोजिम सजाय गरिपाउँ भन्ने ०३२।५।३ को देवनारायण मण्डलको जाहेरी दरखास्त ।
३. मृतक जिवलुलाई मारेमा इन्कारी रही कारी मण्डल केवट, रामचन्द्र मण्डल, राम परिक्षण मण्डल, पूर्णा मण्डल केवट, ढोडाई मियाँ धोवी, रामलखन केवट, सिरिया मण्डलको प्रहरीमा भएको छुट्टाछुट्टै बयान ।
४. मेघविक्रमको जग्गा मोही विषयमा झगडा हुँदा गुरु दयाल तर्फका हसेरीहरूले कुटपिट गरे। कहाँ कहाँ चोट छाडे म अलिक टाढा भएकोले भन्न सक्दिन । घाइते जिवलुलाई म समेत भई मेरो घरमा लग्यौ । पानी खान दियौं अलिकति निल्यो । अब यो बाच्दैन मारी दिन पर्छ भनी मैले भाला लिई हान्न खोज्दा जिवलुको कान्छो छोरा सत्यनारायणले मेरो बाबुलाई नमार बाच्छ भन्दा अब बाच्ने होइन । यसलाई मारी दुश्मन साध्नु पर्छ भनी मैले गर्माले एकचोट राम औतारले एकचोट जिवलुको टाउकोमा भालाले हाने पछि सोही चोटबाट जिवलुको मृत्यु भएको हो। सो भाला मैले मेरो उत्तरमुखको घरमा राखकोछु । भालामा लागेको रगत जिवलूको टाउकोमा हान्दा लागेको रगत हो भनी सनाखत गरी प्र.रामनारायण मण्डलकेवटले प्रहरीमा गरेको बयान ।
५. मेरो भाइ सत्यनारायण स्कूलबाट घर आउँदा बाटोमा गुरु दयालको हसेरीहरूले घेरी कुटपिट गर्दैछन् भन्ने कुरा मेरो बाबु जिवलुले सुनेपछि बाबु जिवलु दौडदै हसेरीहरू भएतर्फ जानु भयो । म पनि बाबु फर्काउन गए पहिले आलमले बाबुको कुममा हिर्काए रामजतनले भालाले टाउकोमा हिर्काए म डरले भागे पुस्तकालयमा ल्याउँदा बाबु जीवितै थिए । मेरो बाबुलाई मारी विपक्षीहरूलाई खुन मुद्दा लगाउनु पर्छ भनी मैले नमान्दा नमान्दै पनि रामनारायणले टाउकोमा भालाले हानी मारेको हो । अघि मैले थानामा लेखी दिएको जाहेरी प्र.पं.कालीचरण र राम नारायणले सिकाई लेखिदिएको हो भन्नेसमेत जाहेरीवाला देवनारायणको प्रहरीमा भएको कागज ।
६. जिवलुलाई हसेरीहरूले जत्रतत्र कुटपिट गरेर शरीरमा चोट लाग्यो र निजकै छोराहरूले बोकी रामनारायणको घरमा ल्याए । कान्छो छोरा सत्यले रक्सी ल्याई रामनारायाणले पियाई दियो । त्यसपछि जिवलुलाई भित्रपट्टि लगी दरवाजा बन्द गरे म समेतलाई भित्र जान दिएनन् पूर्वपट्टि कलबाट के गर्दा रहेछन भनी हेर्न गई टाटीबाट हेर्दा रामनारायण समेत भित्र थिए र रामनारायण र गर्भाको हातमा भाला थियो । जिवलुको छोरा देवनारायणले बाबु बाँच्छ भाला नघोच भन्दाभन्दै रामनारायणले भालाले जिवलुको टाउकोमा हान्यो भन्ने समेत करिया मण्डलको प्रहरी कागज ।
७. पहिले घट्ना घटेको स्थानमा जिवलु घाइतेसम्म भएको रामनारायणको घर आँगन भित्र ल्याएपछि नै अन्य घाउहरू थपिई मरेको देखिएको रामजतन असर्फी मण्डल, लक्ष्मण मण्डल, मोहीता दुसीध, इब्राहीम मियाँ, आलम मियाँ, सिराहाको नाम नजानेको मिया गजेन्द्रमान गुभाजुलाई जाहेरवालाले घटनास्थलमा देखे चिनेको रामजतन मण्डलले भालाले टाउकोमा, आलमले गडासाले कुममा सिराहाको मियाले गडासाले हातमा गेन्द्रमानले खुट्टामा आफ्नो बाबु उपर चोट छोडेको देखी भागेको जिवलु तत्काल नमरेको देखिएकोले ज्यानसम्बन्धीको ११ नं.अन्तर्गत ऐ.को १५ नं. र रामनारायण गर्मा, रामऔतार, शुभनारायण समेतले चोट छाडी जिवलुको मृत्यु भएको देखिएकाले निजहरूलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम र जुगेश्वर वतहीलाई १७(३) नं.बमोजिम र अन्य अभियुक्तहरूको हकमा मुद्दा नचलाउन पेश गरेको प्रहरी प्रतिवेदन ।
८. मेरो घरबाट बरामद भएको भाला कसले कहाँबाट ल्याए र भालामा लागेको रगत के को हो कसले लगाए मलाई थाहा छैन । जिवलुलाई देवनारायण, सत्यनारायणले पुस्तकालयमा ल्याएको देखेको हुँ मैले मारेको छैन र प्रहरीमा मेरो राजीखुशीले गरेको बयान होइन प्रहरीमा कुटपिट गरेको हुँदा मैले सहिछाप गरेको हुँ भन्ने समेत व्यहोराको प्र.रामनारायण मण्डलको अदालतमा भएको बयान ।
९. जिवलुलाई मैले मारेको र घरमा ल्याएको होइन भन्ने समेत व्यहोराको जुगेश्वर मण्डलको अदालतमा भएको बयान ।
१०. खेतको विषयमा झगडा भई जिवलुलाई मारे भन्ने सुनी पुस्तकालयमा हेर्न जाँदा लास देखें मैले मारेको होइन भन्ने समेत बतहु मण्डलको अदालतमा भएको बयान ।
११. जिवलुलाई मारेमा इन्कार रही मोहिता पासवान दुसाध, इब्राहिम मियाँ, विन्देश्वर मण्डल, गुरु दयाल मण्डल, रामचन्द्र मण्डल, दुखि पासमान, लक्ष्मण मण्डल केवट, राम जतन मण्डल, फुसी दुसाद, मुखलाल पासमान, छितन मण्डल, असर्फी मण्डल, गेन्द्रमान गुभाजू, रामकृष्ण ठाकुर हजाम, राम चरित्र मण्डल, एकनाथ मण्डल, रामदयाल मण्डल, राम परिक्षण मण्डल, शुभनारायण मण्डल, राम औतार मण्डलले अदालतमा गरेको छुट्टाछुट्टै बयान ।
१२. गर्मा मण्डल फरार रहेकोले निजको हकमा मुलतवी राख्ने दुश्मन साँध्ने नियतले रामनारायणले भालाले टाउकोमा हानेको चोटबाट जिवलुको मृत्यु भएको देखिन आएकोले रामनारायणले जिवलुलाई कर्तव्य गरी मारेको ठहर्छ । सबूत प्रमाणको अभावमा रामऔतार, शुभनारायणले सफाई पाउने ठहर्छ । आलम मियाँ र सिराहाको नाम नजानेको मियाँ विदेशी हुनाले नेपाल सरहदमा फेला परेको बखत हुने हुँदा जि.प्र.नि.का.लाई सूचना दिने र अन्य अभियुक्तहरूले अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने समेत धनुषा जिल्ला अदालतको फैसला ।
१३. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकार र प्र.रामनारायाण मण्डल केवटको म.क्षे.अ.मा पुनरावेदन ।
१४. शुरू धनुषा जिल्ला अदालतले प्र.रामनारायण मण्डल केवटलाई दावी बमोजिम दोषी ठहर्याएको नमिलेको हुँदा निजले सफाई पाउने ठहर्छ । अरू प्रतिवादीहरूको हकमा दावी बमोजिम सजाय हुनुपर्ने भन्ने पुनरावेदन जिकिरको हकमा कसूर गरेको सबूत प्रमाण गुजार्न नसकेकोले सफाई दिने गरेको शुरू इन्साफ मनासिव छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला।
१५. रामनारायण मण्डललाई सफाई दिएको मिलेन भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर ।
१६. अ.बं.२०२ नं.बमोजिम प्र.रामनारायण मण्डललाई झिकाई आएपछि पेश गर्ने भन्ने समेत डिभिजनबेञ्चको आदेश ।
१७. प्र.रामनारायणले प्रहरी समक्ष गरेको साविती बयान प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) अनुसार प्रमाणयोग्य छ । मृतकलाई हानेको भाला प्रतिवादीको घरबाट बरामद भएको छ । चस्मदिद गवाह रामलखन पासवानको बयान पोष्टमार्टम रिपोर्ट र बरामद भएको भालाले बयान लाई समर्थन गरेको देखिँदा सफाई दिने गरेको म.क्षे.अ.को इन्साफ मिलेको देखिएन । ज्यानसम्बन्धीको १३(३)नं.बमोजिम सजाय गरेको शुरू इन्साफ मनासिव ठहर्छ भन्नेसमेत डिभिजन बेञ्चको फैसला ।
१८. मौकाको जाहेरीमा रामनारायणको नाम नकिटिएको, अदालतमा जोहरवालाले खेतमा नै बाबु जिवलु मरेको भनी लेखाई दिएको भाद्र २३ गते बयान भई भाद्र ३१ गते अस्पतालमा भएको घाउ जाँच ९ दिन पछि भएको हुँदा पुरानो खत देखिएको भनिनु स्वाभाविकै देखिएको मरणासन्न अवस्थामा पुगेको व्यक्तिलाई भालाले हानी मार्नुपर्ने अवस्था पनि नपर्ने समेत कारणबाट डिभिजनबेञ्चको फैसला मिलेको देखिएन भन्ने न्यायिक समितिको पर्चा ।
१९. प्रतिवादी निवेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री सुभाष नेम्वाङले मेरो पक्ष अदालतमा इन्कार रही बयान गरेको छ । मेरो पक्षको घरबाट बरामद भएको भनेको भाला सनाखत भएको छैन । शुरूको जाहेरी तथा अदालतको बकपत्रमा समेतमा जाहेरवालाले मेरो पक्ष उपर आरोप लगाएको छैन । प्रहरीमा भएको मेरो पक्षको साविती कुटपिटबाट भएको हो सो कुटपिट भएको घाउ जाँच फारामबाट देखिन्छ जाहेरवालाको भाइ र मृतककी श्रीमती समेतले मेरो पक्ष रामनारायणले जिवलुलाई मारेको भनेको छैनन् भालामा लागेको रगतको रसायनिक जाँच भएको छैन । शंकारहित तवरबाट अभियोग प्रमाणित हुन नसकेको हुँदा मेरो पक्षले सफाई पाउनुपर्छ भन्ने तथा वादी श्री ५ को सरकारको तर्फबाट खटी आउनु भएका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरले, प्रहरीमा भएको बयान राजीखुसीबाट भएको कुरा टेप रेकर्ड सुनेमा थाहाहुन्छ । केश फारामबाट प्रतिवादीको शरीरमा लागेको घाउ पुरानो देखिन्छ । अभियुक्तको रोहवरमा भाला निजको घरबाट बरामद भएको सरजमीनको चस्मदिद व्यक्तिको बयानबाट आरोप प्रमाणित भएको हुँदा डिभिजनबेञ्चको ईन्साफ मिलेकै हुँदा सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
२०. यसमा निर्णयतर्फ हेर्दा मृतकको छोरा देवनारायणले मौका प्रहरी डोरमा ०३२।५।३ मा दिएको जाहेरीमा मेघविक्रमको मोहियानीमा कमाएको जग्गामा काम गरी रहेको बखत ०३२।४।३१ गते गुरूदयाल समेतका २२ जना चिनेका र अरू नचिनेका करीव १०० जना जति मानिस आई बाबु जिवलु मण्डललाई भाला गडासाले हानी घोची बेहोस बनाएको र घटनास्थलबाट बेहोसीको अवस्थामा उठाई गाउँको जनता नवयुवक पुस्ताकालय चौरमा ल्याउनासाथ बाबु जिवलु त्यहीँ स्वर्गीय हुनुभयो भन्ने समेत उल्लेख गरेको देखिन्छ । उक्त जाहेरी दरखास्तमा जाहेरवालाले प्र.रामनारायण मण्डल केवटको नामसम्म उल्लेख गर्नसकेको देखिँदैन । पछि २०३२।५।२३ मा प्रहरी समक्ष गरेको कागजमा वारदात स्थलबाट उठाई रामनारायणको घर लगेपछि प्र.राम नारायण मण्डल केवटले भालाले जिवलुको टाउकोमा हानेको भन्ने उल्लेख गरेको पाइन्छ । तर यिनै देवनारायाणले मिति ०३०।१२।८ मा अदालतमा बकपत्र गर्दा हसेरीहरूको कुटपिटबाट बाबुको मृत्यु भएको, कसले हानेको चोटबाट बाबु मरे भन्न सक्दिन भन्ने उल्लेख गरेको पाइन्छ । आफ्नो स्वेच्छाले जाहेरीमा लेखिदिएको र अदालतमा गरेको बकपत्रको सामान्य अनुसन्धानको सिलसिलामा प्रहरीमा यी देवनारायणले गरी दिएको कागज भनाइलाई आधार बनाउन सकिने देखिएन ।
२१. वारदातमा प्रयोग भएको रगत लागेको भाला प्र.रामनारायण मण्डल केवटको घरबाट बरामद भएको भन्ने जिकिरको हकमा भालामा लागेको रगत मृतक जिवलुको हो भन्ने कुरा कुनै रसायनिक जाँचबाट प्रमाणित भएको छैन । बरामद भएको भालाको सनाखत भएको पनि देखिँदैन । प्र.रामनारायण मण्डलले मृतक जिवलुलाई आफ्नो घरभित्र लगी भालाले टाउकोमा हानी मारेको भन्ने सरजमीनका चश्मदीत व्यक्ति रामलखन पासवानको बकपत्रको हकमा निज रामलखन पासवानको ०३३।१२।२९ गते बकपत्र गराउँदा प्रतिवादीको अधिवक्ताले जिरह गर्दागर्दै नभ्याई ०३३।१२।३० गतेका दिन तारेख तोकिएकोमा सो ३० गते रामलखन पासवान समयमा उपस्थित भएको र ०३४।१।२ गतेका दिन तारेख तोकिएकोमा सो दिन निज उपस्थित नै नभएको देखिन्छ । यस्तो अवस्थामा रामलखन पासवानको बकपत्र प्रमाण ऐन, २०३१ को दफा ५० को रीत पुगेको नदेखिएबाट उक्त बकपत्रलाई प्रमाणमा लिन र त्यस्तो बकपत्रलाई आधार बनाउन समेत मिल्ने देखिएन । मृतक जिवलु उपर खेतमा कुटपिट गर्ने प्र.गुरूदयाल समेतका व्यक्तिहरू उपर ज्यान मार्ने उद्योग गरेको भनी ज्यानसम्बन्धीको ११ नं.तथा १५ नं.बमोजिम दावी भई मुद्दा चलेकोमा प्रतिवादीहरूले सफाई पाई उक्त मुद्दा अन्तिम भइरहेको पनि देखिन्छ ।
२२. प्र.रामनारायण मण्डल केवटले अदालतमा बयान गर्दा वारदातमा इन्कार रहेको पाइन्छ । प्रहरीमा निजलाई कुटपिट गरेको हुँदा सहिछाप गरी दिएको भन्ने पनि निजको भनाई देखिन्छ । अदालतबाट बुझिएका मृतक जिवलुको पत्नी दुखनी केवटनी तथा अर्को छोरा सत्यनारायण मण्डलले खेतमा काम गर्दाखेरी हसेरीहरूबाट भएको कुटपिटबाट वारदात स्थलमा नै जिवलु मण्डलको मृत्यु भएको भनी लेखाइदिएको पाइन्छ । निजहरू कसैले पनि प्र.रामनारायण मण्डलले भाला रोपी जिवलुलाई मारेको भनी बकेको देखिँदैन । प्र.रामनारायणको मृतकसँग कुनै किसिमको रिसइवी भएको मिसिलबाट देखिँदैन । प्र.रामनारायणको घरबाट बरामद भएको रगत लागेको भनेको भालाको रगत, जाँचको अभावमा त्यस्तो रगत मृतक जिवलुको हो भन्न मिलेन । प्रहरीमा भएको प्र.रामनारायणको साविती स्वेच्छाले भएको हो भन्ने समेत स्थिति नहुँदा प्र.रामनारायण मण्डल उपरको वादी पक्षको अभियोग शंकारहित तवरबाट प्रमाणित हुनआएको देखिँदैन ।
२३. अतः प्र.रामनारायण मण्डल केवटलाई दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको डिभिजनबेञ्चको निर्णय मिलेको देखिएन । प्र.रामनारायण मण्डल केवटलाई वादी दावीबाट सफाई दिने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको ईन्साफ मनासिव ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
माथि ईन्साफ खण्डमा लेखिए बमोजिम डिभिजनबेञ्चको ०३८।११।१।६ का इन्साफ उल्टी हुने तथा प्र.रामनारायण मण्डललाई सफाई दिने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३७।३।१० को ईन्साफ मनासिव ठहरेकोले स.अ.डिभिजनबेञ्चको फैसला बमोजिमको लगत कायम राख्नु पर्दैन, व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी शुरु धनुषा जिल्ला अदालतमा लेखी पठाउनु का.जि.अ.त.मा लगत दिनु………………………………..१
प्र.रामनारायण मण्डल केवटले वादी दावीबाट सफाई पाएको हुँदा यस मुद्दामा बाहेक अन्य मुद्दामा थुनामा परेको रहेनछ भन्ने थुनाबाट छाडी दिनु भनी जिल्ला कार्यालय कारागार शाखालाई लेखी गएको हुँदा व्यहोरा जनाई लगत कायम गर्नु भनी शुरु धनुषा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ………………………………………………………………………………………………………………………२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ………………………………………………………………………………………………………..३
उक्त रायमा हाम्रो सहमति छ ।
न्या.त्रिलोकप्रताप राणा
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४० साल पौष १५ गते रोज ६ शुभम् ।